
काठमाडौं, ८ जेठ । अभिनेता प्रदीप खड्काले नेपाली फिल्ममा अभिनयको सुरुवात प्रेमकथाका फिल्मबाट गर्नुभयो । फिल्म ‘प्रेमगीत’बाट ‘लभर ब्वाई’ र ‘रोमान्टिक हिरो’को छवि बनाउनुभएका प्रदीप फिल्म ‘प्रकाश’ अघिसम्म त्यही छविमा स्थापित हुनुभयो । तर ‘प्रकाश’ले उहाँलाई फरक अभिनेताका रुपमा दर्शक र फिल्मकर्मीमाझ चिनायो । यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘पुजार सार्की’मा उहाँ ‘प्रकाश’ भन्दा अझ फरक चरित्रमा देखिँदै हुनुहुन्छ ।
‘पुजार सार्की’ मा प्रदीपले ‘मैतबहादुर सार्की’को चरित्र निर्वाह गर्नुभएको छ, जो गाउँको विवाह होस् या धार्मिक कार्यमा दमाहा बजाउँनुहुन्छ । प्रदीपको क्यारेक्टर तस्वीर र पोस्टर सार्वजनिक भएपछि उहाँको दमाहा लुक्सले राम्रै चर्चा पाएको थियो । प्रदीपका लागि ‘दमाहा’ बजाउनु आफैंमा नयाँ थियो । फिल्मको टिजरमा प्रदीपलाई खुलेर दमाहा बजाएको देख्न सकिन्छ ।
‘दमाहा मैले पहिलोपटक सुटिङ स्पटमै बजाएको हुँ । मैले जन्मिएपछि देखेको बेण्ड बाजा हो । पछिल्ला दशकमा मात्र सहरतिर विवाहमा पञ्चेबाजा चलनमा आयो । मलाई दमाहा कसरी बजाउने थिएन’, प्रदीप भन्नुहुन्छ, ‘म पहिला तबला बजाउँथे । मलाई बिटहरुको आइडिया छ । म अहिले पनि गीतार बजाउँछु । त्यसकारण मलाई रिदमको जानकारी थियो । दमाहा बजाउँदा त्यो टिप्न सजिलो भयो । बिटमा बजाउन मलाई समस्या भएन । मैले केवल टाइमिङमात्र सिक्नु थियो । मैले दमाहा बजाएको देख्दा पञ्चे बाजा समूहका दाईहरु पनि छक्क परेका थिए ।’
फिल्म ‘पुजार सार्की’ले मुख्यतया जातीय विभेदविरुद्धको कथा बोल्छ । प्रदीपलाई आफैं दलित पात्र बनेर अभिनय गरिरहँदा कुनै डर भएको रहेनछ । ‘सही काम गरिएको छ भने त्यसको आउटपुट गलत हुन्छ भन्नेमा डर छैन् । कसैले आजको दिनमा विभेद छैन्, यो कुरा किन अगाडि ल्याइरहेको हो भनेर कसैले भन्यो भने यो कला र साहित्य हो । नेपालको परिप्रेक्ष्यमा पचासौं वर्षदेखि एउटा वर्ग आन्दोलनरत छ । उनीहरुले आज पनि विभेदका घटना व्यहोरिरहेका छन् । घटना निर्मूल नै भइसकेको त होइन नि,’ प्रदीपको भनाई छ ।
प्रदीपले नेपालमा जातीय विभेद हुने गरेको कुरा कलेजमा पढ्दा मात्र थाहा पाउनुभएको रहेछ । ‘म ललितपुरको एकान्तकुनामा जन्मिएँ । मलाई जातीयताका आधारमा विभेद हुन्छ भन्ने धेरै पछि मात्र थाहा भयो । १२ कक्षा पढुञ्जेल मेरा साथीहरु कुन जातको र कुन समुदायको भन्ने थाहा थिएन । सबैजना आफैं जस्तो देख्थें । तर जब परिवार बाहिर आएर मिडिया बुझ्न थालेँ, अनि मात्र विभेद पनि हुँदो रहेछ भन्ने थाहा पाएँ’, उहाँले खुलाउनुभयो ।
प्रदीप फिल्म ‘पुजार सार्की’ले निको भएको घाउलाई नकोट्याउने दाबी गर्नुहुन्छ । ‘यो फिल्म बन्नु आफैंमा समस्या होइन । फिल्मले विभेदको समस्या कति समाधान भयो भन्ने कुराको प्रश्न गर्छ । सामन्ती भनिएका वर्गले ‘ए हामीले गल्ती गरेका रहेछौँ’ भनेर बुझेको भए समस्याको समाधान छिटो हुन्थ्यो कि । फिल्म हेरिसकेपछि हामी त गलत कोणबाट पो झगडा गरिरहेका छौँ भन्ने झस्काउनेछ’, उहाँ भन्नुहुन्छ । प्रदीप ‘लार्जर देन लाइफ’ भनेर स्वाट्ट बाइकबाट चस्मा लगाएर ओर्लिने भन्दा पनि ‘ए ! यो त हाम्रो गाउँको मान्छे’, ‘ए ! यो त नेपाली हो’ र यो चाहिँ रिलेट गर्न सक्ने किसिमको हो भन्ने खालको चरित्र मनपराउँनु हुन्छ ।
दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’मा प्रदीपसँगै पल शाह, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, सुभाष गजुरेललगायतका कलाकारको अभिनय छ ।















प्रतिक्रिया