शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

जरलहवामा आगलागीबाट दुई वटा बस्ती नै खरानी, ९७ घर जले

दैनिक नेपाल २०८१ वैशाख १३ गते ८:४४

महोत्तरी, १३ वैशाख । मटिहानी नगरपालिका–६, जरलहवामा बुधबार दिउँसो ७ घण्टासम्म आगलागी हुँदा दुई वटा बस्ती नै जलेर खरानी भएका छन् ।

मुस्लिम बस्तीको मियाँ टोलमा परालको कुन्युँमा लागेको आगो हावाहुरीले उडाएर बस्तीभरि फैलिएपछि मियाँ टोल र नजिकको हत्ता टोल हेर्दाहेर्दै जलेर खरानी भएका हुन् । महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रहरीले संकलन गरेको तथ्यांकअनुसार आगलागीबाट दुई बस्तीका ९७ घर जलेर नष्ट भएका जानकारी दिनुभयो ।

‘बुधबार दिउँसोबाट लागेको आगो करिब ७ घण्टापछि नियन्त्रणमा आयो ।’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म ९७ घर जलेर नष्ट भएको तथ्यांक संकलन भएको छ । क्षतिको विवरण संकलन गरिरहेका छौँ ।’

उहाँका अनुसार पीडितहरूलाई राहत र बासको व्यवस्थापनका लागि समेत पहल भइरहेको छ । बुधबार साँझसम्म आगो नियन्त्रणमै समय गुज्रिएका कारण पीडितहरूले दालमोठ र चिउरा खाएर खुला आकाशमुनि रात कटाएका छन् ।

‘रेडक्रसले केही त्रिपाल वितरण गरेको छ । लत्ताकपडाहरु केही उपलव्ध गराउन सकिएको छैन् ।’ प्रमुख जिल्ला अधिकारी गेलालले भन्नुभयो, ‘खानका लागि राति दालमोठ र चिउरा वितरण गरिएको थियो । अब व्यवस्थित गर्ने प्रयास गरिरहेका छौँ ।’ उहाँका अनुसार नगरपालिकाले पीडितहरूलाई तत्काल प्रति परिवार ५ हजार रुपैयाँ नगद उपलब्ध गराउने तयारी छ भने जिल्ला विपद् व्यवस्थापन समितिले अन्य राहतका सामाग्री जुटाइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित