शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

कामधेनुका दुग्धजन्य उत्पादन अब काठमाडौं उपत्यकाका बजारमा

दैनिक नेपाल २०८१ वैशाख ११ गते ८:५६

इटहरी, ११ वैशाख । सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौं उपत्यकासहितका बजारमा पनि बिक्री बितरण सुरु गरेको छ । संस्थामार्फत उत्पादन हुँदै आएको नौनी घ्यू, चिज, छुर्पी, टेबल बटर, पनिर, खुवा लगायत स्वादिलो मिठाइका परिकारहरू उपत्यकाका सहरहरूमा बजारीकरण सुरु गरेको हो ।

झन्डै २४ वर्षअघि स्थापना भएको कामधेनुले पूर्वी नेपालका बजारहरूमा सहज पहुँच विस्तार गरेपछि उपत्यका केन्द्रित व्यापार थालेको अध्यक्ष यादव ढकालले बताउनुभयो । अध्यक्ष ढकालका अनुसार बजारीकरणको पहिलो चरणमा काठमाडौंको चाहवहिलमा शीत भण्डार स्थापना गरिएको छ ।

पाँच टन क्षमता रहेको भण्डारमा दुग्धजन्य सामाग्रीहरु स्टोर गरी काठमाडौं, भक्तपुर,ललितपुरसहित काभ्रेपलान्चोकका बजारमा बिक्री वितरण गर्दै आएको संस्थाका बजार प्रमुख नवराज नेपालले जानकारी दिनुभयो । कामधेनुले यस आर्थिक वर्ष भित्रमै उपत्यकाका २० मुख्य बजारहरूमा विक्री केन्द्र खोल्न लागेको बजार प्रमुख नेपालले बताउनुभयो ।

उपत्यकामा समेत खुल्ला दुग्ध पदार्थहरू जथाभावी बेचबिखन हुने पाइएकाले सरकारले अनुगमन गरी त्यस्ता कार्य निरुत्साहित गर्नुपर्ने उहाँको भनाइ छ । उपभोक्ताले गुणस्तरीय दुग्ध पदार्थहरूको माग अत्यधिक मात्रामा गरिरहेको अवस्थामा उपत्यकामा आइसकेपछि थप हौसला मिलेको दाबी गर्नुभयो ।

इटहरी उपमहानगरपालिका २० स्थित तरहरा प्रधान कार्यालय रहेको कामधेनुमा प्रत्यक्ष रूपमा पूर्वका सुनसरी, मोरङ, झापा, धनकुटा, तेह्रथुम लगायत जिल्लाका एघार हजार कृषकहरू आबद्ध रहेका छन् ।

छुर्पी निर्यातका लागि सम्झौता

कामधेनुले आफ्ना उत्पादनहरूलाई विदेशसम्म पुर्‍याउने भएको छ । बजारीकरणकै क्रममा सहकारी संस्थाले अमेरिका, क्यानडा, जापानलगायतका देशहरूमा दुग्धजन्य पदार्थहरू निर्यात गर्दै आएको ललितपुरको लेकाली नेपाल प्रालिसँग कम्तीमा वार्षिक ५० हजार केजी छुर्पी बिक्री गर्ने गरी सम्झौता गरेको छ ।

लेकाली नेपाल प्रालिका म्यानेजर अङ्कित मुन्द्राले संस्थासँग वार्षिक ५० हजार केजी छुर्पी खरिद गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । संस्थाका तर्फबाट अध्यक्ष ढकालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । प्रतिकेजी १ हजार ३ सयदेखि १ हजार ४ सयसम्म खुद्रा मूल्यमा बिक्री हुँदै आएको छुर्पी विदेश निर्यात गर्ने गरी सम्झौता हुँदा समग्र कृषकहरूलाई पनि फाइदा पुग्ने संस्थाका अध्यक्ष ढकालले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित