आइतबार, ३० वैशाख २०८१
DainikNepal.com
आइतबार, ३० वैशाख २०८१

०८४ मा केन्द्र र सबै प्रदेशको नेतृत्व एमालेले गर्ने मिसनमा छौँ : योगेश भट्टराई

दैनिक नेपाल २०८१ वैशाख १६ गते ७:३४

धनुषा, १६ वैशाख । नेकपा (एमाले)का सचिव एवं मधेश प्रदेशका इञ्चार्ज योगेश भट्टराईले सबैको सुदृढ एकताबाट देशलाई गरिबी, अशिक्षा, पछौटेपनबाट मुक्ति गराउनुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) धनुषाले क्षेत्र नं. २ (क) मुडिवा टोलमा आयोजना गरेको पार्टी प्रवेश तथा वृहतसभालाई सम्बोधन गर्दै भट्टराईले भन्नुभयो- ‘खाडीको धूपमा पसिना बगाउने नौजवानहरुलाई स्वदेशमै पसिना बगाउने, देशभित्रै श्रम गर्ने, आत्मसम्मानका साथ नेपाली हुँ भनेर गर्व गर्ने अभियानमा हामी सबै एकतावद्ध भएर लाग्नुपर्ने छ । अहिले पनि नेकपा (एमाले) सरकारमा त छ । तर, हामीले सरकारको नेतृत्व गर्न पाएका छैनौँ । मधेशको सरकारमा हामी छौँ । तर, मुख्यमन्त्री हामीसँग छैन् । त्यसैले हामीले जनताले चाहेको जस्तो काम गर्न पाएका छैनौँ । ०८४ मा निर्वाचन हुँदैछ । अब नेकपा (एमाले)को एउटै संकल्प छ । यो देशको प्रधानमन्त्री नेकपा (एमाले)को हुनेछ । मधेशको मुख्यमन्त्री नेकपा (एमाले)को हुनेछ । हामीले त्यो सन्देश गाउँगाउँमा लैजानु पर्नेछ ।’

भट्टराईले विविधतायुक्त देशमा सबै मिलेर अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो । ‘म जुन जिल्लामा जन्मिएको हुँ, त्यहाँ अहिले पनि हिँउ परिरहेको छ । अहिले म जहाँ बोल्दैछु, यो ठाउँमा असाध्यै गर्मी छ । नेपालको विशेषता नै यही हो । नेपाल हिमाल, पहाड र तराईको देश हो ।’ उहाँले भन्नुभयो, ‘मैले संसदमा प्रतिनिधित्व गरेको जिल्ला ताप्लेजुङका दिदीबहिनी, दाजुभाई, आमाबुबाहरुले अहिले पनि बाक्लो पोशाक लगाइरहनु भएको छ । यहाँ पातलो पोशाकले पनि गर्मी भैरहेको छ । नेपालको विशेषता नै यही हो ।’

उहाँले गरिबी, अशिक्षा, पछौटेपनबाट हामीले मुक्त गर्नुपर्ने शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्नुपर्ने भन्ने एमालेको उद्देश्य यही रहेको पनि उल्लेख गर्नुभयो ।

यो पनि :

भूमिगत बसेको ठाउँमा उभिएर ईश्वर पोखरेलले मदन भण्डारी सम्झिएपछि…

प्रतिक्रिया
सम्बन्धित