मंगलबार, ३१ साउन २०७९
DainikNepal.com
मंगलबार, ३१ साउन २०७९

खोप लगाएका व्यक्तिलाई किन कोरोनाभाइरस लाग्छ?

दैनिक नेपाल २०७८ पुष २७ गते १०:४४

काठमाडौं, २७ पुस। विश्वमा कोभिड-१९ महामारीको नयाँ लहर देखा परिरहेको छ।

संयुक्त राज्य अमेरिका, फ्रान्स, संयुक्त अधिराज्य, अर्जेन्टिना, ब्राजिल र कैयौँ अरू देशहरूले डेल्टा र ओम्रिकोन भेरिअन्टहरूको मिश्रणका कारण कीर्तिमानी सङ्ख्यामा सङ्क्रमणहरू बेहोरिरहेका छन्।

तर वैज्ञानिकहरू, चिकित्सकहरू र स्वास्थ्य सेवा दिने संस्थाहरू अझै पनि कोरोनाभाइरसबाट सुरक्षा प्राप्त गर्नका लागि परीक्षण र अनुमोदित भइसकेका खोपहरूमै निर्भर छन्।

यहाँ हामी खोपले महामारी नियन्त्रण कति सहज बनाइरहेका छन् भनेर विश्लेषण गर्दैछौँ:

भ्रामक विवादले प्रश्रय पाइरहेको

अमेरिका, फ्रान्स र संयुक्त अधिराज्य जस्ता देशमा देखिएको दैनिक सङ्क्रमण सङ्ख्याले सामाजिक सञ्जालमा खोपको प्रभावकारिताबारे प्रश्नहरू जन्माएको छ।

कतिपय प्रयोगकर्ताहरूले खोप लगाउन प्रोत्साहन गर्न चालिएका कदमहरूको आलोचना गरिरहेका छन् अरू कतिपयले खोपका सम्भावित असरहरूलाई लिएर असन्तुष्टि जनाएका छन्।

हालसम्मको अनुभवबाट खोपका कारणले देखिने साइड इफेक्टहरू स्वतः केही दिनमा नै हराएर जान्छन् भन्ने देखिएको छ। अहिलेसम्म आएका गुनासामा खोप लगाएको ठाउँ दुख्ने र रातो हुने, ज्वरो आउने र टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, चिसो लाग्ने र वाकवाक आउने हुन्।

गम्भीर खालका घटनाहरू जस्तै एलर्जीका कारण उत्पन्न हुने एनाफलाकसिस, रगत जम्दा उत्पन्न हुने समस्या थ्रोमबोसिस, मुटु सम्बन्धी समस्या पेरीकारडाइटिस र मायोकारडाइटिसलाई दुर्लभ मानिएको चिकित्सकहरू बताउँछन्। खोपको लाभ हाल देखिएका जोखिम भन्दा कम रहेको उनीहरूको भनाइ पाइन्छ।

एक जना बाल स्वास्थ्य र सङ्क्रामक रोग विशेषज्ञ रिनाटो केफोरीले अहिलेका खोपको प्रभावकारिता खोप लगाएका व्यक्तिहरूलाई सङ्क्रमण हुने र उनीहरूबाट कोरोनाभाइरस सर्नसक्ने तथ्यबारे बीबीसीसँग कुरा गरेका छन्।

उनले फाइजर, आस्ट्राजेनेका र जेनसेन सहितका कम्पनीले पहिलो चरणमा ल्याएका खोपहरूको उद्देश्य सङ्क्रमणको गम्भीर असरलाई नियन्त्रण गर्नु र अस्पतालमा भर्ना हुने र ज्यान गुमाउनेको सङ्ख्या कम गर्नु भएको उल्लेख गरे।

“खोपले मध्यम वा लक्षण नदेखिने किसिमका भन्दा झन् गम्भीर खालका कोभिडविरुद्ध अझ प्रभावकारी रूपमा सुरक्षा दिन्छ। जति जटिल सङ्क्रमण हुन्छ त्यति नै खोपको प्रभावकारिता पाइएको छ, ” ब्राजिलको सोसाइटी अफ इम्युनाइजेशन्सका निर्देशक रहेका केफोरीले बताए।

त्यही भएर खोप लगाउनुको मुख्य उद्देश्य सङ्क्रमण नै रोक्नु भन्दा कोरोनाभाइरसको आक्रमण शरीरका लागि कम घातक बनाउनु हो।

यही तर्क दशकौँदेखि उपलब्ध भएको फ्लू खोपका हकमा लागु हुन्छ।

प्रत्येक वर्ष दिइने खोपको मात्राले इन्फ्लुएन्जा भाइरसको सङ्क्रमणलाई रोक्दैन तर यसले बालबालिका, गर्भवती महिला र ज्येष्ठ नागरिक जस्ता जोखिममा पर्ने समूहलाई तुरुन्तै अवस्था बिग्रनबाट रोक्छ।

गम्भीर प्रकारका सङ्क्रमणबाट रोक्ने अवस्थाले प्रत्यक्ष रूपमा सम्पूर्ण स्वास्थ्य प्रणालीलाई प्रभाव पार्छ। श्वास प्रश्वास सम्बन्धी जटिल सङ्क्रमणहरूको सङ्ख्या घट्दा त्यसले अस्पतालका आकस्मिक कक्षहरूमा चाप घटाउने, इमरजेन्सी केअर वार्डहरूमा शयाहरू बढी उपलब्ध हुने अवस्था निर्माण गर्न र स्वास्थ्य टोलीहरूलाई उपयुक्त किसिमले बिरामीको परीक्षणका लागि थप समय उपलब्ध गराउनेछ।

र तथ्याङ्कहरूले खोपले आफ्नो भूमिका एकदमै राम्रोसँग खेलिरहेको देखाएको छ। कमनवेल्थ फन्डका अनुसार कोरोनाभाइरस विरूद्धको खोपले नोभेम्बर २०२१ सम्म संयुक्त राज्य अमेरिकामा ११ लाख मृत्यु नियन्त्रण गरेको र १ करोड ३० लाख मानिसहरूलाई अस्पताल जानबाट रोकेको थियो।

युरोपेली सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको खोप दिन थालिए यता युरोपका ३३ देशमा ६० वर्ष भन्दा माथिका ४ लाख ७० हजार मानिसको ज्यान जोगिएको उल्लेख गरेको छ।

अहिलेको अवस्थालाई केले व्याख्या गर्छ?

अहिलेको अवस्थामा खोप लगाइसकेका व्यक्तिमा कोरोनाभाइरस पुन: सङ्क्रमण वा पोजिटिभ देखापर्ने क्रम वृद्धि भइरहेकोमा दुईमत छैन र यसको पछाडि तीनवटा कारण छन्।

पहिलो कारण सामान्य छ। मानिसहरू परम्परागत रूपमा नै नयाँ वर्ष र क्रिसमस मनाउन एक ठाउँमा भेला हुन्छन्।

दोस्रो, विश्वका कतिपय क्षेत्रमा खोप उपलब्ध भएको एक वर्षपछि विज्ञहरूले खोपबाट कोभिड विरुद्ध प्राप्त हुने प्रतिरक्षा सधैँ कायम नरहने तथ्य सिकेका छन्।

केफोरीका अनुसार खोपको प्रकार र प्रत्येक व्यक्तिको उमेरले प्रतिरक्षा प्रणाली कति कमजोर बन्छ भन्ने निर्धारण गर्छ।

यसले ज्येष्ठ नागरिक वा प्रतिरक्षा प्रणाली कमजोर भएका र त्यसपछि सम्पूर्ण वयस्क जनसङ्ख्यालाई तेस्रो मात्रा खोप दिनुपर्ने आवश्यकतालाई अझ उजागर गरिदिएको उनको भनाइ छ।

तेस्रो कारण चाहिँ ओमिक्रोन भेरिअन्ट देखा पर्नुलाई मानिएको छ। यो खोपका वा पहिले नै देखा परेको कोभिडका कारण कायम भएको प्रतिरक्षा प्रणाली विरुद्ध पनि आक्रामक रहेको छ।

“यसलाई हेर्दा खोप लगाएका व्यक्तिहरूमा सङ्क्रमण देखिनुलाई एकदमै सामान्य रूपमा लिइनुपर्छ र हामीले यो अवस्थासँग बाँच्न सिक्नुपर्छ, “केफोरीले भने।

“भाग्यवश हालैको कोभिड सङ्क्रमणको वृद्धिले अस्पताल भर्ती हुने र ज्यान गुमाउने दरलाई कम बनाएको छ विशेष गरी खोप लगाइसकेका मानिसहरूको हकमा। खोपले सङ्क्रमणका गम्भीर प्रकारहरू विरुद्ध अहिले पनि सुरक्षा दिइरहेको छ।”

न्यू योर्क शहरको स्वास्थ्य प्रणाली सम्बन्धी चार्टहरूले खोप लगाएका र नलगाएका व्यक्तिहरूमा सङ्क्रमण, अस्पताल भर्ती हुनुपर्ने र ज्यान गुमाउनुपर्ने अवस्थाबारे एउटा प्रारूप दिने क्रममा खोप प्रभावकारी भएको निष्कर्ष निकालेको थियो।

अमेरिकाभरको तहमा पनि खोपको प्रभावकारिता त्यस्तै पाइएको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको छ।

संयुक्त अधिराज्यको स्वास्थ्य तथा सुरक्षा निकाय पनि एउटा प्रतिवेदनमा यस्तै निष्कर्षमा पुगेको थियो।

उक्त प्रतिवेदनमा उल्लेख गरिएको एउटा विश्लेषण यूकेको क्यामब्रिज विश्वविद्यालयबाट आएको थियो जसले तीन मात्रा खोप लगाएको कुनै पनि व्यक्तिलाई ओमिक्रोनबाट सङ्क्रमण देखिए अस्पतालमा भर्ना हुनुपर्ने दर ८१ प्रतिशतले कम हुने उल्लेख गरेको थियो।

उक्त सरकारी निकायले गरेको अध्ययनले तीन मात्रा खोप दिँदा ८८ प्रतिशत प्रभावकारी हुने पाइएको उल्लेख गरिएको भए पनि त्यो सुरक्षा कहिले सम्म प्राप्त हुन्छ भनेर खुलाइएको छैन।

केफउरीले यी प्रमाणले ओमिक्रोन भेरिअन्ट र बढिरहेका सङ्क्रमणका घटनाका सन्दर्भमा खोपको महत्त्व अझ पुष्टि गरेको डाक्टर केफोरी बताउँछन्। (बीबीसी)

 

प्रतिक्रिया
सम्बन्धित