सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

मुख्यमन्त्री कँडेलले गरे अर्थमन्त्री पुनसँग कर्णालीका प्राथमिकता र बजेटबारे छलफल

दैनिक नेपाल २०८१ वैशाख १४ गते १५:१०

काठमाडौं, १४ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय अर्थमन्त्री वर्षमान पुनसँग छलपल गर्नुभएको छ । मुख्यमन्त्री कँडेलले अर्थमन्त्री वर्षमान पुनसंग भेटगरी आगामी वर्षको बजेटमा कर्णाली प्रदेशमा विशेष प्राथमिता दिनुपर्ने आयोजना र बजेटबारे छलफल गर्नुभएको हो।

कर्णाली प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशको विकास तथा देशकै समुन्नतिको लागि रणनीतिक महत्व राख्ने रुपान्तरणकारी आयोजनाको रूपमा रहेको कर्णाली करिडोर (सुर्खेत—हुम्ला ) र भेरी करिडोर (सुर्खेत—डोल्पा) लाई राष्ट्रिय गौरवको आयोजना अन्तर्गत विशेष प्राथमिकतामा राखी छुट्टै संरचनासहित आयोजना कार्यालय स्थापना र आयोजनाको लागि आवश्यक बजेटको व्यवस्था गरी उपयुक्त आयोजनाहरु यथासमयमा कार्यान्वयन तथा सम्पन्न गर्ने व्यवस्था गर्न, नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएको र कर्णाली प्रदेशको राजधानी जोड्ने प्रदेश प्रवेशद्धारका रुपमा रहेको कोहलपुरदेखि सुर्खेतसम्मको रत्न राजमार्गलाई चार लेनको बनाउने योजना कार्यान्ववयनमा नगएकाले आवश्यक बजेट सहित कार्यान्वयनको व्यवस्था पनि माग गरिएको छ ।

यस्तै, नेपाल सरकारको विगतका वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएको तथा हालसम्म कार्यान्वयनमा जान नसकेको कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेत विमानस्थलको विस्तार तथा स्तरोन्नती गरी संघीय राजधानीसंग कर्णाली प्रदेशको हवाई पहुँच र आन्तरिक उडानको केन्द्रका रुपमा विकास गर्न आवश्यक बजेटसहित कार्यान्वयनको व्यवस्था गर्न पनि माग गरिएको छ ।

यस्तै, भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा नीजि आवास तथा अन्य संरचनाहरु पुनर्निर्माणको लागि आवश्यक बजेट विनियोजन गर्न, कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकाको तल्लो तटिय क्षेत्र बाढीबाट वर्षेनि प्रभावित हुने भएकाले दीर्घकालीन समस्या समाधानका लागि निकासखोला नियन्त्रण आयोजनाको डिपिआरसमेत भइसकेकाले प्राथमिकता राखी बजेटसहित कार्यान्वयनको व्यवस्था गर्न माग गरिएको छ ।

मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशमा संघीय सरकारको तर्फबाट सञ्चालित विकास आयोजनाहरुलाई निरन्तरता दिई बजेटको व्यवस्था गर्न पनि माग गर्नुभएको छ। कँडेलले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतसँग पनि छलफल गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित