शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सोँचको सार्थकता ?

वीवी श्रेष्ठ २०७७ पुष १९ गते ९:१८

वीवी श्रेष्ठ

विविधताभित्रको एकताभित्र देखिने अन्तरंगहरूमा पनि अनेकता देख्न सकिन्छ । आफैमा शुद्धता रहनु र भोगाइको गहिराइतामा पुग्नु शाब्दिकतामा एक भएता पनि यसमा पनि असमानता हुँदो रहेछ । यहि पेरिफेरिमा गुज्रिएको कालखण्डहरू परापूर्वकालदेखि निहीत स्वार्थविना गतिशील बनेता पनि त्यसको आरोह अबरोह जीवनको भोगाई बन्दो रहेछ । यहि भोगाइको परिवन्धित स्वरुप नै जीवनको यहि एउटा अंश रहेछ । त्यहि अंशको कणमा हामी गुज्रिरहेका छौ ।

सधैँ झ्यालको सानो प्वालमा आएर बस्ने चरीपनि एकदिन नदेख्दा बेचैन हुने आत्मा, अन्य जीवित आत्माको करुणामा किन विक्षिप्त बन्न सक्दैन । रातको त्यो प्रहरमा सधैँ देखिने त्यो जीवमा मायाको गुञ्जायस हुँदापनि मानव जीवनमा भोग्ने पीडा किन सहज हुन्छ ? भोगाइ र देखाइको जीवनमा अविच्छिन्न दुरी रहेको हुन्छ । शाब्दिकतामा भन्दा सतहीमा वाँच्नेहरूका वीचमा हुने अन्तर नगण्य हुने रहेछ ।

पल निरन्तर चलिरहयो । समयको यो गतिमा किन तादात्म्यता मिल्न सकेन, अथवा मिलाउन सकिएन । यो सोँच जीवनको अमूल्य पलहरू व्यतित हुँदा किन वोध हुन सकेन ? जीवनको परिभाषा हरेकको उमेरअनुसार फरक फरक हुन्छ, त्यसमा व्यक्तिको चेतनाले मह्त्वपूर्ण भूमिका खेल्दछ । देखिने र भोगिने सम्वन्धमा फरकपनको जब महशुस हुँदैन । जीवन स्वतः निरन्तरताको अंश मात्र बन्ने रहेछ । त्यहि अध्यायको शुरुवाती र अन्त्यमा नै जीवनको परिभाषा लुकेको हुँदो रहेछ ।

सोँचको गतिशीलताभित्र चेतनाको पनि मुख्य भूमिका रहने रहेछ । देखेको र सुनेको कुरालाई सत्य ठान्ने प्रवृत्तिमा उसको चेतनास्तरले मलजल गर्ने रहेछ । नचाहेर पनि यो गतिको सारथी बन्नुपर्ने वाध्यता र समयको घर्किदो पलसँगै जीवनको सोँचमा आउने अतिरंजनालाई मलमपट्टि लगाउने साधन नहुँदा जीवन साच्चै नै कहालीलाग्दो हुँदो रहेछ । यहि कहाली लाग्ने जीवनको त्यो अत्यासलाग्दो छट्टपटिलाई समाधान गर्नका लागि यो रफतारमा धेरै नै सोँचको विकास हुन पुग्यो । त्यसले नतिजा निकाल्न सकेन । सोँच र चेतनाको तादात्म्यतामा समयको गतिलाई पक्रन नसक्दा सोँचहरू नै थप मानसिक रुपमा पीडाको प्रतीक बनिदियो ।

साच्चै कहालीलाग्दो यो जीवनभित्र सरल, रोचक र खुशीका पलहरू सदावहार प्राप्त गर्न सकिदैन होला । अतृप्त भौतिक सम्पतिको प्राप्ति नै जीवनको मुख्य उदेश्य सोँच्नेहरू कालान्तरमा गएर के सोच्लान् ? प्रश्नको पहाडले ढाक्न प्रयत्न गरेता पनि त्यसले सार्थकता पाउन सकेन । कमजोरीलाई सफलताउन्मुख बनाउन सानो सोँच र आत्मविश्वासले सम्भव नहुने रहेछ । खुशीको त्यो क्षण समान्य भएता पनि कर्तव्यपथका लागि त्यो बाधक बनिदिँदो रहेछ । भएको र हुने भनेको सत्य यहि मात्र रहेछ । जुन हामी सवैले व्यतित गरिरहेका छौँ ।

समयको त्यो प्रहरलाई फर्केर हेर्ने र भोलिको त्यो पललाई सोँच्ने कार्यले समाज रुपान्तरणलाई कति मलजल गर्ला, अथवा मस्तिष्कमा झन् पीडा बनेर बसिदेला ? जीवनको अर्थ खोज्नेहरूका जीवन सजिलो र आनन्दमा बितेको नजिर छैन । त्यसलाई आत्मासात गरेर अगाडि बढ्ने प्रयत्नले जीवनलाई पीडादायी बनाएर परिवर्तनका लागि अगाडि बढ्ने कि क्षणिक खुशीमा आत्मासन्तुष्टि लिएर बाँकी जीवन स्वार्थ केन्द्रित, कुष्ठा र व्यक्तिवादी बनाउने ? प्रश्नका संशयबीच रहेको यो सोँचले जीवन बाँच्न असहज बनाइदियो ।

समय आफ्नै गतिमा बग्दै जाँदा सामाजिक, भौतिक, शारीरिक परिवर्तनको आभास किन जीवनको उर्वर उमेरमा हुँदैन ? सोँचको सार्थकता प्राप्तिमा कार्यन्वयनका लागि किन अग्रसरता लिन सक्दैन ? सार्थकता सहज छैन । यो न सोँचबाट हट्न सक्दछ । न आत्मासात नै । यो समाज अथवा परिवारको चेतनास्तरले मात्र निर्धारण गर्दछ कि व्यक्तिको सोँच र अद्भुत क्षमताले । परिवर्तनलाई आत्मासात समान्य रुपमा मात्रै गर्ने हो भने यो सोँचको प्रादुर्भाव किन भयो ? अरुलाई सामान्य लाग्ने जीवनगाथा किन यति धेरै जटिल लाग्यो ? मानवताको त्यो कसीमा किन आत्मिक सन्तुष्टिको त्यो विराट सपना र कल्पनाको आभास खोज्न लालयित बनिदियो ? जीवन समान्य बनाउने त्यो अभिलाषा किन कार्यन्यवनमा तदारुकता देखिएन ? मानव जातिको भूमिका र धर्तीमा जीवित प्राणीको भूमिका समान हुन्छ भन्ने हेक्काले किन पाईलाहरू रोकिए ?

वाँच्नका लागि न्यूनतम आवश्यकता होइँन, खोज र सोँच नै प्रधान बनिदियो । चुनौतिको पहाडमा किन सिंगेरी खेल्ने अभिलाषाले पटक–पटक झस्काइदियो ? दिनको प्रहर होस् वा रातको त्यो चकमन्नतामा पाइलाको बोझ धर्तीका लागि किन आभास बनिदियो ? जन्म र मृत्युबीचको प्रहरमा देखिने गतिविधि समान्यभन्दा असमान्य ठान्ने सोँचमा किन यति धेरै विविधता ?

शरीरको बोझ पाइलाको माध्यामबाट धर्तीका लागि बोझ भएको अनुभूति प्रत्येक दिनका पलपलमा भइरह्यो । यति धेरै आभासले जीवनमा कसरी सन्तुष्टि दिन सक्दछ ? सन्तुष्टिको अनेकन परिभाषामा रङ्गिएको आकारहरूले जीवनलाई सधै सोधिरह्यो, के जीवनको सार्थकता पूरा भयो ?

प्रतिक्रिया
सम्बन्धित