मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

प्रवासी नेपाली मञ्च अमेरिकाको विस्तारित बैठक सम्पन्न, यस्तो छ निर्णयहरु

दैनिक नेपाल २०८० चैत २७ गते ७:३६

काठमाडौं, २७ चैत । नेकपा (एमाले)को प्रवास संगठन प्रवासी नेपाली मञ्च अमेरिकाको विस्तारित बैठक संगठनको कामलाई चलायमान गराउन विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षतामा अप्रिल ६ तारिकमा बसेको बैठकले अन्तर्राष्ट्रिय कमिटीको निर्देशनलाई कार्यान्वयन गर्ने निर्णयसहित सदस्यता नवीकरण शुल्क बुझाउनेदेखि तोकिएको मितिमा सबै राज्य कमिटी र राष्ट्रिय कमिटीको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको निर्णयहरूको सर्कुलर अनुसार अमेरिकाको सदस्यता नवीकरण तथा नयाँ सदस्यहरुको आर्थिक वर्ष २०८० र २०८१ गरी दुई वर्षको नवीकरण शुल्क एकैपटक यहि अप्रिल १५ सम्ममा अन्तर्राष्ट्रिय कमिटीमा बुझाउन आएको निर्देशनको कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

यसैगरी, बैठकले कतिपय सदस्यहरूको सदस्यता नवीकरण नभएको देखिएकाले नवीकरणका लागि सहजीकरण गर्न अमेरिकामा रहेका चार क्षेत्रका उपाध्यक्षको नेतृत्वमा समिति बनाएको छ ।

अध्यक्ष लामिछानेका अनुसार बैठकले अमेरिकामा रहेका ४ क्षेत्रका उपाध्यक्ष र ईन्चार्जले सम्बन्धित राज्य कमिटीहरूमा सम्पर्क एवं समन्वयन गरेर यथाशीघ्र सदस्यता नवीकरण गरी केन्द्रमा बुझाउन निर्देशनसहित जिम्मेवारी तोकेको हो ।

जसअनुसार उत्तरपूर्वी क्षेत्रमा उपाध्यक्षद्वय भीम ओली, मैया ढुंगाना र उपसचिव कृष्ण आचार्यलाई जिम्मेवारी तोकिएको छ । मध्य क्षेत्रमा उपाध्यक्ष गोपाल कँडेल र उपसचिव थोमस बास्तोलालाई जिम्मेवारी तोकिएको छ । दक्षिण पश्चिम क्षेत्रमा उपाध्यक्ष गोकर्ण दाहाल, सचिवालय सदस्यहरु विजय भट्टराई र भुवन अधिकारी तथा डिसी मेट्रो क्षेत्रमा उपसचिव गोविन्द खनाल, सचिवालय सदस्य दुर्गा विक, मानार्थ सचिवालय सदस्य विजय बगाले र दिपक सापकोटालाई जिम्मेवारी तोकेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

बैठकले आगामी मे २५ र २६ तारिकमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा हुन लागेको क्यालिफोर्निया राज्यको लसयन्जलस शहरमा आयोजना गरिएको प्रवासी नेपाली मञ्च अमेरिकाको दोस्रो वार्षिक साधारण सभालाई भव्य रुपमा सम्पन्न गर्ने निर्णयसहित सहभागिताका लागि सबै राज्य कमिटीलाई निर्देशन दिएको छ ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका उपमहासचिव ज्ञवाली कार्यक्रममा सहभागी हुने निश्चित भएको भन्दै बैठकले साधारणसभालाई व्यवस्थित रुपमा सम्पन्न गर्न यसअघि नै गठन गरिसकेको समितिहरूलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन पनि दिएको छ । अध्यक्ष लामिछानेका अनुसार साधरणसभामा बढीभन्दा बढी सदस्यहरुको सहभागी गराउन प्रत्येक केन्द्रीय सदस्य र राज्य कमिटीलाई जिम्मेवारी तोकेको छ ।

यसैगरी बैठकले यही अप्रिल २७ तारिकमा हुने प्रवासी नेपाली मञ्च टेक्सास राज्य कमिटीको अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न यस क्षेत्रमा रहेका राष्ट्रिय कमिटीलगायत माथिल्लो र मातहतका सम्पूर्ण कमिटीलाई प्रभावकारी रुपमा काम अघि बढाउन निर्देशन दिएको छ ।

बैठकले गैर आवासीय नेपाली संघ (एनआरएनए)को सम्बन्धमा सर्वोच्च अदालतले गरेको आदेशको बारेमा व्यापक छलफल गरी पूर्णपाठ आएपछि अध्ययन गरी आफ्नो धारणा सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

अमेरिकाको भ्रमणमा रहनुभएकी एमाले पोलिटब्यूरो सदस्य शान्ता चौधरीको प्रमुख आतिथ्यतामा भएको बैठकमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, कमिटीका सचिवालय सदस्य एवं अमेरिका महादेश इन्चार्ज प्रभु थापा, अन्तर्राष्ट्रिय सदस्य एवं महिला विभाग प्रमुख कुन्ती थापा, उपप्रमुख जानकी कार्की, अमेरिका महदेश संयोजक ईश्वरी भट्ट, महादेश सदस्य कृष्ण भण्डारी, महादेश सदस्य केशवराज लोहनी, छत्र गुरूड्ग, अन्तर्राष्ट्रिय विभागका सदस्य राज थापा, अमेरीका सल्लाहाकार प्रमुख डा. रूद्र अर्याल, सल्लाहाकार सदस्य यमुना भट्टराई, अमेरिका विषय विज्ञ समिति प्रमुख डा. सतिस देवकोटा र सचिव डा. दिनेस पौडेल, प्रवासी नेपाली मञ्च, अमेरिकाका केन्द्रीय कमिटिका पदाधिकारी एवं सदस्यहरू, टेक्सास राज्य कमिटीका अध्यक्षसहित सदस्यहरू, न्यूयोर्क राज्य कमिटीका सचिव, म्यासाचुटेस राज्य कमिटीका सल्लाहाकार, ओहायो, आईओबा, केन्टुकी, पेन्सीलभेनिया, मेरीलेन्ड, भर्जिनिया, क्यालीफोर्निया, न्यूहेम्सायर, आर्कान्सस राज्य कमिटिका अध्यक्ष एवं पदाधिकारीहरूको सहभागीता थियो भने नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रीय सञ्जाल (ईन्जा)का वरिष्ठ उपाध्यक्ष विष्णु शीतलसहित ६८ जनाको सहभागीता रहेको थियो ।

बैठकलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि एमाले पोलिटब्यूरो सदस्य शान्ता चौधरीले आफू गत ३ वर्षदेखि लगातार अमेरिकाको भ्रमणमा आएको र यस अवधिमा प्रत्येक वर्षमा विभिन्न राज्यहरूमा कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भएको र प्रत्येक वर्ष यहाँको संगठन संगठित र विस्तार हुँदै आइरहेको अनुभव सुनाउनुभयो । उहाँले यस अवधिमा प्रवासी नेपाली मञ्चका सदस्यहरू आफ्नो कार्यव्यस्तता हुँदा हुँदै पनि विभिन्न सामाजिक संस्थाहरूमा संलग्न हुँदै सामाजिक गतिविधिमा सक्रिय भएको बताउनुभयो । उहाँले यसपटकको भ्रमणमा अमेरिकन नेपाली समुदायकाहरू रोजगारीको साथसाथै व्यवसायतर्फ उन्मुख भएको र नेपाल र नेपाली राजनितिप्रति चिन्तित भएको बताउनुभयो । उहाँले प्रवासी नेपाली मञ्चले सकरात्मक भुमिका निर्वाह गरी दोस्रो पुस्तालाई नेपालको राजनितिप्रति संलग्न गराउनु पर्नेमा सुझाव दिनुभयो ।

विषेश अतिथि अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले संगठन विस्तार र प्रभावकारी काममा जोड दिँदै विभिन्न निर्देशन दिनुभयो । अध्यक्ष थापाले प्रवासी नेपाली मञ्च विस्तार र संगठन सुदृढीकरण अभियानमा आफू ४२ दिनसम्म विश्वका विभिन्न देशमा पुगी प्राप्त अनुभव बैठकमा सुनाउँदै अन्तर्राष्ट्रिय कमिटीले गरेका निर्णयहरू समयमै कार्यान्वयन गर्न निर्दशन दिनुभयो । उहाँले हालै एनआरएनए सम्बन्धमा अदालतले गरेको निर्णय उचित नभएको भन्दै यसका सम्बन्धमा निकट भविश्यमा बस्ने अन्तर्राष्ट्रिय कमिटीको बैठकबाट संस्थाको धारणा सार्वजनिक गर्ने जानकारी गराउनुभयो ।

विषेश अतिथि सचिवालय सदस्य एवं अमेरिका महादेश इन्चार्ज प्रभु थापाले अन्तर्राष्ट्रिय कमिटीले गरेका निर्णयहरूको बारेमा सविस्तार जानकारी गराउँदै कार्यान्वयनमा नचुक्न निर्देशन दिनुभयो । उहाँले पार्टीको १०औं महाधिवेशनमा अमेरिकाबाट प्रतिनिधि भएका ४ जना नै आगामी वैशाख ९ र १० ललितपुरमा हुने महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा सहभागी भई प्रवासको मुद्धालाई दृढताका साथ राख्नुपर्ने बताउनुभयो । इञ्चार्ज थापाले सदस्यता नवीकरणको रेकर्ड र सदस्यता शुल्क समयमै पठाउनसमेत राष्ट्रिय कमिटीलाई निर्देशित गर्दै अमेरिका राष्ट्रिय कमिटीले गरेका कामप्रति आफू सन्तुष्ट रहेको र आगामी दिनमा थप सक्रिय हुन सुझाव दिनुभयो ।

बैठकमा अमेरिका महादेश संयोजक इश्वरी भट्टले क्यानडा र अमेरिकाअन्तर्गत भएका कामको समिक्षा गर्दै महादेश कमिटीमा केही सक्रिय सदस्यहरूको मनोनित गर्नुपर्ने भएकोले अमेरिकाबाट इच्छुक व्यक्तिको सिफारिस गर्न आग्रह गर्नुभयो ।

बैठकमा उपाध्यक्ष एवं दोस्रो वार्षिक साधारण सभा आयोजक समितिका संयोजक भीम ओलीले साधारण सभाको तयारी र व्यवस्थापनका विभिन्न पक्षबारे जानकारी गराउनुभयो ।

बैठकमा पदाधिकारी, सदस्य एवं २३ राज्य कमिटीका अध्यक्ष एवं सहभागीहरूले राखेको जिज्ञासाहरूलाई अध्यक्ष कृष्ण लामिछानेले स्पष्ट पार्दै हाल गण्डकी प्रदेशको पार्टी कार्यालय भवन खरिदका लागि, अन्तराष्ट्रिय भवन निर्माण सहयोग समितिको निर्देशनमा अमेरिकामा बसोबास गर्ने गण्डकी प्रदेशअन्तर्गतका सदस्यलाई समेटेर आफ्नै नेतृत्वमा भवन निर्माण सहयोग समिति निर्माण भएको जानकारी गराउनु भएको थियो ।

यस्तै प्रवासी नेपाली मञ्च अमेरिकाका सचिव छबि पाण्डेले क्यालिफोर्निया राज्य कमिटीको मार्च २९ मा सम्पन्न अधिवेशन र दोस्रो वार्षिक साधारण सभाको तयारी र स्थानीय लस एञ्जलश (एलए) निवासी सदस्यहरूको भुमिका र दायित्वका बारेमा बैठकलाई जानकारी गराउँदै विस्तारित बैठकको सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित