शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

आमाको मुख हेर्ने दिनदेखि नै मेरो संसार सबै उजाडिन्छ

तारा कँडेल २०८० वैशाख ७ गते २०:२९

तारा कँडेल

२०५८ साल साउन महिनाको शनिबार वर्षायामको समय घडीमा ९:२१ हुन्छ अनि उता मेरो जन्म हुन्छ ।

एउटा सन्तानलाई जन्म दिँदै गर्दा हजारौं कोषिका चुडिएको कठोर पीडालाई सन्तानको पहिलो माधुर चिच्याहटमा आमाले सजिलै भुलिदिन्छिन् । आफूले भोगेका हरेक पीडालाई कठोरताका साथ सहन गर्न सक्ने भएकै कारणले गर्दा ईश्वरीय वरदान, स्वर्गीय आनन्द र सन्तान उत्पादन गर्ने क्षमता भगवानले आमालाई नै सुम्पिएका होलान् ।

आमाको लामो प्रसव युद्वपछि मरो जन्म त हुन्छ तर मलाई जन्माएको केही समयमा आमाको स्वास्थ्यमा खराबी देखिन थाल्छ, यता प्रसव पीडा त छँदैछ यी यावत् पीडालाई सहन नसकेर मेरी आमाको मृत्युु हुन्छ । त्यही दिनदेखि मेरो संसार सबै उजाडिन्छ ।

अब मेरी आमाको नामको अघि स्वर्गीय जोडिन्छ । आमाको आशीर्वाद प्राप्त गर्नका लागि मैले पितृ भनेर पुकार गर्नुपर्नेछ हुन्छ । यो सोचले मेरो मन साह्रै भक्कानिन्छ । आमा नहुनु भनेको मेरा लागि सर्वस्व गुम्नु जस्तै नै हो । सानैदेखि अभावै अभावमा दुखका दिनले घेर्दाघेर्दैमा बितेको मेरो बालापन सायद खुसी भन्ने कुरा त जमिनको कुनै सतहमा लुकेको छ होला ।

आज मातातीर्थ औँशी, आमाको मुख हेर्ने दिन, तर मेरी आमा मबाट कहीँ टाढा छिन् । निकै पर आकाशमा कतैबाट मलाई नै हेरिरहे जस्तो लाग्छ । मलाई अर्थात् म तारा नाम तारा भएर मात्रै नहुँदो रहेछ जब ग्रहण बनी विभिन्न बाधा अड्चनले घेरेपछि ।

यो धर्तीमा कति त्यस्ता मानिसहरू हुनुहुन्छ जो आमाबिना टुहुरा अनि कोही आमा भएर पनि टुहुरा । आजकाल मन्दिर देख्दा मनमनै बिन्ती बिसाइरहेकी हुन्छु बरु नि:सन्तान नै हुन आमा तर बच्चा जन्मिसकेपछि कुनै सन्तानलाई सानैमा अलपत्र पारेर आमाको काख नखोसियोस् भनेर । किनकी यो मेरो भोगाइ हो । मेरो जस्तो भोगाइ, मलाई जस्तो अर्कोलाई भोग्न नपरोस भन्ने मेरो चाहना हो ।

आयु त अरुको पो धेरथोक लाग्छ, आफ्ना मान्छेको आयु अमर होस् भन्ने हुने रहेछ किनकी त्यो मान्छेसँग आफ्नो इतिहास जोडिएको हुन्छ, जीवनका पन्नापन्नामा अमिट छाप छोडिएको हुन्छ । मेरी आमा हजुरको सम्झना कहिल्यै मेटिने छैन, सधैँभरि मेरो मानसपटलमा बसिरहनुने छ । यदि सम्भव छ भने अर्को जन्म हजुरकै कोखबाट हजुरकै छोरीको रूपमा जन्मन पाउँ । यो जुनीमा हामीले हाम्रा लागि सोचेका सपना त्यही समयमा पूरा गरौँला । यस संसारमा आमाको ठाउँ कसैले लिन सक्दैन ।

एक नवजात शिशुको जन्मपछि आमाको मृत्यु भएपछि त्यो नवजात शिशुको जीवनमा के–कस्ता समस्याहरू आइपर्छन् त्यो हेक्का तपाइँहरू नि गर्न सक्नुन्छ । आमाको स्तन चुस्ने मबाट अधिकार खोसियो, आमासँगै रम्ने, आमालाई सताउनेलगायत धेरै कुरा मबाट विलिन भए । यसर्थ भन्नुपर्दा मेरो बच्पना मैले बाँच्न पाइनँ भन्दा पनि फरक नपर्ला । कसैसँगको भेटले आमाको न्यास्रो, आमाको झल्को मेटिदैन समय बदलिन्छ, मौसम बदलिन्छ । केही मानिसको सद्भाव बदलिन्छ तर आमाको माया, ममता र स्नेह कहिले बदलिदैन सधैंभरि एकनास रहिरहन्छ ।

सायद भाग्य लेख्ने कलम आमाको हातमा भएको भए मलाई दुखको कुनै अनुभूति हुने नै थिएन होला । आजको दिनसम्म आफ्नो तौल बराबरको आँसु विस्थापन गर्न सकेकी छु र बाँचेकी छु नत्र आफ्नै आँसुको तलाउमा डुबेर मरिसक्थे होला । सूर्य उदाए पनि सूर्यको रापले मलाई नछोएजस्तो, हावा चलिरहँदा पनि श्वास नफेरिरहे जस्तो, आँखा खुले पनि अन्धकारजस्तो ममा छाइरहन्छ । भित्रभित्रै ममा सागर उर्लन्छ, आँधी, तुफान या भनौँ भुँइचालो नै उठ्छ बेलाबेलामा मृत्युको निम्ता लिएर । म बनावटी मुस्कानले मभित्र उत्पन्न हुने यी सबै संवेगहरूलाई रोकेर राखेकी छु ।

जब समस्याले घेर्‍यो तब कैयन पल्ट मर्नका निम्ति पनि प्रयास गरे तर पनि मेरा हरेक प्रयासहरू बिफल नै भइरहे । यही सोचेर कि मेरी आमा प्रसवको पीडा सहन नसकेर मरेर म जन्मिएकी हुँ, म बाँचेकी हुँ । मैले त्यति ठूलो त्यागलाई यसै खेर जान दिनु हुँदैन भन्ने समयमै बुझेँ । म जति अपरिपक्व देखिए पनि भित्रभित्रै परिपक्वताको बाँध त्यति नै मजबुत भइसकेको छ ।

दु:ख पीरमा उभिने अनि म छु भनी सम्झिने कोही भेटिएनन्, जे थिए सब फगत रहेछन् महसुस हुँदैछ । ऐँठन जाग्छ निद्रामा कहिलेकाहीँ त सपनीमै भए पनि आएर मेरो मनलाई सान्त्वना प्रदान गरिदिनुन । आज म झण्डै २२ वर्ष पुग्न लागे तर पनि मेरी आमा कस्ती थिइन भनेर देख्न पाइनँ, न सपनामा न त विपनामै यसकारण पनि मेरो जीवनमा रुनुको विकल्प रुनु नै भइरहेको छ । एक्लोपनले कोपर्दा मन खुसी हुन नसक्दो रहेछ । मेरा खुसी खै कहिले पो फर्केर आउलान र आँखामा सधैं मौसमी झरी परिरहन्छन्, झरीले म र मेरो सिरानी हरपल रुझिरहेका हुन्छौँ । मैले प्रत्येक दिन जीवीत रहन कति संघर्ष गर्छु, त्यो कसैले देख्दैनन् ।

म कसरी बताउ दिनभरि बाँच्नु पनि मेरा लागि सबैभन्दा ठूलो उपलब्धि हो । प्रत्येक मीठा गाँससँगै आँसु निल्छु । आफुसँग भएको कुराले खुसी नदिँदो रहेछ । भएको कुरामा खुसी नहुने मानवीय गुणबाट म पनि अछुतो रहन सकिनँ । नयाँ वर्षको आरम्भ सँगै नयाँ जोश, उमंग र हर्ष लिएर आउनुपर्ने हो तर पनि म सधैं उही हालमा हुन्छु मेरो वरपर के भइरहेको छ, कतिबेला के हुन्छ मलाई हेक्का समेत रहन्न । सायद यो उमेरलाई आमाको ममताको खाँचो छ ।

टिकटक, फेसबुकदेखिका सामाजिक सञ्जालहरूमा मातातीर्थ औँसीको १/२ दिन अघिदेखिबाट नै आमाको तस्वीरहरूले रंगाइरहेका छन् । म अभागीसँग त आमाको एउटा तस्बीरसम्म छैन । तर पनि आज मातातीर्थ औँसीको दिन बिहानै उठेर आमाको नाममा दियो बालेँ ।

खै के नै लेखुँ, लेख्छु भन्यो शब्दै भेट्दिन । नौ महिनासम्म गर्भमा राखी कठोर प्रसव पीडालाई सहने सामाथ्र्य राख्ने मेरी आमाको त्यो प्रसव पीडा नै जीवनको अन्तिम पीडा भयो । मेरी आमाको त्यो पीडा मेरा लागि पैतालामा बिझेको काँडा जस्तै भयो दुखिरहन्छ कहाँनेर भन्ने पत्तै नहुनेगरी । मैले आफू जन्मेसँगै मेरी आमालाई बचाउन सकिन, मेरी आमाको श्वास धितो राखेर म जन्मिए र मेरी आमाको मृत्युु भयो, मलाई माफ गर्दिनु है छोरीको ज्यान बचाउँदा आफ्नो ज्यानको तिलाञ्जली दिनुपर्‍यो । ममाथि कल्पेका हरेक सपनाहरू साकार रूप दिने अवसर नै जुटेन दैवको लेखान्त नै यस्तै भएछ । आँसुले टम्म भरिएका मेरा आँखाबाट तप्लक्क तपलक्क गर्दै आँसु बग्छन् अनि एक हातले पुछ्दै अर्को हातले शब्द कोर्दै छु । सँगै रमाउनका लागि मेरा लागि आँसु र अन्धकारको साथ छ अनि आमाको मनभरि याद छ ।

आफूसँगैका साथीहरू आमासँगै हिड्दा, आमाको बारेमा भन्दा मलाई मेरी आमाको कति धेरै न्यास्रो लाग्छ । कोही आमा गुमाएका साथीहरू भेट्दा उनीहरूलाई म सान्त्वना दिन्छु तर सान्त्वना दिनु एउटा फरक कुरा रहेछ तर सान्त्वना लिने ठाउँमा आफू उभिँदा नितान्त फक अनुभव हुँदो रहेछ । यहीँ अनुभव मलाई पर्दा मैले आफुलाई सान्त्वना दिन सकिन । स्वर्गसम्म पुग्ने सिढी भएको भए म छिटोछिटो गएर मेरी आमालाई फर्काएर ल्याउथे तर बिडम्बना म लाचार छु आँसु बगाउन बाहेक अरु केही गर्न सक्दिनँ ।

आज जे–जस्तो परिस्थितिको सामना गरिरहेकी छु त्यो सबै परिस्थिति मेरी आमा भएको भए सृजना नै हुन्थेन होला । म आज पुतली जसरी आमाको काखमा फुरफुर गर्दै उड्थेँ होला तर अहिले पखेटा भाँचिएको चरा जस्तै भएकि छु । न उड्नका लागि पखेटा छन् न फुरफुर गर्नका लागि आमाको काख ।

आमा हुनेहरूले आज आमाका लागि धेरथोक आफूले सक्दो कर्म गरेर आमालाई मिठा–मिठा परिकारहरू खुवाएर नयाँ वस्त्र किनिदिएर खुसी पारिरहनुभएको होला र मजस्ता आमा नहुनेहरूले भने आमाको नाममा दियो बाली आमालाई सम्झिरहनुभएको होला । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पीण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भइ आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको कारणले गर्दा पनि मैले मेरी आमाको लागि बिहानै उठी आमाको नाममा दियो बाल्दै अर्को जन्म मिलेमा म तपाईंकै सन्तान हुन पाउँ र तपाईकै साथमा लामो समयसम्म रहन पाउँ भनी प्रार्थना गरेँ ।

हुन त आमाका लागि कुनै दिन चाहिन्न, किनकी आमा हामीलाई दिन देखाउने देउता हुन् । र पनि तिथिमितिले वर्षमा एकपटक आउने दिन हो मातातीर्थ औँसी । आमाको नाममा जोडिएका बगरका ढुङ्गा त देउता हुन्छन् भने आमालाई जोडेर आएको औँसीको महत्व नहुने त कुरै भएन । आफ्ना सन्तानका निम्ति आफ्नै संसार भुलिदिने ती सम्पूर्ण आमाको सोच, साहस, र ममतालाई पङ्तिरको सलाम छ । आमाको जीवनको रक्तश्रावबाट नै मेरो जीवनको ब्रम्ह्नाल बनेको हो । जसले आफूलाई टुक्राएर मलाई सिङ्गो जीवन दिइन्, सारा जीवन उनै आमाको नाममा अर्पित छ ।

पुन: एकपटक मातातीर्थ औँसीको सम्पूर्ण माहान आमाहरू, आमा शब्दप्रति, आमाप्रति, आमाको स्नेहप्रति र सिङ्गो आमाको स्वरूपप्रति आभारसँगै नमन अनि शुभकामना ।

कँडेल गुल्मीमा कार्यरत सञ्चारकर्मी हुन् ।

प्रतिक्रिया
सम्बन्धित