१९ असार २०८३, शुक्रबार

एमालेले सरकार छोडेपछि देश लथालिङ्ग भयो : अध्यक्ष ओली

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व छाडेपछि देशको अर्थतन्त्र ध्वस्त भएको बताउनुभएको छ ।

एमाले रसुवाको नवौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले सरकार छाडेपछि दुई वर्षकाबीचमा देशको अवस्था लथालिङ्ग भएको बताउनुभयो । गठबन्धनले चलाई रहेको छ हेरौँ न त भन्दा भन्दै देश ध्वस्त बनाएको ओलीले टिप्पणी गर्नुभयो ।

‘हामीले हेरिरहेका थियौँ गठबन्धनले चलाइराखेको छ चलाओस् भनेर तर, गठबन्धन कोही यता तान्या छ, कोही उता तान्या छ, मन्त्री हुने बाहेक कुनै कुरै छैन, मन्त्रीको बार्गेनिङ छ ।’ उहाँले भन्नुभयो ।

अहिले पनि एक जना मानिस कराउँदै हिँडेका ओलीले बताउनुभयो । ‘अहिले पनि तपाईँहरूले देखिराख्नुभएको छ, एक जना मान्छे कराउँदै हिँडेका छन्, मलाई प्रधानमन्त्री हुन आँट्यो भनेर केही मान्छेलाई पिर पर्याछ, पोल्या छ भतभत भनेर, कता प्रधानमन्त्री हुन आँटेको हो ? म त कहीँ पनि देख्दिनँ, उनलाई आफैँलाई त्यस्तो लागिरहेको छ, प्रधानमन्त्री हुन आँटे भन्ने, अरूले मन पराएका छैनन् भन्ने कस्तो नथापाको, अचम्म लाग्छ ।’ ओलीले भन्नुभयो ।

नेकपा (एमाले) प्रधानमन्त्री बन्ने वा कसैलाई प्रधानमन्त्री बनाउने र हटाउने काममा नलागेको उहाँले स्पष्ट पार्नुभयो । एमाले अहिले देश बनाउने अभियान र मिसन २०८४ मा लागेको उहाँले स्पष्ट पार्नुभयो । ‘हामी अहिले एउटा अभियानमा छौँ, यो देश प्रधानमन्त्री हुन मात्रै हो, प्रधानमन्त्री हुन हर्‍याक हर्‍याक दमको बिरामीले जस्तो गर्दै छन्, प्रधानमन्त्री, प्रधानमन्त्री, प्रधानमन्त्री के भनेको ?’ माधव नेपालप्रति लक्षित गर्दै अध्यक्ष ओलीले प्रश्न गर्नुभयो ।

आफूलाई पनि प्रधानमन्त्री पद बाँडिचुँडी खान प्रस्ताव गरिएको भए पनि आफ्नो ध्यान त्यसमा नरहेको अध्यक्ष ओलीले स्पष्ट पार्नुभयो । आफूलाई पनि प्रधानमन्त्रीको समय बाँडिचुँडी खाऊँ भनेर प्रस्ताव आएको उहाँले बताउनुभयो । आफूले प्रधानमन्त्रीको लागि होइन, गठबन्धन ढल्यो, खरानीको डल्लो फुट्यो अब सरकार चलाएर, देश बनाएर जनताको समस्या समाधान गर्नतिर लागौँ भनेर भनेको अध्यक्ष ओलीले सुनाउनुभयो ।

अध्यक्ष ओलीले माधव नेपाललाई पूरा नहुने सपना नदेख्न आग्रह गर्नुभयो । देश बनाउन र जनतालाई समृद्ध बनाउने अभियानमा सहकार्य गर्ने तर्फ लाग्न उहाँले आह्वान गर्नुभयो ।