सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

‘स्वप्नदृष्टि’

बीबी श्रेष्ठ २०७९ भदौ १६ गते २२:३०

दृष्टिको भ्रामकतामा जीवन हराएको छ कि, सोचको दरिद्रतामा ? पल, कुना, कन्दराका अथाहमा तेस्रिने प्रश्नहरू जीवनका सारथी भने पक्कै रहेछन् ।

जर्वजस्त सोचमा आएको शिथिलताले थिलो थिलो पारेको जस्तो । यहि पृष्ठभूमिमा रमेका पलहरू साँच्चै अभिन्नता बन्ने रहेछन् । प्रकृतिको छटालाई वुझन नसकेको हो कि जीवनको स्वार्थतामा भाँजो हालेको हो ?

जान अन्जानका विषयवस्तुहरू जब स्वार्थताका महत्वकांक्षा वन्दछन्, जव जीवन साँच्चै बोझ बन्ने रहेछ । यही बोझका भारीहरू विभिन्न कर्म, पल र अनुग्रहमा देखिइरहेका छन् ।

बीबी श्रेष्ठ

निरीहता जीवनको पर्याय रहेछ, क्यारे ! जुन कहिँ न कहिँ, कतै न कतै सबैको प्यारो बन्ने रहेछ । पूर्णताका परिभाषामा पनि र अभावको क्षणमा पनि । यसको आलिङ्गनविना पूर्ण नहुने जीवन । यहि पर्याय भित्रको आत्मासाथमा जीवनको पलको यादहरूले साँच्चै नपोल्ने कोही होला कि नहोला ? त्यही पलमा दम्भ मिश्रित व्यवहारहरू प्रस्फुटित होला कि नहोला ? विगत, वर्तमान र भविश्यको प्रारूप नै जीवन हो । यहि भित्र विगतका समिक्षा, वर्तमानको वस्तुगत स्थितीको मापन गर्न सायद कसैले पनि नगर्ला, त्यसैको प्रतिफलमा हामी दम्भी र महत्वकांक्षाका शिखरमा निरन्तर अगाडि बढिरहेका छौँ ।

यही निरन्तरको श्रृङ्खलाले भविश्यको कल्पना गर्न सक्दैनौँ । कल्पना र सपना त फगत स्वार्थ केन्द्रित, महत्वकांक्षा र स्वार्थमिश्रित मात्र हुने रहेछ । वस्तुको मात्रात्मक वृद्धिले त्यसको आवश्कतालाई बुझाउन नसक्ने रहेछ, शिवाय आत्मकुष्ठा र घमण्डबाहेक । यहि सत्यता भित्र नै आम जीवन घुमिरहेको हुने रहेछ । भेल पनि कति ठूलो ?

साँच्चै शारिरीक रूपमा कमजोर हुनेहरू मानसिक रूपमा स्वतः कमजोर हुने नै भयो, भेलले बगाँउछ नै जस्तो । तर गन्तव्यबिहीन भेलले क्षति शिवाय केही गर्दैन । प्रकृति त निर्मम हुने रहेछ भने प्रकृतिको अणु मानव जाति किन निर्मम नहुँदो हो त ? मानवतालाई भौतिक पर्याप्तताको मात लागेजस्तो प्रकृति पनि मातिरहेको छ । प्रकृतिको अनुशरण नै मानव जातिले गर्नुपर्दछ । किनकी प्रकृति साध्य हो, अन्य सबै साधन । साधनले साध्यको अनुशरण स्वाभाविक नै होला ।

प्रकृतिको अनुपमतालाई चिन्न नसक्नु नै जीवनको सबैभन्दा खराब पक्ष हो क्यारे ! अन्धकार रातमा बुनेका सपनाहरू प्रकृतिका छटासँग धुमिल भएर जाने रहेछ । सोच नै बन्धक बन्ने रहेछ । यति धेरै शक्तिशाली प्रकृतिसँग फेरि पनि एकाकार हुन छाडेर दम्भ मिश्रित व्यवहार केका लागि ? प्रकृति र वातावरणलाई नियाल्ने दृष्प्रयासले सायद बाँच्न सकिँदैन क्यारे ? फेरि पनि यो दृष्प्रयास किन ? असहजको यो पहाडमा मिल्ने, समाहित हुने सोच, जीवनत्याग को अंश त होइन ?

चर्को घामको उखरमाउलो क्षणमा बर्खाको आगमनले दिएको शितलताले धेरै राहत दिएता पनि यसको प्रभावमा प्रभावित हुनेहरू पनि हुन्छन् क्यारे । शितलताको अनुभूति खोज्नेहरूले यसको प्रभावलाई सोच्न सक्दैनन । अतः हरेक वस्तुभित्रका सहज असहज विषयहरू एकअर्कामा अन्योन्याश्रित सम्बन्धहरू भित्र रहेका हुन्छन् । व्यक्तिका मानसिकता अनुकुलता र प्रतिकुलतामा निर्भर गर्ने रहेछ, सत्यतामा रम्नेहरू स्वप्नदृष्टिका भागीदार मात्र रहेछन् ।

असीमित चाहना र आवश्यकतामा स्वार्थताका गन्धहरू सुगन्धका रूपमा मानिसकतामा गुल्जार हुँदा रहेछन् । दुखको मुख्य कारण नै यहि बन्दो रहेछ । प्रकृति र वातावरणसँगको पौँठेजोरी आवश्यकता कि स्वार्थता ? जब आवश्यकता व्यक्तिगत बन्दछ, त्यो स्वार्थ वन्दछ । स्वार्थ जब महत्वकाङ्क्षामा रूपान्तरण हुन्छ, त्यसपछि शुरू हुन्छ चक्र ।

हृदयका स्पन्दनमा प्रस्फुटित भावहरू हृदयमा नै दबाएर बाँचेका हुन्छन् मान्छे । यो सबै स्वार्थ र महत्वकाङ्क्षाका उपज हो । व्यक्तिका मानसिकता अनुकुलता र प्रतिकुलतामा निर्भर गर्ने रहेछ, सत्यतामा रम्नेहरू स्वप्नदृष्टिका भागीदार मात्र रहेछन् ।

उर्लिएको वर्षा विस्तारै धुमिल हुँदै गएको छ । प्रकाशको बाहुल्यतामा रम्नेहरू बर्खाको वेपर्वाह गर्न अभ्यस्त छन् । आवश्यकता जीवनको अपरिहार्यता पनि हो आवश्यकता जब स्वार्थ र महत्वकाङ्क्षामा बदलिन्छ, त्यसपछि निरीहता आकर्षित हुन्छ । आत्मालोचना पनि निरीह बन्दछ । नयनका स्वप्नदृष्टिहरू अनाहकमा रोदन बनिदिन्छन् ।

आँशु पनि सीमित हुन्छन, क्यारे । धर्तीमा हरेक वस्तु सीमित हुन्छन भन्ने नबुझेकाहरू निरीहतामा बुझ्ने ल्याकत राख्दछ, तर त्यो ल्याकतले स्वयम् आफै न अरु कसैलाई परिवर्तनका लागी संवाहक बन्न सक्दछन् । कमजोर सधैं, सबै नबने जस्तो बलियो र शक्तिशाली पनि सबै र सधै बन्न सक्दैनन । यति धेरै सत्यताभित्र पनि हामी यति धेरै भौतारिएर निरीहता उन्मुख बनिरहेका छौँ । हृदयका स्पन्दनमा प्रस्फुटित भावहरू हृदयमा नै दबाएर बाँचेका हुन्छन मान्छे । यो सबै स्वार्थ र महत्वकाङ्क्षाका उपज हो ।

आत्मिक असुन्तलन जीवनका सबैभन्दा घातक पक्ष हो । जहाँ जो कोही पनि आलिङ्गन हुन्छन् । हृदयको पुकार र मस्तिष्कको चेतनाका समागम नै जीवनका कर्म हुन् । यहि भित्रको असन्तुलन नै मानव जीवनका तरलता हुन् । जुन तरलताले कहिल्यै मानवलाई शान्ति दिदैन । दिन्छ त केवल, स्वार्थ, महत्वकाङ्क्षा र कुष्ठा । यसको विशाल भारी बोकेर आत्मिक शान्तिमा रमाउन खोज्नु भनेको निरीहता मात्र हो । जुन सम्भव छैन ।

त्यहि निरीहता जीवनको उत्तरार्धमा पनि प्रस्फुटित बन्दछ, तर त्यो निरीहताको उपजले सकारात्मक नतिजा दिन सक्दैन । किनकी निरीहता र नैराश्यता भोगाधिकार व्यक्ति हरेक पक्षबाट कमजोर भइसकेको हुन्छ । कमजोर चिन्तन, सोच र शरीरले नतिजा दिन सक्दैन । यसको भाव अन्यमा लगभग शून्य हुन्छ । भोगाई र देखाई एक अर्काका पर्याय बन्न कदापि सक्दैन ।

वर्षाको शितलताबाट शान्त बनेको आत्मा पोल्न थालेको छ । यो आफैैबाट सिर्जित घटनाक्रम नै मुख्य कारक हो । धर्तीमा घटनाका कारक विभिन्न तत्व भए पनि मुख्य कारक कर्ता नै हुन्छन् । यहि सत्यता बीचमा भौतारिएको जीवनचक्र सत्यतालाई आत्मासाथ गर्ने दुस्साहस भने गर्न सक्दैनौँ । जसका कारण मानव जातिमा यति धेरै असन्तुष्टि र अशान्ति पाइन्छ ।

मस्तिष्क र आत्माको फ्युजन जवसम्म सकारात्मक बन्न सक्दैन । पीडायुक्त गह्रौँ शरीर लिएर हिँड्नुको विकल्प छैन । यहि विकल्पबिहीनता झै हामीहरू एकसुत्रीय मागमा अभ्यस्त बनिरहेका छौँ । किनकी मस्तिष्क र आत्माको फ्युजन सकारात्मक बनाउने ल्याकत हामीसँग छैन । किनकी सत्यताको मार्गमा हिँड्ने लोभ, मोह, स्वार्थ र महत्वकाङ्क्षालाई त्याग्न जरुरी छ । त्यो गर्न कदापि किञ्चित हामी तत्पर छैनौँ ।

बिहानको चिसो सन्नाटामा आमाको काखमा आलिङ्गन भएर धेरै खुशी हुने अभिलाषामा अभ्यस्त रहदै गर्दा कर्कश ध्वनीको आवाज आयो । खुशी, कल्पना र सपनामा अभ्यस्त हुन पनि सहज नहुने रहेछ । उताबाट निस्वार्थ मलिन आवाज आयो, वावा…। अन्ततः यहि सृष्टिको निरन्तरताको आलिङ्गनमा बाँधिनुको विकल्प रहेन ।

पृष्ठभूमी तस्वीर : गेट्टी इमेज

प्रतिक्रिया
सम्बन्धित