बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान

दैनिक नेपाल २०८१ वैशाख १५ गते ८:४३

इलाम, १५ वैशाख । उपनिर्वाचन अन्तर्गत इलाम– २ मा प्रतिनिधि सभा सदस्यका लागि बिहानबाट सुरु भएको मतदानमा दलका प्रतिस्पर्धी मुख्य भनिएका उम्मेदवारहरूले मतदान गरिसकेका छन् ।

शनिबार एमाले उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गर्नुभयो ।

नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले पनि सोही क्याम्पसमा रहेको मतदान केन्द्रको ‘क’ केन्द्रबाटै मतदान गरिसक्नुभएको छ ।

यस्तै, सोही केन्द्रबाट एमाले सांसाद महेश बस्नेतले पनि मतदान गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले पनि माङसेबुङ–२ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले पनि मतदान गरिसकेको जानकारी दिनुभएको छ । उहाँले आफ्नै जन्मस्थान फाकफोकथुम गाउँपालिका –३ स्थित सिंहदेबी मा.वि. शुक्रबारे (क) मतदान केन्द्रमा पुगेर सबैभन्दा पहिला मतदान गरेको जानकारी दिनुभयो ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

इलाम–२ का प्रतिनिधि सभा सदस्य एमाले नेता सुवास नेम्वाङको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन गराइएको हो । जहाँ उहाँकै छोरा सुहाङ उम्मेदवार हुनुहुन्छ ।

विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार इलाम– २ को चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
सम्बन्धित