८ कार्तिक २०८३, आइतबार

बालुवाटारको नाम भजाएर गृह सचिवले के–के गरे ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । गृह मन्त्रालयले शुक्रबार निकालेको ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवामा ठूलो चलखेल भएको आरोप लागेको छ ।

कतिपय जिल्लामा एक वर्ष नपुगे पनि सरुवा गरिएको छ । बिहीवार सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकसहित दर्जनौ सह–सचिवहरूको सरुवा भएको थियो ।

केही जिल्लाका सीडीओ र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवामा गृहसचिव महेश्वर न्यौपानेले आर्थिक चलखेलसम्म गरेको आरोप छ । गृहसचिवको पेलानमा परेका केही सीडीओहरूले न्यौपानेले पदको दुरुपयोग गरेर आर्थिक चलखेल गरेर सरुवा निकालेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी ओलीको स्वार्थमा केही जिल्लाका सीडीओ र सहायक सीडीओहरूको सरुवा गरिएको चर्चा छ । प्रधानमन्त्रीले केही जिल्लामा आफू निकटका सीडीओ पठाउनु स्वभाविक पनि हो ।

प्रधानमन्त्री ओलीका भन्दा पनि आफू निकटका सीडीओहरूलाई न्यौपानेले बालुवाटारको नाममा चलखेल गरेर राम्रो ठाउँमा घुसाएको आरोप छ । हुन त सचिव न्यौपानेले प्रहरीभित्र पनि बालुवाटारको नाममा आतंक मच्चाएको आरोप लाग्दै आएको छ ।

प्रधानमन्त्री ओलीलाई सहयोग हुनेभन्दा पनि आफूलाई सहज हुने गरेर सचिव न्यौपानेले गृहमन्त्रालयमा गतिविधि गरेको आरोप छ ।

शुक्रबार गृहले मन्त्रिस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेको थियो ।

सचिव न्यौपानेका कारण सीडीओहरूको सरुवामा गृहमन्त्री रामबहादुर थापा धेरै हाबी हुन पाएनन् । गृहसचिव न्यौपानेले प्रधानमन्त्री र सल्लाहकारहरूको नाम भजाएर सरुवामा चलखेल गरेको आरोप छ ।

गृह मन्त्रालय छिरेदेखिनै सचिव न्यौपाने विवादमा पर्दै आएका छन् । गृह सचिवबाट हट्ने सुइको पाएपछि हतार–हतार सिडिओको सरुवा गरेर आफ्नो स्वार्थपूर्ति गरेको आरोप लागेको छ ।

गृहमन्त्री थापाका सहयोगी र गृहसचिव न्यौपानेले सरुवामा आर्थिक चलखेल गरेको बताइएको छ ।

कतिपयलाई २ महिनामै समेत सरुव गरिएको छ । सचिव न्यौपानेका आफन्त सुरेश न्यौपानेलाई बाग्लुङबाट सिन्धुलीको सिडिओमा पठाइएको छ । उनी गृहको अनुभव नभएका कर्मचारी हुन् ।

न्यौपानेकै स्वार्थमा कर्मचारी प्रशासनमा रहेका थानेश्वर गौतमलाई कास्कीमा तथा सहायक प्रवक्ता रहेका प्रेमलाल लामिछानेलाई चितवनमा सरुवा गरिएको छ ।
अरु ४ जिल्लामा पनि उनले आफ्नो स्वार्थमा सरुवा गरेको बुझिएको छ ।

धादिङमा ज्ञानप्रसाद ढकाल, सुनसरीमा उमेश ढकाल, सिन्धुपाल्चोकमा अरुण पोखरेल, बर्दियामा सन्तबहादुर सुनार, दाङमा दीर्घनारायण पौडेलको सरुवा भएको छ ।
खगेन्द्र रिजालको कैलाली, शिवकुमार कार्कीको बाग्लुङ, छविलाल रिजालको सुर्खेत, गौलोचन सैंजुको रामेछाप, बन्दना राईको ओखलढुंगा, दोलखामा बासुदेव घिमिरेलाई सिडिओका रुपमा पठाइएको छ ।

तीर्थराज भट्टराई महोत्तरी, फणिन्द्रमणि पोखरेल सप्तरी, योगेन्द्र पाण्डेको पाल्पा, सुरेश न्यौपानेको सिन्धुली, शालिकराम शर्मा पौडेललाई गोरखा पठाइएको छ ।

ईश्वरी ढकालको रसुवा, उमेश पाण्डेको ताप्लेजुङ, मोहन अधिकारीको बझाङ, गणेश आचार्यको हुम्ला, गणेबहादुर अधिकारीको म्याग्दीमा सरुवा भएको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइलाई गृहसचिव महेश्वर न्यौपानेले १ सय ९२ दिनमै सरुवा गरेका छन् ।

ताप्लेजुङमा न्यौपानेले आफ्नो स्वार्थमा उमेश पाण्डेलाई पठाएको गृह स्रोतको भनाइ छ ।

ताप्लेजुङको सिडिओको रुपमा सरुवा भएर आएको एकपटक पनि जिल्ला नछाडेका चापागाँइले निर्धारित मितिभन्दा पहिले नै सरुवा गरेको भन्दै गृह मन्त्रालयप्रति रोष प्रकट गरेका छन् ।

सामान्यतया कर्मचारीको बढुवाका लागि कम्तिमा २ सय ३३ दिन दुर्गममा काम गरेको हुनुपर्ने प्रावधान भए पनि चापागाँइका लागि यो मिति पुग्न सरुवा भएको मितिले ३८ दिन बाँकी थियो ।

सरुवा गर्ने निकायले कर्मचारीको बृत्ति विकासका लागि कम्तिमा दुर्गम क्षेत्रमा सेवा गरेको २ सय ३३ दिनलाई कुर्नु अनिवार्य रहन्छ ।

चापागाँइलाई भने गृह मन्त्रालयले बढुवाका लागि चाहिने आवश्यक सेवा अवधिको ३८ दिन अगावै सरुवा गरेर गाइजात्रा देखाएको छ ।

उनले एक वर्षसम्म सरुवा भएको ठाउँंमा काम गर्न पाउनु त परै जाओस २ सय ३३ दिनमै सरुवा भएपछि चित्त दुखाएका छन् ।

यो निर्णय गर्ने गृह मन्त्रालयको बिबेकशील नेतृत्वप्रति आभार भनेर चापागाँइले व्यङ्ग गरेका छन् ।

चापागाँइले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जागिरको २५औँ वर्ष पूरा गर्दै गर्दा ताप्लेजुङ जिल्लाको प्रजिअ भएको १९२औँ दिनमा सरुवा भएको रहेछ ।

सम्भवत मैले यो जिल्लामा रहेर एकपटक पनि जिल्ला नछोडेको (रमाना मितिदेखि रमानासम्म) वा अरुको जस्तो राम्रो काम गर्न नसकेको कारण पुरस्कृत गरेको हुन पर्छ । कानूनमा मैले पनि स्नातक त गरेकै हो । कानूनभन्दा पनि सामान्य मानवीय सम्वेदनाको विषय बढुवाको लाईनमा बसेको कर्मचारीलाई बढुवा हुन आवश्यक पर्ने २३३ दिन भन्दा पनि कम १९२ दिन प्रजिअ को रुपमा काम गर्ने मौका प्रदान गर्नु भएकोमा मन्त्रालयको बिबेकशील नेतृत्व र सरोकारवाला प्रति हृदयदेखि आभार प्रकट गर्दछु । श्री पाथिभरामाताले सबैको कल्याण गरुन् ।’