बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

‘सबैका लागि पर्याप्त स्वच्छ खानेपानी र सरसफाई’ को योजना बनाउँदै स्थानीय सरकारहरु

दैनिक नेपाल २०७७ फागुन ९ गते १३:५८

काठमाडौं, ९ फागुन । देशभरका ७५३ वटै स्थानीय सरकारहरु आफ्नो क्षेत्रका नागरिकहरुलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउने योजना बनाउन अग्रसर भएका छन् ।

खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्ने स्मार्ट वास प्रालिले हालै राजधानी आयोजना गरेको वेविनारमा खानेपानी तथा सरसफाईको क्षेत्रमा कार्यरत विज्ञहरुले यसको जानकारी दिएका हुन् ।

कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका डा. रजित ओझाले संयुक्त राष्ट्र संघले निर्धारण गरेको दीगो विकासका लक्ष्यहरुलाई हासिल गर्ने राष्ट्रिय कार्यक्रम अनुरुप एनवासको कार्यक्रम तय गरेर देशभर कार्यान्वयनमा लगिएको बताए ।

उनले नेपालको संविधानले खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्न स्थानीय तहहरुलाई अधिकार दिएको र आफ्नो पालिकाभित्रका हरेक बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले यस क्षेत्रमा स्थानीय सरकारलाई नै जिम्मेवार बनाउने ढंगले कार्यक्रम तयार गरिएको बताए ।

खानेपानी र सरसफाईको सुविधा सर्वव्यापी, न्यायोचित र पहुँचयोग्य बनाउने कार्यमा स्थानीय सरकारहरुलाई सक्षम बनाउन खानेपानी मन्त्रालय, विभाग र खानेपानी तथा सरसफाईको क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको प्रयासमा कामको थालनी पनि गरिएको सो अवसरमा जानकारी दिइयो ।

यसका लागि विभागले विभिन्न सूचना लिन एक दर्जन एप्स प्रयोगमा ल्याएको छ ।

यी एप्समार्फत स्थानीय सरकारले आफ्नो सीमानाभित्र खानेपानीको अवस्थाको अद्यावधिक जानकारीका निमित्त खानेपानीको सुविधा प्राप्त जनसंख्या, खानेपानीको अभाव भएका जनसंख्या, सञ्चालन भएका खानेपानी आयोजनाहरु, तिनको अवस्था, क्षमता विस्तार गर्नसक्ने सम्भावना, खानेपानीका स्रोतहरु, स्रोत उपयोगको अवस्था, स्रोत संरक्षणको अवस्था, सतही स्रोतले नसमेट्ने स्थानमा भूमिगत स्रोतको अवस्था, लिफ्टिङको सम्भावना, अन्य जिल्ला वा अन्य पालिकाहरुसँग साझेदारी वा समझदारीमा ठूला आयोजना सञ्चालन गर्न सक्ने अवस्थाबारे पहिचान गर्ने छ ।

यस्तै नयाँ आयोजना निर्माण वा पुराना मर्मत सम्भार वा स्तरोन्नतिमा लाग्ने अनुमानित रकम, आयोजनाहरु सञ्चालन गर्न आवश्यक जनशक्ति, खानेपानीको गुणस्तर मापनको अवस्था, गुणस्तर कायम गर्न गर्नुपर्ने कार्य र आवश्यक स्रोत, साधन र जनशक्ति, खानेपानी आयोजनाहरुको सञ्चालनमा स्थानीय सहभागिता, उपभोक्ता समितिहरुको अवस्था, खानेपानी महसुल, सञ्चालन खर्च र मर्मत सम्भारको अवस्था, फोहर मैला व्यवस्थापनका सम्बन्धमा हाल अपनाईको अवस्था, दीगो र स्थायी समाधानको सम्भावना, ढल निकास र प्रशोधनको वर्तमान अवस्था र संभावना जस्ता विषयमा सूचना पठाउने छन् र तिनलाई संकलन गरी प्रशोधन गरेर विभागले हरेक पालिकाको खानेपानी तथा सरसफाईको प्रतिवेदन तयार पार्दछ ।

त्यसको आधारमा हरेक स्थानीय सरकारलाई एक दशकभित्र हरेक घरमा एक धारा पुर्याउन, हरेक धाराबाट पर्याप्त शुद्ध पानी उपलब्ध गराउन र विश्वस्तरीय सरसफाई कायम गराउन आवश्यक कार्यक्रम तर्जुमा गरी बजेटको अनुमानित लागत तयार पारिने छ ।

प्रतिक्रिया
सम्बन्धित