सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

ब्लग : खेतीयोग्य जमिन मासेर घर बनाएपछि अब इँट्टा टोक्ने कि अलकत्रा ?

अनुसा थापा २०८० साउन ११ गते २२:२९

अनुशा थापा

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै नेपाली बजारमा हाहाकार देखिन थालिसकेको छ । व्यापारीले धमाधम चामल लुकाउन थालेका छन् भने सर्वसाधारणले पनि चामलको बोरा–बोरा उठाउन थालेका छन् ।

पैसा हुनेले पाँच बोरासम्म चामल लगेर घरमा थन्काइरहेका छन् । तर, त्यो चामल कतिञ्जेल खाने ? एक वर्ष पुग्ने चामल त घरमा लगेर थुर्पालान्, त्योभन्दा पछाडि के खाने ? अहिले पनि किलो–किलो चामल किनेर छाक टार्नेहरू छन् ।

उनीहरूले के खान्छन् ? अब नेपालमा भोकमरी लाग्छ । खेतीयोग्य जमिनमा प्लानिङ गर्दाको नतिजा अब नेपालीले देख्छन् । ढुङा, वालुवा, गिट्टी, इँट्टा खाने कुरा भएन् । न फलाम टोक्न मिल्छ । भोक लागेको छ भन्दैमा बाटोको अल्कत्रा कोट्याउन मिलेन् । सरकारले बेलैमा नीतिनियम नबनाउँदा र जनताले पनि भोलि नदेख्दा देश खाद्यान्न सङ्कटमा परेको छ । व्यापारीले अहिले नै एक बोरा चामलमा दुई सयदेखि पाँच सय रूपैयाँ बढाइसकेका छन् ।

कुनै पनि प्राणी खानेकुराबिना बाँच्न सक्दैन् । बाँच्नको लागि अन्न नै चाहिन्छ । तर, या कुरा न सरकारले बुझ्यो न जनताले । जग्गा किन्ने, घर बनाउने । सबैको ध्यान यतातिर मात्र गयो । कृषिप्रधान देश भनिएको छ तर यहाँ खेतीकिसानी गर्ने कोही छैन् । किसानहरू सबै विदेशिसकेका छन् । गरिखाने जग्गामा सबै कंक्रिट ठडिएपछि खेती कहाँ गर्ने ? माटो त जनता बचाउने एउटा मात्र स्रोत हो । माटो नभईकन अन्न कहाँ फल्छ ? सरकारले माटोमा कंक्रिट ठड्याउन दिनुहुँदैन् भनेर पहिल्यै सोच्नुपर्दैन् ?

रोपाइँको सिजनमा मल पाइँदैन् । असार सकिसक्दासमेत आधा पनि रोपाइँ सकिएको हुँदैन् । घर बनाएर बाँकी भएका खेत पनि बाँझै छ । अनि कसरी देश चल्छ ? उत्पादनलाई प्रोत्साहन गर्नुको साटो सरकार नै जग्गा किनबेच गरेर राजश्व उठाउनतर्फ लाग्यो । क्षणिकको सोच्दा मुलुकलाई कति घाटा हुन्छ, यो अबको केही समयमै देखिन्छ । सरकारले घरजग्गा कारोबारबाट उठेको राजश्व देख्यो तर त्यो कहाँ खर्च भइरहेको छ ? यो देखेन्, हेर्ने कोशिस पनि गरेन ।

उठेको राजश्व सामान आयात गर्नलाई समेत अपुग हुन्छ । जसले गर्दा व्यापार घाटाले सीमा नाघेको छ । देशमै उत्पादन भएको भए न खाद्यान्न आयात गर्नुपर्थ्यो, न व्यापार घाटा हुन्थ्यो । सरकारमा बस्नेहरूलाई यति न थाहा छैन् भने यिनीहरूले जनता र राष्ट्रका लागि के गर्छन् ? जग्गा दलाली र सरकारको मिलोमतोका कारण जनता भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना भएको छ । आनाको एक लाखमा बिक्री नहुने जग्गा प्लानिङ गर्दै ६० लाख रूपैयाँमा बेचे ।

विदेशमा वर्षौं दु:ख गरेर कमाएकाले पनि त्यही लगानी गरेका छन् । सरकारी कर्मचारीले पनि घरजग्गामै लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाको लगानी पनि त्यही घरजग्गामा छ । जो हेर्‍यो, जग्गा किन्ने अनि घर बनाउने । मलिलो माटो भएको फाँटलाई टुक्रा–टुक्रा बनाइदिए । उब्जनी हुने जग्गामा घर ठड्याइयो । अहिले कतिपयलाई त घर ‘निल्नु न ओकाल्नु’ भएको छ । बजारमा मन्दी छाएसँगै घरजग्गा कारोबार शून्यमा झरिसकेको छ ।

सबैलाई बेच्नु छ, किन्ने कोही छैनन् । घर कस्तो ठाउँमा बनाउने दिने ? बाटो कहाँ निर्माण गर्ने ? सरकारले बस्ती बनाउन दिनुअगावै सोच्नुपर्थ्यो । माटो उर्वर नभएको र खेती गर्न सम्भव नभएको ठाउँमा मात्रै घर बनाउन दिने भनेर नियम बनाउनुपर्थ्यो । विडम्बना, सरकारले यति जाबो काम पनि गर्न सकेन् । सरकारको कमीकमजोरीको असर अब जनताले खेप्नुपर्ने छ । जनतालाई सन्तान जन्माउन दिने, नागरिकता दिने अनि भोट र कर लिने काम मात्रै सरकारले गर्‍यो ।

नेपालका राजनीतिक दल, सरकारी कर्मचारी र आम नागरिक ‘भेडा’ नै रहेछन् भन्ने त पुष्टि भइसकेको छ । एउटा भेडा हाम्फाल्यो भने अरु पनि हामफाल्छन्, यहाँ पनि त्यस्तै भयो । घर बनाउने होड नै चल्यो । छिमेकीले बनायो म पनि बनाउँछु भनेर सर्वसाधारण लागि परे । हिजो नेपाल खाद्यान्नमा आत्मनिर्भर थियो । खाद्यान्न निर्यात गर्ने देश अन्य भारतको बजार बन्यो । अन्नदेखि लिएर तरकारीसमेत भारतबाटै आउँछ । अहिले त चामल नपठाउने भनेको छ, भोलि त सबै ठप्प पारिदिन्छ ।

अनि नेपालीले के खान्छन् ? नेपालका राजनीतिक दलका नेता भारतको गुलाम बने । यिनीहरूलाई नेता भन्न पनि लाज लाग्छ । भारतको भर पर्न बाध्य बनाउने यिनीहरू होइनन् ? भारतले जे–जे भन्यो, त्यही–त्यही गरे । जसले गर्दा मुलुक तहसनहस बन्यो । विकास भनेकै घर र बाटो बनाउनु हो भनेर भारतले सिकायो । यिनीहरूले त्यही गरे । भारतबाट सामान आयात गरेर बाटो बनाए । त्यो बाटोमा गुड्ने गाडी पनि भारतीय नै हुन् । पेट्रोल र डिजेल पनि भारतले नै हामीलाई बेच्छ ।

घर बनाउन चाहिने हरेक सामान भारतबाटै आयात हुन्छ । विकास भनेको खेतीयोग्य जमिन मास्नु हो ? बाटो चाहिन्छ तर खेतीयोग्य जमिन मासेर बाटो बनाउनुपर्छ भन्ने त छैन् । जहाँजहाँ अलिक बढी उत्पादन हुन्छ, त्यही कंक्रिट ठडिएको छ । सबैतिर कंक्रिट ठड्याएपछि जनताले खानेचाहिँ के ? भारत आफ्नो योजनामा सफल भइहाल्यो । भारतलाई नेपाल सक्काउनु थियो, उसले त्यो गरेरै छोड्यो । अझैपनि खेतीयोग्य जमिनको कित्ताकाट खुलाउनुपर्छ भन्नु लाजमर्दो कुरा हो ।

देशको आफ्नो उत्पादन केही छैन् । उद्योग खोलौं भन्ने कोही पनि छैन् । बैंक तथा वित्तीय संस्थाहरू उद्योगमा लगानी गर्न नचाहने, घरमा जति पनि कर्जा दिने । दलालहरूको कारणले घरजग्गाको मूल्य दिनको दुई गुणा र रातको चार गुणाले बढ्यो । छोटो समयमा धेरै नाफा कमाउने प्रलोभनमा परेका बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूले धमाधम यसमै लगानी गरे । संस्थामा जति पनि निक्षेप संकलन भएको थियो, त्यो घरजग्गामा फ्रिज भएको छ । जसले गर्दा बैंक तथा वित्तीय संस्था टाट पल्टेका छन् ।

निक्षेपकर्ताहरू सडकमा आइपुगेका छन् । अझै पनि नेपालीको चेत नखुल्ने नै हो ? उद्योग खोेलेको भए त आज यस्तो सङ्कट उत्पन्न नै हुँदैनथ्यो । ‘सर्टकट’ बाटो अप्नाउन खोज्दाको असर त सबैले भोगिहाले । बैंक तथा वित्तीय संस्थाले उद्योगमा मात्र लगानी गरिदिएको भए आज नेपाली कामको खोजीमा विदेशमा जानु पर्दैनथ्यो । न त्यहाँको खपिनसक्नु घाममा काम गर्नुपर्थ्यो । नेपाल निर्यातमुखी देश बन्थ्यो । यही रोजगारीको अवसर सिर्जना हुन्थ्यो । न सरकारमा यो सोच आयो न संघसंस्थामा ।

नेपालीले सिकेको एउटा कुरा,‘घर बनाउने, बहालमा लगाएर बसिबसि खाने ।’ घर बनाउनेबित्तिकै म को–को न हुँ गर्न थाले । घरले खान दिँदो रहेछ कि माटोले ? अब यिनीहरूले देख्छन् । जनता पनि जिम्मेवार हुनुपर्दैन ? खाना बिना बाँच्न सकिँदैन् भनेर बुझ्नुपर्दैन ? जुन देश खाद्यान्नमा आत्मनिर्भर हुँदैनन्, त्यो देश कहिलेपनि उकासिँदैन । अरुको हस्तक्षेप भइरहन्छ । अब भारतले हामीलाई ‘ब्ल्याकमेल’ गर्न बेर छैन् । कि नेपाल हामीलाई सुम्पियौं कि खाद्यान्न दिँदैनौं भन्यो भने के गर्ने ?

अहिले बनाएका घर भत्काउन थाल्ने ? सरकारसंग कुनै ‘भिजन’ नै भएन् । अझैपनि अरुकै भर पर्ने कि आफैं आत्मनिर्भर बन्न कुनै उपाय खोज्ने ? सरकारको हातमा छ । भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठले खेतीयोग्य जमिन बचाउँछिन् कि सकाउँछिन् ? गम्भीर प्रश्न खडा भएको छ । जग्गा व्यापार गर्ने चीज होइन् । जग्गा सरकारकै अधिकारमा राख्नुपर्थ्यो । व्यक्तिलाई अधिकार दिँदा जग्गा सिद्धिहाल्यो । अब भूमि सुधार मन्त्रालय किन चाहियो ? यहाँ कृषि नै हुँदैन्, कृषि मन्त्रालय के आवश्यकता ?

यी मन्त्रालय र यसका मातहतका विभाग खारेज गरिदिए हुन्छ ? औचित्यहीन मन्त्रालय राखेर केही काम छैन् । नेतृत्व गलत हुँदा जनता भोकभोकै मर्ने भए । भारत निँहु खोज्न थालिसकेको छ । चामलबाट शुरु गरेको छ, विस्तारै ग्याँस, डिजेल, तरकारी, गहुँलगायत खाद्यान्न पठाउन रोक लगाइदिन्छ । भारतले नेपालमा दुईटा कुरा चलाउन बाँकी छ । भारतीय नागरिकता र भारतीय पैसा, यो लागू गर्न भारत अघि बढिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित