शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कम्युनिष्ट आन्दोलनको पीडा : नेता कार्यकर्ताको बीडा

निर्मल भट्टराई २०७७ पुष २४ गते ९:१४

निर्मल भट्टराई

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष के पी शर्मा ओलीलाई संसदमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा अविश्वासको प्रस्तावमार्फत् गलहत्याउने षणयन्त्र असफल भएपछि उनकै नेतृत्वमा नेकपा विभाजन गर्ने प्रयास जारी छ ।

पार्टी एकता नटुङ्गिदै नेकपा विभाजन गर्न तम्सिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माधव नेपाल, झलनाथ खनाललगायतका केही नेताले साथ दिएपछि सो समूह नेकपाका कार्यकर्ता तान्न भगिरथ प्रयत्नमा जुटेको छ ।

प्रधानमन्त्रीले आफ्नो विशेषाधिकारको प्रयोग गरेर संसद विघटन गरेर मध्यावधि चुनाब घोषणा गरेपछि त्यसकाविरुद्ध हठात् सडकमा आएको सो समूहलाई जनताले नरुचाएको सडक आन्दोलन टोक्नु न बोक्नु भएको छ । आफ्नो स्वार्थका लागि वेला न कुवेला जनतालाई सडक आन्दोलनमा गरिएको आह्वानलाई जनताले पीठ फर्काईदिएपछि विभाजनकारी नेताहरूलाई पहिलो गाँसमै ढुङ्गा लागेको छ ।

देशको सार्वभौमिकता, अखण्डताको रक्षा गर्न ऐतिहासिक काम गरेको, विकास-निर्माणमा अतुलनीय सफलता प्राप्त हुदै गरेको,संघीयता कार्यान्वयनमा सफलता हासिल हुदै गरेको अवस्थामा उनकै विरुद्ध चलाईएको आन्दोलन सफल हुने कुरै थिएन । पदका लागि पार्टी विभाजन गराउने नेताको पक्षमा नेकपाका विवेकी कार्यकर्ता र मतदाता लाग्दैनन् भन्ने विगतले पटक-पटक प्रमाणित गरिसकेका छन् । २०५४ सालमा भएको तत्कालीन एमालेको बामदेव विभाजनलाई लगत्तै भएको निर्वाचनमा कार्यकर्ता र मतदाताले अनुमोदन गरेनन् । तत्कालीन माओवादी विभाजनमा पनि त्यस्तै देखियो ।

पार्टी एकतामार्फत् बनेको झण्डै दुईतिहाईको शक्तिशाली सरकार, प्रदेश सरकारहरू र स्थानीय सरकारहरूलाई तहसनहस पार्न रचिएको विभाजनको षणयन्त्रबाट देशभरिका नेकपाका कार्यकर्ता र मतदातामा असह्य पीडा भएको छ । नवनिर्मित घरमाथि शक्तिशाली चट्याङ् बज्रेजस्तो भएको छ ।

कम्युनिष्ट आन्दोलनको भिलेनको रुपमा उदाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ विभाजनबाट विछट्ट खुसी छन् । जीवनभरी ‘बाक्लो दाल’मै रमाएका नारायणकाजीहरू हँसिला छन् । तर एमालेको पृष्टभूमिबाट आएका माधव नेपाल, झलनाथ खनालहरूको अनुहारको रङ फुरुङ्ग उडेको छ । उनीहरूमा अपराध बोध हुन शुरु भएको आभास हुन थालेको छ । हतियारको बलमा जंगलबाट उदाएका प्रचण्डको नेतृत्वले सबैको बर्वादी हुने हो कि,सबैको राजनीतिक चिहान एकैपटक खनिने हो कि भन्ने संशय हाल दाहाल-नेपाल समूहमा रहेका एमाले पृष्टभूमिका सबै नेता कार्यकर्तामा देखिन्छ ।

नेपालको कम्युनिष्ट आन्दोलन अहिले अकल्पनीय सङ्कटबाट गुज्रिरहेको छ । अद्वितीय अराजकतामा फसेको छ । तर जतिसुकै ठूलो संकट आए पनि त्यसलाई डटेर सामना गर्नुको विकल्प छैन । सबै नेता कार्यकर्ता मिलेर यसको सामना गर्नु अहिलेको गुरुत्तर आवश्यकता हो । वर्तमान सङ्कटको सामना गर्ने सामर्थ्य नेकपाका नेता कार्यकर्ताले गुमाइहालेका छैनन् ।
नेपाली भूमिमा विकास भएको जनताको बहुदलीय जनवादको वैचारिक धरातलमा निर्माण भएको नेपालको कम्युनिष्ट आन्दोलनको विरासत जोगाउन सबै नेता कार्यकर्ताको सक्रिय र हस्तक्षेपकारी भूमिका अपक्षित छ । सङ्कट आयो भनेर कुनामा बसेर रोएर कुनै समाधान निस्कदैन ।

नेपालको कम्युनिष्ट आन्दोलनका सगरमाथा के पी शर्मा ओलीको क्षणिक रीसले प्रचण्डलगायतका केही नेताहरू नेकपा विभाजनबाट सन्तुष्ट हुन खोजे पनि नेकपाका लाखौंलाख कार्यकर्ता र मतदातालाई नेकपाको विभाजन ग्राह्य छैन । यसको ज्वलन्त प्रमाण केही दिनयता के पी शर्मा ओलीको नेतृत्व र अविभाज्य नेकपाको पक्षमा देशभरि उर्लिएको जनलहरले देखाईसकेको छ ।

आफ्नो निहीत स्वार्थका कारणले नेताले नेकपाको एकता जोगाउन सकेनन्,चाहेनन् । अब नेकपाको एकता जनताको घर दैलोमा पुगेर काम गरिरहेका तृणमूल तहका कार्यकर्ताले वृहत् एकता प्रदर्शन गरेर जोगाउन सक्छन् । पार्टी विभाजनकारीलाई तिरस्कार गरेर नेकपाको एकता जोगाउन सक्छन् । नेताले पूरा गर्न नसकेको बीडा भुँईमान्छेले पूरा गर्न सक्छन् ।
र, आँधी तुफानमा रुमलिएको नेपालको कम्युनिष्ट आन्दोलनको बेडा अब उनीहरूले मात्र पार लगाउन सक्दछन् । जनताभन्दा माथि कोही छैन भन्ने तथ्य पुनः प्रमाणित गर्न सक्छन् ।

प्रतिक्रिया
सम्बन्धित