काठमाडौं, १९ वैशाख । बिहान उठ्नेबित्तिकै सुरुप्प चिया नपिए चित्त बुझ्दैन । पाहुना वा साथीभाइ भेटघाटमा चिया पिलाएर सत्कार गर्ने संस्कार छ । होटल वा रेष्टुरेन्ट छिर्नासाथ चिया अर्डर गर्नु नौलो नै छैन् ।
हिजोआज साना–ठूला होटलमा भव्य चिया पार्टी नै आयोजना गरिन्छ । सरकार होस् या निजी क्षेत्रले आफ्ना कार्यक्रममा आगन्तुकलाई चिया खुवाएर सम्मान गर्ने गर्छन् । चियाको चलनले सहरमा व्यवसायको नयाँ स्वरुप विकास गरिरहेको छ । युवा व्यवसायी चिया पसल नौलो तरिकाले चलाउने जमर्कोमा जुटेका छन् ।
पारखीको खोजीलाई बुझेर थुप्रै थरी चिया बेच्ने काठमाडौं उपत्यकामा सहरमा प्रशस्त पसल र रेस्टुराँहरु छन् । जहाँ कोसेलीका रुपमा वा दैनिक प्रयोग गर्न चियाका पकेटहरु खरिद गर्ने गरिन्छ । त्यसबाहेक फरक फरक स्वादको चिया बिक्री गर्ने पसलहरु थपिएका थपिएकै छन् ।
काठमाडौंका खोला किनार वा करिडोर क्षेत्रमा तात्तातो चिया बिक्री गर्ने ‘टी–स्पट’हरु खुलेका छन्, जहाँ पारखीहरु झुम्मिइरहन्छन् । हिजोआज माटाका प्यालामा ‘मट्का चिया’ पिउनु फेसन नै बनेको छ । भारतबाट भित्रिएको यस्तो फेसन नेपालमा खुबै चलेको छ ।
चिया सत्कारको संस्कृतिमा मात्र सीमित छैन्, अर्थतन्त्र र पर्यटनसँग प्रत्यक्ष जोडिएको छ । चियाले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगट्दै आएको छ ।
चियाविज्ञ उदय चापागाईं नेपाली चियाको बजार विश्वभर फैलिँदै गएकाले भावी दिनमा सिंगो अर्थतन्त्रमै महत्वपूर्ण हिस्सेदार बन्ने निश्चित भएको बताउँनुहुन्छ । नेपालभित्रै पनि चिया संस्कारका रुपमा फैलिदै गएको र यसले रोजगारीमा प्रत्यक्ष सहयोग पुर्याएको उहाँको बुझाइ छ । ‘अब नेपाली चियाको साम्राज्य फैलिसकेको छ । गुणस्तरीयताका कारण जापान, जर्मन, फ्रान्स, चीन जस्ता मुलुकहरुले हाम्रो चिया रुचाएका छन,’ चापागाईले भन्नुभयो ।
चिया वास्तवमा जादूयी पेय हो । यसले सम्बन्धहरुलाई नवीकरण गरिदिन्छ । तेह्रौं शताब्दीमा पहिचान भएको चिया अहिले नेपालीहरुको आदत बनेको छ । काठमाडौंको मात्र कुरा गर्ने हो भने चिया बेचेर जीविका चलाउनेहरुको संख्या बढ्दो छ ।
शंखमुलमा रहेको ‘दाह्री भाईको चिया पसल’, नयाँ बानेश्वरस्थित के एण्ड के कलेज अगाडिको ‘चिया सागर’, निर्माता तथा नायक संजोग कोइरालाले बानेश्वर चोकबाट शंखमुलतिर जाने बाटो छेउ खोलेको ‘चिया अड्डा’ र त्यसका आउटलेटहरु यसका उदाहरण हुन् । ‘हेल्थ ड्रिंक’ र आनन्दका लागि पिउने गरिएको चिया अहिले नेपालभर चिया भेराइटीको स्वाद चखाउने पसल संचालन गर्ने ट्रेण्ड चलेको छ । दर्जनौं स्वादमा चिया बेचेर पारखीहरुको मन जित्ने क्रम चलेको छ । दूधसँग र दूधबिनै पिउने गरी चिया उमालेर बेच्ने व्यवसाय फस्टाएको छ ।
ग्रीन टी, ब्ल्याक टी, सिल्भर टी, येल्लो टी, ह्वााइट टी, ग्रिन टी, ‘स्पेसल ग्रीन’जस्ता चियाका भेराइटी पसलहरुमा खुबै चलेको छ । चिया पसलहरुमा मसला चिया, नरिवल चिया, मट्का चिया, हनी जिन्जर चिया, प्लेन, नर्मल, लेमन, ब्ल्याक मसलालगायतका चिया धेरै चल्तीमा छन् ।
कोटेश्वर महादेवस्थानमा चिया पसल चलाइरहेका बद्रीप्रसाद चौलागाईले चिया पसलले जीवन निर्वाहमा सहज भएको बताउनुभयो । ‘हामीले धेरै दुःख पायौँ, रोजगारी पाएनौँ भनेर विदेश जाने चलन छ । तर म यहाँ चिया बेचेर दिनमा सबै खर्च कटाएर दुई हजारदेखि २५ सयसम्म कमाइरहेको छु,’ उहाँले भन्नुभयो । आफूले धेरैजसो दूध चिया नै बेच्ने गरेको सुनाउनुभयो ।
सुविधानगरस्थित आलोकनगरको नदी किनारमा चिया पसल चलाइरहेको सिद्धार्थ बुढाथोकीले आफ्नो पसलमा दूध चिया, हर्बल चिया, ग्रीन टी धेरै बिक्री हुने गरेको सुनाउनुभयो । ‘खासमा हामी यहाँ चियाका पारखीहरुलाई चियाको महत्वका बारेमा पनि बुझाउने प्रयासमा छौँ । ग्रीन टी र हर्बल टीले स्वास्थ्यका बारेमा बुझाउने प्रयासमा छौँ,’ उहाँले भन्नुभयो, ‘चिया बेचेर मनग्गे आम्दानी गर्न सकिन्छ । जीवन चलाउन सकिने रहेछ भन्ने अनुभूति भइरहेको छ ।’
नेपालमा व्यापार व्यवसाय गर्ने, स्थानीय उत्पादनलाई प्रवर्धन गर्नेलाई राज्यबाट सहयोग नभएको बुढाथोकीले गुनासो गर्नुभयो । ‘विदेशमोह त्यागेर यहाँ चिया बेच्न थालेको छु । तर नेपालमा व्यापार गर्ने मानिसलाई सहज वातावरण छैन् । त्यसको लागि सरकारले हेर्नुपर्छ । युवाहरुको लागि सरकारले केही गर्नुपर्छ र अवसर दिनुपर्छ ।’
आलोकनगरका अर्का चिया व्यवसायी सिद्धार्थ बुढाथोकी आफ्नो पसलमा धेरै माग भनेको दूधको चियाको नै हुने गरेको बताउँनुहुन्छ । ‘हर्बल चियाहरु पनि छ तर त्यसको बारेमा खासै धेरै जनालाई थाहा नभएको कारणले कम बिक्री हुन्छ । त्यही भएर ग्रीन टी स्वास्थ्यका लागि राम्रो भएको कारण कसरी बढी चर्चामा ल्याउने भनेर कोसिस गर्दै छौं,’ उहाँले भन्नुभयो । अहिले स्वदेशमा केही हुँदैन भन्दै युवाहरु बाहिर गइरहेका छन् । उहाँको भनाइ प्रेरक छ । ‘नेपालमा पनि केही गर्न सकिन्छ । व्यवसाय सानो ठूलो हुँदैन । जे गरे पनि भित्री मनदेखि गर्नुपर्छ । मनदेखि गर्ने हो भने सबै काम हुन्छ नहुने भन्ने केही पनि छैन,’ उहाँ भन्नुहुन्छ, ‘म विदेश नै जानु चाहिँ भन्दिन, तर सकेसम्म अवसर प्राप्त हुन्छ भने नेपालमै गर्दा पनि राम्रो हो ।’
सरकारलाई एकोहोरो गाली गर्नुभन्दा आफूले पनि प्रयास गरेर व्यवसायी हुन सकिने उहाँको अनुभव छ । ‘हामीले दूधहरु सिधै किसानहरुबाट नै ल्याउने हो । हामीले प्रायजसो लोकल मार्केटलाई नै बढी प्राथमिकतामा राखेका छौँ,’ उहाँले भन्नुभयो, ‘चियापती, ग्रीन टी सबै नेपाली नै प्रयोग गर्ने गरेका छौँ ।’