सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

सैद्धान्तिक शून्यताको भुमरीमा रास्वपा

आशीष रेग्मी २०८० भदौ ३० गते १९:०२

२०७९ मंसिर १० गते एक अनलाइनमा ‘रास्वपा नेतृत्वलाई पत्र : जनादेशमाथि फेरि घात नहोस्’ भन्ने शीर्षकमा एउटा लेख लेखेको थिएँ, जसले राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनताले गरेको नि:स्वार्थ विश्वासका साथै त्यस विश्वासमाथि हुनसक्ने घातको मिश्रित आशय व्यक्त गर्दथ्यो ।

पार्टी निर्माणका निश्चित चरणहरू छन् र त्यसमध्येको एक महत्वपूर्ण भाग महाधिवेशनबाट अनुमोदित नेतृत्व र स्पष्ट विचार हो । यसको कारण के हो भने राजनीतिक दलहरू निश्चित वर्गका लागि बनेका हुन्छन्, सबैका लागि भन्ने हुँदैन । तसर्थ, दलहरू फरक–फरक हुन्छन् र फरक मुद्दाको वकालत गर्दै अगाडि बढेका हुन्छन् । मुद्दा, सिद्धान्त र वर्ग पक्षपोषणमा स्पष्टता नआइकन एउटा समूह राजनीतिक दलको हिसाबले पपिक्व हुन सक्दैन । राजनीतिलाई गति दिनलाई पनि स्पष्ट विचार अत्यावश्यक छ ।

नेपालको राजनीतिक परिवेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो समयमा पाएको उपलब्धि साँच्चिनै लोभलाग्दो मात्र होइन इर्ष्या लाग्दो पनि छ । तर, उसको यस उप्लब्धिका पछाडि कुनै एक कारण भने छैन । पत्रकारितामार्फत पार्टी सभापति रवि लामिछानेले कमाएको लोकप्रियता प्रमुख कारण भएपनि वैकल्पिक राजनीतिमा विवेकशील साझाले रोपेर हुर्काउन नसकेको बिरुवालाई रासायानिक मलको रूपमा रास्वपा प्रस्तुत हुन आउनु पनि अर्को कारण हो । जनताले परिवर्तनकालागि गरेको एउटा प्रयोग पनि हो यस वर्षको जनमत । रास्वपाले गर्नुपर्ने धेरै छ अनि सिक्नुपर्ने पनि धेरै छ ।

आशीष रेग्मी

समयसँगै परिपक्वता र अनुभव त आउला तर सैद्धान्तिक र नीतिगत प्रष्टता नल्याई सतही शुशासनका लोकप्रिय नाराले राजनीतिमा दिगोपन नदिने निश्चितप्राय: छ । अनुकुल अवस्थामा त सबै ठिक हुनेनै भयो तर प्रतिकुल अवस्थामा हो सिद्धान्त र त्यस विचारले निर्माण गरेको संगठनको महत्व बुझिने । यसको सानो झट्का रास्वपाले प्रदेश खारेजीको मुद्दामा समर्थन जनाउँदै प्रदेश सभामा उम्मेदवार नउठाएर पाइसक्यो किनकि त्यसअघिसम्म पार्टी सभापतिले आफुहरू प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको पक्षमा रहेको भनेर बोलिरहेका थिए । त्यो विरोधाभाषलाई सच्चिने मौका दिन सकिन्थ्यो र नेपाली जनताले त्यही गरे । त्यसको अर्थ सधैँभरी बिरोधाभाषमा रहिरहनु स्वीकार्य हुन्छ भन्ने कदापि होइन ।

यस्तै, अस्पष्टताहरूको सँगालो नै प्रतिकूल अवस्थामा विखण्डनको बिज भएर आउँछन् । विवेकशील साझालाई पनि जनताले २०७४ को आम निर्वाचनमा ढाडससहितको बहुमूल्य दुई लाख भन्दा बढी मत दिएका थिए । त्यसलगत्तै महाधिवेशन, नीति महाधिवेशन जस्ता भेलाहरूबाट आधिकारिक वैचारिक स्पष्टता ल्याउने र त्यसलाई अघि ल्याउन सक्ने नेतृत्वपंक्ति चयन गरेर अघि बढ्न सकेको भए विवेकशील साझा परिपक्व राजनीतिक दलको हिसाबले स्थापित हुन सक्थ्यो । तर, त्यसो हुन सकेन र आधिकारीक सिद्धान्त र नेतृत्वको अभावमा आफ्नो विचारमा सहमत गराउन तत्कालीन नेतृत्व पङ्क्तिका साथीहरू लागिपर्दा जनताका मुद्दाहरू ओझेलमा पर्न गयो । प्रतिकुल अवस्थामा यसले विखण्डनको बिजारोपण गरिदियो ।

विचार र सिद्धान्तले नबाँधेको हुँदा कसैमा पनि अपनत्वको भावना रहेन । केही साथीहरूले त्यही अस्पष्टताका माझमा विवेकशील साझालाई अघि बढाउने जमर्को गरिरहनुभएको छ । धेरै साथीहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिनुभएको छ । यसो हेर्दा कता–कता रास्वपालाई विवेकशील साझाको जमघट भन्न मन लाग्छ । केही तलमाथि होला पात्र तिनै हुन्, प्रवृत्ति तिनै हुन् अनि समाज यही हो ।

राजनीति भनेको पपुलिजमको फेरो समातेर छोटो समयमै सत्तामा पुग्नु होइन । यो त निरन्तर चलिरहने प्रक्रिया हो । तसर्थ राजनीतिक पार्टी सैद्धान्तिक शून्यताको भुमरीमा फस्यो भने त्यसको अन्त्य निश्चितप्राय: छ ।

आज रास्वपाले चुनावमा केही राम्रो नतिजा ल्याएको छ । त्यसकारण संघीयतावादीहरू पनि पार्टी सभापतिले संघीयता खारेजीभन्दा अहिले चुप छन् । अनुकुलतामा सचेत नहुनेहरू प्रतिकुलतामा पछुताउँछन् । राजनीतिमा सधैँ सहज वातावरणमात्र हुँदैन । प्रतिकुल अवस्था आउने बित्तिकै यिनै अस्पष्ट विचारको जगमा भाँडभैलो सुरू हन्छ । अझ रास्वपामा त विचारमात्र होइन यसका सभापतिको व्यक्तिगत चरित्रमाथि नै प्रश्न चिह्न नउठ्ला भन्न सकिन्न । आज उनलाई देवत्वकरण गर्नेहरूनै भोलि उनलाई दानवीकरण गर्न अग्रसर हुन सक्ने सम्भावना प्रचुर रहन्छ ।

रास्वपाले अहिले ल्याएको मत र पाएको समर्थन उनीहरूप्रतिको आशाभन्दा पनि पुराना दलहरूप्रतिको निराशाको परिणाम हो । अब प्रतिपक्षमा बसेर सदनमा जनताका मुद्दा र पार्टीभित्र जनताका मुद्दालाई नीतिसँग जोडेर अगाडि बढ्न सके आशाको मत प्राप्त गर्ने अवस्था आउन सक्छ । नीतिगत अस्पष्टताकामाझ जनताका मुद्दा फगत अराजकतामा लोकप्रियताको खोजीमा मात्र सीमित हुने सम्भावना रहन्छ । यसको ज्वलन्त उदाहरण रमेश प्रसाइँलगायत सम्मिलित कमिटीले निर्माण गरेको दस्ताबेज महिनौँ हुँदा पनि सार्वजनिक नगरिनु ।

बरु सो दस्ताबेजलाई कार्यदल बनाई टार्ने काम भएको छ । निश्चित पार्टीको एउटा राजनीतिक दस्ताबेज एउटा कार्यदलले निर्माण गरिसकेपछि तुरुन्तै सार्वजनिक गरिनुपर्छ भन्ने पक्कै होइन, तर महिनौँ बितिसक्दा केन्द्रीय कमिटीमा छलफलका लागि पेश नहुनु, सदस्यमाझ रायका लागि नपठाइनु र कार्यदल बनाएर थन्क्याउन खोज्नुले रास्वपाको ‘जान्नेलाई छान्ने’ भन्ने नारा केवल लोकप्रिय हुन बनाएको भान हुन्छ ।

हो म के कुरामा सहमत छु भने आज जनतालाई नीति सिद्धान्त प्राथमिक महत्वको विषय रहेन । उनीहरूलाई डेलिभरी चाहिएको छ । नि:शुल्क र गुणस्तरीय स्वास्थ्य र शिक्षा, सर्वशुलभ सार्वजनिक यातायात, प्रभावकारी सामाजिक सुरक्षाको व्यवस्था, सामाजिक न्यायको अवधारणा लगायतका विषय जनताको आजको आवश्यकता हो । यी कुराहरूको डेलिभरी कसरी सम्भव छ त्यसको अवधारणा नेपाली जनताले खोजेका छन् । तर राजनीतिक पार्टी त निश्चित वर्ग पक्षधरतामा बनेको हुन्छ । अर्थात् विविधता रहेको समाजमा सबैलाई रिझाउने निर्णय लिन भने सम्भव छैन । राजनीतिमा पक्षधरता अत्यावश्यक भइहाल्छ । म राम्रो काम गर्छु अनि संविधान मान्छु भन्नु आफ्नो अकर्मण्यता लुकाएर पपुलिष्ट हुनु मात्र हो ।

केही उदाहरणहरू हेरौँ । नेपाली समाजमा गणतन्त्र रुचाउने पनि छन्, राजतन्त्र रुचाउने पनि छन् । त्यस्तै संघीयताका पक्षधरता लिने पनि छन्, संघीयता खारेजी चाहने पनि छन् । शिक्षा र स्वास्थ्य नि:शुल्क हुनुपर्छ भन्ने मुद्दा सर्वस्वीकार्य होला भन्ने हाम्रो बुझाइ हुन सक्छ तर त्यसमा पनि फरक मत राख्ने जमातको कमी छैन । रास्वपाले नागरिकतासम्बन्धी कानुनका बेला लिएको पक्षधरताले उसको पक्ष र विपक्ष दुबैमा जनमत विभाजित रहेको बुझ्न कठिन छैन ।

लोकतन्त्रको सुन्दर पक्ष भनेको आलोचना नै हो । स्थापित दलहरूले यो कुरा राम्रोसँग बुझेका छन् । तर, नव उदयी रास्वापा जस्ता दलहरूलाई भने यो बुझ्न कठिन भएजस्तो छ । उनीहरूले के बुझ्न जरुरी छ भने आलोचना उनीहरूले अरुको गर्ने मात्र होइन अरुले उनीहरूको पनि गर्छन् । नीति सिद्धान्तको अभावमा ती आलोचनाहरूलाई सकरात्मक सुझावका रूपमा लिने सम्भावना रहँदैन मात्र होइन परिपक्व राजनीतिक पार्टीका रूपमा स्थापित पनि हुन सकिँदैन । राजनीति भनेको पपुलिजमको फेरो समातेर छोटो समयमै सत्तामा पुग्नु होइन । यो त निरन्तर चलिरहने प्रक्रिया हो । तसर्थ राजनीतिक पार्टी सैद्धान्तिक शून्यताको भुमरीमा फस्यो भने त्यसको अन्त्य निश्चितप्राय: छ ।

प्रतिक्रिया
सम्बन्धित