शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

भारत-चीन युद्धकालको ‘आकाशवाणी खरसाङ’ ६२ वर्ष पुग्यो

दैनिक नेपाल २०८० जेठ २० गते १०:४७

खरसाङ (भारत), २० जेठ । सन् १९६२, भारत-चीन सीमा क्षेत्रमा भीषण युद्ध चलिरहेको बेला भारतको लागि अति नै संवेदनशील समय थियो ।

नेपाल, बङ्गलादेश, भुटान र चीन नजिक रहेको यस हिमाली भेकमा भारत सरकारलाई सूचना प्रसारणको आवश्यकता थियो । यस आवश्यकतालाई प्रमुखता दिँदै २ जुन १९६२ मा भारत सरकारले यस हिमाली भेकको एउटा सानो मनोरम शहर खरसाङमा रेडियो स्टेशन स्थापना गर्‍यो ।

सन् १९६२ मा युद्धकालका बेलामा स्थापित भएको यहाँको रेडियो २ जुनमा ठ्याक्कै ६२ वर्ष पुगेको छ । भारत सरकार अधिनस्थ ‘आकाशवाणी’ नामले लोकप्रिय बनेको यहाँको रेडियो स्टेशनले शुक्रबार (२ जुन) ६२औँ स्थापना दिवस भव्य रुपमा हर्षोल्लासपूर्ण वातारणमा मनायो ।

दार्जीलिङ पहाडी भेकको मात्र नभएर समग्र भारतीय नेपाली समाजको सामाजिक, सांस्कृतिक, भाषा र साहित्यको क्षेत्रमा ‘आकाशवाणी’ खरसाङले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । स्थापना दिवसको कार्यक्रममा नेपाली संसारकी सुपरिचित सङ्गीतकार तथा गायिका सुश्री शान्ति ठटाल र सुपरिचित गायक पेमा लामा, आकाशवाणी खरसाङका वरिष्ठ कलाकारहरू, वार्ताकारहरू साथै आकाशवाणी खरसाङका पूर्व अधिकारीहरू उपस्थित थिए ।

कार्यक्रममा दार्जीलिङ पहाडी भेककी सुपरिचित गायिका भावना थापाले ‘सम्हालेर राख सजाएर राख..’जस्ता शान्ति ठटालको कालजयी गीतहरू गाएर सबैलाई साठी र सत्तरीको दशकको स्मरण गराइन् ।

पेमा लामाले स्व.पारस गजमेरको लोकप्रिय गीत ‘साँझको घाम डुबिसक्यो, यात्रा अझ बाँकी नै छ…’ गाए । कार्यक्रममा अर्को विशेष आकर्षण थियो ‘भोइस अफ किड्स नेपाल’ का विजेता स्पन्दन सुब्बा । पहिलो चरणको कार्यक्रम रेडियोमा प्रत्यक्ष प्रसारण गरिएको थियो भने दोस्रो चरणको कार्यक्रम आकाशवाणी खरसाङका कार्यक्रम प्रस्तोताहरू र कर्मचारीहरूले रंगारंग कार्यक्रम प्रस्तुत गरे । कार्यक्रममा कार्यक्रम निष्पादक पारसचन्द्र आलेले स्वागत मन्तव्य राखे ।

सन् १९६२ मा स्थापित भएको आकाशवाणी खरसाङले सङ्गीत र नाटक क्षेत्रका कयौं कलाकारहरूलाई उकेरा दिँदै आएको छ । सन् १९६२ मा खरसाङमा रेडियो स्थापना हुँदा नेपाली चलचित्रकी लोकप्रिय नायिका तृप्ति नाडकरकी आमाले गीत गएकी थिइन् भन्ने एउटा भेटघाटमा तृप्तिले सन् २००५ मा यस प्रतिवेदकलाई बताएकी हुन् । स्थापना हुँदा सन् १९६२ मा सो बेलाका चर्चित गायक स्व. गजेन्द्र नारायण प्रधानले आफैले सङ्गीत रचना गरेका गीत ‘चुँइयामा हा…हा…’ गएका थिए ।

यो गीत सर्वाधिक लोकप्रिय बन्यो, र कालान्तरमा यो धेरैले आआफ्नै ढाँचामा गाए । यसपछि साठी र सत्तरीको दशकको हाराहारीमा चर्चित गायिका सानुमाया तामाङको गीत ‘फूल फुल्यो पहेंली ए साइँली..’, ‘एस रविदासको ‘हरेक रात निलो आकाशमा…’ आकाशवाणी खरसाङबाट बज्ने गीतहरू समग्र दार्जीलिङ पहाडमा लोकप्रिय थिए । यी गीतहरू बज्दा आकाशवाणी खरसाङ रेडियो भनेर चिनिन्थ्यो ।

सन् १९७० सत्तरीको दशकमा नेपाली साहित्य संसारका प्रख्यात कथाकार शिवकुमार राई र सो बेलाकी चर्चित उद्घोषिका छिमी अङ्मु लामाद्वारा संचालित कार्यक्रम ‘शम्भु दाइको हुलाक’ सर्वाधिक लोकप्रिय कार्यक्रम थियो । त्यो बेला हरेक शुक्रबार साँझ साँढे छ बजे प्रसारण हुने यस कार्यक्रममा शुम्भु दाइको भूमिका शिवकुमार राई अनि शोभा बहिनीको भूमिका छिमी अङ्मु लामा निर्वाह गर्थे । शोभा बहिनीको अट्ठहास हाँसो, श्रोताहरूको घुमाउरो प्रश्न र शम्भु दाइको पेचिलो जवाबलाई आज पनि धेरैले बिर्सिएका छैनन् । यो कार्यक्रम नेपालमा पनि उतिकै सुन्ने गरिन्थ्यौ ।

शम्भु दाइ र शोभा बहिनीलाई भेट गर्न नेपालबाट पनि आउने गर्थे । हिजोआज यहाँका कार्यक्रमहरूमा ‘गाउँले सभा’, ‘डाक पुतली’, ‘कुरै कुरामा’(फोन इन् कार्यक्रम), ‘गान्धी कथा’, ‘खेल संसार’, ‘तपाइँको अनुरोधमा’ (हिन्दी फिल्मी गीतको कार्यक्रम) श्रोताहरूको मनपर्दो कार्यक्रमहरू हुन् ।

रेडियो स्थापना भएदेखि सबै भन्दा बढी सुन्ने भनेको बेलुकी ६:५० बजे प्रसारण हुने प्रादेशिक समाचार हो । यस वर्षको जनवरी महिनादेखि आकाशवाणी खरसाङलाई सरकारले भारतभरको नेपाली भाषाको समाचार केन्द्र बनाएको छ । यो आकाशवाणी खरसाङको ठूलो उपलब्धि हो ।

प्रतिक्रिया
सम्बन्धित