शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

ग्लोबल आईएमई बैंक र आईएफसीबीच सम्झौता

दैनिक नेपाल २०८० चैत १५ गते २०:५९

काठमाडौं, १५ चैत । ग्लोबल आईएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीको तर्फबाट दक्षिण एसिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रिम प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार आईएफसीले ग्लोबल आईएमई बैंकको कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा सम्पत्ति तथा दायित्व व्यवस्थापन ढाँचालाई सुदृढ पार्न परामर्श दिने, बैंकको जोखिम व्यवस्थापन नीतिलाई अन्तर्राष्ट्रियस्तरमा कायम जोखिम व्यवस्थापन अभ्यासअनुरुप परिमार्जन गर्नेलगायतका विषयहरूमा परामर्श सेवा प्रदान गर्नेछ ।

आईएफसीले जलवायु वित्त क्षमता निर्माणका लागि आधारभूत जलवायु साक्षरता तथा लक्षित क्षमता निर्माण कार्यक्रमहरूमा दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेछ । साथै, आईएफसीले ग्लोबल आईएमई बैंकलाई स्वच्छ यातायात, जलवायु–स्मार्ट कृषि र सौर्य परियोजनाहरूलगायत अन्य विभिन्न क्षेत्रको जलवायु वित्तमा पहुँच बढाएर नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणको प्रयासमा पनि विशेष परामर्श दिनेछ ।

आईएफसीको यस सम्भौताअनुसारको परामर्शले नेपालमा जोखिम व्यवस्थापन, लैङ्गिक वित्त तथा जलवायु वित्त क्षेत्रमा नयाँ आयाम थपिने बैंक विश्वस्त रहेको छ ।

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजीक्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्र रहेका छन् ।

ग्लोबल आईएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित