शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बर्षा राउतको ‘साढें साती’ र सीमाहिन राष्ट्र प्रेमभित्र घोत्लिँदा 

विनोद ढकाल २०७७ जेठ १२ गते १:०५

-विनोद ढकाल

बर्षा राउत अभिनयको एउटा विन्दुमा उभिएकी युवती हुन् । सामिप्यको चिनजान नहुनु भनेको उनका विविध भूमिकाका क्षेत्रफल र परिधिको हेक्का नराख्नु हुन्न ।

उनी, आम मानिसका लागि अभिनेत्री, मोडल अथवा सार्वजनिक परिचयधारी हुन् । यो परिचयको मानक भएकै कारण परिचयको गरिमा र अस्तित्व, त्यसको ओज र परिणामका सम्भावित विषयमा हेक्का राख्नुपर्ने थियो, राख्छु भनेर प्रण गरेकी छन् । यस्तो रियलाइजेशन गर्नु भनेको वास्तवमै  समयको बेमौसी ‘साढें साती’ले कुत्कुत्याएकै रहेछ भन्ने बुझ्नपर्छ, अब ।

फेरि, उनी यति मात्र होइनन् ।

उनी छोरी, दिदीबहिनी, भान्जी, भतिजी, श्रीमति, बुहारी, नन्द, भाउजु अनेक परिचयको मानक पनि हुन् । जसरी आम मानिसका जीवन सम्बन्धका आधार यसमा जडित मात्र हुँदैन, टिकेको पनि हुन्छ ।

यो जिम्मेवारीतालाई अपमान गर्नु, गाली गर्नुले कतिपयको मन दुख्छ, कतिपयले भावनात्मक सजाय पाउँछन् भन्ने पनि उनको कलाको आलोकको परिचय पाएका फ्यान, सहयोगी वा आम मानिसले सोच्नुपथ्र्यो । तर त्यो तहको सामाजिक चरित्रको अब्बलता अहिले खोज्न सकिँदैन, परिकल्पना गर्न सकिन्छ, घटनाक्रममाथि घोत्लिँदा ।

समय, परिवेश, आन्तरिक राजनीति र सीमाका विषयमा भएको अन्तर्राष्ट्रिय बहस र विवादको हावा उनले बोलेको गतिमा चलेकै थिएन ।

प्रतिक्रियाका यी कठोर बेग आउन सक्ने र त्यसको भार यति धेरै हुन सक्छ भन्ने परिकल्पना गरिएको थिएन । न, बर्षा स्वयम्ले गरेकी थिइन् । यो वेगमा सीमाहिन राष्ट्रप्रेमसँग मिसिएको आवेगका ज्वारभाटा थिए । सर्वत्र अहिले पनि हेर्न सकिन्छ ।

देवत्वकरण र दानवीयकरण सञ्जाल चरित्र हो– अन्य उदाहरणमा यो चरित्रमा कोही अरुलाई प्रतिस्थापन गराउने कर्ममा अहिले दानवीयकरणको अचानोमा परेकाको पनि उत्तिकै भूमिका थियो । सरल नलाग्न सक्छ यद्यपि, सरलीकरण गरेर हेर्दा समाजको चरित्रसँग लड्ने, ढल्ने भन्दा पनि यसलाई परिवर्तन गराउने काममा कुनै दिन चेतनाको त्यो विन्दुमा कतिवटा तर्क गरियो ? भन्ने प्रश्न शाश्वत पनि बन्दछ ।

कलाकारिताको एउटा सबल विन्दुमा उभिएपछि विषयबस्तुको पूर्ण ज्ञान अनिवार्य हुनुपर्छ र त्यसले पार्न सक्ने असरका विषयमा हेक्का राख्नुपर्छ भन्ने उदाहरण कयन त चलेकै थिए । यो त्यो भूमीमा हो जहाँ ऋतिक रोशनको फिल्म चल्यो, उनको पुत्ला पनि जल्यो । नरेन्द्र मोदीसँग हात मिलाउन बानेश्वरमा हानाथाप भयो, त्यहिँ पुत्ला पनि जलिरहेको थियो ।

यो, देश र मानिसको मनोदशाको चित्र होइन । यो, समय र कालसँग दौडिने हरेक विषयबस्तुसँग जोडिने ‘राष्ट्रियता’को परिणाम हो । यो हुन्छ, यहाँमात्र होइन अन्यत्र पनि हुन्छ ।

विविध अनलाइन न्युज पोर्टल, सामाजिक सञ्जालका विविध माध्यममा नेपाल मामिलाका समाचारबीच घुमिरहेको विषय बनिन्– राउत । यसै पनि गसिप र समाचारका विविध कोणमा उभिनुपर्ने कलाकारको नियती भइ नै रहेको हुन्छ, कति चित्त बुझ्न सक्छन् कति चित्त दुखाईका पनि हुन्छन् होला ।

तर चर्चामा रहेको विषयचाहिँ कला र मनोरञ्जन वा उनका नीजि जीवनका विविधता भन्दा केही पृथक थियो । उनको टिप्पणीको प्रत्योत्तर वा प्रतिक्रियाका रुपमा आएका गालीगलौज र मानप्रतिष्ठामा नै धक्का लाग्ने टिप्पणीका अनेक लर्को, फोटोसप गरेका अनेक प्रकारका तस्बिरहरू चले, चलाइए । बनमा आगो सल्किएपछि त्यसलाई दन्किन धेरै समय लाग्दैन, यो त फेरि अस्ट्रेलियाको जंगलमा लागे भन्दा पनि भयानक अर्थमा जलजला थियो ।

केही नजिर छन् । केही सुझाव छन् ।

जब राष्ट्रियताको विषयले सघन चर्चा र बहस पाएको हुन्छ, यस्ता बेला आफूलाई लागेको कयन विचार, विमर्श र सत्य पराजित भइसकेका हुन्छन् । भन्ने आशय र अभिप्राय एक हुन्छन् तर तिनको अर्थ खोज्दैन, राष्ट्र प्रेमले । त्यसैले अति बुझेका विद्वान भएका डा. बाबुराम भट्टराईहरूकै पोष्ट र प्रतिक्रियाका मुनी सहन नसक्नेगरीका प्रतिक्रिया हुन्छन् । यसको अर्थ हो, आवेगमा मानिसले पुराण पढ्दैन भन्ने नै हुन्छ ।

यसैको पृष्ठभूमीमा अभिनेत्री राउतमाथि उनकै फ्यान पेजमा बर्सिएका प्रतिक्रिया उदाहरण हुन् । जसले प्रेम र स्नेह दिए, तिनले नै अहिले असहिष्णु हुनेगरी गाली गलौज गरेका छन् । जीवनकालमा यो एउटा कठोर पाठ र परिक्षा भएरै पनि उनले माफी मागिन् तर माफी दिन्छु भन्ने प्रतिक्रिया प्रायः छैनन् । जब प्रायःमा घृणा बर्सिन्छ– बुझ्नुपर्छ राष्ट्रियता भन्दा ठूलो प्रेम केही पनि होइन रहेछ । राष्ट्रको विषय जब तेजिलो रफ्तारमा हुन्छ, आवेग र आवेशपूर्ण प्रतिक्रियाले पात्रको परिचय खोज्दो रहेनछ ।

सँधैभरी आलोचित हुने नेपाली मिडिया यस प्रकरणमा आलोचित छैनन्, विषयबस्तुमा । बरु, आलोचना भएको छ भारतीय मिडियाको जस्तै कठोर जवाफ नफर्काएकोमा । तर, राउतले दुवैतिरका मिडियालाई आक्षेप लगाउनु पनि अध्ययनअनुसार थिएन, सायद

यो नेपाल मात्र होइन, विश्वमा भएका कयन देशका राष्ट्रवादी मुद्दा र बहसको चरित्र नै यस्तै हुन्छ । अहिले नेपाल–भारतबीच जोडदार रुपमा चलेको सीमा विवादको विषयमा भारतीय पक्षको विचारलाई हेर्दा पनि यहि नै भेटिन्छ । यसैकारण जुन विषयमा भारतीय कलाकारले मुख खोलेका छैनन्, त्यसमा अलिक हतारो गरी, विचार र विमर्श, त्यसको परिणामको हेक्का नराखी गरिएको टिप्पणीका क्रममा आएका शव्द बाणले राउतलाई निरन्तर घोचेको हुनुपर्छ ।

जसरी नेपाली चेली भएर मनिषा कोइरालाले मध्यमार्गी रुपमा एउटा रिट्वीट गर्दा पनि त्यहाँका मिडियाले त ‘खाती भारतकी, गाती चीनकी’ भन्नेसम्मका निकृष्टता देखाए, त्यो नै अन्धो राष्ट्रवादको चरित्र हो । यो चरित्रको टिप्पणी भइरहेको, बहस भइरहेको बेलामा विवेकपूर्ण तर्क गरिएन वा आफ्नालाई चित्त बुझाउने कुरा गर्न सकिएन भने चिन्ता र दुख मान्नुको अर्थ पनि रहला वा नरहला ? यो पनि यहि नियतीले सिकाएको पाठ वा उठाएको प्रश्न अवश्य हो ।

सद्भावको सोच राखे पनि अहिले चलेको तथ्यको युद्ध हो । सँधैभरी आलोचित हुने नेपाली मिडिया यस प्रकरणमा आलोचित छैनन्, विषयबस्तुमा । बरु, आलोचना भएको छ भारतीय मिडियाको जस्तै कठोर जवाफ नफर्काएकोमा । तर, राउतले दुवैतिरका मिडियालाई आक्षेप लगाउनु पनि अध्ययनअनुसार थिएन, सायद । राष्ट्रियताको सवालको विषय भनेको गसिप र अफवाह फैलाउने विषयबस्तु नै थिएन भन्ने अध्ययनको कमी भएको हो की ?

कुनै पनि पेशाको व्यक्तिले राष्ट्र भावको विषयमा गहनता र अति विशिष्टताका आधारमा नै राख्नुपर्छ । किनकी, त्यो देशको शान र मानको प्रतीक कलाकार पनि हुनसक्छ भन्ने उदाहरण युक्रेनका राष्ट्रपति भोलोदिमीर गोइजम्यार हुन् । उनी मुलुकभित्रका लागि पेशामा एउटा हास्य कलाकार भए पनि जिम्मेवारीता देश हाँक्ने र राष्ट्रियता आँक्नेसम्म पुराउन सक्ने हिम्मत, क्षमता र दक्षता जनताले राखे ।

कलाकारले बुझ्नुपर्छ फ्यान तिनै हुन् जसले उनको कलाकारितामा गडगहाड ताली पड्काउँछन् । त्यहि बीचको साधारण घेरा हुन्छ । त्यो घेराले कलाकारिता वा राजनीतिका अनेक चिज माफ गर्न सक्ला तर विश्वास गर्नुहोस्– राष्ट्रियतामाथिको खेलवाड माफ गर्दैनन् । गल्ती, त्रुटी वा भ्रम त्यो त कदाचित माफी दिँदैनन्, यहि साँढे सातीको चक्रव्युहमा जानी-नजानी प्रवेश गरेकी राउतलाई विभिन्नले गरेका आवेगका आक्षेप र हुर्मतबाट निस्कन बडो कठिन भइरहेको छ ।

तैपनि, उनका बारम्बारका प्रष्टिकरण, त्यो दिने क्रममा उनले नजानेर गरेको भूलपूर्ण विषय र त्यसको आत्मग्लानीलाई हेर्दा सामाजिक सञ्जाल होस् वा कुनै फोरम त्यहाँ चिच्याउने हरेकले एक पटक मौका दिनुपर्छ, उनको व्यक्तिगत जीवनको चरित्र हत्या र हरण गर्नु पनि अर्को अपराध कर्म हुन्छ भन्ने नै लाग्छ ।

बाँकी त बर्षाले निम्त्याएको साँढे सातीसँग आएका प्रतिक्रियाको उपक्रमका तर्क र गालीले नै देखाइरहेको छ, हामीसँग राष्ट्रप्रेम अति नै ज्यादा रहेछ, लिपुलेक, लिम्पियाधुराको सीमाभन्दा अधिक परसम्म हामीलाई प्रेम छ, हुनुपर्छ सदा सर्वथा ।

तर क्षमादान, भूलसुधार, गल्तीको माफी दिने क्षमता, दक्षता र हृदय त रहेनछ, तपोभूमीमा जन्म लिनेसँग ‘नारी’माथि सम्मानजनक कटाक्ष गर्ने शव्द पनि रहेनछन् । यहि बर्षाको नियती बन्यो, १५ सेकेन्ड बोल्न नजान्दा, पछि जानिन माफी पाउँ भन्दा, अब हेक्का राख्छु भन्दा पनि ।

प्रतिक्रिया
सम्बन्धित