३२ असार २०८३, बिहिबार

एनआईसी एशिया बैंकद्वारा सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण गरेर हस्तान्तरण

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरणसमेत गरेको छ । विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराइ अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माणार्थ सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकले पुस्तकालय भवनहरु निर्माण गरेको हो ।

बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीको जोशीपुर गाउँपालिका–१ स्थित मोहन्याल माध्यमिक विद्यालय, मधेश प्रदेशको सिराहाको भगवानपुर गाउँपालिका–१ स्थित बाला सुन्दरी माध्यमिक विद्यालय, कोशी प्रदेशको झापाको बुद्धशान्ती गाउँपालिका–२ स्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ स्थित गौरीगञ्ज माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहुँको बन्दिपुर गाउँपालिका–१ स्थित पवित्रा माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न भएर पुस्तकालय स्थापनाको लागि बैंकले सम्बन्धित विद्यालयहरुलाई पुस्तकालय हस्तान्तरण गरिसकेको छ ।

त्यसैगरी, मधेश प्रदेशको पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित सिद्धार्थ माध्यमिक विद्यालय र लुम्बिनी प्रदेशको रुपन्देहीको सियारी गाउँपालिका–४ स्थित पब्लिक सेकेन्डरी स्कुलको पुस्तकालय भवनहरु निर्माण कार्य भइरहेको बैंकले जनाएको छ । साथै, बागमती प्रदेशको चितवनको राप्ती नगरपालिका–७ स्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको भवन निर्माणका लागि निर्माणकर्ता छनौट प्रकिया अगाडि बढिसकेको बैंकले जनाएको छ ।

बैंकले यी पुस्तकालय भवनहरु निर्माणका लागि भनेर कुल रू. २ करोड १३ लाख २३ हजार बजेट विनियोजन गरेको छ । यी पुस्तकालय भवनहरु निर्माणपछि उक्त विद्यालयहरुमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराइ विद्यार्थीहरुलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा पहुँच भई उनीहरुको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।