सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

प्रधानमन्त्री जे भन्छन् उल्टो गर्छन् !

दैनिक नेपाल २०८० माघ २ गते १०:२२

काठमाडौं, २ माघ । मुलुकको कार्यकारी प्रमुखको काम दैनिक प्रशासन सञ्चालन तथा सुशासन कायम गर्दै देशको आर्थिक विकास र समृद्धिका आयोजना कार्यक्रम निर्माण गर्ने र त्यसलाई कार्यान्वयनमा लैजाने हो । तर प्रधानमन्त्री पुष्पकमल दाहालको दैनिकी भने ज्ञापनपत्र बुझ्ने र सानातिना कार्यक्रमको उद्घाटन गर्नेमै बित्ने गरेको छ । त्यो पनि एक दिन होइन, हरेक दिन सानातिना कार्यक्रममा सहभागी हुन उनलाई भ्याइनभ्याइ छ ।

तेस्रोपटक मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको एक वर्षका अवसरमा विगतको कार्यशैली बदल्ने दाहालले घोषणा गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नियमित जाने मात्र होइन, समय दिएर काम गर्ने वाचासमेत गरेका दाहाल सोमबार मात्र राष्ट्रपति भवन शीतल निवासदेखि सिंहदबारसम्मका कार्यक्रममा सहभागी भए । त्यति मात्र होइन, अर्घाखाँचीमा महोत्सवको उद्घाटनदेखि टुँडिखेलमा माघीका अवसरमा आयोजित दुई कार्यक्रममा सहभागी हुनसमेत उनले भ्याएका छन् ।

प्रशासनिक क्षेत्रको सर्वोच्च निकायको प्रमुखका रूपमा समेत रहने प्रधानमन्त्री दाहालले सोमबार खानीपानीको धारो खोल्नेसमेत गरी पाँचवटा कार्यक्रममा भाषण दिन भ्याए । राजनीतिक र प्रशासनिक दुवै दृष्टिकोणले उच्च निर्णय लिने, निर्देशन दिने र समन्वय एवं नियन्त्रण गर्ने प्रधानमन्त्री मुलुकको प्रशासनका केन्द्रबिन्दु पनि हुन् । सबै मन्त्रालयको कामको रेखदेख, नियन्त्रण, निरीक्षण, परीक्षण, समन्वय, अनुगमन तथा मूल्यांकनसम्बन्धी काम प्रधानमन्त्री कार्यालयको कार्यक्षेत्रभित्र पर्छ । प्रधानमन्त्रीलाई मात्रै होइन, मन्त्रीहरूलाई पनि प्रायजसो सार्वजनिक कार्यक्रम उद्घाटनदेखि भाषण गर्न भ्याइनभ्याइ हुन्छ ।

प्रधानमन्त्री दाहाल सोमबार बिहानै संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतासँग शीतल निवासमा शुभकामना आदानप्रदान कार्यक्रममा पुगे । बिहानै निर्धारित समयभन्दा अघि नै प्रधानमन्त्री त्यहाँ पुगेर फर्केका थिए । त्यसपछि उनले सिंहदरबारमा आएर मेलम्ची खानेपानीको वितरण कार्यक्रम उद्घाटन गरे। यसअघि पनि चारपटक उद्घाटन भइसकेको मेलम्ची खानेपानी वितरण कार्यक्रममा प्रधानमन्त्री दाहालले सिंहदरबारभित्रै बनाइएको धारो खोलेर उद्घाटन गरे । उनीसँगै मन्त्रीको लस्कर पनि उद्घाटन कार्यक्रममा उपस्थित थियो ।

सोमबार नै प्रधानमन्त्री दाहाल अर्घाखाँची पुगे । नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित ‘आर्थिक विकास, पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची प्रवद्र्धन’को उद्घाटन गर्न उनी त्यहाँ पुगेका थिए । उनी नेपाली सेनाको हेलिकोप्टरबाट त्यहाँ पुगेका थिए । त्यहाँबाट फर्केर आएका प्रधानमन्त्री दाहाल टुँडिखेल गए । काठमाडौंको टुँडिखेलमा आयोजित थारू समुदायको ‘माघी’ पर्व र मगर समुदायको ‘माघे सकराती’ पर्वमा भाषण गर्न उनले भ्याएका थिए दुवै कार्यक्रम प्रधानमन्त्री दाहालले नै उद्घाटन गरेका थिए ।

जहाँ पुग्छन्, खुसी पार्ने गरी बोल्छन्  

प्रधानमन्त्री दाहालले सोमबार जहाँजहाँ पुगे त्यहाँ भएका कार्यक्रमअनुसार मिलाएर फरकफरक बोले । उनले आफू पुगेका कार्यक्रममा कुनै पनि कसर बाँकी नराखेर सबै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।

प्रधानमन्त्री दाहालले थारू समुदायको कार्यक्रममा वर्तमान संविधान राजनीतिक सन्तुलन र सहमतिको दस्तावेज भएकोप्रति जोड दिँदै अधिकारको रक्षा र सुदृढ नगर्दा वर्तमानका उपलब्धिहरूसमेत गुम्न सक्ने बताए । उनले संविधानमा लेखिएका सबै अधिकार सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

‘नेपालको संविधान देशमा विद्यमान राजनीतिक शक्तिहरूको सन्तुलन र सम्झौताको दस्तावेज भएका कारण उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका महत्वपूर्ण मागहरू सम्बोधन भए पनि संविधानमा सम्पूर्ण अधिकार न्यायोचित ढंगले व्यवस्था गर्न सकिएको छैन,’ उनले भने, ‘यसका लागि प्राप्त अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति रचनात्मक पहल लिनु आवश्यक छ ।’

टुँडिखेलमै मगर समुदायको ‘माघे सकराती’ पर्वको पनि आयोजना भइरहेको थियो । उक्त कार्यक्रममा पनि प्रधानमन्त्री दाहालले लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने प्रतिबद्धता जनाए । उनले निरंकुशताविरूद्ध संघर्ष गरेका योद्धा लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने बताउँदै त्यसका लागि आफ्नो तर्फबाट पहल हुने बताए । ‘शासक वर्गको कठोर निरंकुशताविरूद्ध लड्न जनस्तरबाट उठेका एक क्रान्तिकारी नेता लखन थापालाई राष्ट्रिय विभूति बनाउनुपर्छ भन्ने तपाईंहरूको मागप्रति म पूर्ण रूपमा सहमत छु,’ प्रधानमन्त्री दाहालले भने, ‘यसले देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताविरूद्ध लोकतन्त्रको पक्षमा, बलिदान गर्ने सम्पूर्ण सहिदहरूप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरूको सम्मान हुनेछ ।’

अर्घाखाँचीको कार्यक्रममा प्रधानमन्त्री दाहालले आफू सत्तामा आएपछि अर्थतन्त्रमा सुधार भएको दाबी गरे । उनले भने, ‘यस अवधिमा अर्थतन्त्रमा महत्वपूर्ण सुधार आएको छ । विदेशी मुद्राको सञ्चितिमा इतिहासमै ठुलो प्रगति भएको छ ।’ पर्यटन आगमनमा गुणात्मक वृद्धि भएको उनले बताए । साथै बैंकको ब्याजदरमा कटौती, सहकारी, लघुवित्तको समस्या सम्बोधन भएको समेत बताए । उनले विप्रेषणमा वृद्धि भएको बताउँदै शिथिल भएको उद्योग व्यवसाय चलायमान हुन थालेको दाबी गरेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित