शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

‘नेपालमा कोरोना भन्दा नसर्ने रोग भयावह’

बालबालिकामा जन्मजात देखिने डिस्लेक्सियाको प्रभाव बढ्दै

दैनिक नेपाल २०७७ असोज २६ गते १४:३९

लन्डन, २६ असोज । नेपालमा नसर्ने रोगहरुको अवस्था भयावह बन्दै गएको विज्ञहरुले निष्कर्ष निकालेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित ‘लाइफ एन्ड हेल्थ साइन्स’ विषयक कार्यक्रममा विज्ञहरुको छलफलबाट नेपालमा नसर्ने रोगहरुको अवस्था निकै चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेका हुन् ।

कार्यक्रममा डा. अभिनभ वैद्यले मधुमेह, मुटु रोग, उच्च रक्तचाप, क्यान्सर, हृदयघात, मष्तिस्क घात, अम्लपित्त, मृगौला खराबी, दम, माइग्रेन, डिप्रेशन, मोटोपना आदी नसर्ने रोगहरुले नेपालमा भयावह अवस्था लिँदै गएको बताए ।

यी रोगहरुबाट ४० वर्षभन्दा मुनि उमेरका युवा वर्ग बढी प्रभावित भएको बताउँदै उनले यी रोगहरुबाट बच्न सोच्नुपर्ने बेला आएको उल्लेख गरे । ४० वर्षभन्दा कम उमेरका ३७ दशमलव ९ प्रतिशत युवाहरु नसर्ने रोगबाट नप्रभावित बनेको डा. वैद्यले जानकारी दिए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा. सरोज निरौलाले विश्वमा वार्षिक १० लाख मानिसहरुले क्यान्सरका कारण ज्यान गुमाउने गरेको बताए । क्यान्सरबाट ज्यान गुमाउनेहरुमा ७० प्रतिशत निम्न तथा मध्यम आय भएका मुलुकका मानिसहरु रहेको उनले उल्लेख गरे । नेपालमा पनि क्यान्सरका रोगीहरु बढ्दै गएको बताउँदै उनले नसर्ने रोग क्यान्सरबाट बचाउन जीवनशैली तथा खानपानमा ध्यान दिनुपर्ने सुझाव दिए ।

धुलो, धूँवा, विकिरण रसायनको प्रयोग, विषाक्त खानेकुराले क्यान्सरको जोखिम बढेको बताउँदै स्वस्थ जीवनशैली नै क्यान्सरसँग लड्ने पहिलो आधार भएको उनले बताएका छन् ।

चेतनाको कमी, प्रविधिको अभाव, मानव स्रोत साधनको अभाव, अनुसन्धानको अभाव लगायत कारण विकासशील मुलुकहरुमा यसको समस्या बढ्दै गएको उनको भनाइ थियो ।

भरत नेपाल (सिनियर मेन्टल हेल्थ एजुकेशन अफिसर अस्ट्रेलिया) ले मानसिक स्वास्थ्यको विषय महामारीभन्दा अगाडिदेखि नै उठेको बताए । तर, कोरोना महामारीका कारण थप यसको जटिलता बढेको उनले उल्लेख गरे ।

कार्यक्रममा बोल्दै उनले नेपालले कोरोना महामारीका कारण रोजगारी गुमाउँदा, लामो समयसम्मको बेरोजरीका कारण कमजोर आर्थिक अवस्था तथा अभावका कारण अधिकांशको मानसिक स्वास्थ्यमा असर परेको बताए । मानसिक समस्याकै कारण मानिसहरु आत्महत्या गर्ने अवस्थासम्म पुग्ने गरेको बताउँदै पुरुषको तुलनामा ठूलो संख्यामा महिलाहरुले आत्महत्या गर्ने उनले उल्लेख गरे ।

४५ प्रतिशतसम्म महिलाहरुले आत्महत्या गर्ने प्रवृति देखिएको उनको भनाइ छ । मानसिक समस्याबाट बच्नका लागि सकारात्मक सोच, स्वस्थ जीवन शैलीमा ध्यान दिनुपर्ने उउनले बताए ।

डा. कृष्णबहादुर थापाले बालबालिकामा जन्मजात देखिने डिस्लेक्सियाको प्रभाव बढ्दै गएको बताए । विश्वमा विद्यालय जाने अवस्थाका ३ देखि १९ प्रतिशत बालबालिकाहरुमा यस्तो समस्या रहने अध्ययनले देखाएको बताउँदै नेपालको सन्दर्भमा पनि बालबालिकाहरुमा यस्तो समस्या बढ्दै गएको जानकारी दिए । सचेतनाको अभावले नेपालमा यस्तो रोग लागेका बच्चाहरुका लागि छुट्टै शिक्षा प्रणालीको व्यवस्था गर्न नसकिएको उनको भनाइ छ ।

‘डिस्लेक्सिया भएका बच्चाहरु अरु सामान्य बच्चाहरुभन्दा फरक हुन्छन् । उनीहरु सुद्ध उच्चारण गर्न नसक्ने तथा एकदमै ढिला अध्ययन गर्ने हुन्छन् । दायाँ र बाँट्याउन नसक्ने हुँदा उनीहरु स्मल बी र डीलाई एउटै देख्छन् । जसले पनि अध्ययनमा अप्ठ्यारो हुन्छ’, उनले भने ।

यस्ता बालबालिकाको अवस्था अनुसार पेडागोजि तयार गरी सोेहीअनुसार डिस्लेक्सिया भएका बालबालिकालाई सिकाई प्रणाली लागू गर्न राज्यले पनि ध्यान दिनुपर्ने उनको जोड छ ।

प्राडा अन्जना सिंहले नेपालमा डेंगु भाइरसको प्रभावका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । डेंगु एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाईबाट लाग्ने उहाँले बताए । नेपालमा २००४ सालमा डेंगु देखिएको बताउँदै उनले नेपालमा डेंगु संक्रमण बढ्दै गएको उल्लेख गरे ।

‘डेंगु एउटा मानिसबाट अर्को मानिसमा सर्दैन र यो तबमात्र सर्छ जब एउटा लामखुट्टेली संक्रमित मानिसलाई टोक्छ र त्यो लामखुट्टेमा भाइरस विकास भएर त्यो लामखुट्टेले अर्को स्वस्थ मासिलाई टोक्छ’, उनले भने ।

यो रोगबाट बच्न घर वरपरको सरसफाइमा ध्यान दिई पानीजम्ने खाल्डाखुल्डी पुर्ने तथा झाडी हटाउनुपर्ने उनको भनाइ छ । पूर्व स्वास्थ्य सचिव डा सुधा शर्माले एनआरएनएले यो महामारीको समयमा आयोजना गरेको लाइफ एन्ड हेल्थ साइन्स विषयक कार्यक्रम निकै महत्वपूर्ण भएको बताए । उनले नेपालमा अर्टिजम डिस्लेक्सिया लगायत मानसिक रोग, मुटु रोग, क्यान्सर, डेंगु लगायत नसर्ने रोगहरुको जोखिम बढ्दै गएको बताउँदै न्यूनीकरणका लागि राज्यसँगै सम्पूर्ण सरोकारवालाको सहकार्य आवश्यकता भएको औंल्याए ।

यस्तै डा. कृष्ण काफ्लेले नेपालको मध्यपहाड मानव, वन्यजन्तुबीचको द्वन्दक्षेत्रदेखि जुनोटिक रोगहरुको उच्च जोखिम क्षेत्र बन्दासम्मको परिवर्तन विषयमा कार्यप्रस्तुति गरेका थिए ।

त्यस्तै डा. ज्ञानेन्द्र गोंगल (रेजनल एडभाइजर अफ डब्ल्युएचओ), डा. एमडी खुर्शिड अलाम हाइडेर (डब्ल्यूएचओ), प्रो.डा. अभिनाव वैध (काठमाडौं मेडिकल कलेज), डा. फनिन्द्रप्रसाद बराल, डा. सरोज निरौला, डा. ओमराज भण्डारी, डा. सिमोन सुटडिफी, प्रो.डा. शान्थि जोनसोन, डा. विराज कर्माचाय, भरत नेपाल (अस्ट्रेलिया नेपाल पब्लिक लिंक) लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित