शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

उपचारमा सहयोगको याचना गर्दै मिर्गौलापीडित पत्रकार पिबी दियाली

दैनिक नेपाल २०८१ वैशाख २३ गते ९:५६

काठमाडौं, २३ वैशाख । दुवै मिर्गौला फेल भएपछि सुनसरी इटहरीका पत्रकार पिबी दियाली काठमाडौंको वीर अस्पतालमा उपचार गरिरहनुभएको छ । नियमित डायलाइसिस गर्नुपर्ने भएपछि उहाँलाई आर्थिक समस्याले सताएको छ । घरखेत बेचेर उपचार गराइरहनुभएका दियालीले सहयोगको याचना गर्नुभएको छ ।

उपचारका लागि सरकार, सामाजिक संघसंस्था र दाताहरूसँग सहयोगका लागि याचना गरेपनि त्यो प्रभावकारी नभएको उहाँको गुनासो छ । पत्रकार दियालीले पत्रकार महासंघले सहयोग संकलनका लागि अभियान सञ्चालन गरिदिन माग गर्नुभएको छ । अन्य संघसंस्थालाई पनि सहयोग अभियान सञ्चालन गरिदिन आग्रह गर्नुभएको छ ।

शनिबार इटहरीका सक्रिय पत्रकार एवम् प्रदेशखबर डटकमका सम्पादक पवन अधिकारीले दियालीलाई भेटेर १५ हजार नगद हस्तान्तरण गर्नुभएको छ ।

इटहरीमा बसेर २९ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आउनुभएका पत्रकार दियालीले आफ्नो दुवै मिर्गौला खराब भएको र उपचारका लागि आफूसँग आर्थिक अवस्था कमजोर बनेकाले बाध्य भएर सहयोगको याचना गर्नुपरेको बताउनुभयो ।

दियालीका अनुसार मिर्गौला फेर्नका लागि मृगौलादाता जुटेपनि दाता र बिरामी दुवैको खर्च जुटाउन झनै कठिन भएको छ । मिर्गौला फेरेर स्वस्थ्य रहन लगभग ६० लाखमाथि खर्च हुने अनुमान छ ।

४६ वर्षीय पत्रकार दियाली इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिक र मकालु अनलाइनका प्रधान सम्पादक हुनुहुन्छ । उहाँले लामो समय धरानबाट प्रकाशित ब्लाष्ट दैनिकमा पत्रकारिता गर्नुभएको थियो । उहाँले इटहरीमा गणराज्य दैनिक पनि प्रकाशन गर्नुभएको थियो । पत्रकार दियालीकाअनुसार उहाँ संकटकालको समयमा तीन महिना हिरासतमा पर्नुभएको थियो । उहाँलाई ३ सय ३५ दिन नजरबन्दमा पनि राखिएको थियो ।

पत्रकार दियाली हाल नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति सदस्य तथा दलित विभाग संयोजक हुनुहुन्छ । उहाँ नेपाल दलित पत्रकार संघ र समाजवादी प्रेस संगठनको केन्द्रीय सदस्य हुनुहुन्छ ।

उहाँले सम्पत्तिका नाममा आफूसँग इटहरीमा सानो घर पनि बेचेर उपचारमै खर्च गरिरहेको सुनाउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित