सोमबार, ५ जेठ २०७७
DainikNepal.com
सोमबार, ५ जेठ २०७७

प्रकृति विनासका परिणामहरू महामारी भन्दापनि अझै घातक

डिल्ली अम्माई (अनाथ अंकल ) २०७६ चैत २० गते ६:४७

डिल्ली अम्माई (अनाथ अंकल )

आफ्नो जीवन सबैलाई प्यारो हुन्छ। त्यसैले आफू माथि आइलागेका हरेक संकटहरूमा हामी सतर्क र चिन्तित हुन्छौँ । अरुलाई परेको पीडा देख्दा आत्तिन्छौँ। कसैको मृत्युको कल्पनाले मात्रै पनि हाम्रो होस् हवास उड्छ। अझ आफन्तहरुको वियोग सहन नसकेर कतिले आत्महत्या गरेको समेत सुनिने,देखिने गरेको छ। यी सबैको निचोड हो,हामी आफन्तकोबीच अगाध स्नेहको जेलोले बाँच्न सकेका छौँ। समुदायको आड भरोसाले हामीलाई सुरक्षाको अनुभूति दिएको छ। परिवारसंगको सहकार्यबाट प्राप्त आधारमा हामी रमाउन र जिउँन सिकेका छौँ। त्यसैले हामीलाई हाम्रो प्राण पछि, परिवार,समाज र सम्पूर्ण मानब समुदायको भरोसा छ। यी सबै सम्बन्धहरु हाम्रालागि अत्यन्त पृय छन्।

तर हाम्रो परिवार,समाज र सिंगो मानब समुदायलाई दिर्घकालसम्म बचाई राख्न प्रेम र सद्भावमात्र प्रयाप्त छ त ? यो नै चुनौतिपूर्ण बर्तमान समयले मानब प्रजातिसँग सोधेको गम्भीर प्रश्न हो। पृथ्वीमा रहेका साढे चार अर्ब मानिसलाई बचाउन अहिले र आगामी दिनहरुमा संसारभर रहेका राज्य र नागरिकहरुले के गर्न सक्छन ? त्यसको लागि मानबले बिगतदेखि गर्दै आएका गल्ति र महाभूलहरुको समिक्षा सहित भविष्यको कार्ययोजना तय गर्नु जरुरि भैसकेको छ। मानब जीवनलाई चुनौती दिने मार्गबुर्ग, इबोला, रेविज, एचआइभी, स्मलपक्स, हान्ता, इन्फ्लुएन्जा, डिङ्गो, रोटा, सार्सक्रोनो, सार्स क्रोनो–२ र नोबेल क्रोनो भाइरसहरुको संक्रमण बेलाबेलामा संसारव्यापी रुपमा फैलिने गरेको छ । यस्ता प्राणघातक रोगहरु महामारीको रुपमा लगातार के कारणले आइरहेका छन् ? कतै यस्ता महामारी आउनुमा कहिँ न कहिँ हाम्रा आफ्ना महाभूलहरु त जिम्मेवार छैनन् ? बिस्व प्रसिद्ध बैज्ञानिक स्टेफन हकिंसले जीवनभर र अन्तिम अबस्थामा समेत उठाएको गम्भीर प्रश्न यसैको वरिपरि थियो।

पृथ्वीमा रहेका साढे चार अर्ब मानिसलाई बचाउन अहिले संसारभर रहेका राज्य र नागरिकहरुले के गर्न सक्छन ? त्यसको लागि उनीहरुले गर्दै आएका गल्ति र महाभूलहरुको समिक्षा गर्नु जरुरी हुन्छ। कोरोना जस्ता महामारी लगातार के कारणले आइरहेका छन् ? यो बहसले नै हामीलाई हाम्रा गल्तिहरुबाट बचाउन मद्धत गर्ने छ र मानब प्रजातिको अस्तित्व लम्ब्याउन गहन भूमिका खेल्ने छ।

मानव जनसंख्याले पृथ्वीको चक्रिय प्रणाली(ecosystem)लाई चुनौती दिंदै आएको छ । जसको परिणाम स्वरूप वर्तमान भू-गर्भीय समय क्रममा जीव जगतका अन्य प्रजातिहरूको व्यापक र निरन्तर लोप हुँदै गएको छ, जसलाई बैज्ञानिकहरुले जैविक विलुप्तता ( Holocene extinction) को नामले चिनाउँछन। सन् १९५० को दशकदेखि प्रकृति माथि मानवीय आतिक्रमणले गर्दा पृथ्वीमा भएका केहि प्रजातिहरु लोप भएका छन् भने धेरै प्राणिहरु आफ्नो प्रजाति उन्मुलनको संघारमा उभिएका छन्। यो अबस्था भनेको प्राणि जगतको चक्रिय प्रणाली तहसनहस हुनु पुर्वको अबस्था हो। प्रकृतिको यो महाहानिलाई हामीले जैविक जैविक चक्रिय संकट भनेर बुझ्दछौँ। भनिन्छ, सन् २००७ सम्ममा हामीले संसारमा भएका प्राणि मध्ये करिब प्रजातिको १०% नष्ट गरि सकेका छौँ । वर्तमान दरमा नै प्राणीहरुका बासस्थान कब्जा गर्दै र जल स्थल र आकास प्रदुषित गर्दै गयौं भने , करीव ३०% प्रजातिहरू अबको सय बर्षमा विलुप्त भै सक्ने छन् । प्राणि प्रजातिहरुको बंसिय बिलोपिकरणको मुख्य जिम्मेदार हामी हौँ। किनकि जल र स्थलमा रहेका जीव जिवात्माका निवास स्थान हामीले विनाश गर्दै गएका छौँ , दुर्लभ जनावरका प्रजातिहरूको व्यापक रुपमा तस्करी गरेका छौँ , शिकार गरेका छौँ र वातावरण प्रदुषण मार्फत भएको जलवायु परिवर्तनको परिणामले धेरै थरिका जीव प्रजातिहरूको लोप हुने अबस्था आएको छ। जसको जिम्मेवार केवल हामी हौँ ।

भन्नै पर्ने हुन्छ कि वर्तमान समयमा मानव गतिविधिले पृथ्वीको सतहलाई नर्क बनाउदै लागेको छ । जमिनको सतहको एक तिहाई भन्दा बढी सम्पूर्ण जीवको साझा बासस्थानमा मानबले बलपुर्वक एकछत्र राज गरेको छ। यो धर्तिमा मानब अन्य प्रजाति मध्ये एक हो र उसको अधिकार अन्य प्रजाति सरह मात्र हो भन्ने कुरा मानबले बिर्सदै गएको देखिन्छ। बिसाक्त बायुमंडलको खतरनाक बिष सोस्ने सर्प, खतरनाक कार्बन र धातुजन्य बिष सोस्ने जंगल तथा खतरनाक किटाणु पचाइदिने जंगली जनावरहरुको मानिसले बिनास गरिरहेको छ। त्यसपछिको परिणाम भनेको यस्तै यस्तै महामारी र अन्त्यमा आफ्नै प्रजातिको बिनास हो।

प्राणी जगतको चक्रिय प्रणाली नबिगारीकन मान्छेले उन्नति गर्न सक्थ्यो तर मान्छे अति स्वार्थि भयो। उसले सम्पूर्ण प्राणि जगतको स्वार्थलाई त ख्याल गरेन गरेन , स्वयम् आफ्नै प्रजातिको स्वार्थलाई पनि ख्याल गरेन।

एक अनुसन्धान डाटाले के भन्छ भने,मानिसहरूले हालसम्म विश्वव्यापी रुपमा गरेको उत्पादनको केवल २०% पूर्ण उपभोग गर्दछ। अर्को शब्दमा भन्दा मानिसले गरेको ८०% विलासी उत्पादन आबस्यकताको लागि नभएर नाफाको लागि हो। यसको मतलब ८०% विलासी बस्तुको उत्पादनले हाम्रो धर्तिको स्वास्थ्य जल र बायुमंडलमा पुर्याएको क्षतिलाई कुनै मुल्यको अंकमा उतार्न असम्भब छ। त्यो क्षति धर्तिका जिबात्माकोलागि अपुरणनिय क्षति हो। जसको कारण धेरै किट तथा इकोसिस्टममा महत्वपुर्ण योगदान दिएका जिबात्माहरु धर्तीबाट सदाका लागि लोप भए र केहि जीवहरु लोप हुने तरखरमा छन्। वाताबरण विदहरुको एक अन्वेषणले बताउछ कि औद्योगिक क्रान्ति सुरु भएदेखि वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा ३०% सम्म बढेको छ। त्यो स्वयम् मानब स्वास्थ्यका लागि कति घातक छ भन्नु नपर्ला। धर्तिको स्वास्थ्य बिग्रदै गएकोले त्यसले अन्य जीव सहित मानब स्वास्थ्यमा पनि अत्यान्त खतरनाक प्रभाब पार्न थाल्छ। कोरोना जस्ता महामारी पनि अस्वास्थ्य धर्तीका नै उपज हुन् भनेर पुष्टि गर्ने प्रसस्त आधारहरु देखिन्छन।

बाँच्नको लागि प्रकृतिलाई सम्मान गर्नुको विकल्प छैन 

हरेक प्राणीले पृथ्वीको प्रयाबरणिय सन्तुलनको लागि प्राकृतिक रुपले एक जिम्मेवारी लिएर आएको हुन्छ। प्राकृतिक रुपमा एक भाइरसबाट अर्को नियन्त्रित भएजस्तै एक ब्याक्टोरियाबाट अर्को र एक जीव वा जनावरबाट अर्को नियन्त्रित भै रहेको हुन्छ । मानिसले बन बिनासद्वारा बासस्थान मासिदियो फलस्वरूप जंगली जनावर र चराचुरुंगीहरु क्रमश लोप हुदै छन्। उदाहरणको रुपमा लोप हुँदै गैरहेको गिद्धलाई लिन सकिन्छ। संसारबाटै गिद्द,बाघ, अजिङ्गर लोपोन्मुख हुदै गइ रहेका छन् । ति जीवहरु लोप हुनुको मुख्य कारण बास र आहारको अभाव नै हो।

मानिसलाई थाहा छ,यो पृथ्वीमा रहेका सबै प्राकृतिक सम्पदाको आँफु मात्र हिस्सेदार हैन। उसलाई यो पनि थाहा छ कि पृथ्वीको चक्रिय प्रणाली (ecosystem) भत्कियो भने त्यसले निम्त्याउने दुस्परिणामलाई उसले रोक्न सक्दैन। तर पनि मानिसले केवल शक्ति, बुद्धि र प्रबिधिको भरमा प्रकृतिमाथि नियन्त्रण गर्न तम्सेको छ। संसारमा भएका जलचर, उभयचर र थलचर जीवहरुको प्राकृतिक अधिकारलाई चुनौती दिदा मानब जातिले पनि कुनै दिन डायनासोरहरूको जस्तो अबस्था भोग्न नपर्ला भन्न सकिदैन। त्यसैले पनि मानिसले प्रकृतिद्वारा प्रदत्त आफ्नो हिस्सा मात्र दावी गर्नु जायज हो। सृष्टिका अरु जिबात्माको बास खोस्नु, उनीहरुलाई प्राकृतिक रुपमा प्राप्त गास, बास र जिबन शैलीलाई मजाक सम्झनु गलत हुने छ।
पृथ्वीमा भएका ब्याक्टेरिया, भाइरस, प्रोटोजोवा लगायतका सूक्ष्म जीवाणुहरुको तौल संसारभरका सम्पूर्ण वनस्पति, जीवजन्तुको कुल तौलभन्दा बढी छ। मानिसको शरीरमा लगभग ४० हजार प्रजातिका ब्याक्टेरिया र १०० ट्रिलियन ब्याक्टेरियाका कोषहरू हुन्छन्। मान्छेको शरीरमा मानव कोषभन्दा बढी ब्याक्टेरियाका कोषहरु हुन्छन्। सरिर पनि ब्याक्तोरियाकै चक्रिय सन्तुलनमा ब्याबस्थित र गतिशील हुन्छ। उसैगरी पृथ्वी पनि बन जंगल, जल तथा स्थलमा रहेका जीव जिबात्माको चक्रिय गतिले निरन्तर जीवित र सक्रिय छ।

धर्तीमा कहिलेकाहिँ आकस्मिक ब्रमाण्डिय दुर्घटनाले पनि गम्भीर असर पार्छ। ब्रमाण्डिय दुर्घटनाकै कारण धरतीबाट मेसोजोइक समय वा “मिडिल लाइफ” युगको बेला , जीवनले वेग र विविधताका साथ उत्पत्ति भएका विशाल छेपाराहरू, डायनासोरहरू र अन्य राक्षसी जनावरहरूले आफ्नो साम्राज्यलाई गुमाउन क्षणभर पनि लागेन। उनीहरुले आफ्नो समयमा अन्य कुनै जीवको अस्तित्वलाई चुनौती दिन्थे। तर समय क्रममा प्रकृतिले डायनोसारको सबै प्रजातिलाई समाप्त गरिदियो। त्यो अवधि करिब २२२ मिलियन वर्ष अघिदेखि करीव ६६ मिलियन वर्ष पहिलेसम्म रहेको मानिन्छ। सरीसृपको युग वा डायनासोरको युग समाप्ति जस्तै मानब युगको समाप्ति पनि नहोला भन्न सकिन्न । किनकि मानिसले पनि प्रकृतिका सबै चराचर जिबका बाँच्न पाउने जैविक अधिकारहरुलाई समाप्त पार्दै लागेको छ।

बन बिनास अर्को महाभूल

जंगल र जीव सम्बन्धि अन्वेषण रिपोर्ट प्रकासित गर्ने साइड (IntactForests.org) मा दिइएको एक रिपोर्ट अनुसार,विश्वभरि रहेको वर्षा पार्ने जंगल( Rainforests) ठूलो खतरामा रहेको देखिन्छ । खाद्य तथा कृषि संगठनको सन् २०१६ को एक “स्टेट अफ फरेष्ट”को रिपोर्टले ७ मिलियन हेक्टर जंगल सालाना कटान भइरहेको छ भने त्यसमा कृषि उपयोगको लागि केवल ६ मिलियन हेक्टर मात्र प्रयोग भएको देखिन्छ । आज जंगलको मुख्य सत्रु भनेको पालम तेल, कपडा, कागज र फर्निचर जस्ता वस्तुहरूको औद्योगिक उत्पादन हो। ग्लोबल फॉरेस्ट रिसोर्स असेसमेन्ट(Global Forest Resources Assessment 2015) ले दिएको एक रिपोर्ट अनुसार विश्वभर केवल ४ बिलियन हेक्टर वन मात्र हाम्रोलागि बाँकी रहेको छ।
हामीले प्रत्येक वर्ष कोष्टारिका बराबरको अर्थात ७०,००० बर्गकिलोमिटर बन गुमाउदै आएका छौं। प्रत्येक बर्ष ३.५ बिलियन देखि ७ बिलियन रुखहरु काटिञ्छन। यो हिसाबले केहि समय पछि हाम्रो प्रकृतिको बायुमंडल तथा चक्रिय प्रणालीलाई सन्तुलन राख्न सक्ने अबस्थामा जंगल रहने छैन। सक्ति राष्ट्रका मालिक तथा बहुराष्ट्रिय कम्पनिले औद्योगिक उत्पादनबाट नाफा आर्जन गर्नको लागि विकल्प हुँदाहुँदै पनि बन सिध्याई रहेका छन्।

त्यस्तै आगलागीबाट पनि धेरै जंगल सकिदै गएको छ। भोलि पृथ्वीमा प्रत्येक मानबले अक्सिजन किनेर बाँच्नु पर्ने अबस्था आयोभने यो नोक्सानीको मूल्य बल्ल थाहा पाउने छन्। बेला बेला धर्तीमा देखापर्ने महामारी, प्राकृतिक प्रकोप र प्राकृतिक सम्पदाको लुट युद्ध केवल मानब जातिको लागि चेतावनी मात्र हुन्।

जंगलले वायुलाई प्रदूषकबाट शुद्ध पार्न, हावाबाट कार्बन डाइअक्साइड अवशोषित गरेर र प्रकाश संश्लेषणको प्रक्रियामार्फत ठूलो मात्रामा अक्सिजन आपूर्ति गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

धर्तीका प्राणिको प्राण बायु र बर्षा तथा प्रयाबरणिय सन्तुलनको लागि कमसेकम न्युनतम ३३%जंगल आबस्यक हुने पर्ने मानिन्छ । रूखको आवरण पुन: भण्डारणले हावाको प्रभावलाई घटाउने र सतहमा वर्षाको पानीको प्रवाहलाई कम गर्दछ, जसले गर्दा माटोको क्षयीकरण कम हुन्छ, यसले वायुको तिब्र बहाब रोकेर बादल चिसो बनाई पानि पार्न समेत मद्धत गर्दछ। रूखहरूले जमिनमा खस्ने पातहरू,हाँगा माटोमा कुहिएर माटोको उर्वरा शक्ति बढाउँदछ।त्यसद्वारा उनीहरूले माटोमा जैविक सामग्रीहरूको परिपूर्ति गर्दछन,पानीको स्रोतलाई जोगाउन र रक्षा गर्न मद्दत गर्दछन्। वनले जैविक विविधताको उच्च स्तरलाई प्रतिनिधित्व गर्दछ, जुन वातावरणीय सुद्धताको लागि अपरिहार्य छ। बिबिधता सहित प्राकृतिक वातावरण सन्तुलनमा राख्न बन जंगल अति आबस्यक मानिन्छ। जैविक बिबिधता सहितको जंगल प्रणालीको स्थिरता र सन्तुलनको लागि नभई हुदैन।

जल प्रदुषण

प्राण बायु अक्सिजन र इकोसिस्टमको लागि बन जंगल जस्तै समुन्द्रको पनि अथाह योगदान रहेको हुन्छ। तर धर्तीमा ५० देखो ८५% सम्म अक्सिजन उत्पादन गर्ने महासागर, सागर र नदिहरु अहिले घातक रुपले प्रदुषित भैरहेका छन्। भै रहेको प्रदुषणमा सबैभन्दा घटक प्रदुषण प्लास्टिकजन्य प्रदुषण हो। सामुन्द्रिक प्रदुषणलाई न्यूनीकरण गर्न विभिन्न देशका वातावरणविदहरुले ब्यापक अध्ययन अनुसन्धान शुरु गरेका छन्। त्यसै क्रममा गरिएको एक अध्ययनले समुद्रमा रहेको प्लास्टिकजन्य फोहोरको मात्रा आगामी एक दशकमा तेब्बरले बढ्ने देखाएको छ। बेलायती सरकारका लागि तयार पारिएको समुद्रको भविष्य सम्बन्धी प्रतिवेदनमा प्लास्टिकजन्य फोहोरका साथै सामुद्रीक सतहमा आएको वृद्धि, तापक्रममा वृद्धि र अन्य प्रदुषण मुख्य चुनौतीका रुपमा रहेको जनाइएको छ । सम्पूर्ण महासागरमा ५२५ खरब भन्दा बढी प्लास्टिकका टुक्राहरू छन् भनेर अनुमान गरिएको छ, जसले समुन्द्रलाई विशाल “प्लास्टिक सूप” मा परिणत गर्दै लगेको सेटलाइट तस्विरहरु मार्फत देखिएको छ ।

यो प्रदुषणले समुन्द्रभित्र बाँच्ने शुक्ष्म बिरुवा, लेउ र ब्याक्टोरियासम्म सुर्यको प्रकास पुग्ने प्रक्रियालाई गम्भीर ढंगले अबरुद्ध पार्छ। सबै बोटबिरुवाहरु जस्तै, तिनीहरूले पनि खाना बनाउदा प्रकाश संश्लेषण गर्दछन्। एउटा जीव विज्ञानको बिद्यार्थीलाई थाहा हुने कुरा होकी ति प्लांक्टनहरूले खाना बनाउन सूर्यको किरण र कार्बन डाइअक्साइड प्रयोग गर्दछन्। उनीहरुले खाना बनाउदा प्रयोग गरिने प्रकाश संश्लेषणको एक उप-उत्पादन प्राण बायु अक्सिजन ग्याँस हो। वैज्ञानिकहरू विश्वास गर्छन् कि फाइटोप्लांक्टनले पृथ्वीको वायुमण्डलमा ५०% देखि ८५% प्रतिशत अक्सिजनको उत्पादन गर्छन ।

(Plankton are not just one species of sea creature but, rather, a large variety of tiny organisms. Algae, bacteria, crustaceans, mollusks, and more are all considered plankton. What sets them apart from other organisms is how they move. Their extremely small size precludes them from swimming against ocean currents, so they drift. Plankton may be small, but these tiny drifters play a huge role in aquatic ecosystems. Many animals, including whales, rely on them for food. Plankton that are plants, known as phytoplankton, grow and get their own energy through photosynthesis and are responsible for producing an estimated 80% of the world’s oxygen.)

खतरनाक अस्त्र निर्माण

त्यस्तै मानिसले आँफुलाई मात्र नभएर धर्तीका सम्पूर्ण निरपराध चराचरलाई सिध्याउने आणविक अश्त्र समेत निर्माण गरेर अर्को पागलपन देखाइसकेको छ। सक्ति राष्ट्रहरुले १३,८८५ भन्दा बढी आणविक बम यहि धर्तिको गर्भमा भण्डारण गरेका छन्। जसमध्ये ९०% भन्दा बढी अमेरिका र रसियाका छन्। जसले कुनैपनि बेला पृथ्वीबाट चराचर जीव जगतको संहार गर्न सक्छ।

भाइरस के हो ? भाइरसले कसरि ल्याउछ महामारी ?

भाइरस भन्ने शब्द ल्याटिन भाषाबाट आएको हो र यसको अर्थ विष हो.सूक्ष्म जीवहरु व्याक्टेरिया र आर्किया वर्गमा पर्ने जीवहरु कोषबाटै बनेका भएपनि कोषबाट बनेका बाँकी अन्य सूक्ष्म या ठूला जीवहरुभन्दा कोषको संरचनागत हिसाबमा भिन्न छन् । त्यो भिन्नता के हो भने यिनीहरुको कोषभित्र न्युक्लेस हुन्न, जबकि अन्य सबै प्रकारका जीवहरुको कोषभित्र न्युक्लेस हुन्छ । त्यसैले वैज्ञानिकहरुले सम्पूर्ण जीवहरुलाई कोषभित्र न्युक्लेस हुने र नहुने समूहका रुपमा दुई खेमामा बिभाजन गरेका छन् । कोषभित्र न्युक्लेस नहुनेलाई प्रोकार्योट्स (Prokaryote) र हुनेलाई युकार्योट ( eukaryote) भनिन्छ । व्याक्टेरिया र आर्किया वर्गमा पर्ने जीवहरु प्रोकार्योट्स वर्गमा पर्छन् भने मानव र ठूला रुखविरुवासम्मका बाँकी जीवहरु युका-योट्स वर्गमा पर्छन् ।

तर, भाइरस भने यी दुबै युकार्योट र प्रोकार्योट्स भन्दा पनि भिन्न प्रकारको जीव समूह हो । भाइरस भन्ने जीवाणु कोषभित्र न्युक्लेस नहुनेमात्र होइन कि यो त कोष नै नभएको कण रुपी जीव हो । व्याक्टेरियाभन्दा पनि सयगुणा सानो आकारमा हुने यो जीवले कुनै अन्य जीवको शरीरमा नपसीकन सन्तान उत्पादन गर्न सक्दैन । भाइरस वास्तवमा स्वतन्त्र रुपले अस्तित्वमा रहन नसक्ने कण हो । यस कणलाई भाइरियोन भनिन्छ । कुनै प्राणीको शरीरमा प्रवेश नपाउँदासम्म यस कणले जीवन पाउँदैन या यो भाइरसको रुपमा क्रियाशील हुँदैन । न यसलाई श्वास फेर्नु जरुरी छ, न त केही खानु नै पर्दछ । भाइरियोन कणभित्र भाइरसको गुण बोकेका वंशाणु पदार्थहरु डिएनए वा आरएनए संरक्षित रही बसेका हुन्छन् । वास्तवमा तिनीहरु विशेष प्रकारको संरचना भएका प्रोटिन अणुहरु हुन् । ती प्रोटिन अणुहरुलाई संरक्षण गर्नका लागि क्याप्सिड नामको आवरण रहेको हुन्छ । त्यही आवरणभित्र प्रोटिन अणुहरु सुरक्षित रहेका हुन्छन् । कुनै कुनै भाइरसमा प्रोटिन अणुहरुलाई चिल्लो पदार्थ (lipids) ले छोपेको पनि हुन्छ । यी सबै कुराहरु हेर्नका लागि साधारण खालको अप्टिकल माइक्रोप्सकोपले काम गर्दैन । यसको लागि हजारौं गुणा ठूलो बनाई देखाउने इलेक्ट्रोन माइक्रोप्सकोपको जरुरी पर्दछ ।

कुनै वस्तु जीवन भएको हुनका लागि त्यसले कम्तीमा पनि श्वास फेरेको (अक्सिजन लिएर कार्वनडाइअक्साइड फालेको) र सन्तान उत्पादन गरेको हुनु जरुरी पर्दछ । भाइरसमा यी दुबै गुण छैन । श्वास त यसले फेर्दैन नै,तर कुनै जीवको शरीरभित्र प्रवेश पाएपछि (एक कोषीय व्याक्टेरियाजस्तो सूक्ष्म जीवदेखि मानवसम्मको उच्चकोटिको जीवको कोषभित्र) भने यसले तीव्र गतिमा सन्तान उत्पादन गर्दछ अथवा भनौं यसले आफूजस्तै प्रकारका कणहरु उत्पादन गर्दछ । भाइरसमा यस्तो गुण हुनुमा यसभित्र रहेका डिएनए वा आरएनए प्रोटिन अणुहरु नै जिम्मेवार छन् । यी कारणहरुले गर्दा भाइरस वास्तवमा जीव र निर्जिव वस्तु बिचको कण हो पनि भनिन्छ । तसर्थ, वैज्ञानिकहरुले यो जीव समूहलाई युकार्योट र प्रोकार्योट्स मध्ये कुनै पनि वर्गमा समावेश गरेका छैनन् ।

अमेरिकाको सेन्ट्रल मिचिगन युनिभर्सिटीको कलेज अफ मेडिसिनका वैज्ञानिक विलियम रवर्ट फ्लिस्चमान जुनियर भन्छन्, “वंशाणुगत छनौट परिणाम अनुसार भाइरसहरु निरन्तर बदलिइरहन्छन। उत्परिवर्तन (mutation) को प्रक्रियाबाट उनीहरुमा सूक्ष्म वंशाणुगत परिवर्तन भै रहन्छ र वंशाणुहरुबिच पुनर्संयोजन भई तिनीहरुको संरचनामा नै मुख्य (major) परिवर्तन आउँछ । जब भाइरसको वंशाणुचित्र (genome) मा कुनै त्रुटि समाहित हुन्छ, तब रुपान्तरण सहित पुनर्परिवर्तनले ठाउँ लिन्छ । जब सहसंक्रमणशील भाइरसहरुले वंशाणुगत सूचनाहरु आदानप्रदान गर्छन् तब पुनर्संयोजन हुन्छ र त्यहाँ पहिलेभन्दा फरक नयाँ प्रकारको भाइरस (novel Virus) को विकास हुन्छ”। अहिलेको कोरोना रुपान्तरित भाइरस हो भन्ने बैज्ञानिकहरुको बिस्वास छ। (हेर्नुहोस् : W. Robert Fleischmann, Jr., Medical Microbiology. 4th edition, Chapter 43)

बर्तमान महामारी प्रकोपको शुरुवातबारेका अनुमानहरू

सन् २००२ मा चीनको युनान प्रान्तको एक सुदुर स्थानमा रहेको गुफामा भाइरस वैज्ञानिकहरुले ‘हर्सशू चमेरो’को एकल बस्तीको पहिचान गरेका थिए, जसमार्फत् कोरोना भाइरस चमेरा मार्फत मानिससम्म पुगेका थिए र जसको संक्रमण करिब ८ सय व्यक्तिको मृत्युको कारण बन्यो । शोधकर्ताले मृत्युका लागि जिम्मेवार यो भाइरस सजिलै चमेरोको यस्तो बस्तीबाटै आएको हुन सक्ने अनुमान गरे । यी सबै अनुमान हुन्। त्यहि कोरोना भाइरसले आँफुलाई रुपान्तरण गरेको हो वा यो नितान्त नयाँ भाइरस हो त्यो खोजकै बिषय रह्यो। कसैले यसलाई जैविक युद्धको सुरुवात भएको र यो जैविक हतियारको रुपमा शक्ति राष्ट्रद्वारा निर्माण गरिएको आरोप पनि लगाए। यी सबै अनुमानका कुरा भए। यतिखेर कोरोना नोबेल भाइरसले संसारका मै हुँ भन्ने मानब सभ्यताका मसिहाहरुलाई चुनौती दिइरहेको छ। अब महत्वपुर्ण कुरा यसको नियन्त्रणको लागि लडिने लडाईलाई कसरि ब्यबस्थित गर्ने भन्ने नै हो ।

भाइरसबाट प्रतिरक्षाका उपाएहरू 

कोरोना भाइरसको महामारी कुनै वादसिद्धान्त, आग्रह-पूर्वाग्रहभन्दा परबाट सिर्जित समग्र मानवजातिलाई चुनौती दिन सक्ने एउटा भयानक खतरा हो । यो खतरासँग जुघ्नको लागि कुनै वाद सिद्धान्त वा आग्रह पूर्वाग्रहले ग्रसित भएर हैन, त्यसबाट बाहिर निस्केर, आफ्ना शक्ति, क्षमता र गच्छेअनुसार बलियाले निर्धालाई, हुनेले नहुनेलाई र सक्नेले नसक्नेलाई सघाउनु जरुरी छ । नभुलौं, यो बेला भनेको एक अर्कामाथि दोष थोपरेर पानीमाथिको ओभानो बन्ने बेला हैन, यो बेला भनेको विश्व मानवजगत माथि नै देखापरेको महासंकटलाई सबै मतभेद, मनभेदहरुलाई थाँती राखेर एकजुट हुँदै लड्ने बेला हो ।

यो भाइरस बिरुद्ध खोप बनाउने प्रयास भैरहेका सुचनाहरु आइरहेका छन्। यसमा छिन् र अमेरिकाले मिलेर काम गर्ने सहमति भएको पनि सुनिएको छ। तर त्यसकोलागि अलिक लामो समयको आबस्यकता हुन्छ। परिक्षण र प्रमाणिक रुपमा अनुमति नपाएसम्म औसधिको प्रयोग गर्नु घातक पनि हुन् सक्छ। कुनै पनि औषधि अनुसन्धान भएर पूर्ण रुपमा प्रमाणित हुन ५/१० वर्षको समय लाग्छ । तर, यदि पहिले नै कुनै अरु रोगको उपचारमा प्रयोग भएको औषधि अर्को रोगमा प्रयोग हुन सकेको खण्डमा भने १/२ वर्ष वा त्यो भन्दा कम समयमा उपलब्ध हुन सक्छ । त्यसैले सरकारको निर्देशन पालन गर्दै एकान्तबास बस्नु बाहेक हामीसंग हाललाई अन्य बिकल्प छैन।

महामारीबाट सृजित यो मानब संकट पहिलो हो त ?

महामारीको इतिहाँसले यो बताउँछ कि मानब सभ्यताको शुरुवात काल देखि अहिलेसम्म यस्ता प्रकोपहरु धेरै पटक आएको देखिन्छ। सन् २००८ अमेरिका र इजरायलको संयुक्त अन्वेषण टोलीले गरेकों खोज अनुशार आजभन्दा ७५ हजार वर्ष पहिला भोकमारी पछि आएको अज्ञात रोगका कारण मानब सभ्यता लोप हुने अबस्था आएको थियो। त्यो समयमा मानिसहरु अफ्रिकाका विभिन्न ओडारमा बस्ने गर्थे। त्यो बेला गुफाबासी आदिम मानबहरुको संख्या केहि लाख मात्र थियो। उनीहरुमद्धे धेरै मरे केवल २००० जति मात्र बाँच्न सफल भए। त्यसपछि उनीहरुले ठुलो समुहमा बस्ने बानि परिवर्तन गरे। खानाको खोजीमा सानासाना समुह बनाएर युरोप,एसिया,अमेरिका लगायत विभिन्न स्थानमा पुगे। करिब ६५ देखि एकलाख बर्ष अगाडिको उनीहरुको निर्णयले उनीहरुको अस्तित्व बचाउन सफल रह्यो। साना साना समुहमा विभाजित भएर अफ्रिका छोड्ने निर्णय अस्तित्व रक्शाकालागी हाम्रा पूर्वजहरुले गरेको ऐतिहाँसिक र दीर्घकालिक महत्वको निर्णय थियो।

त्यस्तै क्रमश महामारीहरुको कुरा गर्नु पर्दा,एन्टोनीन प्लेगले ईसा पूर्व १६५ देखि १८० सम्म चलेको महामारीले ५० लाख मानिसको ज्यान गएको थियो । सन् १३४६ देखि १३५३ ब्ल्याक डेथ नाम दिइएको महामारीले आधा युरोपियनको ज्यान लिएको बताइन्छ। सन् १५१९ देखि १५३२ सम्म फैलिएको अर्को अमेरिकन प्लेगले समेत १ करोडदेखि १ करोड ८० लाखसम्मले ज्यान गुमाएको अनुमान छ । त्यो रोगको लक्षण जन्डिस जस्तो तर अझ घातक थियो । अधिक ज्वरो आउनेदेखि लिएर नाक र कानबाट रगत समेत बग्ने हुन्थ्यो । युरोपबाट अमेरिकामा सरेको यो रोगको कारण अमेरिकाका ९० प्रतिशत आदिवासीको ज्यान गएको बताइन्छ ।

त्यस्तै ‘फ्लु पेण्डामिक’ नामको महामारीले सन् १८८९ देखि १८९० को केही महिना भित्रै पाँच लाखको ज्यान लिएको थियो । सुरुमा रसियामा देखा परेको यो रोग हवाईयात्राका कारण संसारभर फैलिएको थियो । आधुनिक युगमा महामारीका कारण सर्वाधिक ज्यान गएको मानिएको नै स्पानिस् फ्लु हो । सन् १९१८ देखि १९२० सम्म महामारी चल्दा ५ करोड ज्यादा मानिसको ज्यान गएको बताइएको छ ।

प्राण घातक महामारीको इतिहाँस हेर्दा थाहा हुन्छ कि,दक्षिण अफ्रिकामा चिम्पान्जीबाट मानिसमा संक्रमण भएको विश्वास गरिएकोे एड्सले अहिलेसम्म ३ करोड ५० लाखले ज्यान गुमाई सकेका छन् । सन् २००९ देखि २०१० सम्म फैलिएको स्वाईन फ्लुका कारण संसारभर १ लाख ५२ हजार देखि ५ लाख ७५ हजारसम्म मानिसले ज्यान गुमाएको अनुमान गरिन्छ । मेक्सिकोमा केन्द्रविन्दु भई फैलिएको स्वाईन फ्लुको जिवाणु भने सुँगुरबाट आएको बताइएको छ । सन् २०१४ देखि २०१६ सम्म चलेको ईबोला नामको सरुवा रोगले ११ हजार ३ सय २५ मानिसको ज्यान गएको थियो । ईबोलाबाट ज्यान गुमाउनेहरु अफ्रिकन देशसहित युरोपेली र अमेरिकन देशहरु पनि थिए । २०१५ मा दक्षिण अमेरिकाबाट फैलिएको ‘जिका’ भाइरसका कारण ८५ हजार मानिसको ज्यान गएको थियो । यसरि बेलाबेलामा संसारमा मानब सभ्यतालाई चुनौती दिन यस्ता महामारिहरु आउने गरेका छन्। त्यसको प्रतिकार औसधिको आबिस्कारले मात्र असम्भब छ। प्रकृतिको नियमलाई सम्मान नगर्ने र प्रकृतिलाई नियन्त्रण गर्न खोज्ने मानबिय प्रवृतिलाई सच्याउदै मानब सभ्यता र प्राकृतिक परिचक्रलाई सन्तुलनमा राख्ने नयाँ बाटो नखोजेसम्म मानब सभ्यताले प्राकृतिक चुनौतिहरु भयानक परिणाम सहित सामना गर्न तत्पर रहनुको अन्य विकल्प देखिदैन।

आधुनिक मानबको आत्मघाती महाभूल

अहिले मानिसले बिद्युत र हतियार आपूर्तिको लागि ४५० न्युक्लियर स्टेशन बनाएका छन्। तिनै हतियारहरु मानबिय गल्ति,उत्तेजना वा असाबधानिको कारण बिष्फोट भए भने मानब सभ्यता संकटमा पर्ने कुरा निश्चित छ।

त्यस्तै अर्कोतर्फ औद्योगिकरणले निम्त्याएको वातावरणिय प्रदुषणले बिकराल संकटहरु निम्त्याउदै गैरहेको छ। हामीद्वारा सृजित बाताबरण प्रदुषणले पृथ्वीको तापक्रम २. ५ डिग्रि बढी सकेको छ। त्यसले निम्त्याउने प्राकृतिक दुर्घटना पनि हाम्रो सन्निकट छैन भनेर भन्न सकिन्न किनकि गोलार्धका हिम पहाडहरु पग्लेर समुन्द्रको उचाई दिन प्रतिदिन बढिरहेको छ।
यी सबै कारण पृथ्वीले कुनै पनि बेला प्रलयको सामना गर्ने अबस्था आउँन सक्छ भनेर मानब इतिहाँसबारे आउदो प्रबुद्ध जीवलाई उपहार स्वरूप इन्टरनेसनल टाइम क्याप्सुल सोसाइटीले १० देखि १५ हजार स्थानमा टायम क्याप्सुल गाडिएको गाडेको जनाएको छ । भविष्यका ति ज्ञानी जिबले टायम क्याप्सुल भेट्टाए भने धर्तिमा १० लाख वर्षसम्म मानिसको सभ्यता थियो भन्ने ज्ञात गर्ने छन्। बैज्ञानिकहरु भन्दछन,मानिससँग ९८.९%डिएनए तथा ब्लु प्रिन्ट मिल्ने चिम्पान्जीले अबको लाखौ वर्ष पछि उनीहरुको बिध्यमान दिमागको २% मात्र बिकास गर्यो भने बिकसित मानब बन्न सक्छ। वा अन्य कुनै जिबले करोडौ बर्षमा त्यो स्थान लिन सक्छ। जसको लागि टायम क्याप्सुलले धेरै कुराको जानकारी दिने बिस्वास गरिन्छ।
धर्तीमा मानबिय महाभूलबाट मात्र प्रलय आउने कुरा सत्य हैन। प्रकृतिको आफ्नै कारणले पनि मानब सभ्यताको बिनास हुन सक्छ। जस्तै २५०-३५० मिलियन बर्षमा हुने पृथ्वीका प्लेटहरुको समागम, सोलार रेडिएसन, उल्का बर्षा, ज्वालामुखी, पारो तथा कार्वनडाइअक्साइडको वृद्धि र अन्य ब्रमाण्डिय दुर्घटनाले पनि पृथ्वीमा प्रलय आउँन सक्छ। यो बाहेक मानब सृजित खतरामा बन जंगलको समाप्ति, मरुभूमिकरण र जल थल र स्पेसमा मानब निर्मित फोहर आदि कारण पर्दछन। प्राणि जगतको चक्रिय प्रणाली बिग्रनाले फैलिने रोग र जीव जगतमा आउने खतराले समेत बेलाबेलामा मानब सभ्यतालाई चुनौती दिदै आएको छ। चक्रिय प्रणाली असन्तुलित हुँदा जनावरमा हुने परजीबीहरु मानबमा संक्रमण हुने खतरा अत्याधिक हुन्छ। त्यसैले मानब द्वारा आँफुबाट सृजित खतरा न्यूनीकरण गर्दा पृथ्वीमा जीव जगतको आयु बढाउँन सक्छ। अत आँफु सहित जीवजगतको सुरक्षाका लागि मानिसले बेलैमा सोच्नु श्रेस्कर हुने छ।

पूर्ववत सन्धिको पालना,बर्तमान बाध्यताका सकारात्मक असरहरू

यो परिवर्तनपछि ओजोन क्षयीकरण गर्ने वस्तुको उत्पादनमा रोक लगाउने गरी सन् १९८७ मा मोन्टरियल प्रोटोकल ल्याइयो । यसको नियमनकारी प्रवाधानलाई शक्ति राष्ट्रहरुले कहिल्यै महत्व दिएनन। बर्तमान अबस्थामा भने आँफु मरिने भयले सबै उद्योगपति तथा बहुराष्ट्रिय कम्पनिहरुले आफ्नो उत्पादन धेरै कम गरेका छन्। सवारी साधन कम गुडेको छ। जसले प्रकृति निसास्सिन पाएको छैन। मानबिय त्रासले लुकेका डल्फिनहरु इटालीको क्यानलमा देखिन थालेका छन्। चराको चिरबिर फेरी सुनिन थालेको छ। विश्वभर हानिकारक ग्यास उत्सर्जनमा कमी आएको कारण वातावरणमा केही सकारात्मक असर भने देखिएको छ। गत असि बर्षमा यो पहिलो पटक संसारभरका कार्वन उत्सर्जन( Emissions) गर्ने साधनहरु रुकावटबाट वातावरण सुधारुन्मुख देखिएको छ। पछिल्लो समय स्याटेलाइट दृश्यको अवलोकन र जलवायुको पछिल्लो अवस्थाले ओजोन तह सुधार हुँदै गएको देखाएको कोलोराडो बोउल्डर यूनिभर्सिटीकी अन्तरा बनर्जी बताउँछिन् ।

बनर्जीका अनुसार,’ कार्वन उत्सर्जनको यहि अबस्था कायम रहेमा ओजोन तह सन् २०३० को दशकसम्म उत्तरी गोलार्धमा पूर्णरुपमा १९८० को दशकको अवस्थामा आउनेछ। दक्षिणी गोलार्धमा भने उक्त अवस्थामा आउन सन् २०५० सम्म लाग्नेछ । विशेषगरी अन्टार्टिक होल पुरिन भने सन् २०६० को दशक कुर्नुपर्ने अपेक्षा छ । सन् १९८० को दशकको अन्तिममा देखिएको ओजोन तहको क्षयीकरणले दक्षिणी वायु थप दक्षिणतर्फ बहिरहेको छ । यसले वर्षाको चक्र र समुद्री छालको गतिमा नकारात्मक परिवर्तन देखिँदै आएको छ ।’
वैज्ञानिकहरुका अनुसार,’ओजोन क्षयीकरण गर्ने तत्वहरु निकै लामो समयसम्म रहन्छन् । त्यसैले कार्वन उत्सर्जन मा न्यूनीकरण भैरहे पनि अबको केही दशकसम्म ओजोन तह पहिलाको जस्तो अवस्थामा फर्किन सक्दैन ।’

भाइरसको कारण अहिले उल्लेख्य मात्रामा आर्थिक गतिविधि रोकिएका छन् । यसले कार्बनडाइअक्साइड उत्सर्जनमा उल्लेख्य कमी आएको विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले समेत बताएको छ । डब्ल्यूएमओले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कार्बन उत्सर्जनमा कमी आउनुको अर्थ जलवायु परिवर्तनको लडाइँ रोक्नुपर्छ भन्ने नरहेको उल्लेख गरेको छ ।

जनावरबाट मानिसमा सरेका सबै रोग वातावरण प्रदुषण र प्रकृतिको चक्रिय प्रणालीको असन्तुलनसँग सम्बन्धित 

सुगाज्वर र कोभिड–१९ मात्रै होइन, पछिल्लो समयमा संसारमा देखा परेका महामारीहरु एचआईभी/एड्स, इबोला, एचवानएनवान, सार्स, मेर्स र जिका रोगहरुसम्म सबैको उत्पत्तिस्रोत विभिन्न वन्यजन्तु नै थिए। कुनै बेला विश्वमै सनसनी मच्चाएको एड्स वन्यजन्तुको सिकारका क्रममा चिम्पान्जीसँगको मानिसको संसर्गबाट मानिसमा सरेको थियो भने, इबोला, मेर्स र सार्स जस्ता रोगहरु वन्यजन्तुको मासु बजारबाट मानिसमा सरेको विश्वास गरिन्छ। ‘प्लस वान’ जर्नलमा प्रकाशित लेखका अनुसार, सन् १९८० देखि २०१३ सम्म विश्वमा २१५ वटा महामारी फैलिएका थिए, जसले विश्वभरका साढे ४ करोड मानिसलाई संक्रमित बनाएको थियो। तीमध्ये ६० प्रतिशतभन्दा बढी रोगहरुको उत्पत्तिस्रोत जनावर थिए र जसमध्ये दुईतिहाइ रोगहरु जंगली जनावरमा पाइने ब्याक्टेरिया, भाइरस लगायतका जीवाणुका कारण मानिसमा सरेका थिए। मानिसका अनौठा सोख र उपभोगका कारण वन्यजन्तुसँग मानिसको बढ्दो हिमचिम र वनविनाश लगायतका वन्यजन्तुको वासस्थानमा आएको ह्रासका साथै जलवायु परिवर्तनका कारण वन्यजन्तुबाट मानिसमा रोग सर्ने वातावरण बनिरहेको छ।

५० वर्षयता पृथ्वीको फोक्सो मानिने उष्ण प्रदेशीय वनको विनाश बढेको छ। मृगौला मानिने सिमसार सखाप भएको छ। हजारौं वन्यजन्तु लोप र लाखौं लोपोन्मुख भएका छन्। प्लास्टिक लगायतको प्रदूषण बढेको छ। जलवायु परिवर्तन र मिचाहा प्रजातिका जीवजन्तुको बढोत्तरी भएको छ। मानवदोहनका कारण प्रकृतिले मानिसलाई दिने १८ वटा प्रमुख योगदानमध्ये १४ वटामा व्यापक कमी आएको छ। समग्रमा मान्छेका कारण पृथ्वी अस्वस्थ बनेको छ। त्यही कारण प्रकृतिले महामारीसँग प्रतिरोध गर्ने, पानी र हावालाई शुद्ध बनाउने, विपत्तिसँग लड्ने जस्ता प्राकृतिक क्षमता गुमाउँदै छ।

अन्त्यमा, समयले दिएको यो चेतावनी पछि अब विश्वका देश आ-आफ्ना जानकारी खुला रूपमा साझा बनाउन इच्छुक हुनुपर्छ र अन्यसँग नम्रतापूर्वक सल्लाह माग्न तयार रहनुपर्छ। प्राप्त डेटा र अन्तरदृष्टिलाई सबैले विश्वास गर्न सक्नुपर्छ। चिकित्सा उपकरण उत्पादन र वितरण गर्न पनि विश्वव्यापी प्रयास आवश्यक छ, विशेष रूपमा परीक्षण गर्ने संयन्त्र र श्वासप्रश्वासका मेसिन। प्रत्येक देशले स्थानीय रूपमा कोसिस गर्नुको सट्टा र जे पायो त्यही उपकरण भण्डारण गर्नुको सट्टा विश्वव्यापी साझा प्रयासले उत्पादनको गति मज्जाले बढाउँन सकिन्छ र जीवनरक्षक उपकरणको निष्पक्ष वितरणको सुनिश्चित गर्न सकिन्छ। जसरी देशहरूले युद्धका बेला प्रमुख उद्योगलाई राष्ट्रियकरण गर्छन्, त्यसरी नै कोरोना भाइरसविरुद्धको अहिलेको युद्धमा हाम्रा महत्वपूर्ण उत्पादन शैलीलाई ‘मानवीय’बनाउन आवश्यक छ। कोरोना भाइरसको संक्रमण थोरै भएका धनी देश धेरै संक्रमित देखिएका गरिब मुलुकमा बहुमूल्य उपकरण पठाउन इच्छुक हुनुपर्छ। यो भरोसा र विश्वास राख्दै कि पछि आफूलाई सहयोग चाहिएका बेला अन्य देशपनि यसैगरी सहयोग गर्न तत्पर होउन्।

अहिलेसम्मको इतिहाँसले देखाएको तथ्य यो हो कि अमेरिका आफ्नै साम्राज्यबादी नीतिबारे बढी ध्यान दिन्छ, मानव जातिको भविष्यबारे होइन। अमेरिकी प्रशासनले आफ्नो निजि स्वार्थमा धक्का लाग्ने बित्तिकै निकटतम सहयोगीलाई समेत त्यागेको छ। अहिलेकै उदाहरणलाई लिउँ, अमेरिकाले युरोपेली देशबाट पूर्वसूचनासमेत नदिईकनै सबै यात्रामा प्रतिबन्ध लगायो। त्यो कठोर कदमबारे युरोपेली समुदायसँग सल्लाह गर्ने कुरा त परै छाड्दिऊँ। आरोप अनुसार जर्मनीको एक औषधि उत्पादक कम्पनीलाई कोभिड–१९को नयाँ भ्याक्सिनको एकाधिकार खरिद गर्न १ बिलियन डलरको प्रस्ताव राखेर जर्मनीलाई कालो कपट गर्यो । वर्तमान अमेरिकी प्रशासनको कसैगरी कार्यशैली परिवर्तन भयो र विश्वव्यापी कार्ययोजना बनाएर अघि सर्यो भने पनि ऐतिहाँसिक क्षणमा जिम्मेवारी नलिने नेताको पछि को लाग्ला र ! बिस्वासको संकट देखिएको छ। जो कहिल्यै गल्ती स्वीकार्दैन, जो योजनाबद्ध तरिकाले सबै श्रेय आफैं लिन खोज्छ र दोष जति अरूलाई दिन्छ। अहिलेका तमाम समस्याको सृजनाकार अमेरिकाको कार्यशैली हो। मध्यपुर्व, इरान, अफ्रिका, इन्डो प्यासिफिक, पेनेसुयाला, दक्षिण अमेरिकालगायत देशमा निर्यात गरेको हिँसा, अरुका सम्पदाहरुको ब्रह्मलुट, अन्याय र प्राकृतिक जैविक अधिकारमाथिको एकाधिकारले अमेरिकी कार्यशैलीलाई सताब्दीदेखि हालसम्म गिज्याइ रहेको छ। सक्ति राष्ट्रहरुको सन्काहा शैलीले नै चल्ने हो भने अब निकट भविश्यमा संक्रमणका कारण युरोप तथा अमेरिका मृत्युशालामा परिणत हुने खतरामा नपुग्ला भन्न सकिन्न ।

संसारभर आक्रामक तवरले विस्तार भइरहेको कोरोना संक्रमण विरुद्धको लडाइँमा चिकित्सकीय, मानवीय, भौतिक सहायताको समन्वय र नेतृत्व गर्न अमेरिका पूणतः असफल रह्यो। अमेरिकी हैकमबाद र ‘अमेरिका प्रथम’नीतिका कारण कोरोना संकटले आर्तनाद गरिरहेका युरोपेली मुलुकहरूमाथि बज्रपात हुन पुग्यो। जसलाई मेरो देश प्रथम र हाम्रा महान जाति भन्ने शक्तिहरुले आँखामा आँशु टिलपिल पार्दै हेर्नु सिबाय केहि गर्न सकिरहेका छैनन्।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएको पहिलो हो । यसको औषधी र उपचार बिधिनै छैन । यसको रोकथामको लागि चिनिया सरकारको सफल रणनीति र अनुभव, अमेरिका तथा युरोपको असंवेदनशीलताका कारण सिर्जित भयावह स्थितिको सुष्म विश्लेषण र अनुभवको सार नै वर्तमान सरकारको सिकाइ हुनु पर्छ भन्ने राय बिस्वका डाक्टर तथा संक्रमण रोग बिशेसज्ञहरुले दिइरहेका छन् । त्यसैले सबैले आफ्नो कार्यशैलीको पुनरावलोकन गर्ने समय घर्किन दिनु भनेको मानब सभ्यता संसारबाटै लोप गराउने अपराधको जिम्मा लिनु सरह हुने छ।

त्यसमा अन्य देशहरुको कर्तब्यले पनि महत्वपूर्ण भूमिका खेल्ने छ। जसमा अमेरिकाले संसारमा प्रदुषण, हतियार त्रास र सामरिक अविस्वासको जुन गहिरो खाडल निर्माण गरेको छ। त्यसलाई सहअस्तित्व र सान्तिमा बिस्वास गर्ने सम्पूर्ण राष्ट्रहरुको एकता तथा सहकार्यले जवाफ दिनेछ। अमेरिकाले छोडेको यो शून्यता र अविस्वासमा अन्य देशले आशा जगाउन सकेनन भने वर्तमान महामारी लगायत भैपरी आउने अन्य कठिनाईहरु रोक्न कठिन मात्र हुने छैन, यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्धलाई नै धराशायी र कलुसित बनाउनेछ। त्यसैले बर्तमान महामारीरुपी संकट पृथ्वीको वातावरण लगायत धेरै कुरामा सुधार गर्ने एउटा अवसर पनि हो।

प्रतिक्रिया
सम्बन्धित