बुधबार, १९ फागुन २०७७
DainikNepal.com
बुधबार, १९ फागुन २०७७

यसकारण फ्लप भयो नेकपामा बहुअध्यक्ष प्रणाली

निर्मल भट्टराई २०७७ माघ ५ गते ८:४७

निर्मल भट्टराई

संसारमा मार्क्सवादको प्रादुर्भाव भएपछि त्यसको वैचारिक जगमा बनेका विभिन्न देशका कम्युनिष्ट पार्टीको नेतृत्व निर्माणको लामो ईतिहास छ । रसियन समाजवादी क्रान्तिको नेतृत्व गर्ने र सात दशकभन्दा बढी सोभितय युनियनको नेतृत्व गर्ने सोभियत कम्युनिष्ट पार्टीमा भ्ल्यादमीर लेनिनदेखि मिखायल गोर्वाचोवसम्म महासचिव नै मुख्य नेता रहे । सात दशकभन्दा बढी सोभियत सत्ता सञ्चालन गर्दा ‘प्रेसिडियम’ र ‘सुप्रिम सोभियत’जस्ता विभिन्न मोडेल प्रयोग गरिए पनि पार्टी सञ्चालनको सवालमा एकरुपता नै देखिन्छ ।

सन १९२१ मा गठन भएको चिनिया कम्युनिष्ट पार्टीले सन १९४९मा चिनिया सत्ता प्राप्त गर्यो । चिनिया कम्युनिष्ट पार्टी सन १९८२ सम्म अध्यक्षात्मक प्रणालीमा चल्यो । अध्यक्ष माओको सन १९७६ मा देहवसान भएपछि ह्वाको फङ अध्यक्ष बने । तर सन १९८२ मा बसेको बाह्रौं केन्द्रीय कमिटीको बैठकले अध्यक्षात्मक प्रणाली खारेज गरेर महासचिवीय प्रणाली लागू गर्यो । हालसम्म चिनिया कम्युनिष्ट पार्टीको समग्र नेतृत्व महासचिवले गर्दै आएका छन् । पार्टी सत्तामा आएपछि नेतृत्वका लागि ठूल्ठूला अन्तरसंघर्ष भए पनि त्यसबाट बचेर नै चिनिया कम्युनिष्ट पार्टीले सात दशकभन्दा बढी चीनको निरन्तर र सबल नेतृत्व गर्न सफल भएको हो ।

सन १९३० मा गठन भएको भियतनामी कम्युनिष्ट पार्टीमा हो चि मिन्हले अध्यक्ष र प्रथम सचिवको रुपमा पार्टीको नेतृत्व गरे भने अहिले पार्टी महासचिव नै प्रमुख नेताको रुपमा कार्य गर्दै आएका छन् ।

किम इल सुङको नेतृत्वमा बनेको उत्तर कोरियाको वर्कर्स पार्टी राजतन्त्रको परम्पराझैं चलेको छ र त्यसको मूल नेतृत्व पनि महासचिव नै रहने व्यवस्था छ ।

क्युवाको कम्युनिष्ट पार्टीमा पार्टीको मुख्य नेता प्रथम सचिवलाई मानिन्छ । लामो समयसम्म फिडेल क्यास्ट्रोले पार्टीको प्रथम सचिवको रुपमा काम गरे । राहुल क्यास्ट्रो अहिले प्रथम सचिव छन् ।

छिमेकी चीनमा नौलो जनवादी क्रान्ति सम्पन्न भएकै साल अर्थात् सन १९४९ मा गठन भएको नेपाल कम्युनिष्ट पार्टीले महासचिबलाई प्रमुख नेता मान्यो । पुष्पलाल संस्थापक महासचिव बने । नेपालको कम्युनिष्ट पार्टी विभाजन हुदै जाँदा कुनै समूहले महासचिव र कुनै समूहले महामन्त्रीलाई प्रमुख नेता मान्दै आए । झापा सशस्त्र विद्रोहबाट उदाएको तत्कालीन मालेले शुरुमा महासचिवीय प्रणाली अपनायो र माले-मार्क्सवादी एकतापछि मनमोहन अधिकारीलाई अध्यक्ष र मदन भण्डारीलाई महासचिव कायम राखेर तत्कालीन एमाले पार्टी अगाडि बढ्यो । विक्रम् सम्वत् २०५६ मा अध्यक्ष मनमोहन अधिकारीको देहवसान भएपछि अध्यक्ष पद नै खारेज गरियो । २०६५ सालदेखि फेरि तत्कालीन एमालेले अध्यक्ष सहितको बहुपदीय प्रणाली शुरु गर्यो ।

अर्कातिर पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा चालीसको दशकमा नेकपा(मशाल) पुनर्गठन भएको थियो । उनलाई महामन्त्रीको रुपमा प्रमुख नेता बनाईएको थियो । लगत्तै उनले पार्टीको नाममात्र नेकपा(माओवादी) बनाएनन्, आफ्नो पद पनि महामन्त्रीबाट अध्यक्षमा रुपान्तरण गरे । माओवादी जनयुद्धको अवधि र त्यसपछिको लामो अवधि उनी ‘माओवादी अध्यक्ष’ बनिरहे ।

तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको एकतापश्चात् बनेको नेपाल कम्यनिष्ट पार्टी(नेकपा) बहुअध्यक्षीय प्रणालीमा केही बर्ष चल्यो । नेकपामा बनेका दुई अध्यक्षलाई ‘ठूलो जेट विमानको दुई चालक’ भनेर अँगालो हालाहाल गरियो । तर यो सुखद् एकता भएन । केही समयपछि देखि नै भयानक असमझदारी शुरु भयो । बहुनायकबाट नेकपा रुपी विशाल जेट आफ्नो गन्तव्यतर्फ उड्न सकेन ।

संसारमा पार्टी व्यवस्था शुरु हुनुभन्दा केही हजार बर्ष पहिले पूर्वीय विद्वान चाणक्यले भनेका थिए-‘अनायकाः पदा नष्टा विनष्टा बहुनायकाः’ अर्थात् नायक नभए राज्य नष्ट हुन्छ, बहुनायक भए राज्यको विनाश हुन्छ । अहिले नेपाल कम्युनिष्ट पार्टीमा त्यस्तै स्थिति उत्पन्न भएको छ । नेतृत्वको लागि उछिनपाछिन,गुटबन्दी र विखण्डनले तीव्रता पाएको छ । निस्चित अवधिसम्म कोही प्रमुख नायक हुने विश्वव्यापी कम्युनिष्ट परम्परा खण्डित हुँदा यो अवस्था आएको प्रष्ट देख्न सकिन्छ ।

नेपाल कम्युनिष्ट आन्दोलनका नायकहरु पुनः विभाजित भएका छन् । तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रविच एकता हुँदा प्रमुख नायक मानिएका के पी शर्मा ओलीविरुद्ध अरु नायकहरु सडकमै आएका छन् । ओलीबाहेकका अरू नायकहरूविच पनि प्रमुख नायकत्वको विवाद निरुपण भएको देखिदैन । प्रचण्ड प्रमुख नायक कि माधव नेपाल प्रमुख नायक भन्ने अन्योल कायमै रहेको अनुभूत गर्न गाह्रो छैन । पार्टी नबन्दै दाहाल-नेपाल (नेपाल-दाहाल?)समूहमा प्रमुख नायकत्वको उछिनपाछिन शुरु भएको प्रष्ट देखिन्छ । निकट भविश्यमा उनीहरू फ्लप हुदैछन् ।

विवादका खुद्रा मसिना केही विषय सतहमा देखिए पनि नेकपाको प्रमुख र निर्णायक विवाद प्रमुख नायकत्वको हो । विवाद विचारमा नभै नायकत्वमा हुने नेपालको कम्युनिष्ट आन्दोलनको विवादको परम्परा पुःन एकपटक दोहोरिएको छ । देश, जनता र जनजीविकाको सवाल नभै नेताहरुलाई हाताहाती पद चाहिएर यो विभाजित अवस्था आएको हो । बहु नायकका कारण महा संकटमा परेको नेपालको कम्युनिष्ट आन्दोलनलाई फेरि एकताको,मिलनको वा समन्वयको मार्गमा डोहोर्याउने महा नायक कोही जन्मेला कि ? वा यो आन्दोलन चाणक्यले भनेझैं निरन्तर विनाशतर्फ गइरहला ?

र, नायकत्व कसैले आफूले चाहेरमात्र प्राप्त हुदैन । देशलाई स्वतन्त्र,सबल र समृद्ध बनाउन सक्ने वर्तमान नेपाली राजनीतिका एकमात्र नायक के पी शर्मा ओलीलाई पार्टीभित्रकै केही असफल नायकको घेराबन्दीका कारण अहिलेको स्थिति उत्पन्न भएको हो । अब नायकत्वको अन्तिम फैसला जनताले मात्र गर्न सक्छन् । आगामी मध्यावधि निर्वाचन देशलाई चाहिने सही नायक छान्ने सुनौलो अवसर हुनसक्छ । हाल विभाजित नेपाल कम्युनिष्ट पार्टीका नायकहरुलाई नेपाली बाम समर्थक जनताले कसरी हेरेका छन् र उनीहरुले अन्तिम फैसला कसरी गर्लान् ? सो हेर्न अवश्य केही समय प्रतिक्षा गर्नु पर्छ ।

प्रतिक्रिया
सम्बन्धित