शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

त्यसैले त उनी प्रचण्ड हुन्

विनोद ढकाल २०७७ साउन ६ गते १०:२६

-विनोद ढकाल

राजनीतिमा संकिर्णता हावी भयो भने त्यसले लिने गति अर्कै हुन्छ । अहंकारले डेरा जमायो भने त्यसले पार्ने प्रभाव सकारात्मक हुँदै हुँदैन । वर्तमान परिवेशका मुख्य पात्रका विषयमा टिप्पणी गर्नुपूर्व उसको योगदान र संघर्षको पाटोलाई फितलो रुपमा लिनु हुँदैन । हुन त कतिपय प्रसङ्गमा मानिसलाई शक्ति दियो भने उसको असल चरित्र उदाङ्गो हुन्छ भनी मान्ने प्रचलन छ । योसँगै योगदानको पनि उत्तिकै भूमिका हुन्छ ।

अमेरिकामा रहेको दासप्रथा र तानाशाही मानसिकताको अन्त्य गरेका राष्ट्रपति अब्राहम लिंकनले पनि भनेका थिए– मानिस अवसर र उपयोगका लागि जहिल्यै तयार हुन्छ । तर उसको चरित्रलाई जान्नका लागि शक्ति दिनुपर्छ ।

अहिले शक्तिकै टकराबलगायतका विषयमा नेपाल कम्युनिस्ट पार्टीका विविध नेताहरूबीच देखिएको मनमुटाव र विविध राजनीतिक तयारीले लिंकनको भनाईलाई पुष्टि गर्छ । यद्यपि, २१ औं शताब्दिको राजनीति भएका कारणले लिंकनका सबै भनाईका अपवादमा उत्रिने राजनीतिज्ञ पनि छन् ।

ति हुन्– पुष्पकमल दाहाल प्रचण्ड ।

प्रचण्डको व्यक्तिगत पाटो भन्दा पनि राजनीतिक संघर्ष, उकाली ओराली हुँदै अहिलेसम्मको अवस्था रोचक छ । छविलाल, पुष्पकमल र प्रचण्डसम्मका भूमिका फरक छन्, तिनमा कडा योगदान र संघर्षको घुलन नभएको भए केन्द्रीय राजनीतिमा उनी ‘मुख्य प्ले कार्ड’ हुने नै थिएनन् ।

संविधानसभाको चुनावपछि विभाजनतिर लागेको कम्युनिस्टलाई एकत्रित गरी बलियो शक्ति बनाउनका निम्ति प्रचण्डको भूमिकालाई नजरअन्दाज गरियो भने भूल हुनेछ । ठूलो कम्युनिस्ट पार्टी, फेरि त्यसका विविध विभाजनका दुख र फेरि एकताका किस्साका सबै पाटोमा प्रचण्ड मुख्य छन् ।

अब, अहिलेको नेपाल कम्युनिस्ट पार्टीको सत्ता सञ्चालन र राजनीतिक विवाद, विमर्श र तरङ्गका परिदृश्यलाई चिहाउँदा पनि प्रचण्ड मुख्य नै हुन् ।

विवाद सबैलाई थाहा छ । निकास के होला भन्ने मत मतान्तर चलिरहेका छन् ।

नेकपाको जीवनसँग देशको भविष्यसमेत जोडिएका कारण अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमतिकै विन्दुमा उभिने लयमा छन् भन्ने भनक मिलेको छ । नेकपाभित्र आफूले विश्वास गर्न सक्ने पूर्वमाओवादीका नेताहरूलाई राखेर भुलचुक के भयो भन्ने विषयमा उनले छलफल गर्नु समाधानका निम्ति अगाडि बढेको संकेत हो । पूर्वएमालेभित्रको टकरावबीच नेकपाको एउटा बलियो पिल्लरका रुपमा रहेका प्रचण्डले त्यसको नेतृत्व लिँदा नेकपा विसर्जनतिर जाने र देशले दुख पाउन सक्ने आँकलनबीच संघर्ष र एकताको शैलीलाई नै अख्तियारी गर्ने उनको सोच बाहिरियो, जुन नेकपाका लागि मात्र होइन मुलुकका हितमा छ ।

चौथो आयामका रुपमा संविधानसभा र गणतन्त्रको विगुललाई उचाईमा लगी त्यसको व्यवस्थापकीय जिम्मेवारीतामा उत्रिनु सामान्य योगदान होइन । यसको अर्थ, कांग्रेस र एमालेले नगरेका भन्ने होइन तथापि, नेतृत्वको सवालमा प्रचण्ड नै प्रमुख हुन् । किनभने, उनी १२ बुँदे समझदारीका अर्को पक्षका जीवित प्रतिनिधि हुन्

अहिले नेकपामा विग्रह आउँदा एउटा प्रचारमुखी राष्ट्रवाद र अर्को महामारी र विपदको जोखिममा पिल्सिरहेका जनताबीच ठूलो ग्याप हुनेछ । यसले राजनीतिक अस्थिरतामा रमाउन सक्ने विविध देशी विदेशी शक्तिका लागि फाइदा हुन सक्छ । यसर्थ, प्रचण्डले लिने अबको मार्गले नै मुलुकको दिशालाई प्रष्ट बनाउने भएकाले यो नामको महत्वलाई साधारण ठान्नु मूर्खता हुन जान्छ ।

फाइल तस्वीर

त्यसअघि यो नामको महत्व किन छ भन्ने प्रश्नसँग संश्लेषण र विश्लेषण हुन आवश्यक छ ।

अझै पनि शान्ति प्रक्रियाका कतिपय काम बाँकी छन् । शान्ति सम्झौताका जीवित हस्ताक्षरकर्ता प्रचण्डको काँधमा ति काम पनि पूरा गर्नु छ । नेकपाभित्रको राजनीतिक शक्ति संघर्ष एकातिर छ, अर्कातिर मुलुकको भविष्य र गणतन्त्रको जीवन पनि । लामो युद्ध, शान्ति प्रक्रिया हुँदै अहिलेको स्थिर सरकारसम्म बनाउन प्रचण्डले ‘त्याग’ देखाएका हुन् । अपवादमा उनीमाथि लाग्ने गरेका अनेक आरोप छन्, तिनको लेखाजोखा पछि होला ।

संविधानसभाबाट ३ असोज, ०७२ मा नयाँ संविधान जारी गर्नुपूर्व प्रचण्डले अडानको कसीलाई छाडेको भए परिस्थिति अर्कै हुने थियो । मधेसवादी दलसँग पनि निरन्तर संवादमा रहेका उनले संविधान र त्यसपछि स्थिर सरकारका लागि चुनावी बाटो नै उपयुक्त ठानेर जोखिमसँग खेल्ने निधो गरेको स्मरणीय हुनुपर्छ ।

यो परिस्थितिमा पाएका सबै उपलब्धिको उपयोग आवश्यक छ । सुधार आवश्यक छ । कसैमाथि दोषारोपण गलत हुन जान्छ ।

तत्कालिन माओवादी आन्दोलन चरम उत्कर्षमा रहेका बेला दरबारले सहमतिका लागि प्रचण्डसँगको वार्तालाई प्रमुख ठानेको थियो । त्यसैबेला सहमति गरेको भए अहिले प्रधानमन्त्री पदका लागि वा अध्यक्षका लागि जुन झगडाले नेकपाभित्र बखेडा गरेको छ, त्यसका अनेक पात्रको राजनीतिक जीवन कहाँ कस्तो हुने थियो होला ? यो परिकल्पना गर्न मुस्किल छ । सुझबुझ र लोकतन्त्र नै अनिवार्य सर्त रहेको ठानेरै तत्कालिन कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालासँग सम्झौता गरी प्रचण्ड शान्तिपूर्ण राजनीतिको बाटोमा उभिए ।

नेपालको व्यवस्थामा तीनथरी विचारधाराका विविध पात्र र संगठनको बोलबाला थियो । दरबार, पञ्चायत र प्रजातन्त्र । राजा, राप्रपा, कांग्रेस र एमालेहरू यी तीनै विचारधाराको स्पर्धामा रहेकै हुन् । तर चौथो आयामका रुपमा संविधानसभा र गणतन्त्रको विगुललाई उचाईमा लगी त्यसको व्यवस्थापकीय जिम्मेवारीतामा उत्रिनु सामान्य योगदान होइन । यसको अर्थ, कांग्रेस र एमालेले नगरेका भन्ने होइन तथापि, नेतृत्वको सवालमा प्रचण्ड नै प्रमुख हुन् । किनभने, उनी १२ बुँदे समझदारीका अर्को पक्षका जीवित प्रतिनिधि हुन् ।

परिवर्तन भएपछि विविध आयामको टकराब स्वभाविक हुन्छ । तर टकराबभित्र पनि समाधानका उपाय खोज्ने लचकता जो कोहीसँग हुँदैन, राजनीतिमा त्यस्तो व्यक्ति भएन भने दुर्घटना हुन्छ । र, लचकताको अर्को नाम नै प्रचण्ड हो, देखिन्छ पनि । एउटा बैठकमा प्रधानमन्त्रीको राजीनामा अनिवार्य छ, सदस्यले माग गरेका छन् । कार्यशैली मिलेन भनेर चुनौति दिनु र फेरि त्यहिँभित्र समाधानका निम्ति निरन्तर पहलकदमी गर्न सक्ने क्षमता जोकोहीमा सम्भव छ ?

बन्दुकधारी कार्यकर्ता र नेतालाई नेतृत्व गरी मुलुकमा आमूल परिवर्तनको जोखिमको पनि जिम्मा लिन सक्ने छाती भएकैले प्रचण्ड अहिलेको राजनीतिमा पनि एउटा फरक आयाम हुन् । नेकपाभित्र देखिएको समस्या उनको बोलीमा थियो, नेकपाभित्रको समाधान पनि उनकै विचार र निर्णयमा छ । प्रचण्डकै निर्णयलाई सबैले नियाँलिरहेका कारण नेता कार्यकर्तामाझ उनी कसरी पुग्नेछन् भन्ने चर्चा साधारण व्यक्तिमा पनि छ । यसैले त उनी प्रचण्ड हुन् ।

नेकपाभित्र केही न केही समाधान लिएर बैठकमा उनी पुग्लान् । नेकपाभित्रको चियो र चासो मात्र होइन, छिमेक मुलुकले पनि प्रचण्डकै निर्णयले दिन सक्ने समाधानलाई कुरिरहेका छन् । बाँकी त आफ्ना अडानकै कठपूतली हुन्– चाहे प्रधानमन्त्री केपी शर्मा ओली भनौं या नेता माधवकुमार नेपाल ।

राजनीतिमा अडानभन्दा पनि महत्व लचकता र समाधानका निम्ति उपाय निकाल्न सक्नेको हुन्छ । नेकपाका लागि त्यो पात्र नै प्रचण्ड हुन् ।

प्रतिक्रिया
सम्बन्धित