शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सर्वोच्च अदालत छिर्न नै प्रधानन्यायाधीश राणाले राजनीतिक प्रभाव बनाएका थिए !

तत्कालिन संसदीय सुनुवाई समितिका सदस्य चित्रबहादुर केसीको सनसनी खुलासा 

दैनिक नेपाल २०७७ साउन १२ गते ९:२१

काठमाडौं, १२ साउन । सशस्त्रका पूर्वडिआईजी रञ्जन कोइरालाले पत्नी गीत ढकालको हत्या गरेको अपराधमा सजाय छोट्याएर विवादमा आएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका विषयमा थप विवरण सार्वजनिक हुने क्रम जारी छन् ।

नेपालको न्यायीक निकायका प्रमुखका विषयमा अत्यधिक विवाद र सतहमा राणाका सन्दर्भमा विविध जानकारी दिने क्रममा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले सनसनी खुलासा गरेका छन् ।

सर्वोच्चमा न्यायाधीश बन्नका लागि राणाले नेपाली कांग्रेस र तत्कालिन नेकपा माओवादी तथा एमाले दुवै दलका नेतालाई प्रभावमा पारेको खुलासा गरेका हुन् । सार्वजनिक भएको एउटा भिडिओ बयानका क्रममा केसीले भनेका छन्,‘अन्तिममा आएर त्यसबेलाका माओवादी र एमाले बिकेका थिए ।’

०७१ सालमा न्यायाधीश प्रस्ताव भएपछि संसदीय सुनुवाईका क्रममा राणालगायत केहीलाई ल्याउन हुन्न भनी आफूले अडान कसेको स्मरण गर्दै केसी भन्छन्,‘कांग्रेसको कुरै छाडौं । ३१ दिनसम्म चलेको त्यो सुनुवाई प्रक्रियामा मैले हुन्न भन्दा नेकपा माओवादी र एमालेका नेताले २०–२२ दिनसम्म साथ दिएका थिए । तर पछी लत्तो छाड्न बाध्य भए ।’

व्यक्तिगत रुपमा पनि राणाले न्यायाधीश बन्नका लागि समितिमा सदस्य रहेको आफूलाई प्रभावमा पार्न मान्छे परिचालन गरेको केसीले खुलासा गरेका छन् ।

उनले अगाडि थपेका छन्,‘दिपकराज जोशीले फोन गरेर भेटौं भने, चालेन्द्र आफैंले भने फोन गरेनन् । तपाईहरूको सुनुवाई गर्दैछु, किन भेट्छु भनें ।’

राणाले भने आफन्तमार्फत प्रभावमा पार्न खोजेको स्मरण केसीले गरेका छन् । गलकोटे राजाकी छोरी राणाकी भान्जीको उपयोग गरेको उनी बताउँछन् ।

उनी अगाडि भन्छन्,‘विष्णुबम मल्लकी पत्नी चोलेन्द्रको भान्जी पर्ने रहेछ । उनले फोन गरेर मामा चोलेन्द्र शमशेरले भेट्न खोज्नुभएको छ । मामाले औधी भेट्न खोज्नु भाछ भन्नुभयो । मैकहाँ आउने कि म लिन आऊँ भनेर प्रस्ताव गरिन् । म सुनुवाई समितिको मान्छे अहिले भेट्दिन, सुनुवाईपछि भेटौंला भनें ।’

आफ्नो अडानमा साथ दिएका नेताहरूले नै गैरजिम्मेवार भएर लत्तो छाडेको विषयमा पनि आफूले सोधेको उनले खुलासा गरेका छन् । केसी भन्छन्,‘माओवादी र एमालेका नेताले लत्तो छाडे । अग्नी सापकोटा, गिरीराजमणि, टोपबहादुरलाई एकान्तमा सोधें, यस्तो मान्छेलाई छाड्ने हो ?’

टोपबहादुरले जवाफ दिएको स्मरण गर्दै केसी भन्छन्,‘दाईले भनेको ठिक हो तर बालुवाटारमा प्रचण्डले आफ्नो भाग बुझिसके हामी त विरोधमा उत्रिन सक्तैनौं ।’

यति मात्र नभएर विरोधमा साथ दिएका तत्कालिन एमालेका नेताहरू भिम रावल, सुरेन्द्र पाण्डे र राजेन्द्र पाण्डेलाई पनि आफूले सोध्दा उनीहरू पनि नाजवाफ भएको केसीको भनाई छ ।

‘कांग्रेसले मार्ने भए यहिँ मार्थे विरोध गर्दा तिमीहरूले किन लत्तो छाडेको भनेर सोधें, उनीहरूले के गर्ने दाई नेताहरू मिलिसके भन्ने जवाफ दिए’, केसीले अगाडि भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित