सोमबार, ३ असार २०८१
DainikNepal.com
सोमबार, ३ असार २०८१

रास्वपाका मन्त्रीहरुको कति छ सम्पत्ति ?

दैनिक नेपाल २०८१ जेठ ८ गते १९:२३

काठमाडौं, ८ जेठ । नेपाली राजनीतिमा उदाएको केही वर्षमै प्रभावकारी स्थान बनाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुको प्रशस्त सम्पत्ति रहेको उहाँहरुको विवरणमा छ । सरकारले मंगलबार प्रधानमन्त्रीसहित २३ मध्ये २१ मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्दा मन्त्रिपरिषद् सदस्य रास्वपाका चार जनाको पनि विवरण प्रकाशित गरेको हो ।

सरकारमा रास्वपाबाट पार्टी सभापति रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री हुनुहुन्छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ हुनुहुन्छ ।

लामिछानेको धेरै सम्पत्ति श्रीमतीको

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँ नगद बचत छ । उहाँको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा पैतृक सम्पत्तिको रुपमा देखाइएको छ ।

लामिछानेको यो बाहेक सम्पत्ति अन्य केही देखाइएको छैन् । तर, उहाँकी पत्नी निकिता पौडेलको नाममा भने बुढानिलकण्ठ–८ मा ५ आना जग्गामा बनेको घर छ ।

यस्तै, विभिन्न व्यवसाय सञ्चालनबाट आएको रकमबाट ३ करोड ७५ लाख रुपैयाँमा घर खरिद गरेको विवरण देखाइएको छ । घर किन्दा बैंकबाट लिएको २ करोड ५० लाख रुपैयाँ ऋणमध्ये अब १ करोड ५० लाख तिर्न बाँकी रहेको विवरणमा उल्लेख छ ।

लामिछानेले पत्नी निकिता पौडेलसँग ८० तोला सुन र २० केजी चाँदी रहेको खुलाउनुभएको छ । त्यसको स्रोत अधिकांश निकिताका बाबुआमाले दिएको र केही खरिद गरेको उल्लेख गर्नुभएको छ ।

यस्तै, निकितासँग सुनबाहेक १५/२० केजी चाँदी रहेको र त्यो २५० देखि ३०० रुपैयाँ प्रतितोला भएको बेला खरिद गरेको उल्लेख सम्पत्ति विवरणमा उल्लेख छ ।

निकिताको नाउँमा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत शेयर रहेको र सवारीसाधनमा टाटा नेक्सनको विद्युतीय कार रहेको भनिएको छ । यो कार ४२ लाख रुपैयाँमा दुवैको निजी आय र बचतबाट २०७९ सालमा खरिद गरिएको विवरणमा उल्लेख छ । विवरण अनुसार नारी टेलिभिजन र गोपीकृष्ण कामाक्ष मिडिया कम्पनीको सञ्चालक निकिता हुनुहुन्छ भने दुवैको भौतिक मूल्य ४ करोड भएको उल्लेख छ । नारी टेलिभिजनको हालको मूल्य ३ करोड रुपैयाँ र कामाक्ष मिडियाको हालको मूल्य १ करोड रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

तीन मन्त्रीको सुन

अर्याल : १ सय ५० तोला सुन छ । यस्तै, हिरा १० तोला र चाँदी १०० तोला छ । अर्यालले ती सबै गहनाहरु २०७४ सालअघि व्यापार गरेर खरिद गरेको भनि स्रोत देखाउनुभएको छ ।

सुमना : ११ तोला सुन, १० तोला चाँदी, एक सेट हीराको हार र एक सेट हीराको टप छ । श्रेष्ठले १० तोला सुन र १० नै तोला चाँदी बिहेको समयमा उपहार पाएको उल्लेख गर्नुभएको छ । यस्तै, हिराको गहना भने हजुरआमाको शेखपछि आफूले पाएको भनि स्रोत खुलाउनुभएको छ ।

विराजभक्त : १५ तोला सुन र ५० तोला चाँदीका सजावटका भाँडा छन् । उहाँले यो सुन र चाँदीको स्रोत विवाह र पैतृक सम्पति भएको देखाउनुभएको छ ।

तीनै मन्त्रीको घर जग्गा

अर्याल : मन्त्री अर्याल र उहाँको र पत्नी अम्बिका केसीका नाममा विभिन्न १२ स्थानमा करोडौं मूल्य बराबरको जग्गा रहेको छ । काठमाडौं, धादिङ, लमजुङ र भक्तपुरका विभिन्न स्थानमा रहेका ती जग्गा व्यापार र निजी कमाइबाट झण्डै साढे ५ करोड रुपैयाँमा खरिद गरेको भनि स्रोत देखाउनुभएको छ ।

यस्तै, श्रीमती र उहाँका नाममा विभिन्न बैंक तथा वित्तीय संस्था तथा सहकारी संस्थामा २ करोड १८ लाख रुपैयाँ नगद मौज्दात छ । मन्त्रीको नाममा मेगा बैंकको १० हजार, बिग इन्भेष्टमेन्टको ३५ हजार, पिपुल इन्भेष्टमेन्टको ९ हजार र जनसागर सहकारीको १० हजार कित्ता शेयर छ । उहाँका दुई करोड २३ लाख रुपैयाँमा खरिद गरिएका स्वयम्भू स्टार व्याङक्वेट, सुमिरे ट्राभल्स एन्ड टुर्स प्रालि, इजी लिंक रेमिट र एपीए ह्याण्डीक्राफ्टस छन् ।

श्रीमती अम्बिकाको नाममा सुवर्णभूमि सहकारीको एक हजार र संयम सहकारीको २ हजार कित्ता शेयर छ । मन्त्रीको १ करोड ऋण छ भने उहाँसँग १ करोड ५० लाख मूल्य पर्ने टोयटा प्राडो कार र श्रीमतिको नाममा टाटा नेक्सन ईभी छ । जसको मूल्य ४३ लाख उल्लेख छ ।

सुमना श्रेष्ठ : बैंकमा नगद मौज्दात एक करोड ५२ लाख रुपैयाँ छ । उहाँको नाममा एनआईसी एसिया बैंकमा १ करोड १५ लाख छ भने एभरेस्ट बैंकमा ३७ लाख पारिश्रमिकको रकम जम्मा भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै, उहाँको श्रीमान् पावल स्क्याविन्स्कीको नाममा विदेशमा १ लाख ८९ हजार ७ सय डलर र १ लाख ८० हजार युरो रहेको छ । उहाँसँग एउटा स्कूटर र एक अर्को विदेशीको नाममा २० लाख पर्ने विद्युतीय गाडी रहेको छ । उहाँको नाममा कुनै प्रतृक सम्पती र ऋण छैन् ।

विराजभक्त : विभिन्न बैंकमा जम्मा गरेको ८३ लाख ७२ हजार ७४५ रूपैयाँ छ । उहाँले ‘सेयर मार्केट’मा एक करोड बढी लगानी गर्नुभएको छ । श्रेष्ठले बुझाएको सम्पत्ति विवरणअनुसार उहाँसँग १५ हजार ९०६ कित्ता सेयर रहेको र यसको मूल्य एक करोड ९ लाख ८० हजार ५०९ रूपैयाँ रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

यस्तै, उहाँले आफ्नै बुबा वीरेन्द्रभक्त श्रेष्ठसँग २० लाख रूपैयाँ ऋण लिएको देखाउनुभएको छ भने कुल ५० लाख ऋण रहेको विवरणमा उल्लेख छ । उहाँसँग ८ लाख ५० हजारमा किनेको ल्यान्डक्रुजर गाडी, २ लाख ४६ हजार रुपैयाँमा किनेको विद्युतीय स्कुटर र १९ लाख ७५ हजार मूल्यमा किनेको एमजी ब्राण्डको एउटा इलेक्ट्रिक गाडी रहेको खुलाउनुभएको छ । यस्तै, उहाँको नाममा कुनै घर वा जग्गा नरहेको पनि सार्वजनिक विवरणमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित