सोमबार, ५ जेठ २०७७
DainikNepal.com
सोमबार, ५ जेठ २०७७

नमरी बाँचे कोरोनाले साँचे, पछि हिसाब किताब गरौंला !

मोहन पाण्डेय २०७६ चैत २४ गते १४:५६

– मोहन पाण्डेय
चीनको वुहानबाट गत डिसेम्बरको अन्तिमदेखि देखापरेको कोरोना भाइरस (कोभिड–१९) को महामारी अहिले विश्वभर डढेलोसरी फैलिरहेको छ । चीनले झण्डै झण्डै नियन्त्रणमा लिए पनि महाशक्तिराष्ट्र अमेरिका लगायतका इटली, स्पेन, फ्रान्स र संयुक्त अधिराज्य जस्ता सम्पन्न राष्ट्रहरूलाई समेत यस प्रकोपले थिलथिलो पारिसकेको छ । दक्षिण एशियामा तीब्र गतिमा फैलिरहेको यस संक्रमणबाट हामी पनि अछुतो छैनौँ । हिजोसम्म विदेशबाट फर्किएका नेपालीमा देखिएको संक्रमण अव घर भित्रै रहेकालाई पनि सल्किसकेको छ । हामीले आफ्नो सूरक्षाका सबै उपाय नअपनाए हाम्रो जस्तो सीमित साधन र श्रोत भएको देशका लागि यो अत्यन्तै घातक बन्न सक्छ ।

नेपाल सरकारले संक्रमण फैलिन नदिन श्रोत, साधन र उपायहरूलाई फराकिलो बनाउँदै लगिरहेको छ । पहिलो चरणमा हवाई तथा स्थल यातायात बन्द गर्दै क्वारेन्टाइन तथा आइसोलेसन वार्डहरू निर्माण कार्यलाई तीब्रता दिने निर्णय गर्याे । यस लगत्तै पूर्ण लकडाउन तथा सीमानाकाहरू बन्द गर्दै देशैभरी स्वास्थ्य उपकरणको जोहो गर्न तर्फ लाग्यो । अहिले अमेरिका, वेलायत लगायतका सम्पन्न र समृद्ध देशमा पनि मास्क, सेनिटाइजर, पीपीई, भेन्टिलेटर आदिको अभाव भएका समाचारहरू आइरहेका छन् ।

विश्वव्यापी अभावका बीच नेपाल सरकारले पनि अत्यावश्यक स्वास्थ्य सामग्रीहरू सातै प्रदेश तथा जिल्ला जिल्लामा पुर्याइसकेको छ । छोटो समयमा नै सातै प्रदेशमा ल्याब तथा डेडिकेटेट अस्पताल स्थापना गरी सेवा सुरुवात गर्नुलाई कम आँकलन गर्न मिल्दैन । यसैबीच सरकारले काठमाडौ बाहिर दैनिक १ हजार जनाको परीक्षण थालनीको प्रकृया अगाडि बढाउनुका साथै कैलाली, कञ्चनपुर र बाग्लुङमा ¥यापिड टेष्टको प्रकृया अगाडि बढाउने समेत निर्णय सरकारले गरेको छ ।

संकटका बेला मानसिक र भौतिक हिसाबले हामी सबै तयार रहनुपर्ने आवश्यकता औँल्याउँदै डाक्टर, नर्स, पारामेडिकल्स, सुरक्षा निकायसमेत अग्रमोर्चामा रहनेहरूलाई यो काम गरुन्जेलका लागि शतप्रतिशत भत्ता लगायतका सुविधाको व्यवस्था गरेको छ । पच्चीस लाख रुपैयाँ बराबरको बीमा पनि निश्चित गरेको छ । त्यसैगरी देशभरिका स्वयंसेविकाहरूलाई पारिश्रमिक तथा विमाको व्यवस्था गरी परिचालन गर्ने निर्णय पनि सरकारले गरिसकेको छ । यसले स्वास्थ्यकर्मीलाई काममा अझ प्रोत्साहित गर्नलाई मद्दत गरेको छ ।

हालको विषम परिस्थितिमा स्वास्थ्य सामग्री एवं उपकरणहरू विभिन्न अस्पतालमा पु¥याई स्वास्थ्यकर्मीहरूलाई निर्भिकताका साथ उपचारमा खटाउनु र नागरिकको जीवन रक्षा गर्न डटेर लाग्नु नै आजको प्रमुख कार्यभार हो । यही कार्यभार पूरा गर्न कोरोनाको रोकथाम र नियन्त्रणका लागि गठित उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री श्री इश्वर पोखरेल, स्वास्थ्य मन्त्री श्री भानुभक्त ढकाल लगायत सो समितिका पदाधिकारीहरू एवं अन्य पदाधिकारीहरू उच्च जोखिम मोलेर अहोरात्र खट्नु भएको छ । यो बेला देशको विभिन्न तह र तप्कामा आवद्ध हरेक नागरिक, पेशाकर्मी, सञ्चारकर्मी, व्यवसायी सबै नेपालीले आ–आफ्नो ठाउँबाट योगदान गर्नु नागरिक दायित्व एवं परम कर्तव्य पनि हो । सिङ्गो देश एकढिक्का भएर यो महामारी विरुद्ध लागेको खण्डमा मात्र हामीले मानव जातिको दुस्मन विरुद्ध विजय प्राप्त गर्न सक्दछौं ।

तर विडम्वनाको कुरा यतिबेला कोरोना विरुद्धको लडाइँमा सरकारलाई सहयोग गर्नु पर्नेमा कतिपय सञ्चारकर्मी एवं नागरिकहरूले हालको परिस्थितिमा निर्वाह गर्नु पर्ने नागरिक एवं पेशागत जिम्मेवारी पूरा नगरेको हो कि जस्तो आभास हुन पुगेको छ । समाजको एकथरी तप्का हरेक विषयमा नकारात्मक सन्देश प्रवाह गर्ने, समाजमा भय त्रास एवं सामाजिक विग्रहको अवस्था सृजना गर्ने खेतीमा नै लागेका पो हुन कि जस्तो प्रतीत हुन्छ । सरकारले गर्ने हरेक काममा विरोध मात्रै गर्ने संस्कृति हाबी भैरहेको देखिन्छ । वास्तवमा यो प्रवृत्ति अत्यन्त दुःखदायी छ ।
कोरोना रोकथाम र चीनबाट विद्यार्थीहरूलाई उद्धार गर्ने लगायतका शुरुवाती चरणमा नै खरीपाटी क्वारेन्टाईनका विरुद्धमा उक्त क्वारेन्टाइनको गेटदेखि संसदसम्म आवाजहरू सुनिए । एस्.ई.ई. परीक्षा स्थगनको विषयमा विद्यार्थी र अभिभावकमा अन्योल सृजना हुने खालका सामग्रीहरू सामाजिक संजालमा प्रसस्तै देख्न पाइयो ।

केही सञ्चार माध्यम र सामाजिक संजालको दुरुपयोग गरी जनताका बीचमा अफवाह फैल्याउने, जनतामा भयत्रासको स्थिति सृजना गर्ने समेतका कृयाकलापहरू भए । सरकार परिवर्तन तथा मध्यावधि निर्वाचनका विषयवस्तुहरू समेत यसैसमयमा सतहमा आए । यस्तो विषम परिस्थितिमा यस्ता विषयवस्तुहरू उठान हुनु जायज हो जस्तो मलाई लाग्दैन । यस्ता गतिविधिले हामी कसैलाई पनि भलो गर्दैन ।

आजको समयमा हाम्रो मुख्य दुस्मन कोरोना भाइरस (कोभिड–१९) हो भन्ने नै बिर्सिएर कोरोना विरोधी युद्धका कमाण्डरहरूमाथि देशभित्रबाटै आक्रमण भैरहेको छ । हामी सबैले भुल्नै नहुने तीतो यथार्थ के हो भने युद्धमोर्चामा जब सेना कमजोर हुन्छ, त्यो युद्ध जित्ने कल्पना नगर्दा पनि हुन्छ । दुस्मन विरुद्ध जाई लागिरहेको हाम्रै नेतृत्व माथि आज घरभित्रबाटै निरन्तर प्रहार हुनुलाई दुर्भाग्य मान्नुपर्छ ।

चीनमा महामारीले ढपक्कै छोप्दा ‘चिनियाँ भाइरस’ भनेर मजाक उडाउने पश्चिमाहरू आज चरम संकटमा छन् । उक्त महामारी अहिले हाम्रै घरमा भित्रिइसकेको छ । यस्तो अवस्थामा पदमा रहँदा निकम्मा सावित केही उच्च पदस्थ सेवा निवृत्त अधिकारीहरूले अभिभावकीय जिम्मेवारी निर्वाह गर्नु पर्नेमा रातोदिन खटिरहेका पदाधिकारीहरूको मनोबल घटाउन लागि परेका छन् । राष्ट्रिय संकटको बेलामा सिङ्गो देश र जनताको जीवन रक्षाका लागि सरकारसँग हातेमालो गर्न छोडेर राजनीतिक अभिष्ट पूरा गर्न आत्मरतिमा रमाउनु अदुरदर्शिताको पराकाष्टा हो ।

स्वास्थ्य सामग्री खरिद गर्दा विधिसम्मत प्रकृया अवलम्बन नगरिएको र खरिदमा अनियमितता भएको सम्बन्धमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा समेत चर्को रुपमा आवाज उठिरहेको छ । खरिद प्रक्रिया विधिसम्मत एवं पारदर्शी हुनु पर्ने भन्ने विषय जायज नै हो । यो आवाज उठाउनु नागरिकको अधिकार र कर्तव्य पनि हो । तर अहिले विषय यसरी उठान गरिएको छ कि अनुसन्धानकर्ता र फैसला गर्ने अधिकार पनि केही सीमित सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्मानित अदालत दुवैको क्षेत्राधिकार आफ्नै भएजस्तै गरी विचारहरू प्रकट भएका छन् । नागरिक र मिडियाको भूमिका सरकारका कदम पारदर्शी भए नभएको सन्दर्भमा आवाज उठाउनु र संविधान बमोजिम स्थापित निकायहरूलाई घचघच्याउनुसम्म हो । कुनै व्यक्ति वा पदाधिकारी मन परेन भन्दैमा दोषी करार गर्ने अधिकार कुनैपनि व्यक्तिलाई छैन । अहिले सामाजिक सञ्जाल हेर्दा कतिपयले आफ्नो सीमा र मर्यादा भन्दा वाहिर गएर विचार राखेको देखिन्छ । अब हाम्रो कोर्टबाट बल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतमा पुगिसकेको छ ।

अनुसन्धान गर्ने क्षेत्राधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हो र भ्रष्टाचारी भएको वा नभएको ठहर गर्ने जिम्मेवारी सम्मानित अदालतको हो । अब यो विषय छानवीनको प्रकृयामा गैसकेकोले यसमा समय खर्च गर्नुको सट्टा हाम्रो चिन्तन एवं उर्जा कोभिड विरुद्धको महामारी विरुद्ध लड्न प्रयोग गर्नु वुद्धिमता हुन्छ ।

अहिले सबैको ध्यान महामारीबाट जोगिनका लागि मात्र केन्द्रीत हुनु पर्ने हो । तर मुख्य सरोकारको विषयलाई विषयान्तर गरी वहसलाई सरकार र पदाधिकारीहरूको विरोधमा केन्द्रित गर्न खोजिएको छ । यसो गर्दा कोरोना विरुद्धको लडाइँमा नेतृत्व लिएका पदाधिकारीहरूमा निराशा पैदा हुने र मनोबल घट्न जान सक्दछ जुन हामी सबैका लागि घातक हुन सक्दछ । तसर्थ यसतर्फ हामी सबैको ध्यान जानु जरुरी छ ।
स्वास्थ्य सामग्री खरिद गर्ने सम्बन्धमा विगतमा चीन सरकारसंग जीटुजी प्रक्रिया मार्फत् खरिद गर्न प्रयत्न गरिएको तर युरोपियन देशहरूमा महामारीले विकराल रुप लिएको, चीन स्वयं महामारी विरुद्ध लडिरहेको, संसारभरि स्वास्थ्य सामग्रीहरूको अत्यधिक माग भएको कारण पर्याप्तता नरहेको अवस्थामा ल्याउन नसकिएको कुरा अर्थमन्त्रीले बताउनु भएको छ । हालै मात्र पनि अमेरिकाले चर्को मूल्य तिरेर चीनबाट मास्क खरिद गरेका समाचारहरू आएका छन् । त्यसैले अहिलेको परिस्थिति सामान्य परिस्थिति नभइ विश्वव्यापीरुपमा नै अत्यन्त प्रतिकूल विषम परिस्थिति हो । पैसा भएर पनि सहजतापूर्वक सामग्री खरिद गर्न नसकिने बेला हो । यही प्रतिकूलताका बीच सरकारले चीनबाट सामग्री खरिद गरेर ल्याएको छ । यो वास्तवमा चुनौतीपूर्ण समेत थियो र अझैपनि छ ।

मलाइ जहाँसम्म लाग्छ सार्वजनिक खरिद ऐन, २०६३ मा विशेष परिस्थितिमा द्रूत प्रक्रियाबाट खरिद गर्न सकिने प्रावधान रहेको छ । तत्काल सामग्री आवश्यक परेको खण्डमा सरकारले छिटो छरितो जुन व्यवसायी वा फर्मले सामग्री आपूर्ति गर्न सक्दछ सोसँग सिधै वार्ताद्वारा समेत खरिद गर्न सक्दछ ।

स्वास्थ्य मन्त्रालयका पदाधिकारीका अनुसार विभिन्न व्यवसायीसँग स्वास्थ्य सामग्रीहरूको आपूर्तिका सम्बन्धमा छलफल भएको तर व्यवसायीहरूबाट यथाशीघ्र उपलब्ध गराउन नसक्ने भनिएकोले छिटो आपूर्तिका लागि विशेष परिस्थितिमा खरिद गर्न सकिने कानुनी व्यवस्था बमोजिम छिटो आपूर्ति गर्ने शर्तमा आपूर्तिकर्ता फर्मसँग सम्झौता गरेको उल्लेख गरिएको छ ।

प्रतिस्पर्धा हुन नसक्दा र छिटो आपूर्ति गर्नु पर्दा केही महङ्गो पर्नु अस्वभाविक हुँदैन तर सरकारले सामग्री खरिद गर्दा वदनियत राख्नु किमार्थ स्वीकार्य हुँदैन । जुन भविष्यमा छानविन पश्चात् खुल्ने नै छ । हाललाई स्वास्थ्य सामग्री केही हदसम्म भएपनि प्राप्त भएको छ जुन सबै प्रदेशमा पठाइसकिएको छ जसले गर्दा काठमाडौं उपत्यका बाहिर पनि विभिन्न स्थानहरूमा कोरोना विरुद्ध परीक्षण एवं उपचार प्रक्रिया शुरु भैसकेको छ । यसबाट केही मात्रामा भए पनि जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण योगदान पुगेको छ ।

एकातर्फ स्वास्थ्यकर्मीहरूलाई यथाशिघ्र पीपीइ लगायतका सामग्री व्यवस्था गर्नु पर्ने अवस्था अर्को तर्फ विश्वव्यापी अभावका बीच महङ्गो मूल्य तिरेर भएपनि सामग्री खरिद गर्नु सरकारका लागि बाध्यता थियो भन्ने तथ्यप्रति पनि हामीले ध्यान पुर्याउनु आवश्यक देखिन्छ । हाल सरकारले सम्झौता गरेको पक्षले तोकिएको समयमा दोस्रो किस्तामा सामग्री ल्याउन नसकेको भनि सम्झौता रद्द गरी स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा जीटुजी मार्फत नेपाली सेनाले आवश्यक सामग्री खरिद गर्ने गरी निर्णय गरेको छ । यस सम्बन्धमा विभिन्न विचारहरू व्यक्त भएतापनि नेपाली सेनाले पारदर्शीरुपमा खरिद गरिने कुरा सार्वजनिक गरेको छ । आशा गरौँ, नेपाली सेनाले यो जिम्मेवारी पूरा गर्नेछ ।

अहिले मार्टिन निमोलरको भनाईको चर्चा भैरहेको छ, जुन सान्दर्भिक पनि छ । कम्युनिष्ट, यहुदी र क्याथोलिकलाई आक्रमण हुँदा मस्त निद्रामा रहेका प्रोटेस्टेन्ट आफ्नो पालो आएपछि बल्ल झस्याङ्ग भए । त्यतिबेला उनको पक्षमा बोलिदिने कोही थिएन । त्यस्तै, कोरोनाको आक्रमणले वर्तमान सरकारलाई मात्रै आक्रमण गरेको वा अलोकप्रिय बनाएको भ्रम पालेर रमिता हेर्न चाहनेहरूको पनि यहाँ कमी छैन । महामारीले न त काँग्रेस चिन्छ, न त कम्युनिष्ट वा अरु कोही ।

यतिबेला अहिले कसैका विरुद्ध विष बमन गर्नुको सट्टा, आफू, आफन्त र छिमेकीलाई बचाउन के गर्न सकिन्छ यही चिन्तनमा लाग्नु आजको आवश्यकता हो । सामाजिक संजाल मार्फत् सरकारको उछितो काढ्दा बढो आनन्द मान्ने जनहरूले आफ्नो नागरिक कर्तव्यको सीमाना नाघेर कसैलाई भ्रष्टाचारी करार गर्ने अधिकार आफूसँग छ छैन समेतको हेक्का नराखी आफै फैसला गरेर गलत राजनीतिक संस्कारको निर्माण गर्न तिर नलाग्नु नै बेस होला । के पनि बुझ्नु जरुरी छ भने न त यो सरकार अजम्बरी छ न त केपी ओली वा भानुभक्त ढकाल । भोलि अरुको पालो पनि आउन सक्छ । हामीले कस्तो खालको संस्कार निर्माण गर्न खोजेका हौँ यसतर्फ गम्भीरतापूर्वक सोच्न आवश्यक देखिन्छ ।

नेपाल लोकतान्त्रिक मुलुक भएकोले सरकारको स्वस्थ आलोचना गर्ने छूट सबै नेपालीलाई छ । परिस्थितिको गाम्भीयर्तालाई नजरअन्दाज गर्दै नग्न भएर सामाजिक संजालमार्फत कटू आलोचनामा उत्रनेहरूलाई विनम्र अनुरोध छ कि मुख्य दुस्मनलाई वेवास्ता गर्दै आफू आफू लडाइँ ग¥यौँ भने ठूलो अनिष्ट नआउला भन्न सकिन्न । पेशाकर्मी, व्यवसायी लगायतका सम्पूर्ण नागरिकहरू एकढिक्का भएर एक संकल्पका साथ कोरोना विरुद्ध लड्नु पर्ने बेला हो यो ।

आफू बाँच्न र अरुलाई पनि बचाउनका निम्ति लाग्नु पर्ने बेलामा जवरजस्ती विषयान्तर गराएर कमाण्डरहरूलाई हीनताबोध गराउने र गलाउने काम भैरहेको छ । यो राम्रो संकेत होइन । अनियमितता भए छानविन र कारवाही गर्ने विधि र निकाय हामीसँग छँदैछ । नमरी बाँचिएछ भने वा कोरोनाले उन्मुक्ति दिएछ भने कस्–कस्लाई गाली गर्न मन छ धित मारेर गाली गरौँला । कसैले अनियमितता गरेको छ भने फेरि उक्त अनियमितताका विरुद्ध जुटेर लागौँला ।

‘जीउ भए जिउलो, कपास भए पिउलो’ भनेझैँ ज्यान रहे ज्यूनका लागि अन्न उत्पादन गर्न सकिन्छ अनि कपास भए लत्ता कपडा र दियो बाल्ने समस्या टर्छ । त्यसैले, यो प्रेरणादायी उखानलाई आत्मसात गर्दै रत्तिभर विचलित नभै कोरोना विरुद्ध लडिरहेका सबैलाई साथ दिनु आजको अपरिहार्य आवश्यकता हो । यो लडाइँ जितेपछि अनियमितता भएको भए पोका खोलौँला । भ्रष्ट र अपराधी जो कोही भएपनि कारवाही गरौँला । आजको संकटको घडिमा हामीले गर्नु पर्ने के हो ? हामीले के गरिरहेका छौँ ? आफ्नो छातीमा हात राखेर चिन्तन गरौँ । यो महामारीलाई हामीले जित्न सकेनौँ भने सत्ताधारीहरू मात्रै होइन, सत्ता बाहिर हुने र सामाजिक सञ्जालमा विचार प्रकट गर्नेहरू सबै समाप्त हुने हो । त्यसैले, सक्छौँ अरुलाई पनि बचाउने प्रयत्न गरौँ । सक्दैनौँ भने आफू मात्रै भएपनि बाँच्ने प्रयास गरौँ । बाँचियो भने भोलि सबै हिसाब किताब गरौँला ।

हामी सबैले आत्मसात गर्र्नैपर्ने कुरा के भने, यो संक्रमण मानव सभ्यता र संस्कृतिविरुद्ध आइलागेको भयानक संक्रमण हो । यस विरुद्धको लडाइँ जात, भाषा, धर्म, विचार, आस्थाभन्दा धेरै माथि छ । त्यसैले हाम्रो लडाइँ मानव सभ्यताको रक्षाका लागि हुनुपर्छ । यस्तो अवस्थामा सबैजना एकताबद्ध भएर सबैको साझा दुष्मनका रूपमा रहेको यो रोगविरुद्ध लडौँ । हामीबीचको साझा प्रतिबद्धता र एकताले मात्रै महामारीविरुद्धको लडाइँ जित्न सम्भव छ ।

अन्त्यमा, मानव जगत् माथि नै संकट खडा भएको बेलामा जिम्मेवार भएर लाग्न सम्बन्धित सबैप्रति हार्दिक अनुरोध गर्दछु । यस्तो महामारी विरुद्ध अग्रमोर्चामा बसेर भिड्ने स्वास्थ्यकर्मी, सुरक्षा निकाय लगायत सम्बन्धित सबैप्रति नमन । जसले संकटको बेलामा तमाम खालको जोखिम मोलेर सेवा दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित