शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बाथरोगविरुद्ध सहकार्य

प्रा. डा. बुद्धि पौड्याल २०७९ असोज २७ गते १९:३२

– प्रा. डा. बुद्धि पौड्याल, (वरिष्ठ बाथरोग विशेषज्ञ)

हरेक वर्ष अक्टोबर १२ तारिखका दिन विभिन्न कार्यक्रमहरु आयोजना गरि ‘विश्व बाथरोग दिवस’ मनाउने गरिन्छ ।

यो दिवस मनाउनुको प्रमुख उद्देश्य समाजमा बाथरोग तथा बाथजन्य स्वास्थ्य समस्याहरुको अवस्थिति, यसको कारण, यसले पार्न सक्ने प्रत्यक्ष अप्रत्यक्ष प्रभाव, सम्भाव्य रोकथामका उपाय, बैज्ञानिक उपचार विधी एवं उचित व्यवस्थापनको लागि आ-आफ्नो तहबाट गर्न सकिने उपायहरूबारे विश्वव्यापी जनचेतना फैलाउनु हो ।

हाम्रोजस्तो विकासोन्मुख मुलुकमा मात्र नभएर विकसित मुलुकहरुमासमेत बाथरोगसम्बन्धी जनचेतना कम भएको पाईएको छ । अझ, हाम्रो समाजमा त यससम्बन्धी विभिन्न मिथ्या धारणाहरु विद्यमान छन् । धेरैजसो व्यक्तिहरुले ‘बाथसम्बन्धी रोग बुढ्यौलीसँगै आउने रोग हो’ भन्ठान्छन भने कसैले यसलाई ‘निको नहुने रोग’को रुपमा लिएको पाईन्छ ।

बाथसम्बन्धी रोग लागेको शंका भएका व्यक्तिहरुले समयमै विशेषज्ञ चिकित्सकसँग परामर्श लिई समयमै औषधि उपचार गरेमा बाथरोगलाई नियन्त्रणमा राखि सामान्य जीवनयापन गर्न सकिन्छ’ भन्ने कुरा अधिकांश व्यक्तिहरुलाई थाहा नै छैन । त्यसैले बाथरोगको रोकथाम, निदान, परामर्श र उपचारको लागि परिवार, समुदाय समाज र सरकारको सरोकारको साथसाथै पीडित व्यक्ति आफै पनि अझ बढी प्रोत्साहित र जिम्मेवार हुनुपर्दछ ।

सामान्य भाषामा बाथरोग (आरथ्राइटिस) भन्नाले शरीरका जोर्नी र यस वरपरका संरचनाहरु दुख्ने, सुन्निने र अररो भई राम्ररी चलमल गर्न नसक्ने अवस्था बुझिन्छ । हाम्रो समाजमा जोर्नी र जीउ दुख्ने समस्याको एक प्रमुख कारण बाथरोग र बाथजन्य स्वास्थ्य समस्याहरु हुन् । मानव शरीरमा हुनसक्ने १०० भन्दा बढी किसिमका बाथरोगहरुमध्ये गठिया (र्र्युमटोइड आरथ्राइटिस), जोर्नी खिईने बाथ (ओस्टियो-आरथ्राइटिस), गाउट (युरिक एसिडको बाथ), ढाडको बाथ (स्पोंडिलो-आरथ्राइटिस), बाल्यावस्थामा हुने बाथ (जुभेनाईल आरथ्राइटिस), लुपस (सिस्टेमिक लुपस इरिदम्यटोसस), मांसपेशीहरु दुख्ने समस्या (र्र्युमटिज्म) तथा मुटुको बाथज्वरो प्रमुख हुन् । रोगको किसिम र प्रकृति हेरी बाथरोगको निदान, उपचार व्यवस्थापन र जटिलता पनि फरक फरक हुने गर्दछन् ।

‘बाथरोग किन र कसरी हुन्छ’ भन्ने कुरा पूर्णरुपमा यकिन नभईसके तापनि विभिन्न अध्ययन अनुसार वंशाणुगत र वातावरणीय कारणले यो रोग लाग्नमा भूमिका खेलेको हुन्छ । वंशाणुगत कारणले एउटै परिवारका एक भन्दा बढी सदस्यहरुलाई यो रोग हुन सक्छ । त्यस्तै अन्य विभिन्न कारणहरु जस्तै: धुमपान, मद्यपान, अस्वस्थकर खानपान, मोटोपन र शारीरिक व्यायामको कमीले रोग उब्जाउने तथा भएको रोगलाई बढाउन सक्ने कुरा विभिन्न अध्ययनहरुले देखाएका छन् । विभिन्न किसिमका संक्रमणले पनि बाथसम्बन्धी रोग निम्त्याउन सक्ने तथा भईराखेको बाथरोगको असरलाई बढाउन सक्ने भएकोले यसतर्फ पनि समयमै ध्यान दिनु जरुरी छ ।

बाथरोग जुनसुकै उमेर, लिङ्ग, पेशा र वर्गका मानिसलाई हुनसक्ने भए तापनि समग्रमा महिलामा यसको प्रभाव बढी देखिन्छ I विभिन्न तथ्यांकअनुसार संयुक्त राज्य अमेरिकामा शारीरिक दुर्बलताको सबभन्दा प्रमुख कारण नै बाथरोग भएको थाहा हुन आएको छ I नेपालमा बाथरोगसम्बन्धी यकिन आँकडा नभए तापनि अन्य देशको आँकडालाई आधार मान्दा कुल जनसंख्याको करिब १० प्रतिशत जतिलाई कुनै न कुनै किसिमको बाथरोग भएको छ भन्न सकिन्छ । त्यसैले हाम्रो मुलुकका लाखौं जनताहरु बाथरोग एवं बाथजन्य स्वास्थ्य समस्या र यसबाट सिर्जित जटिलताहरुको परिणामस्वरूप कुँजिएर बस्न र निष्क्रिय एवं पीडादायी जीवन व्यतित गर्न बाध्य भएको कुरा सहजै अनुमान गर्न सकिन्छ ।

विभिन्न अध्ययन अनुसार बाथका दुई तिहाई भन्दा बढी बिरामी ६० बर्षभन्दा कम उमेरका भएको देखिएको छ, जुन समूहलाई समाजमा अत्यन्त उत्पादनशील तथा उर्जाशील उमेर समूह मानिन्छ । अरु दीर्घ रोगले जस्तै बाथरोगले पनि बिरामीलाई शारीरिकरुपमा मात्रै नभई मानसिकरुपमा पनि कमजोर तुल्याउंछ, जसले गर्दा व्यक्ति तथा परिवारकै कार्यक्षमता र उत्पादनशिलतामा ह्रास आउँछ । परिवारको हेरविचार र रेखदेख गर्नुपर्ने बेलामा बिरामी आफै परनिर्भर बन्नुपर्ने अवस्था सृजना हुन्छ ।

वर्षौदेखिको रोगको असर, लगातारको दुखाई, लामो अवधिसम्म औषधी सेवन गर्नुपर्ने बाध्यता एव निरन्तर थपिने आर्थिक भारले बाथरोगका बिरामीलाई समय समयमा उर्जाहिन, थकित र वैरागी बनाउन सक्छ । त्यसमाथि ‘ग्यारेन्टीका साथ रोग निको पारिदिने’ नाममा खोलिएका फुटपाथे पसल, लेवलबिनाका औषधीहरुको बिगबिगी र मनपरी उपचारले हानिकारक असर पुर्र्याई कष्टमाथि कष्ट थपिदिन्छ ।

यस्ता शारीरिक र मानसिक असरबाट परै रहन बाथरोगका बिरामीहरुले एकापसमा आफ्नो रोगसम्बन्धी ज्ञान, अनुभव र सहयोग आदानप्रदान गर्ने, आफन्त तथा साथीभाइसँग आफ्नो समस्याबारे छलफल गरि आफूलाई हलुङ्गो बनाउन प्रयत्न गर्ने, अरुलाई ढाडस दिनुका साथै नियमित रुपमा शारीरिक व्यायाम र कसरत गर्ने गर्नुपर्दछ । यी सबैका लागि आफ्नो रोग र भविष्यप्रति सकारात्मक सोचको आवश्यकता पर्दछ । एक्लैले भन्दा समूहमा सँगसंगै काम गरेर यी सबै कार्यमा सफलता प्राप्त गर्न सहज हुन्छ ।

नेपालमा बाथरोगसम्बन्धी सेवाको सुरुवात प्रभावकारी ढंगले हुन् सकेको छैन । यसको एक प्रमुख कारण देशमा बाथरोगसम्बन्धी विशेषज्ञ जनशक्तिको टड्कारो अभाव नै हो । त्यसमाथि बाथरोगको क्षेत्रमा राज्यको पहुँच नपुगेको तथा बाथरोगीको समस्याप्रति सरकारको ध्यानाकर्षण हुन नसकेको कुरा जग जाहेर नै छ । त्यसैले देशभित्रै लाखौंको संख्यामा रहेका बाथका बिरामीहरुको समयमै सही उपचार पाउनुपर्ने नैसर्गिक अधिकारलाई ख्याल गर्दै राज्यले जिम्मेवारीपूर्वक दायित्वबोध गरेर दक्ष जनशक्ति उत्पादन एव सरल र सहज रुपमा सेवाको सुरुवात एवं सेवा विस्तारमा तत्कालै पहलकदमी लिनु अत्यन्तै जरुरी भैसकेको छ ।

विश्वका धेरै देशमा बाथरोगका बिरामीहरुबिच एकापसमा सहयोग आदानप्रदान गर्न, रोगसम्बन्धी ज्ञान र अनुभव साटासाट गर्न, रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्न तथा बाथरोगका बिरामीहरुको आवाज सामूहिक र संगठितरुपले अघि बढाउन बाथरोगसम्बन्धी विभिन्न संगठन-समाजहरु खुलेका छन् ।

नेपालमा पनि केही बर्ष अघिमात्रै बाथका बिरामीहरु, बिरामीका आफन्तजन, शुभचिन्तक, तथा यस क्षेत्रमा काम गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीको पहलमा ‘नेपाल बाथरोग मैत्री समाज’को स्थापना भई क्रियाशील रहेको छ । आशा गरौ, यसले बाथका बिरामीको आवाजको पक्षमा सामूहिक र संगठित रुपले अझ बढी पैरवी गर्नेछ । रोगबारे व्यापक जनचेतना अभिवृद्धिका साथसाथै बाथका बिरामीहरुको पीडा, औषधी उपचारबारे बिभिन्न अड्चन र समस्या, सरकारी एवं गैह्र सरकारी सहयोग तथा बाथरोगसम्बन्धी सरल र सहज सेवा विस्तारबारे निरन्तर आवाज बुलन्द गर्ने छ ।

(लेखक पाटन अस्पताल तथा आरोग्य स्वास्थ्य सदन, नेपाल बाथरोग उपचार केन्द्र, ललितपुरसँग सम्बद्ध हुन् ।)

प्रतिक्रिया
सम्बन्धित