आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

ओमिक्रोन भेरियन्ट तुलनात्मक रूपमा कम घातक, जोखिम कति ?

दैनिक नेपाल २०७८ पुष ९ गते ८:२७

काठमाडौं, ९ पुस । विश्वका अधिकांश मुलुकहरू कोरोना भाइरस (कोभिड–१९) को नयाँ म्यूटेशन भेरियन्ट ओमिक्रोनको त्रासमा रहिरहेका बेला तुलनात्मक रूपमा यसको प्रभाव कम रहेको एक अध्ययनले जनाएको छ ।

हालै यूके र दक्षिण अफ्रिकालगायत देशमा गरिएका प्रारम्भिक अध्ययनहरूले ओमिक्रोन भेरियन्ट सङ्क्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको देखाएको हो ।

प्रारम्भिक नतिजाले अन्य भेरियन्टले सङ्क्रमण भएका व्यक्तिभन्दा ओमिक्रोन भेरियन्टले सङ्क्रमण भएका ५० देखि ७० प्रतिशतसम्म कम मानिसहरू अस्पताल भर्ना हुनुपर्ने देखाएको छ । त्यसो त यो भेरियन्टको लक्षण पनि मन्द हुने स्वास्थ्यकर्मीहरूले बताउँदै पनि आएका छन् ।

यद्यपि, अध्ययन अनुसार ओमिक्रोन सङ्क्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले एकदमै धेरै मानिसलाई चाँडो सङ्क्रमित गर्न सक्ने हुँदा अस्पतालमा भीड हुनसक्ने चिन्ता व्यक्त गरिएका छन् । अर्थात् यसबाट जोखिम भने ठूलो देखिएको छ ।

स्कटल्यान्डमा गरिएको अध्ययनमा कोभिडबाट कति बिरामी भए र उनीहरूमध्ये कति अस्पताल पुगे भन्ने तथ्याङ्क हेरिएको छ । त्यसले ओमिक्रोन पनि डेल्टा भेरियन्ट जस्तै जोखिमपूर्ण हुने हो भने अस्पतालमा ४७ जना बिरामी भर्ना हुनुपर्ने तर अहिले १५ जना मात्रै बिरामी भर्ना भएको बताएको छ ।

अध्ययताहरूले अस्पताल भर्ना हुने सङ्ख्यामा लगभग दुई तिहाइ कमी देखिएको बताएका छन् । यद्यपि अध्ययनमा निकै कम बिरामी र जोखिममा रहेका जनसङ्ख्याको तथ्याङ्क छ ।

बीबीसीले प्रकाशित गरेको समाचार अनुसार पब्लिक हेल्थ स्कटल्यान्डका कोभिड–१९ निर्देशक डा. जीम म्याकमेनानीनले यो ‘एउटा राम्रो समाचार’ भएको बताएको उल्लेख छ । उनले यो तथ्याङ्कले अस्पताल भर्ना विषयमा ‘थाहा पाउन बाँकी कुरा केही भनेको’ बताउँदै तर यसकै आधारमा ‘केही हुँदैन भनेर बाहिर निस्कन’ नहुने बताएका छन् ।

यस्तै दक्षिण अफ्रिकामा गरिएको अर्को अध्ययनले पनि ओमिक्रोनको लहर कम खतराको भएको देखाएको छ । अध्ययनले अन्य लहर र अन्य भेरियन्टको सङ्क्रमणको तुलनामा ७० देखि ८० प्रतिशत कम अस्पताल भर्ना हुनुपर्ने अवस्था आउने देखाएको छ ।

तर अध्ययनले अस्पताल पुग्ने बिरामीका लागि यो भेरिअन्ट र अन्य भेरिअन्टको सङ्क्रमणमा खास फरक नदेखिएको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित