
काठमाडौं, ८ जेठ । इरानका प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बर सोमबार इस्लामिक गणतन्त्रको कार्यवाहक राष्ट्रपति नियुक्त हुनुभएको छ । राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उहाँलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको हो ।
६८ वर्षीय मोख्बर इरानको शिया धर्मतन्त्रमा अन्य राजनीतिक नेताहरूको तुलनामा धेरै हदसम्म चर्चाबाट टाढा रहने व्यक्ति हुनुहुन्छ । रायसीको मृत्युपछि मोख्बर एक्कासी अगाडि आउनुभएको छ । उहाँले इरानमा राष्ट्रपतीय निर्वाचन हुनुअघि करिब ५० दिन कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्न सक्नुहुन्छ ।
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आइतबार दुर्घटनामा परी रायसीको निधनमा जारी शोक सन्देशमा मोख्बरको नियुक्तिको घोषणा गर्नुभएको हो । हेलिकप्टरको भग्नावशेष सोमबार इरानको उत्तरपश्चिमी क्षेत्रमा भेटिएको थियो ।
मोख्बरले सरकारमा प्रमुख पदमा बस्नुभएको छ । विशेषगरी ‘बोनियाद’ वा परोपकारी संस्थामा उहाँको ठूलो भूमिका छ । यी संगठनहरू इरानको १९७९ इस्लामिक क्रान्ति पछि जफत गरिएका सम्पत्तिबाट चलेका हुन् । यसमा पहिले इरानको राजपरिवारको स्वामित्वमा रहेका सम्पत्तिहरू पनि समावेश थिए ।
मोख्बरले स्वर्गीय सर्वोच्च नेता आयतोल्लाह रुहोल्लाह खोमेनीसँग जोडिएको परोपकारी प्रतिष्ठानको जिम्मेवारी लिनुभएको थियो । यो संगठनलाई ‘इमाम खोमेनीको आदेशको कार्यान्वयन’ (इआइकेओ) भनेर चिनिन्छ ।
इरानको आणविक कार्यक्रमको बारेमा चिन्ताको बीचमा युरोपेली संघ (इयू) ले पनि मोख्बर लगायत अन्यलाई छोटो समयका लागि प्रतिबन्ध लगाएको थियो । इआइकेओको प्रमुखको रूपमा, मोख्बरले कोभिड १९ महामारीको उचाईमा खोप प्रयासको निरीक्षण गर्नुभयो र लाखौं डोज उत्पादन गर्ने वाचा गर्नुभयो । मोख्बरले विगतमा बैंकिङ र दूरसञ्चार क्षेत्रमा पनि काम गरिसक्नुभएको छ ।
उहाँले मुस्तजफान फाउन्डेसनमा पनि काम गर्नुभयो । यो संस्थाले देशका ठूला परियोजना र व्यवसायको व्यवस्थापन गर्छ । इरानी मिडिया रिपोर्टहरूले सुझाव दिन्छ कि अन्तर्राष्ट्रिय कानूनमा डक्टरेट गर्नुभएका मोख्बरले इरानको तेल उद्योगमा पश्चिमी प्रतिबन्धहरू रोक्न देशको प्रयासमा मुख्य भूमिका खेल्नुभएको थियो ।
मोख्बर २०२२ देखि इरानको ’एक्सपेडिन्सी काउन्सिल’ को सदस्य हुनुहुन्छ । यो निकायले सर्वोच्च नेतालाई सल्लाह दिन्छ, साथै संसद र इरानको संवैधानिक अनुगमन निकाय ’गार्जियन काउन्सिल’ बीचको विवाद समाधान गर्छ ।
मोख्बरको जन्म सेप्टेम्बर १, १९५५ मा इरानको दक्षिण–पश्चिममा रहेको खुजेस्तान प्रान्तको डेजफुलमा भएको थियो । युनाइटेड अगेन्स्ट न्यूक्लियर इरान (यूएएनआई) समूहका अनुसार मोख्बरले सन् १९८० को इरान–इराक युद्धमा रिभोलुसनरी गार्डको मेडिकल कोरमा अफिसरको रूपमा काम गर्नुभएको थियो ।








प्रतिक्रिया