शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

‘इपानमा मेरो उम्मेदवारी स्वार्थ र व्यक्तिगत लाभका लागि होइन, कसैसँग कम्प्रोमाइज गर्दिनँ’

दैनिक नेपाल २०८० जेठ ३० गते २०:५०

जति पनि स्वतन्त्र ऊर्जा उत्पादकहरू छन् ती कम्पनीका जति पनि आयोजनाहरू छन्, जससँग आयोजना विकास गर्ने लाइसेन्स छ, त्यस्तो संस्था वा आयोजनाहरूको हित गर्ने संस्था हो, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ।

यसले ऊर्जा उत्पादकहरूको हित र भलाइका लागि काम गर्दै आएको छ । आगामी ३२ गते बिहीबार यो संस्थाको नयाँ नेतृत्व चयनसहितको साधारण हुँदैछ । यसै सन्दर्भमा नेपाल हाइड्रोपावर एशोसियसन (एनएचए) का पूर्वध्यक्ष समेत रहेका किरण मल्लले पनि नेतृत्वको दाबी गरेका छन् ।

प्रस्तुत छ, नेतृत्व दाबी गरेर चुनावी अभियानमा होमिएका प्रत्याशी मल्लको चुनावी योजना, एजेण्डा, रणनीतिलगायत विषयमा गरिएको कुराकानी:–

कुन उद्देश्य र अठोटका साथ इपान (स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल) को नेतृत्व दाबी गरिरहनुभएको छ ?

म यो क्षेत्रमा लागेको ३५ वर्ष भन्दा बढी समय भइसकेको छ । पेशाले सिभिल इन्जिनीयर, आफ्नो अध्ययन पूरा गरिसकेपछि यही जलविद्युतको विकास र निर्माण गर्ने काममा निरन्तर लागि रहेको छु ।

जलविद्युतको उत्पादन, विकास, अध्ययन, कन्सल्टिङ, कन्स्ट्रक्शन गर्ने, संचालन अपरेशन गर्ने, यसैको सेरोफेरोमा मैले ३५ वर्ष खर्च गरेको छु । अहिले मेरो छोरा र छोरीले समेत यही क्षेत्रलाई अपनाएर काम गरिरहेका छन् । मेरा यिनै अनुभवहरूलाई थप क्रियाशील बनाउँदै ऊर्जा उत्पादकहरूको हक र हितका लागि काम गरेर यो क्षेत्रको विकासमा थप नयाँ गर्छु भन्ने उद्देश्यका साथ मैले इपानको नेतृत्वमा दाबी गरेको हुँ ।

मलाई विश्वास छ, मेरा अनुभव र परिपक्वताले यो संस्थालाई नयाँ गति दिन म सक्षम छु । यस क्रममा एउटा अनुभवी व्यक्ति नेतृत्वमा आउने कुरालाई मेरा विभिन्न तह र तप्कामा रहनुभएका सहयात्रीहरूले पक्कै पनि स्वीकार गर्नुहुनेछ भन्ने पनि मलाई पूर्ण विश्वास छ । मैले सो सम्बन्धमा मेरा प्रतिवद्धता सार्वजनिक गरिसकेको छु । त्यसबाट विभिन्न संघ संस्थाहरूसँग बेग्ला–बेग्लै समसामयिक चुनौतीका रूपमा देखिएका छन् र त्यसका समाधानमा कसरी ईपान अगाडि बढ्नु पर्छ भन्ने प्रष्ट हुन्छ ।

तपाइँ इपानको नेतृत्वमा चयन हुनुभयो भने के–कस्ता काम गर्नुहुन्छ ?

मुख्य कुरा म मेरो पूर्ण समय संस्थालाई दिदै काम गर्ने प्रयास गर्नेछु । अनुभवलाई उपयोग गर्नेछु र संस्था र संस्थाका सदस्यहरूको अधिकतम हितका लागि काम गर्नेछु । कम्तीमा पनि म नेतृत्वबाट बाहिरिदै गर्दा साथीहरूले सम्झनालायक कामहरू भएका हुनेछन्, म त्यो गरेर देखाउनेछु ।

कतिपय कुराहरू हामीले सोचेको जस्तो नहुन पनि सक्छ । तर, पनि भरपूर कोशिस गरेको थियो, टीममा राम्रोसँग काम गरेको थियो भनेर साथीभाइहरूले सम्झिनेगरी काम गर्ने मेरो योजना छ । यसमा मैले विस्तृत रूपमा नै लिखित प्रतिवद्धता जाहेर गरिसकेको छु ।

यो संस्थाबाट केही कमाउने, अरु केही फाइदा लिने वा पदको दुरूपयोग गर्ने भन्ने यहाँ हुँदैन । त्यसकारण विशुद्ध सेवा नै गर्ने उद्देश्यका लागि मैले नेतृत्वको आकांक्षा देखाएको हुँ ।

योजनाका अलावा एजेण्डाहरू पनि केही छन् कि ?

चुनावी प्रतिस्पर्धा भनिसकेपछि एजेण्डाहरू त अवश्य पनि हुने नै भयो । विशुद्ध सेवाका साथै संस्थाका सदस्यहरूको अधिकतम हित हुनेगरस् काम गर्नु नै मेरो प्रमुख एजेण्डा हो ।

यसका अतिरिक्त नेपालमा हइड्रो प्रोजेक्ट निर्माण गर्न सहज छैन । साथसाथै यो व्यापक र फैलिएको क्षेत्र पनि हो । एउटा अनकन्टार क्षेत्र जहाँ बाटो–घाटो नै हुँदैन, त्यस्तो ठाउँमा ढुङ्गा, टिट्टी, बालुवा, रुख, जमीन, जंगल र त्यहाँको भौगर्भिक बनावटलगायत समस्यासँग हामीले जुध्नुपर्छ । अर्कोतर्फ नीतिनियम, वातावरण, स्थानीयका स्वाभाविक वा अस्वाभाविक मागहरूसँग पनि हामीले प्रत्यक्ष जुध्नुपरिरहेको छ । प्राकृतिकबाहेकका समस्यालाई कानुनी, व्यवहारीक रूपमा धेरै हदसम्म कम गर्न सकिन्छ । त्यसका लागि मैले पहलकदमी गर्नेछु ।

यस्तै, कुनै एउटा हाइड्रो प्रोजेक्ट निर्माण गर्नका लागि सुरूमै निकै ठूलो पुँजी लगानी गर्नुपर्ने हुन्छ । बैंकहरूलाई पुजी मोविलाइज गर्ने, संघ, प्रदेश र स्थानीय तहका सरकारहरूसँग समन्वयन गर्दा सहज हुनेगरी नीति नियम बनाउनुपर्ने आवश्यकता छ, यसमा मैले पहल गर्नेछु । आयोजनाहरू वित्तिय व्यवस्थापन गर्न बैंकिङ तथा सम्बन्धित निकायहरूको भूमिकालाई सहजीकरण गर्नमा मेरो भूमिका रहनेछ ।

यसैगरी रुग्ण आयोजनाहरूलाई सरकारले फेसिलेटेड गर्ने वातावरण निर्माण गर्ने प्रयास गर्नेछु । यो सबै सम्पत्ति राज्यको हो । निश्चित समयपछि सरकारलाई नै हस्तान्तरण गर्ने सम्झौता हुन्छ । त्यसकारण सरकारले यो कुरालाई सहजीकरण गर्दा बेखुसी हुनुपर्ने र गुमाउने पर्ने अवस्था केही छैन । अब त उत्पादनपछि बिक्रीको पनि कुरा महत्वपूर्ण बनेको छ । त्यसका लागि पनि लाइसेन्स लिने व्यवस्था गर्नका लागि सार्थक पहल गर्नेछु ।

यो क्षेत्रमा मेरो ३५ वर्षे लामो यात्राका क्रममा मैले विभिन्न आयोजनाहरूको विकास गर्ने, आयोजनाहरूलाई अध्ययन गर्ने, आयोजनाहरूको डिजाइन र कन्स्ट्रक्शन गर्ने तथा निर्माणपछि अपरेशनलगायत यावत कामको लामो अनुभव हासिल गरेको छु । कन्स्ट्रक्शन कम्पनी हिमाल हाइड्रो विद्युत् उत्पादन, वितरण र कन्सल्टिङ कम्पनी बुटवल पावर, निजी क्षेत्रबाट निर्माण भएको नेपालकै पहिलो र ठूलो खिम्ती हाइड्रो जलविद्युत् आयोजनामा समेत काम गरेको छु ।

यस्तै, आँधीखोला, झिमरुक, खिम्ती, मिदिमखोला, कालंगा, रुदी, रुरु, माईखोला, हेवाखोला, सुपरदोर्दी, खिम्ती (मिस्त्री, लिखु, मैलुङग, तादिखोला, माइखोला, पुवाखोला, राहुघाट विभिन्न आयोजनाहरूमा विभिन्न कम्पनीबाट विभिन्न पक्षबाट आयोजनाहरूको अध्ययन विकास तथा निर्माणमा केकस्ता चुनौती छन् भन्ने अनुभव ज्ञान हासिल गरेको छु ।

ती समस्याहरूलाई कसरी समाधान गर्नुपर्छ भन्ने विषय राम्रोसँग पहिचान गरिसकेको, पढाइले मात्र नभए अनुभव ‘पराइ’ले पनि भुक्तभोगी व्यक्ति हुँ । यी सबै ज्ञान र अनुभवलाई प्रयोग गरेर इपानलाई नमूना संस्था बनाउने र आवद्ध सदस्यहरूलाई सहज वातावरण निर्माण गर्ने मेरो एजेण्डा हो ।

यो क्षेत्रका चुनौतीहरू के–के हुन् ?

चुनौतीको कुरा गर्नुपर्दा, नेपालको भौगोलिक, अवस्था नै जलविद्युत् आयोजना निर्माणको एउटा चुनौती हो । त्यसमाथि पहाड र चट्टानको बनोट कमजोर खालको रहेका सुरूङमार्गलगायत काम समयमै र तोकिएको लागतमा सम्पन्न गर्न चूनौती छ । बर्खाको समयमा धेरै पानी पर्ने र आयोजनाहरूनै डुबाउने तथा बगाउने समस्या छ भने हिउँदमा पानी नपुगेर क्षमता अनुसारको उत्पादन गर्न सकिरहेका छैनौँ । यसैगरी बाढी, पैरो, भूकम्पलगायत प्राकृतिक प्रकोपका कारण पनि नेपालका सतहमा भएका विद्युत् गृहहरू जोखिममा रहेको हामी पाउँछौँ । जसको उदाहरण हामी भोटेकोशी जलविद्युत् आयोजनालाई लिन सक्छौँ ।

यस्तै, प्रवेशमार्ग नहुनु, पुँजी जुटाउन सहज नहुनु, विस्फोटक पदार्थको सीमितिता हुनु, ढुवानीमा एयरलिफ्टङ गर्नुपर्ने बाध्यतालगायत हाम्रा समस्याहरू छन् । यसैगरी, स्थानीयहरूको अस्वाभाविक माग र चाहना तथा त्यसलाई पूर्ति गर्ने लगानी तथा पुँजीको सीमितिता हुनुलगायत समस्याहरू पनि हामीले भोगिरहेका छौँ । वन जंगल, जमीन को मुद्धा पनि उर्जा उत्पादनका चुनौती पुर्ण छन्, उत्पादन लागत कम गराउन पर्ने, एएब् को उचित दर कायम गर्नुपर्ने, लाइसेन्स का अवधि बढाउनु पर्ने, च्ऋइम् लाई समेत सामयिक थप गर्नुपर्ने चुनौतीहरू समेत छन् ।

यति लामो योगदान गर्नुभएको, विषयगत क्षेत्रको अध्ययन गर्नुभएको, विभिन्न अनुभव हासिल गर्दै समस्या र समाधानको उपाय समेत पहिचान गर्नुभएका तपाइँको उम्मेदवारीको योग्यताबारे चाहिँ प्रश्न उठेको छ नि ?

इपानको विधानले तोकेको परिधिभित्र रहेर मैले आफ्नो उम्मेदवारी घोषणा गरेको हुँ । अध्यक्ष बन्नका लागि एक कार्यकाल कार्यकारिणी सदस्य भएको हुनुपर्दछ । त्यो म भइसकेको छु । डा. सुवर्ण श्रेष्ठ अध्यक्ष हुनुभएको तेस्रो कार्यसमितिमा म कार्यकारिणी सदस्य थिएँ ।

त्यसअघि यो संस्थाको स्थापनाकालमा पनि मैले बुटवल पावर कम्पनीको तर्फबाट इपानमा प्रतिनिधित्व गरेको थिएँ । त्यसयता संस्थाको कार्यकारी समितिमा नरहे पनि मैले आफ्नो तर्फबाट सहभागी भई, सहयोग गर्दै आएको हुँ । म पुरानो सदस्य भएका कारण आजभोलि आउनुभएका नयाँ साथीहरूलाई कम जानकारी हुनुलाई मैले अन्यथा लिएको छैन । म यो संस्था इपानसँग लगातार जोडिएर काम गर्दै आएको छु ।

म योग्य हुँदाहुँदै पनि निर्वाचन कार्यविधि र विनियमावली परिवर्तन गरेर वरिष्ठ उपाध्यक्ष र अध्यक्ष हुनको लागि पदाधिकारी नै हुन पर्ने कार्यसमितिबाट पास गरिएको छ । त्यो कुरा बाहिर ल्याउन उहाँहरूले सक्नु भएको छैन । त्यसकारण मेरो उम्मेदवारी वैधानिक छ । कुनै समस्या छैन ।

तपाइँले उम्मेदवारी फिर्ता लिदै हुनुहुन्छ भन्ने चर्चा पनि छ नि ?

संस्थालाई योगदान गर्नेबाहेक मेरो अरु कुनै स्वार्थ नभएकाले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता हुँदैन । कसैलाई त्यस्तो लागेको छ भने यो भ्रमबाट मुक्त हुन अनुरोध गर्दछु ।

मेरो उम्मेदवारीलाई छोरीको उम्मेदवारीसँग पनि जोडेर प्रचार गरेको मैले सुन्दै आएको छ । सामान्यत: चुनावको बेला यस्ता खालको चर्चा र हल्ला हुनु स्वाभाविक हो । तर, मेरी छोरी अहिले जे–जस्तो पोजिसनमा छिन् उनी आफ्नै क्षमता र लगनशीलताले भएकी हुन् । उनले अझै राम्रो गर्दै जानेछिन् भन्ने विश्वास मलाई छ ।

मैले छोरीका लागि वा कुनै बाहानामा उम्मेदवारी फिर्ता लिने छैन । मेरो उद्देश्य नै फरक छ त्यसैले कसैसँग कम्प्रोमाइज गर्ने पक्षमा म छैन ।

चुनाव छोडेर सहमतिको प्रक्रियालाई जोड दिइयो भने तपाइँको उम्मेदवारी के हुन्छ ?

यदि भावी नेतृत्वका लागि सहमतीय प्रक्रिया अपनाइयो भने पनि अध्यक्ष बन्ने म नै हुँ । किनभने समन्वयकर्ताहरूले कुनै पूर्वाग्रह नराखी समन्वय गरेर निर्णय लिनुभयो भने मेरो विकल्प अरु छैन । उहाँहरूले इपानको नेतृत्वमा कस्तो व्यक्ति चाहिन्छ भन्ने कुरामा राम्रो अध्ययन गर्नुभएको छ भन्ने मेरो दृढ विश्वास छ ।

प्रतिक्रिया
सम्बन्धित