बुधबार, ९ जेठ २०८१
DainikNepal.com
बुधबार, ९ जेठ २०८१

विष्णु पौडेलले ४३ वर्षपछि भेटे पञ्चायतविरोधी अभियानकी साहसी चुमकला ‘दिदी’

दैनिक नेपाल २०८० माघ १८ गते २०:५६

बुटवल, १८ माघ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले भूमिगत रहँदा पञ्चायती व्यवस्थाविरुद्धको अभियानमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको भैरहवाकी चुमकला बन्जाडेलाई ४३ वर्षपछि भेट्नुभएको छ ।

बुधबार उपाध्यक्ष पौडेलसहित एमाले प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, रुपन्देही अध्यक्ष तेजेन्द्र केसी, हितराज पन्थी, राजेन्द्र पन्थीसहितका नेता कार्यकर्ताहरु ७९ वर्षीय चुमकलाको घर पुग्नुभएको थियो ।

विंस २०३७ सालमा भूमिगत रहेर पञ्चायती व्यवस्थाविरुद्ध अभियान सञ्चालन गर्दा तत्कालीन वामपन्थी नेताहरु मोदनाथ प्रश्रित, विष्णु पौडेल, प्रदीप ज्ञवाली लगायतलाई पक्राउ गरी भैरहवा कारागारमा राखिएको थियो । उहाँहरुले भित्रभित्रै जेल तोडेर भाग्ने योजना बनाउनुभएको थियो ।

त्यतिबेला ३६ वर्षकी चुमकलाले साहसी देखाउँदै जेलको फलामे छड काट्न लागि ह्याक्सो, नटबल्टु र टर्च लाईट तामाको ठूलो आरीको पिँधमा प्लाष्टिकभित्र सामान बेरेर त्यसमाथि पुवा राखेर जेल भित्र पुर्‍याउनु भएको थियो । चुमकलाको साहसले नै तत्कालीन नेताहरु भैरहवा जेल ब्रेक गरेर भाग्न सफल हुनुभएको थियो ।

बुधबार पौडेलसहितको टोली चुमकलाको घर पुगेर ४३ वर्षअघिको सम्झना साटासाट गर्नुभएको थियो ।

चुमकलालाले एउटा किस्सा सुनाउनुभयो, ‘विष्णु पौडेलले यसो चुलोमा भात पाकेको नदेखे, भोकले ब्याकुल भए पनि मैले खाएर आएको हुँ भन्नुहुन्थो । अनुहार हेरेर पत्तो लगाए उहाँ भोकै आएको ।’ उहाँले थप्नुभयो, ‘एक दिन यहाँ घर आउँदा हामीले खाएर बसेका थियौँ । उहाँले पनि खाएर आएको भनेर ढाट्नुभयो । पछि उहाँको अनुहार हेर्दा भोकै भए जस्तो लाग्यो, खाना बनाएर खान दिए भात लागेछ लट्ठ पर्नुभयो । त्यसपछि मात्रै भन्नु भयो तीनदिन पछि खाएको भात लाग्यो ।’

चुमकलालाई ती दिन हिजो जस्तै लाग्छ । उहाँको कुरा आफ्नो डायरीमा लेख्दै गर्नुभएको पौडेलले ती दिनहरु सम्झिनुभयो ।

एमाले उपाध्यक्ष पौडेलले चुमकला साहसी र आँटिलो महिलाको रुपमा स्मरण गर्नुहुन्छ । ‘उहाँ पार्टी, संगठन र जनताप्रति समर्पित, साहसी र आँटिलो महिला हो, उहाँको त्यो साहस र आँट नभइदिएको भए हामी त्यो बेला जेलबाहिर निस्कने सक्ने थिएनौँ ।’ पौडेल भन्नुहुन्छ ।

परिवारसहित २०२० सालमा अर्घाखाँचीबाट भैरहवा बसडिलवा आउनुभएकी चुमकलाको घरमा भूमिगत रहेका वामपन्थी नेताहरु सेल्टर लिनुहुन्थ्यो। उहाँलाई घरमा आउने नेताहरु उमेरअनुसार दिदी वा बहिनी भन्नुहुन्थ्यो । त्यही सुनेर होला अरु कार्यकर्ता र गाउँलेहरुले पनि पार्टीकी दिदी भन्ने गर्नुहुन्थ्यो । तत्कालीन समयमा पार्टीकी दिदी आज पर्चा छर्नुपर्ने हामी गाउँ डुल्दा अरुले देखेर समातिन्छौ कि के गर्ने होला भनेपछि उहाँ पर्चा छर्न पनि आफै अगाडि सर्नुहुन्थ्यो ।

‘राती छोराछोरीलाई खाना खुवाएर सुतेपछि कम्मरमा खुकुरी भिरेर माथिबाट कोट लगाउँथे त्यसपछि गाउँ डुलेर पर्चा छर्थें’- चुमकला सम्झिनुहुन्छ । रातमा एक्लै गाउँ डुल्दापनि उहाँलाई डर लाग्दैनथ्यो । ‘राजनीतिमा लागेपछि पनि केही डर लाग्छ र ? राजनीतिले त डर खाइदिने रहेछ ।’ उहाँ सम्झनुहुन्छ ।

चुमकलाले तत्कालीन समयमा लुकाउँदै माथि पठाएका नेताहरु अहिले पद, पैसा र पावरका लागि लुछाचुँडी गरेको गुनासो पोख्नुभयो । ‘अहिले त नेताहरुलाई सम्झिन पनि मन लाग्दैन, कहिलेकाँही त भोट पनि दिन नजाउँ जस्तो लाग्छ ।’ चुमकलाको गुनासो थियो । ‘कति गरेर लुकाएर राखियो, आफ्नो घरमा सेल्टर लिएका सबैजसो नेताहरु सत्ता र शक्तिमा रहिरहे तर जब माथि गए तलका सबै बिर्सिए ।’ उहाँ भन्नुहुन्छ ।

उहाँका श्रीमान रविलाल बन्जाडे पनि वामपन्थी नेताहरुसँगै भूमिगत गतिविधिमा सम्लग्न हुनुहुन्थो । उहाँपनि ९ वर्ष भूमिगत बस्नुभएको थियो ।

भूमिगत रहेका नेताहरु संगठन विस्तारका लागि गाउँघर डुलिरहनुहुन्थो । तत्कालीन समयमा चुमकलाको घरमा जीवराज आश्रित, मोदनाथ प्रश्रित, विष्णु पौडेल, प्रदीप ज्ञवाली, रामचन्द्र भट्टराई, चन्द्रप्रकाश मैनाली, शान्ता मानवी लगायतका धेरै नेताहरुको आउजाउ भइरहन्थ्यो । गाउँको बीचमा खरले छाएको कच्ची घरमा आश्रय लिन पुगेका नेताहरुलाई चुमकला आफू सकेको स्वागत सत्कार गर्नुहुन्थ्यो र चुलोमा जे पाकेको छ, बाँडीचुँडी खान दिनुहुन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित