शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एमालेभित्रको विवादमा कम्युनिष्ट मोर्चाको सोच

डा. केशव देवकोटा २०७८ जेठ २४ गते २०:२८


-डा. केशव देवकोटा

सत्तारुढ एमालेभित्र नेताहरुकाबीचमा विवादहरु चलिरहेका छन् । एकताका कुरा र विभाजनका गतिविधिहरु भएका कारण सर्बसाधारणमा त्यसले अन्योलको अवस्था सिर्जना गरेको छ ।

एमालेका दुबै समूहले केन्द्रदेखि स्थानीय तहसम्मनै समानान्तर समिति तयार गरिसकेका कारण अब दुई समूहकाबीचमा सहजै एकता संभव छैन ।

यत्रो विवाद भैसकेपछि अलग अलग पार्टी गठन गरेर केही समय अभ्यास नगर्दै चर्को बिवादहरुकैबीचमा एकता गरियोभने त्यो विष्फोटपूर्ण हुने निश्चित छ ।

एमालेको माधव नेपाल पक्षले ०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई पु¥याउने जुन अवधारणा ल्याएको छ, त्योनै एमालेलाई एक हुननदिने बिवादको मुख्य जड हो ।

०७५ जेठ २ मा पार्टीलाई फर्काएर माधव नेपाल समूहले ०७५ जेठ ३ गते भएको माओवादी केन्द्रसँगको पार्टी एकतालाई मान्यता नदिने र त्यसपछि भएका पार्टीका गतिबिधिलाई बेवास्ता गर्ने जुन नीति अगाडि सारेको छ, त्यसले कसैगरे पनि पार्टी एकता हुन सक्दैन ।

यदि एमालेको केपी ओली र माधव नेपाल समूहले पार्टी एकता गर्नेनै होभने हाल एमालेको जे अवस्था छ त्यसलाई दुबै पक्षले निशर्त स्वीकार गर्नुपर्दछ ।

त्यसपछि दुबै पक्षले खासखास घटनालाई नकिटे पनि आआफ्नोतर्फबाट भएको गल्ती र कमी कमजोरीलाई भबिश्यमा दोहरिन नदिने प्रणका साथ सार्बजनिक रुपमा लिखित आत्मालोचना गर्नुपर्दछ ।

त्यसपछि अब के गर्नेभन्ने कुराहरु आउँदछन् । एमालेको आगामी महाधिवेशनको मिति परिवर्तन गरेर भएपनि दुबै समूहका केही नेताहरुलाई राखेर सानो र नयाँ महाधिवेशन आयायोजक समिति बनाइनु पर्दछ ।

त्यसैगरी देशैभर बनाइएका समानान्तर समितिहरु केन्द्रबाटै एकमुष्ठ बिघटनको घोषणा गरेर सबै समितिहरु निश्चित मापदण्डका आधारमा पुनरगठन गरिनु पर्दछ ।

एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएपछि पार्टीलाई बिधि र पद्धतिअनुसार सञ्चालन नगरी पार्टीको समिति बाहिर गएर गुट बनाउनेहरु को को थिए ? सबैले राम्ररी चिनेका छन् । यथार्थमा तत्कालीन नेकपालाई फुटाउने तिनै ब्यक्ति हुन् अदालत र निर्वाचन आयोग होइन ।

त्यसो नगर्ने होभने दुबै समूह आआफ्नो बाटो लाग्दा राम्रो हुन्छ । बुझ्नुपर्ने कुरा के छभने यतिबेला केपी ओलीसँग बनिबनाउ पार्टी र साथमा सरकार पनि छ । त्यस्तो अवस्थामा माधव नेपाल समूहले आफूलाई ओली समूहको समानान्तर शक्ति ठान्नु गलत हुन्छ ।

सर्बोच्च अदालतको ०७७ फागुन २३ गतेको फैसलाले एमाले र माओवादी केन्द्रलाई अलग गरेको होभन्ने एउटा वाहियात अफवाह फैलाइएको छ । वास्तवमा त्यो सरासर झुठ कुरा हो । उक्त फैसलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामलाईमात्र खारेज गरेको थियो ।

नाम खारेज भएपनि एमाले र माओवादी केन्द्रका नेताहरुले एकता कायमनै राख्न चाहेको भए सो फैसला बाहिर आएको आधाघण्टाभित्रमा नेपाल कम्युनिष्ट पार्टीको पछाडि अर्को नयाँ पुच्छर झुण्ड्याएर पार्टी एकता कायमनै रहेको दाबिगर्न सकिने अवस्था थियो । त्यसो गर्न सकेको भए सर्बोच्च अदालत होइन संसारको कुनैपनि शक्तिले दुई पार्टीको एकतालाई अलग गराउन सक्ने थिएन ।

तत्कालीन नेकपाका अध्यक्षद्वयबीचको आपसी मनोमालिन्य र तीक्ततालेगर्दा एमाले र माओवादी केन्द्र फागुन २३ अगाबै ब्यवहारिकरुपमा भित्रभित्रै बिभाजित भैसकेका थिए ।

फागुन २३ गतेको फैसलाले आआफ्नो बाटो लाग्ने बहानामात्र दिएको हो । यतिबेला पनि एमाले र माओवादी केन्द्रको नेतृत्वले चाहाने होभने फेरी नेपाल कम्युनिष्ट पार्टीको पछाडि नयाँ पुच्छर जोडर आजको आजै पार्टी एकतालाई ब्युँताउन सकिने अवस्था छ ।

एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएपछि पार्टीलाई बिधि र पद्धतिअनुसार सञ्चालन नगरी पार्टीको समिति बाहिर गएर गुट बनाउनेहरु को को थिए ? सबैले राम्ररी चिनेका छन् । यथार्थमा तत्कालीन नेकपालाई फुटाउने तिनै ब्यक्ति हुन् अदालत र निर्वाचन आयोग होइन ।

सिद्धान्तहीन तरिकाले एमाले र माओवादी केन्द्रकाबीचमा पार्टी एकता गराएर फेरी फुटको अवस्थामा पुर्याउनेहरुले नै हालको सबै भाँडभैलोको सिर्जना गरेका हुन् । भित्रीरुपमा एकले अर्काको पार्टी तहसनहस पार्ने मनशाय राखेर पार्टी एकता गरेपछि हुने परिणाम यहीनै हो ।

अर्को कुरा के पनि छभने यतिबेला माओवादी केन्द्र र एमालेको माधव नेपाल समूह नेपाली कांग्रेस र जसपाजस्ता दक्षिणपन्थी पार्टीहरुसँगको कार्यगत एकतामा रहेका छन् ।

कम्युनिष्ट पार्टी नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार गठन गराउन उनीहरुले टुपिदेखिको बल लगाएको देखिएको छ । मौका पर्योकि कांग्रेससँग पटक पटक कार्यगत एकता गर्नेहरुसँग कुनैपनि कम्युनिष्ट समूहहरुले पार्टी एकता गर्दैनन् ।

बिभिन्न पार्टीबाट निकालिएका लुच्चा, लफङ्गा र आवाराहरुलाई समेटेर कोही कसैले पार्टी बनाउँदछ भने त्यसलाई कम्युनिष्ट पार्टीको संज्ञा दिन सकिंदैन ।

यतिबेलाको अवस्थामा नेकपा (मसाल) र सो पार्टीको राष्ट्रिय जनमोर्चा आफ्नै पार्टी संगठनकोक्रममा छ । नेकपा (माले) माधव नेपालहरुसँग पार्टी एकता त के कार्यगत एकतासमेत नगर्ने पक्षमा रहेको छ ।

नेमकिपासँग पार्टी एकतागर्ने कोही सकैले पनि कल्पनासमेत नगर्दा हुन्छ । ऋषि कट्टेल नेतृत्वको नेकपा, नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा, मोहन बैद्य नेतृत्वको ( क्रान्तिकारी माओवादी) लगायतका दर्जन बढी कम्युनिष्ट समूहहरुले हालैमात्र कार्यगत एकताको घोषणा गरेका छन् ।

उनीहरु हालको ब्यवस्थाको समाप्ति र जनमत संग्रहबाट समाजवादी ब्यवस्थाको स्थापनाको पक्षमा पुगेका छन् । यस्तो अवस्थामा एमालेको माधव नेपाल समूहसँग कस्ले पार्टी एकता गर्छ ? हावा कुरा गरेर जनतामा भ्रम सिर्जनागर्नु राम्रो होइन ।

आफूले नेतृत्व नपाएपछि महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सडकबाटै हटाउने, अरु पार्टीका ब्यक्तिहरुसँग मिलेर आफ्नो पार्टीको नेतृत्वलाई तथा नाम गाली गर्ने र भैरहेको बनिबनाउ पार्टी भताभुंग बनाएर नयाँ पार्टी बनाउने ? यो कुन कम्युनिष्ट नैतिकता र आचरणको कुरा हो ?

त्यसैले एमालेका मित्रहरुले सकिन्छभने आजको अवस्थालाई आधार बनाएर पार्टी एकढिक्का बनाएर अगाडि बढौं । होइनभने एमालेको बिवाद चर्काएकोजस्तो बहाना गरेर नेपालका सारा कम्युनिष्टहरुको तेजोबध गर्ने काम नगरौं ।

प्रतिक्रिया
सम्बन्धित