मंगलबार, ४ असार २०८१
DainikNepal.com
मंगलबार, ४ असार २०८१

‘प्राज्ञ र कर्मचारी नियुक्तिमा ढिलाई हुँदा विश्वविद्यालयमा समस्या आयो’

दैनिक नेपाल २०८१ जेठ ५ गते १६:०६

काठमाडौं, ५ जेठ । त्रिभुवन विश्वविद्यालयका सहप्रशासक तथा त्रिवि शैक्षिक परिषद(एकेडेमिक काउन्सिल)का प्रमुख यमन सिंह बोहराले विश्वविद्यालयमा कर्मचारी र प्राज्ञहरुको नियुक्तिमा ढिलाई भएका कारण परीक्षा र नतिजा प्रकाशनमा अपेक्षित रुपमा केही ढिलो भएको बताउनुभएको छ ।

विश्वविद्यालयको प्रक्रिया, उपलब्ध जनशक्ति र विद्यमान कानुन अनुसार सहज र सरल रुपमा काम भइरहेको भएपनि बाहिरबाट हेर्दा ढिलासुस्ती देखिएको प्रतिक्रिया दिनुभएको हो । उहाँले भन्नुभयो, ‘त्रिभुवन विश्वविद्यालयमा कर्मचारी र प्राज्ञहरुका लागि विज्ञापन ढिला भएको हिसाबले अपेक्षितभन्दा काम कारबाही ढिलो भएको छ । एकेडेमिक स्टाफहरु कम हुनुहुन्छ । दरबन्दी भन्दा कममात्र कर्मचारी भएका कारण पनि यस्तो समस्या भएको हो जस्तो लाग्छ । म आफै पनि कर्मचारी नभइ आम जनताको तहबाट हेर्दा कामहरु अपेक्षित रुपमा नभएको जस्तो त लाग्छ । तर त्यो भित्रका प्रक्रिया र उपलब्ध जनशक्ति, साधन स्रोत र सबै किसिमको नियम कानुन हेर्दाखेरि अहिलेको स्थितिमा सहज र सामान्य रुपमा काम भइरहेको जस्तो लाग्छ ।’ अहिलेको अवस्थामा केही कर्मचारी पदपुर्ति भइसकेकाले अझै सरल र सहज हुँदै जाने विश्वास बोहराले व्यक्त गर्नुभयो ।

शैक्षिक क्षेत्रबाट राष्ट्रको आवश्यक्ता परिपुर्ति गर्ने सवालमा त्रिभुवन विश्वविद्यालय अग्रपंक्तिमा रहेको दाबी गर्दै उहाँले नेपालका झण्डै ८० प्रतिशत विद्यार्थी लाभान्वित भइरहेकासमेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ यस विश्वविद्यालयका देशभर हालको अवस्थामा ६२ वटा आंगिक क्याम्पसहरु, चारवटा अनुसन्धान केन्द्र र अध्ययन संस्थानहरु छन् । टीयूको आफ्नै संरचना छ । यस विश्वविद्यालयले देशलाई आवश्यक पर्ने दक्ष शैक्षिक गुणस्तरीय जनशक्ति स्थापना गर्ने हो । गरिरहेको प्रमाण तपाइँ स्वयम देखिरहनु भएको छ । नेपालका झण्डै ८० प्रतिशत विद्यार्थीहरु लाभान्वित भइरहेका छन् । समग्र देशको शैक्षिक क्षेत्रको विकास र उन्नयन गर्न ठूलो मद्दत गरेको छ ।’

त्यस्तै, सहप्रशासक बोहराले हरेक क्षेत्र जस्तै त्रिभुवन विश्वविद्यालयमा पनि राजनीतिक हस्तक्षेप कायमै रहेको स्विकार्नुभयो । राजनीतिक हस्तक्षेपका बाबजुद त्रिभुवन विश्वविद्यालय आफ्नै विधि, विधानले चलिरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘राजनीतिले कर्मचारीतन्त्रको नियुक्ति र परिचालन गर्ने सन्दर्भमा कहीँ कतै राजनीतिक हस्तक्षेप देखिन्छ । यसलाई कसरी पनि हेर्न सकिन्छ भने नेतृत्व भनेको कैँची चलाउने हो भने कर्मचारी भनेको कैँचीको धार जस्तै हुन् । नेतृत्वले जसरी चलाउनुहुन्छ कैँची त्यसरी नै चल्छ । त्यसैले अन्य क्षेत्रमा जस्तै त्रिभुवन विश्वविद्यालयमा पनि राजनीतिक प्रभाव नपरेको र राजनीतिले नछोएको त भन्न सकिदैन तर स्वायत्त संस्था भएकाले, आफ्नै नीति, नियम भएकाले आफ्नै गतिमा चलिरहेको छ । आफ्नै नीति अनुसार चलिरहेको छ ।’

विश्वविद्यालयमा उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै युग सुहाउँदो शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै उहाँले भएको पाठ्यक्रमलाई मजबुत र परिष्कृत गर्दै लगिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘समयसापेक्ष र युग सुहाउँदो शिक्षा प्रदान गर्न अहिले अध्ययन अध्यापन गरिँदै आएको पाठ्यक्रममलाई परिष्कृत गरेर समयअनुसारको कोर्ष कन्टेनहरु बनाउने सवालमा त्रिभुवन विश्वविद्यालय पछि परेको छैन् । समय अनुसार र अन्य मुलुकहरुमा पढाइने कोर्ष र पाठ्यक्रमहरुलाई आधार मानेर पनि त्रिविमा रहनुभएका एकेडेमिक फिल्डका प्राज्ञिकहरुबाट अर्थात जो आधिकारिक रुपमा दक्ष हुनुहुन्छ उहाँहरुबाट नियमानुसार अध्यापन गराइँदै आएको छ । नयाँ कन्टेन्टहरुको उत्पादन गर्ने, स्वीकृत गर्ने, अनुमोदन गर्ने, लागु गर्ने कुराहरु भइरहेको छ । त्यही अनुसार सम्बन्धित विषयका विद्यार्थीहरु लाभान्वित भइरहेका छन् ।’

आम जनतामा नेपालमा एकमात्र त्रिभुवन विश्वविद्यलय रहेको भन्ने भान परिरहेको उल्लेख गर्दै बोहराले विश्वविद्यालयभित्र पनि आफ्नै चुनौतीहरु रहेको सुनाउनुभयो । संसारबाटै म्यानुअल सिस्टम विस्थापित भइ डिजिटलाइजेसनको युग सुरु भइसकेको उल्लेख गर्दै उहाँले यसका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले डिजिटलाइसेनको युग छ । म्यानुअल सिस्टम विस्थापित भइसकेको अवस्था पनि छ । अब सबै कुराहरु पेपरलेस गर्ने बेला भएको छ । एकेडेमिक क्यालेण्डरलाई कार्यान्वय गर्नुपर्ने अनिवार्य आवश्यक भएको छ । यसका लागि सबैजना तयार भएर लाग्नुपर्ने छ । संस्थाका लागि एकजुट भएर लाग्नुपर्ने बेला भइसकेको छ ।’

प्रतिक्रिया
सम्बन्धित