आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

प्रतिनिधि सभामा खुम्चिए उपेन्द्र यादव

दैनिक नेपाल २०८१ वैशाख २५ गते १२:१३

काठमाडौं, २५ वैशाख । सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव विदेश उड्नुअघिसम्म उहाँको पार्टीमा कुनै खटपट देखापरेको थिएन । तर राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिन अमेरिका पुगेका यादव स्वदेश फर्किँदा उहाँ फुटेको पार्टीको अध्यक्षमा खुम्चिनुभएको थियो ।

आफू प्रवासमा रहेका बेला पार्टी फुटाएर अलग्गिएका साथीहरुले नयाँ पार्टी दर्ता गर्ने प्रक्रिया थालिसक्दा अध्यक्ष यादव काठमाडौं उत्रिनुभएको थियो । जसपाकै नेता अशोक राईले प्रतिनिधि सभाका सात सदस्यसहित बहुसंख्यक नेता लिएर नयाँ पार्टी जनता समाजवादी गठन गरिसक्नुभएको छ । यो पार्टीले निर्वाचन आयोगबाट वैधानिक हैसियत लिने प्रक्रियामा छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रीको हैसियतमा राष्ट्र संघ पुग्नुभएका उपप्रधानमन्त्री यादवको रामशाहपथस्थित कार्यकक्ष मर्मतसम्भार गरेर सोमबार नै तयार गरिएको थियो । धेरैवटा ढोका र झ्याल भएको स्वास्थ्य मन्त्रालयको भवनमा मन्त्रीको कार्यकक्षका अनावश्यक ढोकाहरु टालेर नयाँपन दिइएको हो ।

मन्त्री कार्यालय फर्किनुअघि नै कार्यकक्षमा नयाँपन सिर्जना गरेर उहाँलाई प्रशन्न तुल्याउन मन्त्रालय प्रशासन क्रियाशील थियो । तर पार्टी फुटेको पीडा र रोष बोकेर फर्किनुभएका यादवलाई उहाँको सचिवालयले प्रशन्न देख्न पाएन ।

प्रतिनिधि सभामा हिजोभन्दा कमजोर हुनुभएका यादव सत्ता गठबन्धनमा रहीरहने कि विकल्प सोच्ने भन्ने मनस्थितिमा सहकर्मीहरुसँग परामर्श गर्ने तयारीमा रहेको उहाँसँग सम्बध्द सूत्रले बताएको छ ।

यादव संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिएर स्वदेश फर्किसक्नुभएको छ ।

यता, गठबन्धनका परिकल्पनाकार मानिनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफ्नो दलललाई सबैभन्दा ठूलो दल बनाउने रणनीतिमा राजनीतिक सक्रियता बढाइरहनुभएको बुझिएको छ ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ठूला दुई पार्टी मिलेर मात्र देशका कतिपय विषयको समाधान गर्न सम्भव भएको भनेर एमाले र कांग्रेसको सत्ता गठबन्धनको पैरवी गरिरहनुभएको छ । यही अभियानमा जसपा विभाजनलाई पनि जोडेर हेरिएको पाइन्छ ।

राष्ट्रसंघको प्रधानकार्यालयमा रहँदा उपप्रधानमन्त्री यादवले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस तथा ७८औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिससँग बेग्लाबेग्लै भेटवार्ता गरी सबल र प्रभावकारी संयुक्त राष्ट्रसंघ बनाउन नेपालको पूर्ण सहयोग रहने बताएको खबर सार्वजनिक हुने क्रममै उहाँको पार्टी फुटिसकेको थियो । यो फुटलाई सम्भावित एमाले र कांग्रेस सहकार्यको अंश त होइन भनेर राजनीतिक क्षेत्रमा टिकाटिप्पणी भैरहेको पाइन्छ ।

प्रतिक्रिया
सम्बन्धित