शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

माओवादीसँग लडेका ती प्रहरी र कोरोना भाइरससँग लड्नुपर्ने यी स्वास्थ्यकर्मीहरु

शिवजी श्रेष्ठ २०७६ चैत २० गते २१:२३


-शिवजी श्रेष्ठ

अहिले कोरोना भाइरसको बढ्दो प्रकोप भन्दा यसको सन्त्रासको मात्र बढी छ । अझ बढी सन्त्रास यसको रोकथाममा लाग्नुपर्ने स्वास्थ्यकर्मीहरुमा देखिएको छ ।

भर्खरै अमेरिकाको एउटा अस्पतालको कोरोना भाइरस वार्ड मा कार्यरत नर्सले पर्शनल प्रोटेक्टिभ ईक्वीपमेन्ट (पीपीई) को उपयुक्त व्यवस्था नभएकोले ‘मेरो मन परेको नर्सबाट राजिनामा दिए’ “चुज माई लाइफ टुडे” भन्दै रुँदै पोष्ट गरेको एउटा भिडियो भाइरल भएको छ ।

त्यसैगरी भर्खरै बेलायतको एउटा अस्पतालको कोरोना वार्डमा कार्यरत नर्सले आत्महत्या गरेको समाचार बाहिरिएसँगै एउटा तथ्य पत्ता लागेको छ कि, उनले आत्महत्या गर्नु अघि उनी कार्यरत वार्डमा कोरोना भाइरसबाट आक्रान्त ८ जना बिरामीको मृत्यु भएको थियो ।

त्यसैले उनको आत्महत्यालाई यससंग जोडेर समेत हेरिएको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरसको त्यस्तो प्रकोप नदेखिए तापनि भविष्यमा हुनसक्ने व्यापकतालाइ लिएर सरकार, प्रतिपक्षदेखि लिएर सम्पूर्ण क्षेत्र गम्भीर भएको पाइन्छ ।

सँगसँगै समाचार पनि आइरहेको छ कि कतिपय निजी अस्पतालहरुले कोरोना भाइरसको शंका भएका बिरामीलाई डाक्टरले भेट्दा पनि नभेटी सुरक्षा गार्डमार्फत अस्पतालको गेट बाटै फर्काइएको छ भने कति कोरोना भाइरस संक्रमितको लागि भनेर स्थापना गरिएको केन्द्रहरुमा बिरामीलाई हेर्न समेत कुनै स्वास्थ्यकर्मी नजाने गरेको समाचार पनि बाहिरिएको छ ।

यस पछाडिको मुख्य कारणमा स्वास्थ्यकर्मीहरुले आफ्नै सुरक्षाको लागि अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने पर्शनल प्रोटेक्टिभ ईक्वीपमेन्ट (पीपीई) को अभाव नै हो ।

एकदम चाडो सर्ने भाइरस भएको कारण पनि डाक्टर, नर्सहरु आफ्नै सुरक्षाको बारेमा चिन्तित हुनुपर्ने अबस्था सिर्जना भएको छ ।

हुन पनि अहिलेसम्म इटालीमा कोरोना भाइरसको उपचारमा संलग्न ६० जना त डाक्टर नै यस भाइरस बाट संक्रमित भएर मरिसकेका छन् । यसको असर नेपालका अस्पतालहरुमा पनि परिसकेका छन् ।

जबकी नेपालमा अहिलेसम्म आधिकारिक रुपमा संक्रमित बिरामीको संख्या दोहोरो अंकमा पनि पुगेको छैन भने यसबाट कोहि पनि मरेको पुष्टि भएको छैन ।

नेपालको अहिलेको अस्पतालहरुको अबस्था बन्दुक बोकेर लडाइमा निस्किन लागेको त्यस्तो सिपाहीको जस्तो भएको छ । जोसँग गोली चाँहि छैन ।

नेपाली डाक्टर र नर्सहरुको अबस्था अहिले त्यस्तै छ, जो अब सन्निकट हुँदै आएको युध्दमा निस्किन आदेश त पाइसकेका छन् । अनि बन्दुक पनि हात परिसकेको छ ।

तर गोली चाँहि छैन है भन्ने जानकारी पाएका छन् । अनि ती डाक्टर र नर्सले आफ्ना अगाडी देखिरहेछन् हजारौँ निर्दोष अनुहारहरु, त्यही खाली बन्दुकबाट आफ्नो रक्षा हुने आशातित नजरले आफुलाई हेरिरहेका छन् । विचरा नेपाली डाक्टर र नर्सहरु अहिले यस्तै अवस्थाबाट गुज्रिदै छन् । जो न त अगाडी बढ्न सक्छन्, न त पछाडी हट्नै ।

यस्तै अवस्था थियो नेपाल प्रहरीको, जब २४ वर्ष अगाडी वि. स. २०५२ सालमा माओवादीको जनयुध्द सुरु भएको थियो । तत्कालीन माओवादी दीर्घकालीन लक्ष्य लिएर भरुवा बन्दुक र खुकुरीको भरमा अगाडी आएका थिए ।

जुनबेला नेपाल प्रहरी भने अन्य कुनै पूर्वाधार बिना सन् १९४५ मा दोश्रो बिश्वयुध्दको समाप्ति लगत्तै ब्रिटिशले छाडेको थ्री नट थ्री राइफलको भरमा राजनीतिक रुपले प्रशिक्षित र निर्दे्शित दस्तासंग गुरिल्ला वारफेरमा संलग्न भएको थियो ।

जहाँ सुरु सुरुमा एउटा कम साधन र श्रोत सहितको सानो राजनीतिक शक्ति त हो । जसलाई सजिलै साइजमा ल्याउन सकिहालिन्छ नि भन्ने सोंचमा तत्कालिन संस्थापन पक्ष अर्थात सरकारी अधिकारीहरुले गम्भीरताका साथ् लिएनन । त्यही अनुसारको तयारी गरेनन वा भनौ माओबादीलाई अन्डर माइन गर्दै त्यसको आवश्यक ठानेनन् ।

कतै अहिलेको कोरोना भाइरसको महामारी विरुध्दमा सरकारको तयारी पनि त्यहि किसिमको त होइन? भन्ने प्रश्न उठाउन सकिन्छ।

पछि भरुवा बन्दुक बोकेर एक सेक्सन लडाकु सहित अगाडी आएको त्यही माओवादी विकसित र बिस्तार हुदै ए के ४७, २ इन्च मोर्टार, एल एम जी सहितका आधुनिक हतियार सहित डिभिजन स्तरको सेनाको स्तरमा पुग्दा पनि प्रहरीको स्त्ररोन्नति गरिएन, बरु नया प्रहरी (सशस्त्र प्रहरी) को गठन भयो ।

तत्कालिन शाही नेपाली सेना परिचालन भयो तर नेपाल प्रहरीलाई स्तरोन्नति गर्ने अर्थात् आवश्यकता अनुसार सुसज्जित गराउने कार्य्तिर कसैको ध्यान गएन ।

अहिले जसरी कोरोना भाइरससंग लड्नको लागि आवश्यकतानुसार स्वास्थ्य क्षेत्रलाई सुसज्जित गराउनको बदला तात्कालिक कारवाहीमा नै सिमित राखिएको देखिन्छ ।

अरु त अरु आफ्ना महत्वपूर्ण जनशक्ति डाक्टर र नर्स लगायतका स्वास्थ्यकर्मीको बचाउँलाई प्राथमिकतामा राखिएको देखिएन ।

एउटा मास्क, पन्जा, एप्रोन, आखाँको बचाउँको लागि चश्मामा हुने खर्च बचाएर चिकित्साकर्मीको जीवन दाउँमा राख्ने कार्य त भइरहेको छैन?

कुनैदिन प्रहरीमा हुँदा तत्कालिन स्थानीय प्रशासन ऐन २०२८ मा भएको एउटा प्राबधानको बिषयमा बडो चर्चा हुन्थ्यो, जसमा भिड नियन्त्रण गर्न टियर ग्यास भन्दा पहिले लाठि चार्जको व्यवस्था गरिएको छ । जब कि टियर ग्यासले भन्दा बढी लाठी चार्जले हानि पुर्याउँछ ।

तर पनि यो व्यवस्था हुनुको कारण टियर ग्यास बाहिरबाट किन्नुपर्छ, तर लाठि फ्री मा वा सस्तैमा नेपालमा उपलब्ध हुनसक्छ । याहा जनताको स्वास्थ्य भन्दा पनि आर्थिक कुरालाई महत्व दिइएको देखिन्छ ।

अहिलेको कोरोना भाइरस संगको युध्द चाडै टुंगिने खालको देखिदैन, एक किसिमले भन्ने हो भने नेपालमा त यसको सक्कली युध्द त सुरु भएकै छैन भने पनि हुन्छ ।

यदि नेपालमा यसलाई नियन्त्रण गर्न समयमै यथोचित कदम नचाल्ने हो भने भन्न सकिन्न कुन हद सम्म यसले पिरोल्ने छ नेपाललाई ?

हिजो माओवादीको जनयुध्दमा प्रहरी एक्लैलाई बिना पूर्वाधार होमिए जसरी कोरोना बिरुध्द चिकित्सक र नर्सहरुलाई पनि होम्ने हो भने चिकित्सा क्षेत्रमा हाहाकार त निम्त्याउने नै छ ।

जसले उनीहरुको मनोबल नराम्रो संग गिराउने त छदैछ, सँगसँगै कोरोना विरुध्द लड्नुपर्ने निर्णायक शक्ति लड्नु अगाडी नै हारको मानसिकतामा पुर्याउन सक्छ ।

जुन अवथा भनेको हिजो माओबादी जनयुध्द्संग प्रहरीले लड्दा माओवादीको प्रहारबाट थिलथिलो अबस्थामा पुगेको प्रहरी जस्तै हुने त होइन ।

जो हतास मानसिकतामा सकिन्ज्याल माओवादीको प्रहार सहन्छ र अन्तमा माओबादीको प्रहारबाट प्रहरी आँफै थिलथिलो हुन जान्छ । के अहिले देशले नेपालको चिकित्सा क्षेत्रलाई त्यहि हबिगतमा पुर्याउन खोजेकै हो त ?

अहिले हाम्रा प्रधानमन्त्री, मन्त्री अनि सम्वद्द अधिकारीहरु यस्तो उस्तो तयारी छ भन्दै राजनीतिक भाषणमा कुर्लने गरेका छन्, तर चिकित्सा क्षेत्रको वास्तविक अवस्थाको बारेमा भने अनभिज्ञ देखिन्छन् । यस अवस्थामा फेरि माओबादी जनयुध्द कालको एउटा घटना उधृत गर्नु सान्दर्भिक ठान्दछु ।

जब कालिकोटमा माओवादीको आक्रमण भयो, रातभरी लडेर आफ्नो चौकी जोगाएका थकित प्रहरीहरु समक्ष भोलिपल्ट एकजना एआइजि हेलिकप्टरमा गएर उनीहरुलाई उभ्याएर उनीहरुको बहादुरीको बखान गर्दै ठुलाठुला भाषण दिदै गर्दा एकजना प्रहरी जवानले सतर्कमा उभिएर ’’सर माफ गर्नुस्, हामीलाई अहिले तपाइको भाषण हैन, लड्न त हामी लडि़हाल्छौ, तर माओबादी संग लड्नको लागि चाहिने आधुनिक हतियार, गोलीगठ्ठा, संचार सेट र खानेकुराको ब्यबस्था चाहिएको छ ।’’

तब ती एआइजि केहि बोल्न नसकी टवा परेका थिए रे । हो, अहिले कोरोना भाइरससंग लड्ने चिकित्साकर्मीहरुको अवस्था पनि त्यस्तै छ ।

धेरै टाढा पुग्नु पर्दैन, केहि समय अगाडी कोरोना भाइरसबाट आक्रान्त एक्लो चीनको हुवान प्रान्तका जनतालाई उद्दार गर्न ३० वटा प्रान्तबाट झिकाइएका ४१,६०० स्वास्थ्यकर्मी मध्ये २०५५ जना भाइरसबाट संक्रमित भएका थिए, जसमध्ये २२ जना चिकित्साकर्मीको सोहि भाइरसबाट मृत्यु भएको थियो ।

जब कि त्यसबखत अधिकांश चिकित्साकर्मीहरु आवश्यक उपकरणबाट सुसज्जित थिए, तैपनि चिकित्साकर्मीहरु कोरोना भाइरसबाट सुरक्षित हुन् सकेनन, यति सम्म कि सर्बप्रथम संसारलाई कोरोना भाइरसको प्रकोपको सम्भावना बारे थाहा दिने डाक्टरको नै यसैबाट मृत्यु हुन पुग्यो ।

विगतमा सार्स भाइरसबाट पनि २२१५ चिकित्साकर्मीहरुको मृत्यु भएको तथ्यांकले देखाएको छ । त्यसैले पनि यस्ता सरुवा हुनसक्ने भाइरसबाट स्वास्थ्यकर्मीहरुलाई बढी थ्रेट रहेको देखिन्छ ।

अझ सबैभन्दा सोचनीय कुरा अहिलेको सन्दर्भमा सर्वत्र कोरोना भाइरसबाट आतंकित रहेको सन्दर्भमा चिकित्साकर्मी नै आतंकित भइदिए भने अहिलेको अकल्पनीय बिकराल स्थितिमा के हुनसक्ला ? यति मात्र हैन अहिले लक डाउनले गर्दा अति आवश्यक कुराहरुको कमि हुन् गैरहेको छ।

जसको लागि पीपीईको उपयुक्त प्रबन्ध पहिलो शर्त हुनसक्छ । अहिले नेपालमा यसको लागि समयमै गम्भीर हुनु जरुरी देखिएको छ । संसारभर अहिले यहि पीपीईको चर्चा भैरहेको छ ।

बेलायतको बेजिंगस्टकस्थित नर्थ ह्याम्प्सायर हस्पिटलको कोभिड १९ वार्डमा कार्यरत नेपाली नर्सले बताएअनुसार उनि कार्यरत वार्डमा कोरोना भाइरस संक्रमितमा अधिकांश सो को उपचारमा संलग्न चिकित्साकर्मीहरु नै संक्रमित रहेका छन् ।

त्यसैले बेलायतमा रहेका चिकित्साकर्मीहरु पनि आफै आतंकित अनि आफ्नो सुरक्षाको लागि गम्भीर बनेका छन् । कोरोना भाइरस उपचारमा संलग्न हुन् आफ्नै सुरक्षाको लागि पीपीईलाई पहिलो शर्त बनाउन थालेका छन् ।

त्यसैले नेपाल सरकार र स्वास्थ्य मन्त्रालयका सम्वध्द अधिकारीहरु यसकारण पनि यसको प्रबन्धका लागि गम्भीर हुनु आवश्यक छ कि यदि कुनै पनि व्यक्ति कोरोना भाइरसबाट संक्रमित भयो भने कम्तिमा पनि १४ दिन आइसोलेसनमा रहनुपर्ने हुन्छ ।

झन् स्वास्थ्यकर्मी नै परेछन भने के होला ? उनीहरु १४ दिन आइसोलेसनमा रहँदा कोरोना भाइरसको उपचारमा खटिनुपर्ने स्वाश्थ्यकर्मिको थप अभाव हुन् जान्छ । त्यसको लागि पनि स्वास्थ्यकर्मीलाई उपयुक्त साधनको प्रबन्ध गरिहाल्नु जरुरी भएको छ ।

अझ सबैभन्दा सोचनीय कुरा अहिलेको सन्दर्भमा सर्वत्र कोरोना भाइरसबाट आतंकित रहेको सन्दर्भमा चिकित्साकर्मी नै आतंकित भइदिए भने अहिलेको अकल्पनीय बिकराल स्थितिमा के हुनसक्ला ? यति मात्र हैन अहिले लक डाउनले गर्दा अति आवश्यक कुराहरुको कमि हुन् गैरहेको छ।

केही समयदेखि बेलायत लगायतका मुलुकहरुमा अत्यावश्यक सामाग्रीहरुको अभाव हुदा पसलबाट सामान हरु किनेर थुपार्ने होडबाजी हुदा पसल रित्तिएको अबस्थामा बेलायतका स्वास्थ्यकर्मीहरु आफ्नो १२ घन्टे ड्युटी सकेर घर फर्कने क्रममा पसल हुँदै आफ्नो परिवार लाइ चाहिने सामानहरु लिएर जान खोज्दा पसल रित्तो देखिएपछि बेलायतका नेसनल हेल्थ सर्भिसका प्रमुखले बीबीसी बाट’’ तिमीहरुलाई नै बचाउन १२ घण्टा ड्युटी गरेर फर्किने क्रममा आफ्ना परिवारका लागि आवश्यक सामाग्री किन्न नपाएका स्वास्थ्यकर्मीको अनुहार सम्झेर तिमीहरुलाई लाज लाग्नु पर्ने हो’’ भन्ने अन्तर्वार्ता र एक नर्सले पसलमा सामान किन्न जादा रित्तो देखेपछि यस्तो अबस्थामा कसरी काम गर्न सकिन्छ र ?

भन्दै भक्कानिएको दृश्य टिभीले प्रसारण गर्ने बित्तिकै भोलिपल्ट देखि सबै पसलले अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरु र बुढाबुढीहरुको लागि छुटै समय निर्धारण मात्रै गरेनन् अस्पतालमा निशुल्क खान हरु पुर्याएर स्वास्थ्यकर्मीलाई सम्मान गर्दै उनीहरुको मनोबल बढाउने काम समेत गरे ।

जसले बेलायतमा स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन ठुलो मद्दत पुर्याएको छ। यसरी नै नेपालका स्वास्थ्यकर्मीहरुको बारेमा पनि समयमै सोच्नु जरुरी भैसकेको छ ।

किनकी कति अस्पतालमा काम गर्ने डाक्टर, नर्सहरुलाई घरबेटीले घर बाट निकाल्ने, टोलबाट निकाल्ने जस्ता कार्य गरिरहेको समाचार पनि बाहिरिएको छ ।

यस्ता घटनाहरुले स्वास्थ्यकर्मीहरुको मनोबल नराम्रोसंग गिराउने कार्य गर्दछ । यसरी मनोबल गिरेको चिकित्साकर्मिबाट अहिलेको महामारीबाट मुक्ति पाउन सकिएला ?

यो टड्कारो प्रश्नको उपयुक्त जवाफ पाउनको लागि पनि सम्बन्धित निकायले समयमै स्वास्थ्यकर्मीको आवश्यकतालाई मध्यनजर राखेर आवश्यक प्रबन्ध गरिहाल्नु जरुरी भैसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित