शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

यौन प्रकरणमा भीआईपी झोसिनुका सम्भावित भित्री पाटा

विनोद ढकाल २०७६ माघ १९ गते १४:४७

-विनोद ढकाल

केही महिना अघि तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि यौन शोषण गरेको अभियोग लगाउँदै मिडियामा आइन् संसद सचिवालयकी कर्मचारी रोशनी शाही । २३ बर्ष भन्दा बढीको संगत, उठबस सँगै राजनीतिक पहुँचको उपयोगमा संसद सचिवालयको जागिरेसम्म बनेकी शाहीको पछिल्लो मिडिया प्रकरण उदांगो हुनुको सानो तर भित्री कारणचाहिँ महराले सरुवा नगर्दिनु पनि रहेको भन्ने खुल्यो । उजुरी दिइन् । प्रक्रिया कानुनी पाटोमा बढ्यो । अदालतले पुर्पक्षका लागि थुनामा पठायो । अन्तिम फैसला आएको छैन ।

तर, त्यसअघि नै समाजले महरालाई दोषी ठहर गरिसकेको छ । कतिपय उत्तराधुनिक अधिकारकर्मीले त फाँसीसम्मको कानुनको माग गरे, सोही प्रकरणलाई उदाहरणका रुपमा पेस गर्दै । कसैले त्यो २३ बर्षसम्म शाही र महराबीचको सम्बन्धको व्याख्या, त्यसका नाफा नोक्शान, त्यसभित्र रहेको बार्गेनिङका विषयमा छाम्ने प्रयत्न गरेन । यद्यपि, महरा त्यसमा ‘गिल्टि’ छन् । तर कारक उनी मात्रै हुन् ? यो प्रश्नमाथि गम्भिर बहस भएन ।

उच्च अदालत विराटनगरले हालै मात्र एक महिला अनुयायीको यौन शोषण गरेको अभियोगमा पूर्पक्षका लागि थुनामा राख्नुपर्ने आदेश दियो– जगतगुरु कृष्णदास गिरीलाई । गिरीले आफूले बलात्कार नगरेको दाबी गरिरहेका थिए । तर केही अडियोमा भने उनी ‘गिल्टि’ भएको स्वीकार गरेको सार्वजनिक भएको थियो । तर योसँगै विवरणहरूमा ति अनुयायीले कृष्णदास बिना बाँच्नै नसक्ने, आफ्ना पाउ शरणमा राख्नलगायतका अनेकथरी म्यासेज गरेका विवरण पनि सार्वजनिक नभएका होइनन् । तिनका विषयमाचाहिँ गौण र मौनता साँधियो । त्यो विषयमा बहस हुन सकेन ।

गल्ती जोसुकैको होस्, अनुसन्धानका पाटामा आएका अनेक कोणको विश्लेषण समाजले गर्दैन । यहाँसम्म भयो की केही अधिकारकर्मीले ति महिलालाई मिडियामा तानेर ल्याए, जिल्ला अदालतको धरौटीमा रिहा गर्ने आदेशको विरोध गरे । उच्च अदालतसम्म पुगे । यो प्रकरणको अन्य पाटाको बहस हुन सकेन, सेलाइरहेको छ । व्यवाहारिक पाटोलाई कोही सुन्नेवाला वा विचरण गर्नेवाला छैन । गिरीको गल्तीको सजाय उनले पाउलान् । तर अर्को पाटो छुटेको विषयमा सतहमा बहस आवश्यक हुनपर्छ भन्ने नै हो ।

पछिल्लो पटक दुई प्रहरी एसएसपीका यौन शोषणका विषय चर्चामा छन् । संघीय प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी सौरभ राणा आइतबार मात्र प्रहरी कार्यालयमा उपस्थित भएका छन् । गृह मन्त्रालयले उनलाई निलम्बन गरेको छ । अनुसन्धानको प्रक्रिया सुरु भइसकेको छ । उनीविरुद्ध उजुरी हाल्ने महिलासँगको संगत एसपी हुँदादेखि नै रहेको भन्ने विवरण पनि आएका छन् । यति मात्र होइन, पटक पटक रकम माग गरेको भन्ने विषय पनि सतहमा आएको छ ।

प्रचारमुखी दुनियाँमा महिलालाई गोप्य राख्नुपर्ने र पीडक भनी आरोप लगाइएका व्यक्तिको हुर्मत नै लिनसक्ने कानुनी र व्यवाहारिक पक्ष झन् भयानक छन् । अनुसन्धानका क्रममा आरोपित निर्दोष सावित भयो भने पनि समाजमा उसको ‘स्थान’ आरोप लागेको बखतभन्दा फरक हुँदैन

एक त विवाहेत्तर सम्बन्ध कायम गरेको भए एसएसपी राणाले परिवार, समाज र आफ्नो वर्दीको दुरुपयोग गरेकै हो । सबैभन्दा ठूलोचाहिँ नैतिक व्यवाहारको दुरुपयोग भयो । तर एसएसपी भइसकेपछि उनीमाथि लागेको यो अभियोगको भित्री पाटो के हुनसक्छ ? यसमा बहस हुन सकेन । बहस आवश्यक छ या छैन भन्ने विषय नै बहस हुन्न । यो नेपालमा अहिले हुर्किरहेको, देखा परेको समाजशास्त्रको यथार्थ हो । यस्तै अर्का एसएसपी राकेश सिंह र एक प्रहरी महिला कर्मचारीको सम्बन्धका विषयमा प्रधानमन्त्री कार्यालयमा नै उजुरी परेको विषय बाहिरियो ।

यहाँसम्मकी ति महिला कर्मचारी र एसएसपीको अडियो संवाद पनि सतहमा आयो । यस प्रकरणमा पनि प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ । अडियो सुन्दा लाग्छ दुवैको राजीखुसीमा सम्बन्ध अघि बढ्दै गयो । तर, उजुरीचाहिँ शोषण भयो भनेर परेको छ । यसको भित्री पाटो पनि कुनै न कुनै आर्थिक, पदीय लाभ या केहीसँग नजोडिएको मान्न मिल्दैन । त्यो कोणबाट बहस हुने सम्भावना पनि यहि समाजशास्त्रको व्यवाहारिक बन्धनमा गाँसिन्छ ।

यी प्रकरणहरू सहायक बिम्बका रुपमा देखा परे तर प्रधान बनिरहेका छन् । तर, यसको भित्री र प्रधान कारणचाहिँ पीडित भनिएकाको स्वार्थ पूरा नहुँदाका परिणामसँग मेल खाने पनि हुन सक्छन् । यो सम्भावनामाथि बहस हुन सक्छ ।

‘सेक्सशन ३७५’ भन्ने बलिउड फिल्मले अहिले देखा परेका नेपाली घटनासँग मिल्दो जुल्दो गरी कथालाई कोरेको जस्तो देखिन्छ । एक विवाहित पुरुष निर्देशक र एउटा साधारण ‘कस्टम डिजाइनर’को सम्बन्ध, यसको कानुनी पाटो र व्यवाहारिक पक्ष, घटनाक्रमको विकासक्रम, स्वार्थ, नियती र नियतलाई त्यहाँ प्रस्ट पार्न कोशीश गरिएको छ । आम किशोरी, बालबालिका वा अचानक हुने बलात्कार र कुनै कार्यालय, कम्पनी अथवा निकायमा हुने यौनहिंसाको प्रकृति र पृष्ठभूमी केलाइएको छ । यस्ता घटनामा त्यस्ता पृष्ठभूमी केलाउन आवश्यक छ भन्ने नै सन्देश छ ।

लामो समयसम्म स्थापित भएको सम्बन्धलाई स्वार्थ पूरा नहुँदा हतियारका रूपमा प्रयोग गर्ने यस्तो अचुक उदाहरणहरू कसिला बन्दै गए भने राज्यका हरेक संयन्त्रमा रहेका भीआईपीले महिला कर्मचारीसँग कुरा गर्न पनि झस्किनुपर्ने नियती देखा नपर्ला भन्न सकिन्न ।

सभामुख, धार्मिक गुरुदेखि प्रहरी अधिकारीसम्मका लामो समयसम्म बनेको सुखद सम्बन्धले दुखद मोड लिन थाल्नु पक्कै पनि राम्रो सन्देश होइन । यस्तो प्रकरणमा प्रचारमुखी दुनियाँमा महिलालाई गोप्य राख्नुपर्ने र पीडक भनी आरोप लगाइएका व्यक्तिको हुर्मत नै लिनसक्ने कानुनी र व्यवाहारिक पक्ष झन् भयानक छन् । अनुसन्धानका क्रममा आरोपित निर्दोष सावित भयो भने पनि समाजमा उसको ‘स्थान’ आरोप लागेको बखतभन्दा फरक हुँदैन ।

यो सामाजिक चिन्तनमा हुर्किएको व्यवाहारिक पाटोलाई कुन कसीमा राखेर हेर्ने हो ? अदालतबाट न्याय पायो भने पनि समाजबाट उसले न्याय पाउला ? त्यति फेन्सी भएर न्यायीक पाटोलाई सरल ठान्देला समाजले ? अनि त्यसपछि के होला ? यो कोणबाट पनि बहस छेडिनुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित