२८ आश्विन २०८३, बुधबार

आँखा दान गर्ने मेरी आमा र डाक्टर रूइत !

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ईश्वर पोखरेल

८६ वर्ष कट्दै गर्दा आमाको मृत्यु भयो । वि.सं. १९७० मा भोजपुरको गोगनेमा जन्मनुभएकी मेरी आमाले जीवनभर दु:ख, कष्ट र अनेक चुनौतीहरूको सामना गर्नुपरे पनि शारीरिक अस्वस्थता भने त्यति झेल्नुपरेको थिएन ।

तर, जीवनको उत्तरार्धमा आइपुग्दा गम्भीर शारीरिक अस्वस्थ्यता झेल्नु पर्‍यो । अन्तिम समयतिर भने कहिल्यै नतङ्ग्रिने गरी झण्डै २० दिन जति थलिनुभो र त्यसैबाट कालले उहाँलाई हामी सबैबाट सधैँका लागि खोसेर लग्यो !

उहाँ काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा २०५६ साल मंसिर ६ गते उपचारकै क्रममा बित्नुभयो । उच्च रक्तचाप र त्यसैका कारणबाट रगतमा क्लट बन्ने प्रक्रिया देखा पर्दै गयो । त्यसैका कारण शरीरका अरू अंगहरूमाथि पनि गम्भीर असर गर्न थाल्यो र उहाँलाई बचाउन नसक्ने अवस्था आइलाग्यो । त्यो समस्याले तीव्रता लिदै गयो । र, हामीहरू उहाँलाई बचाउन नसक्ने अवस्थामा पुग्यौँ ।

उहाँको निधन हुँदा मभन्दा माथिका दाइ लक्ष्मण झापाबाट आइपुग्नुभएको थिएन । त्यस वर्ष हामी परिवारका सबैले आमासित बसेर एकैठाउँ दशैं मनाउने सल्लाह गरेका थियौँ । त्यही योजनामा दाइ–भाउजुहरू आउँदै हुनुहुन्थ्यो, तर आइपुग्नु भएको भने थिएन ! मृत्युको समयमा आमाको मुखमा पानी राख्ने काम म एक्लैले गरेको थिएँ । आर्यघाट पुगेर केही समय पर्खेपछि लक्ष्मण दाइ आइपुग्नु भयो र हामी दाजुभाइ दुबैले आमालाई दागबत्ती दियौँ ।

उत्तरार्धको त्यो अस्वस्थ्य समयमा महाराजगञ्जस्थित शिक्षण अस्पतालको बेडमा मलाई आफू नजिकै बोलाएर आमाले भन्नुभएको थियो– ‘बाबू, अब म बाँच्दिन होला, मलाई एउटा कुरा भन्न मन छ । म दान पुण्य गर्नुपर्छ भन्दै आएकी मान्छे, मर्ने बेलामा पनि केही गरौँ भन्ने लागिरहेको छ, मेरो शरीर त बुढो भइसक्यो तर यसका कति अंगहरू काम लाग्न सक्छन्, रोगी बिमारीहरूका लागि काम लाग्न सक्छन्, डाक्टरहरूलाई सोधेर मर्ने बित्तिकै ती अङ्गहरू निकालिदिनु है, मर्ने बेलामा भए पनि म दान गर्न चाहान्छु !’

आमाका त्यस्तो प्रस्ताव सुनेपछि सुरूमा त मलाई त्यति सहज लागेन, मानसिक रूपले म तयार हुन सकिन ! यो उमेरमा आमाले के भन्नुभएको होला भन्ने लाग्यो । मैले उहाँलाई ‘तपाईंको यो उमेरमा किन त्यस्तो गर्ने र ! पनि भनेँ । तर आमाले कर गरिरहनुभयो । मलाई भनिरहनु भयो । केही नलागेपछि मैले मनले नमान्दा नमान्दै पनि ‘हुन्छ नि त, म डाक्टरसित सल्लाह गर्छु’ भनेर उहाँलाई चित्त बुझाएको थिएँ ।

भोलिपल्ट आँखा उपचार सम्बन्धमा विशेष जानकार वा आँखासम्बन्धी विज्ञका रूपमा चिनिनुभएका डा. सन्दुक रूइतसित मैले सल्लाह गरेँ, आमाले मलाई गर्नुभएको आग्रहबारे सुनाएँ । डाक्टर रूइतसित मैले यो कुरा भनिरहँदा पनि मनमा भने त्यति सहज लागिरहेको थिएन ! तर, डाक्टर रूइतले भने मेरो कुरा सुन्नासाथ अत्यन्त सकारात्मक प्रतिक्रिया जनाउनुभयो । ‘आमाको राम्रो विचार, आमाका विचार महान रहेछन्, उहाँका कुरालाई मान्नुपर्छ, यदि आमा रहनुभएन भने उहाँले गर्न चाहेको दानको कुरालाई हामीले अगाडि बढाउनुपर्छ ।’ डाक्टर रूइतका कुरा सुनीसकेपछि म पनि मानसिक रूपले आमाको आँखा दान गर्ने प्रस्तावप्रति तयार बनेको थिएँ ।

त्यसको तीन दिनपछि काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा आमा बित्नुभयो ! आमा बितेपछि हामीहरू अत्यन्त दु:खित बन्यौं र रोयौँ पनि । यद्यपि, उहाँको अस्वस्थता र त्यसको गम्भीरता हेर्दा उहाँ त्यसरी हामीसितबाट बिदा हुने कुरा अस्वाभाविक थिएन । अस्पतालबाट शव वाहनमा राखेर आमाको शवलाई पशुपति आर्य घाट पुर्‍याइयो । तर, त्यही बेला आमाको आग्रह र डा. रूइतसितको सल्लाहलाई सम्झेँ । त्यसैअनुसार मैले डाक्टरलाई सूचना गरेँ । अस्पतालबाट शव हिँडाउने बेलामा ! तर पनि मनभरि असहजताले भरिएको खुलदुली भने छँदै नै थियो ।

ईश्वर पोखरेलकी आमा ।

आर्यघाटमा पुगेपछि अन्तिम श्रद्धाञ्जलीसम्बन्धी कामहरू गर्न सुरू गरियो । त्यही बीचमा घाटमै डाक्टर रूइत आफ्ना केही सहयोगीहरूसहित पुग्नुभयो । मैले उहाँहरूलाई देखेपछि आफू तत्पर रहेको कुरा पुन: जानकारी गराएँ । घर परिवारका सदस्यहरूलाई आमाको अन्तिम ईच्छा रहेकाले आँखा दान गर्न लागेको कुरा सुनाएँ ।

परिवारका सदस्यहरूमध्ये कोही केही बोलिरहेका थिएनन्, सबै मौन थिए । मैले नै ‘हामीहरूले आमाको अन्तिम ईच्छा पूरा गर्नुपर्छ भनेको थिएँ । यसरी मैले थोरै कुरा बोलेपछि डा. रूइतले त्यहाँ उपस्थित परिवारका सदस्यहरूलाई आमाले गर्न लाग्नुभएको महान काम, यो महान कामका कारण आमा मरेर पनि बाँचिरहनुहुने छ’ आदि यस्तै यस्तै भनाइहरू राख्नु भएको थियो ।

त्यसपछि, डा. रूइत आफै र अरू केही सहयोगीहरूको साथ लिएर आमाका आँखाको नानीलगायत आवश्यक अंश सुरक्षित हिसाबले निकाल्नु भएको थियो । हामी सबै हेरिरहेका थियौं । एकैछिनको यो कामपछि डा. रूइत आमालाई सम्मान व्यक्त गर्दै र हामी सबैलाई धन्यवाद दिदै तिलगंगा अस्पतालतिर लाग्नुभएको थियो । मलगायत परिवारका सदस्यहरू डाक्टर रूइत गएतिर हेरिरहेका थियौँ । मलाई त्यसबेला लाग्यो– ‘आमाको भौतिक शरीर त त्यहीँ आर्यघाटमै निर्जीव रूपमा हामीसँगै छ, तर आमा भने थप पुनीत कर्मका लागि डाक्टर रूइतको साथ लागेर जादै हुनुहुन्छ’ ।

पछि पनि डाक्टर रूइतसित जब जब भेट हुन्छ आमाको बारेमा कुरा हुने गर्छ । आमाको सम्मानमा उहाँले केही कुराहरू भन्नुहुन्छ । म त्यसबेला एकाग्रताका साथ आमालाई सम्झदै डाक्टर रूइतले भन्दै गर्नुभएका कुरा सुनिरहेको हुन्छु र आमाको दानी स्वभावलाई सम्मानका साथ सम्झना गरिरहेको हुन्छु ।

आज डाक्टर रूइत हामी सबैका लागि सिंगो नेपालका लागि गौरवका व्यक्ति हुनुहुन्छ । म डाक्टर रूइतलाई सम्मानका साथ सम्झना गरिरहँदा वा उहाँसित भेट भएर विभिन्न विषयमा कुरा गरिरहँदा मेरी आमालाई पनि सम्झना गरिरहेको हुन्छु ।

मेरी आमाले आफ्नो आँखा दान गर्न आग्रह गरिरहनुभयो र डाक्टर रूइतले त्यो महान कामका लागि हामी सबैलाई उत्प्रेरित गरिरहनुभयो ।

(नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री रहेका पोखरेलले आज आमाको मुख हेर्ने दिन, उहाँकी आमालाई नै सम्झेर लेख्नुभएका भावनाहरू)