शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

काठमाडौंमा कोरोना संक्रमित कम भेटिनुका कारणहरू यस्तो देख्छन् जनस्वास्थ्य विज्ञ पाण्डे

दैनिक नेपाल २०७७ असार १५ गते ९:३६

काठमाडौं, १५ असार । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या अन्य ठाउँमा भन्दा कम देखिनुका केही कारण विश्लेषण गरेका छन् ।

विश्वका अन्य सहरको अवस्थाभन्दा काठमाडौंको किन फरक छ ? भन्ने आम जिज्ञासा छ  । काठमाडौं उपत्यका बाहिरबाट भित्रिनेको संख्या बढिरहेको छ । यस्तो अवस्थामा पनि काठमाडौं शान्त रहेको छ । राज्यले पनि काठमाडौंमा सर्भे तथा परीक्षण गर्ने उत्सुकता देखाएको छैन ।

११ बुँदामा पढौं पाण्डेका विश्लेषण

१. काठमाडौंको जनसंख्या बढी नै सतर्क हुने मनोवृत्तिको छ लकडाउनपछि पनि धेरै नागरिक घरबाहिर एकदम कम निस्केका छन् ।

२. भारतबाट फर्किएर काठमाडौं आउने नागरिकको संख्या नगन्य छ । एयरपोर्ट बन्द भएको हुँदा र चार्टर उडानमा आएका परीक्षण गरेर आउने, उनीहरुलाई क्वारेन्टाइनमा राखेर यहाँ पनि परीक्षण गर्ने तथा संक्रमितलाई अस्पतालमा राख्ने प्रणालीको कारण समुदायमा संक्रमण जान सकेको छैन ।

३. टेस्ट रिपोर्ट र सिफारिसबिना काठमाडौं आउन नपाइने समाचारको कारण अधिकांश व्यक्तिले यो झंझट गर्नुभन्दा केही समयपछि काठमाडौं आउने मनस्थिति बनाएका छन् । त्यस्तै सार्वजनिक यातायात नचलेको हुँदा आम नागरिकलाई काठमाडौं आउन कठिन छ ।

४. अब्यबस्थित क्वारेन्टाइनको कारण अन्य जिल्लामा संक्रमण बढेको छ  । काठमाडौं उपत्याकामा क्वारेन्टाइनको संख्या न्यून भएको तथा भएका क्वारेन्टाइन पनि ब्यबस्थित भएकोले संक्रमण फैलिन पाएको छैन ।

५. घाम ताप्ने, घरमै पकाएको ताजा खाना खाने, मास्क लगाउने, व्यक्तिगत दूरीको ख्याल गर्ने, हात धोइरहने, ब्यायाम गर्ने, दीर्घ औषधि सेवीले औषधि नछोड्ने, स्वास्थ सेवाको पहुँच सहज भएको तथा चेतनाको स्तर केही माथि भएको हुँदा कोरोनको कडी तोडिएको पनि हुनसक्छ ।

६. बन्द हलमा कन्सर्ट, नाचगान, कार्यक्रम आदि नभएको, स्कुल र कलेज र सिनेमाघर र बन्द रहेको तथा भोजभतेर न्यून भएको हुँदा संक्रमण सीमित रहेको पनि हुनसक्छ ।

७. जनवरी र फेब्रुअरीतिर काठमाडौंमा रुघाखोकी तथा ज्वरो निकै फैलिएको थियो । त्यो कोरोना संक्रमण हुन सक्छ । यदि त्यो मौसमी रुघाखोकी भनिएको कोरोना संक्रमण थियो भने धेरै व्यक्ति इम्युन भएको हुनसक्छ । यसको लागि राज्यले गुणस्तरीय र्यापिड किट ल्याएर इम्युनोग्लोबिन टेस्ट गर्नुपर्दछ ।  र्यापिड टेस्ट काम लाग्ने सर्भेको लागि हो । अहिले पनि काठमाडौं उपत्यकामा सर्भे गर्न सकिन्छ । तर बिद्यमान गुणस्तरहीन किटले सहि रिपोर्ट आउँदैन ।

८. संक्रमित क्षेत्रबाट नागरिक आइरहेको हुँदा भित्रभित्रै भुसको आगोको रुपमा नदेखिएको पनि हुनसक्छ । काठमाडौं उपत्यकाका धेरै ठाउँमा १–२ जना पोजिटिभ देखिइरहेका छन् । यो अवस्था थाहा पाउन पिसीआर टेस्टको दायरा बढाउन पर्ने देखिन्छ ।

९. काठमाडौंबाट सिधै मुस्ताङ लगायतका बिभिन्न ठाउँमा गएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यसबाट अनुमान गर्न सकिन्छ कि काठमाडौं कोरोनामुक्त छैन ।

१०. काठमाडौंमा नियमित र्यापिड किटबाट सर्भे, पिसीआरबाट कोरोना संक्रमणको परीक्षण, मास्क र सामाजिक दूरीमा कडाइ, आवतजावतमा नियमन तथा कन्ट्याक्ट ट्रेसिंङ, सिल आदिलाई अहिले नै तीब्र गतिले प्रबन्ध नगर्ने हो भने यहाँ कोरोना संक्रमण फैलिएमा दिल्ली, मुम्बई लगायतका सहरको अवस्था आउन सक्छ भन्ने कुरा सरकार र हामी नागरिकले बुझ्नु जरुरी छ । हामी सुरक्षित छैनौं तसर्थ थप सतर्क बन्नु जरुरी छ ।

११. काठमाडौं वरिपरीका हरेक नाकाबाट शंकास्पद आगन्तुकलाई क्वारेन्टाइनमा राख्ने, परिक्षण गर्ने तथा यो असार, साउन र भदौमा १५ दिन कडा लकडाउन गर्ने, १५ दिन खुकोलो गर्ने रणनीति अबलम्बन गर्ने हो भने संक्रमित १५ दिनमा निको हुन्छन् वा अस्पताल जान्छन् तथा उनीहरुले स्वस्थ व्यक्तिलाई संक्रमण सार्न सक्दैनन् । यो मोडेल अपनाउने हो भने ४० लाख जनसंख्या भएको काठमाडौंलाई बचाउन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित