सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बचतकर्ता ठग्ने सहकारीको नयाँ दाउ : महङ्गोमा घरजग्गा, गाडी र सेयर भिडाउने !

रुषा थापा २०८० भदौ १४ गते २०:१७

पछिल्लो समय बजारमा अधिंकाश सहकारी भागिसकेका छन् । नभागेकाले पनि बचतकर्ताको रकम फिर्ता गरेका छैनन् । अहिले ती सहकारीहरूले बचतकर्ताहरूलाई फकाइरहेका छन् । उनीहरू रकम फिर्ता गर्न नसक्ने भन्दै फेरि रकम थपेर घरजग्गा, गाडी र सेयर खरिद गर्न भनिरहेका छन् ।

उनीहरूले आनाको पाँच लाखमा बिक्री नहुने जग्गा ५५ लाख, सय रूपैयाँमा बिक्री नहुने सेयर पाँच हजार र लाख रूपैयाँमा बिक्री नहुने गाडी ३० लाख मूल्य राखेर बचतकर्तालाई फसाइरहेका छन् । बचतकर्ताहरू भने उपत्यकाभित्रका छन्, तर जग्गा भने रामेछापलगायतका जिल्लाको जग्गा खरिद गर्न भन्छन् ।

यस्तै, सदरमुकाममा भएका बचतकर्तालाई गाउँको जग्गा भिडाउँछन् । सहकारी दर्ता गर्दा सरकारले त्यसको कार्यक्षेत्र तोकिदिएको छ । उक्त कार्यक्षेत्रबाहिर गएर कुनै पनि काम गर्न पाइँदैन । तर, सहकारीका सञ्चालक र अध्यक्षहरूले सहकारी भने उपत्यकाभित्र दर्ता गर्ने तर जग्गा भने अन्य व्यक्तिको नाममा गाउँको किन्ने गरेको समेत पाइएको छ ।

हिँजो घुसको लोभमा सहकारीहरूले गाउँगाउँको जग्गामा समेत लगानी गरे । बचतकर्ताहरूले भने आफ्नो रकम सुरक्षित हुनुका साथै ब्याज आउने प्रलोभनमा रकम जम्मा गरेका थिए । तर, सहकारीहरूले अहिले बचतकर्ताहरूलाई न ब्याज दिन्छन् न साँबा । उल्टै महंगोमा घरजग्गा, गाडी र सेयर भिडाएर ठग्न खोजिरहेका छन् ।

सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारी चोर, फटाहा हुन् भनेर अहिले आम सर्वसाधारणले बुझिसकेका छन् । दुई वर्षअघि सहकारीहरूले आमनागरिकलाई विभिन्न आश्वासन देखाएर बचत गर्न लगाए ।

डिपोजिटको १६ देखि २२ प्रतिशतसम्म ब्याज दिने, दशैँमा बचतकर्ताको घरघरमा उपहार पुर्‍याइदिने, बुढाबुढीलाई सम्मान गर्ने तथा जन्मदिन मनाइदिनेलगायतका कार्य गरेर सहकारीले बचतकर्तालाई रकम जम्मा गर्न लगायो ।

तर, अहिले बचत फिर्ता गर्ने समयमा रकम फिर्ता नगरी महङगो घरजग्गा, गाडी र सेयर भिडाएर ठग्ने कोशिस गरिरहेका छन् । यसरी बचतकर्ताको रकम पनि फिर्ता नगर्ने तथा दिउँसै रात पारेर बचतकर्तालाई ठग्न खोज्ने सहकारीका सञ्चालकहरूलाई न सरकार समात्छ न सहकारीको दर्ता नै खारेज गरिदिन्छ ।

सहकारीहरूले आफुखुसी घुसको लोभमा घरजग्गा, गाडी र सेयरमा लगानी गरे । नाकि बचतकर्ताहरूले आफ्नो रकम त्यस्तो जोखिमपूर्ण क्षेत्रमा लगानी गर्नु भनेका थिए । यसरी घुस, ब्याज र सेवाशुल्कको लोभमा सहकारीहरू जोखिमपूर्ण क्षेत्रमा लगानी गर्ने अनि अहिले बचतकर्ताले दु:ख भोग्नुपर्ने ।

अहिले बचतकर्ताहरूले कि त सहकारीले भनेजति मूल्यमा घरजग्गा, गाडी र सेयर किन्नुपर्छ कि पैसा माया मार्नुपर्छ । अधिंकाश सहकारीले अहिले पनि बचतकर्तालाई झुट्टा आश्वासन देखाइरहेका छन् । उनीहरू आफ्नो भवन भएको दाबी गर्छन्, घरजग्गा, गाडी र सेयर संस्थाको नाममा थुप्रै भएको भन्छन् तर बचत फिर्ता माग्न जाँदा सय रूपैयाँ समेत दिँदैनन् ।

यस्तो हुँदा समेत सरकार सहकारीविरुद्ध दह्रो भएर उभिँदैन । सहकारीले करोड बचतकर्ताको खर्बो रकम डुबाइदिएको सरकार देख्दैन । सरकार सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीको अगाडि निरीह छ । लम्पसार परेको छ । अहिले बच्चादेखि बूढासमेतले सहकारीमा रकम राख्नुनहुने बताउँछन् । उनीहरू सहकारी ठग, चोर र दलाल हुन् भन्छन् ।

अब सर्वसाधारण जनताले जतिसुकै महंगो ब्याज दिन्छु भनेपनि सहकारीमा रकम राख्दैनन् । यसले गर्दा अब सहकारीले न बचतकर्ताको रकम फिर्ता गर्न सक्छ न कर्जा लगानी नै । मुलुकभर दर्तामा रहेका ३५ हजारभन्दा बढी सहकारी बन्द हुनेछन् । सहकारीले आम सर्वसाधारणले विश्वास गुमाइसकेको छ ।

अर्कोतर्फ सहकारीका सञ्चालक र कर्मचारीहरू बचतकर्ताले पिट्ने डरले लुकिलुकि हिँड्छन् । सहकारीले बच्चादेखि बुढा समेतको पैसा खाइदिएको छ । सरकारी कर्मचारीदेखि राजनीतिक दलका नेता, सञ्चारकर्मी, घरायसी काम संलग्न महिला तथा व्यक्ति, बाटोमा मकै पोल्नेलगायत सबैको पैसा सहकारीले खाइदिएको छ । अहिले त सहकारी नठगेको मान्छे नै भेटिँदैन ।

यसरी सहकारीले पैसा खाइदिएपछि उनीहरूको रुवाबासी भएको छ । उनीहरू घरविहीन भएका छन् । बाठा बचतकर्ताहरूले सहकारी डुब्छ भनेर थाहा पाउनेबित्तिकै गुण्डा, प्रहरी, अभियन्ता, नेता लिएर गएर आफ्नो पैसा उठाए । तर, जो बचतकर्ताको पहुँच थिएन, उसको पैसा आज डुबेको छ ।

कति बचतकर्ताहरूले करोड रूपैयाँ लिनुछ, तर कार्यालयको एउटा फोटोकपी मेसिन, ल्यापटप, कुर्सीलगायका केही सामान लिएर उनीहरूले चित्त बुझाए । सहकारीहरूले हिजो घरजग्गा, गाडी र सेयरको कारोबार हुनुञ्जेल लुट्नु लुटे ।

तर, यी क्षेत्रमा मन्दी आएपछि सहकारीहरूको भागाभाग चल्यो अनि बैंक टाट पल्टियो । अहिले बैंकमा पनि बचत गर्ने कोही छैन, निकाल्नेको मात्र लर्को छ । बैंक पनि सहकारीकै अवस्थामा पुग्ने दिन आएको छ । अहिले बजारमा सुनिन्छ कि तीन वर्षअघि चार करोडमा किनेको घडेरी अहिले बेच्न खोज्दा करोडमा बिक्दैन ।

मानिसहरूले घरघरमा पैसा लुकाएका छन् । जसले गर्दा बजारमा पाँच सय र हजारको नोट हाहाकार छ । अधिंकाश कोठा, सटर, फ्ल्याट खाली भएका छन् । व्यापारव्यवसायमा मन्दी आएपछि भाडा तिर्न नसकेर व्यापारीहरूले धमाधम सटर खाली गरिरहेका छन् । दुई वर्षअघिसम्म मालपोत र यातायात कार्यालयमा खुट्टा टेक्ने ठाउँ हुँदैन थियो ।

तर, अहिले मन्दीका कारण यी कार्यालयहरू पनि सुनसान छन् । अझै पनि सहकारीले बचतकर्ताहरूलाई रकम फिर्ता गर्ने आश्वासन देखाउनु र बचतकर्ताहरूले पनि विश्वास गर्नु भनेको मरेर गएको मान्छे जिउँदो भएर आउनु बराबर हो । अहिले सहकारीसँग बचतकर्ताको रकम गर्ने आधार नै छैन ।

त्यसैले, अब बचतकर्ताहरू सहकारीहरूको झुट्टा आश्वासनमा फस्नुहुन्न । अहिले बचतकर्ताहरू सहकारीका सञ्चालक र कर्मचारीहरू भेट्टिनेबित्तिकै कालोमोसो दलेर कुट्छन् अनि प्रहरी प्रशासनमा बुझाउँछन् । यसले गर्दा सहकारीका सञ्चालक र कर्मचारीहरू लुकेर हिँडेका छन् ।

उनीहरू बचतकर्ताको छेउमा समेत पर्दैनन् । तर, कतिञ्जेल सहकारीका सञ्चालक र कर्मचारीहरू भाग्छन् । कुनै न कुनै दिन त बचतकर्ताहरूले उनीहरूलाई भेटिनै हाल्छन् । पहिलापहिलाका मानिसहरू बैंक तथा सहकारीमा पैसा राख्नु नहुने तथा ऋण लिन नहुने बताउँथे ।

तर, सर्वसाधारणले बढी ब्याजको प्रलोभनमा आफूसँग भएको रकम भटाभट सहकारीमा जम्मा गरे । सहकारीहरूले कर्जा दिँदा ऋणीसँग १८ देखि ६० प्रतिशत ब्याज तथा २ प्रतिशत सेवाशुल्क, अनिवार्य रूपमा बीमा गर्न लगाउने तथा सेयर खरिद गर्न लगाउने र वर्षैपिच्छे कर्जा नवीकरण गर्न लगाएर दुई प्रतिशत लिन्थे ।

यसरी सहकारीहरूले मिटरब्याजमा कर्जा लगानी गर्दै आइरहेका थिए । सहकारीकै कारण अधिंकाश मानिसहरू विस्थापित हुनुपर्‍यो । सहकारीहरूले करोड मूल्य पर्ने धितो ३० लाखमै खाइदिएर ऋणीको उठीबास लगाउँदै आइरहेको थियो । तर, अहिले बचतकर्ताहरूले समेत यो कुरा थाहा पाएका छन् ।

सहकारीले कतिसम्म गर्छ ? भनेर जोकोही पनि जानकार भइसकेका छन् । सहकारीका सञ्चालक र कर्मचारीहरू अहिले धमाधम बसाइसराई गरिरहेका छन् । कतिपय त विदेश समेत भागेका छन् । उनीहरूमा बचतकर्ताले आफूहरूलाई नछोड्ने त्रास बढेको छ ।

जसरी मेनपावर कम्पनीहरूले पहिला सर्वसाधारणलाई ठगेका थिए, त्यसरी नै सहकारीहरूले पनि बचतकर्तालाई ठगे । तर, अब सहकारी चल्दैन भनेर धेरैले अनुमान लगाउन थालिसकेका छन् । सहकारीले करोडौं बचतकर्ताको बिचल्ली बनाउँदा तथा उनीहरूलाई घर न घाटको बनाउँदा समेत सरकारले केही गर्न सकेन ।

विज्ञापन बोर्ड पनि सहकारीकै पक्षमा उभियो । सर्वसाधारणलाई सहकारी बचत नगर्न भनेर सचेत गराएन । त्यस्तै, स्थानीय तहहरूले पनि सहकारीमा रकम जम्मा नगर्न आम सर्वसाधारणमा आह्वान गरेनन् । अहिले बचतकर्ताहरू कहिल्यै सहकारी विभागमा उजुरी गर्न जान्छन् त कहिले प्रहरी चौकी, गाउँपालिका, नगरपालिकामा ।

सहकारी पीडित बचतकर्ताहरूले महिनौँसम्म माइतीघर मण्डलामा आन्दोलन गरे । तर, त्यसको उपलब्धि केही भएन । सरकारले उनीहरूको माग सम्बोधन गरेन । अधिंकाश बचतकर्ताहरूले अहिले आफ्नो रकम माया मारिसकेका छन् ।

आफ्नो जीवनभरको कमाई तथा घरजग्गा बेचेर राखेको रकम अब सहकारीले फिर्ता गर्दैन भनेर उनीहरूले बुझ्रिसकेका छन् । अहिले बजारमा अधिंकाश मानिसहरू सहकारीहरू धेरै समय नटिक्ने बताउँछन् । उनीहरू अब सबै सहकारी एक वर्षको अवधिमा झन् टाट पल्टिने बताउँछन् ।

अहिले साथीभाइदेखि आफन्तसम्म सहकारीमा रकम बचत नगर्न सुझाव दिन्छन् । त्यसैले, अब सरकारले सहकारीको दर्ता खारेज नगरेपनि सहकारीहरू आफैँ भाग्नेछन् । उनीहरूले जनताको विश्वास गुमाइसकेका छन् । अब सरकारले सहकारी खोल्न नयाँ दर्ता पनि दिनुहुन्न र पुरानाको दर्ता खारेज गर्न पनि ढिलो गर्नुहुन्न ।

सहकारीले गरिबको जीवन उकास्ने काम नगरी उल्टै धनीलाई सुकुम्बासी अवस्थामा पुर्‍यायो । अब सहकारीको विरोधमा जनता घरघरबाट सडकमा उत्रिछन् । हाल सञ्चालनमा रहेका सहकारी पनि बन्द गराउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित