आइतबार, १४ असार २०७७
DainikNepal.com
आइतबार, १४ असार २०७७

क्वारेन्टाइनबाटै कोरोना संक्रमणको जोखिम

दैनिक नेपाल २०७७ जेठ ८ गते ६:४५

काठमाडाैं, ८ जेठ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म २३ हजार मानिस क्वारेन्टाइनमा बसेका छन् । अधिकांश स्थानीय तहले बनाएका क्वारेन्टाइन नाम मात्रका छन् । धेरैजसो विद्यालयमा क्वारेन्टाइन बनाइएको छ । तर, त्यहाँ न त भौतिक पूर्वाधार न सरसफाइ नै । एउटै कोठामा २५ जनासम्म कोचिएर बस्न बाध्य छन् । धेरैले सामाजिक दूरी कायम गरेको पाइँदैन । स्यानिटाइजर, साबुनलगायतको अभाव छ । जसले गर्दा एउटामा कोरोना संक्रमण देखिएमा धेरैलाई सर्ने सम्भावना छ । क्वारेन्टाइनमा बस्ने धेरैको स्वास्थ्य परीक्षण गरिएको छैन । औषधिको समेत व्यवस्था छैन । न स्वास्थ्यकर्मी नै हुन्छन् । मापदण्डविना बनाइएका कतिपय क्वारेन्टाइन कोरोनाको ‘एम्बुस’ बन्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

खेतमै पाल टाँगेर क्वारेन्टाइन
कपिलवस्तुबाट डिलाराम भुसाल

कपिलवस्तुका स्थानीय तहले सात हजार चार सय १५ जना अटाउने क्वारेन्टाइन बनाएका छन् । तर, लकडाउनयता मात्रै आठ हजार ६ सय ४९ जना विदेशबाट आएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । अझ लुकेर आएका हजारभन्दा बढी व्यक्ति सम्पर्कमै नआएको जनाइएको छ । जिल्लामा सात हजार आठजना क्वारेन्टाइनमा छन् । जसमध्ये नौ सय २९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएकोमा ४३ जनामा कोरोना देखिएको छ । अझै ६ हजारको परीक्षण गर्न बाँकी छ । स्थानीय तहले विद्यालयमा बनाएका क्वारेन्टाइन व्यवस्थित छैनन् । कतिपय स्थानमा खेतमै पाल टाँगेर क्वारेन्टाइन बनाइएको छ । कपिलवस्तु नगरपालिका–४ लौसागाउँमा स्थानीय बासिन्दाले विद्यालय नदिएपछि खेतमा पाल टाँगेर क्वारेन्टाइन बनाइएको हो । मापदण्डविना बनाएका क्वारेन्टाइन कोरोनाको एम्बुस बन्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ । ‘दूरी छैन, सँगै बाहिर जान्छन्, घुम्छन् । एउटै शौचालय छ,’ यशोधरा गाउँपालिकाका एक स्वास्थ्यकर्मीले भने । एउटै कोठामा १५ देखि २५ जनासम्म राखिएका छन् । क्वारेन्टाइनमा बस्न समस्या भएपछि शुक्रबार राति यशोधरा गाउँपालिका–८ को दुईवटा क्वारेन्टाइनबाट ४५ जना भागेका छन् ।

खाटदेखि तरकारीसम्म घरबाटै
कञ्चनपुरबाट मोहन विष्ट

कञ्चनपुरमा पाँच सय ६० बेड क्षमताका क्वारेन्टाइन छन् । तीमध्ये अहिले दुई सय ६३ बेडमा विदेश र काठमाडौंबाट फर्किएका बसिरहेका छन् । बाँकी खाली छन् । प्रायः सबै क्वारेन्टाइन स्कुलमा बनाइएकाले त्यहाँ बस्नेहरू बेन्च जोडेर रात काट्न बाध्य छन् । अहिलेसम्म ६ सय ४४ जना क्वारेन्टाइन बसेर घर फर्किएका छन् । ९९ प्रतिशत क्वारेन्टाइन विद्यालयमा राखिएका छन् । अधिकांश क्वारेन्टाइनमा बस्ने, खाने, स्वास्थ्य सामग्री र शौचालयलगायतका आधारभूत आवश्यकताको समेत व्यवस्था छैन । लालझाडी गाउँपालिका प्रमुख मदन सेन बडायकले स्थानीय स्रोतले भ्याएसम्म उचित व्यवस्थापन गरिएको बताए । शारदा माविको क्वारेन्टाइनमा बस्दै आएका सुरज रानाले क्वारेन्टाइनमा खाना पकाउने भान्सेले मास्क, पन्जा प्रयोग नगरीकनै खाना पकाउने, दिने भएकाले जोखिम थपिएको बताए ।

एउटै हलमा महिला र पुरुष
महोत्तरीबाट रञ्जन भण्डारी

महोत्तरीका २१ क्वारेन्टाइनमा पाँच सय ८८ बेड व्यवस्था गरिएको छ । अहिले तीन सय ६७ पुरुष र १० महिला क्वारेन्टाइनमा छन् । कोभिड–१९ का महोत्तरीका स्रोतव्यक्ति गिरेन्द्र झाले अधिकांश क्वारेन्टाइन व्यवस्थित नभएको बताए । बर्दिबास सेवा समितिभित्र एउटै ठूलो हललाई क्वारेन्टाइन बनाइएको छ । ११ पुरुष र दुई महिलालाई त्यही हलमा राखिएको छ । अन्य कोठा नहुँदा सबैलाई एकैठाउँ राखिएको क्वारेन्टाइनका स्वास्थ्य कर्मचारी सुरेन्द्र चौधरीले बताए । ‘दुवै महिलाका श्रीमान् पनि सँगै क्वारेन्टाइनमा छन् । महिला र पुरुष छुट्टाछुट्टै राख्नुपर्ने भए पनि कोठा नहुँदा बाध्य भएर एउटै हलमा राखेका हौँ,’ उनले भने ।

विद्यालय कोठामा क्वारेन्टाइन, भुइँमै वास
झापाबाट चिरञ्जीवी घिमिरे

झापाका १५ वटा स्थानीय तह र जिल्ला समन्वय समितिले २९ वटा क्वारेन्टाइन बनाएका छन् । यी क्वारेन्टाइनमा आइतबार साँझसम्म पाँच सय ५० जना छन् । मेची अस्पताल र दमक अस्पतालमा आइसोलेसन वार्ड छन् । मेची अस्पतालमा दुईजनालाई आइसोलेसनमा राखिएको छ । जिल्लाका अधिकांश स्थानीय तहले विद्यालयलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरेका छन् । भारतबाट लुकीछिपी आउनेको चापका कारण दक्षिणी क्षेत्रका स्थानीय तहका क्वारेन्टाइनमा समस्यै–समस्या छ । न राम्रो बेड छ न त खानेपानी नै पर्याप्त छ । क्वारेन्टाइनमा बस्नेहरू सबै एकै ठाउँको शौचालय प्रयोग गर्न बाध्य छन् । एउटा कोठामा १० जनासम्म राख्नुपर्दा समस्या आएका कचनकवल गाउँपालिकाका क्वारेन्टाइन व्यवस्थापन संयोजक तथा वडानम्बर ३ का अध्यक्ष विजय राजवंशीले बताए । कचनकवल–३ स्थित पथरिया मावि क्वारेन्टाइनमा राखिएका १० जनामा कोरोना संक्रमण पुष्टि भयो । व्यवस्थित क्वारेन्टाइन नहुँदा उनीहरू केही दिन क्वारेन्टाइनमा २३ जनासँग घुलमिल भएका थिए ।

भारतबाट फर्किने बढेपछि राख्नै समस्या
रौतहटबाट अशोक पहाडी

रोजगारीका लागि भारत गएकाहरू फर्किने क्रम बढेपछि रौतहटका स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थापनमा चुनौती थपिएको छ । राजपुर नगरपालिकामा मात्र क्वारेन्टाइनमा बस्नेको संख्या एक सय दुई पुगेको छ । भारतका विभिन्न स्थानबाट दैनिक ५० जनाको संख्यामा राजपुर आउने क्रम रहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताए । राजपुरका एक स्थानीयले क्वारेन्टाइनको बसाइ पीडादायी रहेको बताए । कोरोनाका कारणभन्दा खान नपाएरै मरिने हो कि भन्ने चिन्ता लागेको उनले सुनाए । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले राजपुर क्वारेन्टाइनको अवस्थाबारे बुझ्ने बताए । ईशनाथ नगरपालिकामा मेयर सन्तोष मेहताले पछिल्लो समय भारतबाट सात सयजना फर्किएको बताए । नगरपालिकाले पाँचवटा विद्यालयलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरेको छ ।

चौरमै शौचालय
हेटौँडाबाट सुदीप सिवाकोटी

क्वारेन्टाइनमा समस्या त भयो नै, हेटौँडा–४ स्थित श्रमिक माविमा प्रदेश सरकारले निर्माण गरेको आइसोलेसनमा रहेका बिरामीले नै सास्ती भोग्नुपरेको छ । ३० बेडको आइसोलेसन वार्डमा २८ जना छन् । उनीहरू सबैले चौरमा जस्तापाता बेरेर बनाएको शौचालय प्रयोग गर्दै आएका छन् । गर्मीको समय भएकाले ती शौचालय प्रयोग गर्न समस्या भएको उनीहरू बताउँछन् । पाँच दिनदेखि आइसोलेसनमा बस्दै आएका एक युवाले खान र बस्नको सुविधा भए पनि शौचालयको समस्या भएको बताए । ‘जस्ता बारेर पर्दा लगाएकाले शौच गर्न निकै समस्या हुन्छ । छाना नभएकाले पानी पर्दा छाता लिएर शौचालय दगुर्नुपर्छ,’ उनले भने ।

आइसोलेसन वार्डमा तन्ना पनि छैन
सिरहाबाट सुरेन्द्रकुमार कामती

सिरहाका १७ वटै स्थानीय तहमा रहेका क्वारेन्टाइनमा दुई सय ८० जना छन् । केही क्वारेन्टाइन व्यवस्थित पनि छन् । मिर्चैया नगरपालिकाले दुईवटा होटेललाई क्वारेन्टाइनका रूपमा प्रयोग गरेको छ । त्यहाँ १० जना रहेको र उनीहरूलाई टिभी हेर्न, वाइफाई चलाउन, एसी चलाउन पाउने सुविधा रहेको स्वास्थ्य संयोजक सुरेश सिंहले बताए । सिराहा अस्पतालमा १५ बेडको आइसोलेसन वार्ड बनाइएको छ । त्यहाँ आवश्यक सामान पनि छैनन् । आइसोलेसन बेडमा तन्नासमेत राखिएका छैनन् । महेन्द्र गेनाई मेटरनिटी अस्पताललाई कोरोना अस्पतालका रूपमा सञ्चालनमा ल्याएपछि संक्रमित एकजनालाई त्यहीँ राखिएको छ । १८ जना क्षमता भए पनि आवश्यक सामग्री अभाव छ ।

संक्रमित रातभर घरमै
बाराबाट वसन्त खतिवडा

बारामा क्वारेन्टाइन र आइसोलेसनको भने स्थानीय तहले व्यवस्थापन गरेका छन् । जिल्लामा चार सय ६८ बेडको क्वारेन्टाइन र ४८ बेडको आइसोलेसन छ । क्वारेन्टाइन बसाइका क्रममा कोरोनाको लक्षण देखिए वा कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेसनमा राखेर परीक्षण गरिँदै आएको छ । समयमै कोरोना अस्पतालमा स्तरोन्नति नगर्दा बाराका कोरोना संक्रमित शनिबार रातभर घरमै बसे । यसअघि संक्रमण देखिएका व्यक्तिलाई वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो । तर, त्यहाँ ठाउँ नहुँदा कोरोना संक्रमित प्रहरी जवान रातभर कोठामै बसेका हुन् ।

सफा गरिँदैन क्वारेन्टाइन
रसुवाबाट अनु आचार्य

रसुवा सदरमुकाम धुन्चेमा बनाएको क्वारेन्टाइन राम्रोसँग व्यवस्थापन गरिएको छैन । सरसफाइसमेत नगरिएको क्वारेन्टाइनमा रहेका व्यक्तिहरूले बताएका छन् । ‘सफा नगरी राखिएको छ, बेड पनि सफा गरिएका छैनन् । सिरानीमुनि प्याड, सिँगान पुछेर राखेका रुमाल छन्,’ क्वारेन्टाइनमा बसेका एक व्यक्तिले भने, ‘पहिले बसेका मान्छेहरू सुतेकै ओछ्यानमा राखिएको छ, त्यो पनि सफा नगरी ।’ शौचालयको पनि राम्रो प्रबन्ध छैन । क्वारेन्टाइनमा स्यानिटाइजर पनि छैन । एउटा साबुन राखिएको छ भने पानी पिउनका लागि एउटा थर्मस छ ।

कालिकोटमा स्वास्थ्य जाँच पनि भएन
वीरेन्द्रनगरबाट रमेश रावल

कर्णाली प्रदेशका विभिन्न जिल्लामा बनाएका क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वास्थ्य जाँच हुने गरेको छैन । उनीहरूले नियमित स्वास्थ्य जाँच गर्न माग गरेका छन् । कालिकोटको खाँडाचक्र नगरपालिका–२ को पञ्चदेवल माविको क्वारेन्टाइनमा रहेका खड्कबहादुर विष्टले नियमित स्वास्थ्य जाँच नभएको बताए । ‘हामीलाई यहाँ ल्याएर क्वारेन्टाइनमा राखिएको छ । हामीसँगै आएका नेपालगन्जका एकजनाको मृत्यु भइसक्यो, हाम्रो स्वास्थ्य जाँच पनि गरिएको छैन,’ उनले भने । उनीसँगै क्वारेन्टाइनमा २६ जना छन् । उनीहरू १० जनालाई एउटै कोठामा राखेको उनले बताए ।

कोठाभित्रै पुग्छन् भ्यागुता
उदयपुरबाट जीवनाथ दाहाल

उदयपुरका ३१ क्वारेन्टाइनमा ४९ महिला र दुई सय ४५ पुरुष रहेका छन् । जिल्ला सदरमुकाममा त्रियुगा नगरपालिकाले बनाएको क्वारेन्टाइनकै अवस्था नाजुक छ । भुइँमा म्याट ओछ्याएर सुत्ने व्यवस्था गरिएको छ । जस्ताको छानो रहेकाले अत्यधिक गर्मी हुन्छ । कोठामा पंखासमेत नहँुदा खास गरेर महिला र बालबालिकालाई समस्या भएको छ । क्वारेन्टाइनमा रहेकाहरूका अनुसार कोठाहरूको झ्याल र ढोकासमेत राम्ररी लाग्दैन । जसले गर्दा कोठाभित्र भ्यागुतासमेत पस्ने गर्छन् । क्वारेन्टाइन रहेको भवननजिकै झाडी र जंगल रहेकाले सर्पको समेत जोखिम छ । विराटनगरबाट कोरोनामुक्त भएर आएका चार पुरुष र एक महिलालाई पनि सँगै राखिएको छ । सबैले एउटै शौचालय प्रयोग गर्नुपरेकाले जोखिम भएको क्वारेन्टाइनमा बस्नेको गुनासो छ । त्रियुगाको क्वारेन्टाइनमा अहिले १५ पुरुष र सात महिला गरी २२ जना रहेका छन् ।

धेरै क्वारेन्टाइनमा एउटा मात्रै शौचालय
दाङबाट भूपेन्द्र वली

स्थानीय तहहरूले बनाएका क्वारेन्टाइन जोखिमयुक्त छन् । एउटै कोठामा आठ–आठजनासम्म राखिएकाले संक्रमणको जोखिम पनि उत्तिकै छ । अधिकांश क्वारेन्टाइन विद्यालयमा बनाइएकाले एउटै शौचालय धेरैजनाले प्रयोग गर्नुपर्ने बाध्यता छ । बंगलाचुली गाउँपालिकाले जनकल्याण प्राविमा १६ जनालाई क्वारेन्टाइनमा राखेको छ । दुईवटा कोठामा आठ–आठजनालाई बसाइएको छ । क्वारेन्टाइनमा बसेकाहरूको पिसिआर टेस्टले पनि गति लिन सकेको छैन ।

जाजरकोटमा भद्रगोल क्वारेन्टाइन
जाजरकोटबाट हेमन्त केसी

जाजरकोटमा क्वारेन्टाइनको अवस्था भद्रगोल छ । लकडाउन भएयता करिब दुई हजारको संख्यामा मानिसहरू जिल्ला फर्किएका छन् । तर, स्थानीय तहहरूले सबैलाई क्वारेन्टाइनमा राख्न नसक्ने बताएपछि उनीहरू सीधै परिवारको सम्पर्कमा गएका छन् । बाहिरबाट जिल्ला फर्किएका अधिकांशको कोरोना परीक्षणसमेत गरिएको छैन । बारेकोट गाउँपालिकामा एक सय ६७ जना बाहिरी जिल्लाबाट आएपछि व्यवस्थापनमा समस्या देखिएको भन्दै ज्येष्ठ नागरिकको मात्रै कोरोना परीक्षण गरियो । जिल्लाका केही स्थानीय तहले क्वारेन्टाइन नै बनाएका छैनन् । बनाएकाले विद्यालयमा राखेका छन्, जहाँ शौचालय र बस्ने राम्रो व्यवस्था छैन ।

चिसो भुइँमै बिस्तारा लगाएर सुत्छन्
पाल्पाबाट नारायण न्यौपाने

पाल्पाका १० स्थानीय तहमा बनाएका ५२ क्वारेन्टाइनमा पाँच सय ६७ बेडको व्यवस्था गरिएको छ । आइतबारसम्म क्वारेन्टाइनमा ७८ जना रहेका छन् । तर, ती क्वारेन्टाइनको अवस्था भने पीडादायी छ । रम्भा गाउँपालिकाले ताहुँस्थित रम्बा माविमा कक्षाकोठामा पातलो नीलो कार्पेट र त्यसमाथि ओढ्ने–ओछ्याउने राखेर क्वारेन्टाइन बनाएको छ । चिसो भुइँमै बिस्तारा लगाएर सुत्नु परिरहेको उनीहरूले बताएका छन् । गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले सकेजतिको व्यवस्थापन गरेको र आवश्यकताअनुसार परिमार्जन गर्ने बताए । रम्भा गाउँपालिकामा आठजना क्वारेन्टाइनमा छन् । ताँहुस्थित क्वारेन्टाइनमा शंकर परियार एक्लै छन् । उनको रेखदेख गर्ने कोही छैन । जनप्रतिनिधि र चिकित्सक पनि जाँदैनन् ।

अधिकांश क्वारेन्टाइन मापदण्डविपरीत
दैलेखबाट विष्णु शर्मा

दैलेखमा निर्माण गरिएका आठ सय ६१ क्वारेन्टाइनमध्ये ५० प्रतिशतभन्दा बढी मापदण्ड नपुगेका छन् । धेरैमा बस्ने ठाउँ, खानेपानी र शौचालयको अभाव छ । स्कुलमा बनाइएका क्वारेन्टाइनमा मान्छे बेन्च जोडेर बसेका छन् । पछिल्लो तीन दिनमा भारतबाट एक सय ४५ जना जिल्ला भित्रिएका छन् । उनीहरूमध्ये एक सय आठजना मात्रै क्वारेन्टाइनमा बसेको स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरू पनि दूरी कायम नगरी बसेका छन् । क्वारेन्टाइनमा त्यसै पनि शौचालय र खानेपानीको अभाव छ ।

आधारभूत सुविधा नै छैन
लमजुङबाट शान्ता कमली

बेँसीसहर नगरपालिका–७ सहजीस्थित क्वारेन्टाइनमा आधारभूत सेवाको पनि समस्या छ । खानेपानी, स्यानिटाइजर, मास्क, साबुन, ब्रस, मन्जनलगायतको व्यवस्था नभएको क्वारेन्टाइनमा बस्नेहरूले बताएका छन् । अहिले यो क्वारेन्टाइनमा २९ जना छन् । केही दिनदेखि क्वारेन्टाइनमा बसिरहेका बेँसीसहरका नन्दलाल श्रेष्ठले हालै ओछ्याउने लुगा र खानाबाहेक स्वास्थ्य सामग्री र खानेपानीको सुविधा नभएको भन्दै सामाजिक सञ्जालमा गुनासो गरेका थिए ।

क्वारेन्टाइनमा बालकदेखि वृद्धसम्म
बाग्लुङबाट नारायण रिजाल

बाग्लुङमा बाहिरी जिल्लाबाट प्रवेश गरेका सबैलाई क्वारेन्टाइनमा राखिने गरेको छ । उनीहरूको कोरोना परीक्षण गरेपछि मात्रै गन्तव्यतर्फ जान दिइएको छ । स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइनमा अहिले विभिन्न जिल्लाबाट आएका नौ वर्षीय बालकदेखि ७३ वर्षीया वृद्धासम्म गरी २७ जना छन् । तीमध्ये २४ जना बाग्लुङ नगरपालिकाको क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए । त्यस्तै, गलकोट नगरपालिकामा दुई र निसिखोला गाउँपालिकामा एकजना क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा बस्ने र खानाको व्यवस्था नगरपालिकाले गरेको छ भने अन्य प्रबन्ध नेपाल प्रहरीले मिलाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित