आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

रुसी सेनामा भर्ना हुन किन आकर्षित भए नेपाली ?

दैनिक नेपाल २०८० पुष १८ गते ७:०७

काठमाडौं, १८ पुस । रुस–युक्रेन जारी युद्धमा थप तीन नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ०७५७३७२८ नम्बर राहदानी भएका स्याङ्जाका हरि अर्याल, राहदानी नम्बर १२२९९८९१ भएका धादिङका राजकुमार गिरी र ११०२७१७५ नम्बरको राहदानीवाहक कैलालीका भरतबहादुर शाहको रुस–युक्रेन युद्धका क्रममा मृत्यु भएको हो ।

रुसी रक्षा मन्त्रालयले अर्याल, शाह र गिरीको मृत्यु भएको जानकारी नेपाली दूतावासलाई दिएको स्रोतले बतायो । राजकुमार र भरतको ३ डिसेम्बरमा मृत्यु भएको खबर २८ डिसेम्बरमा प्राप्त भएको परराष्ट्र स्रोतको भनाइ छ । हरि अर्याल भने गत २९ नोभेम्बर (१३ मंसिर) देखि सम्पर्कविहीन भएकामा सोही दिन मृत्यु भएको अनुमान गरिएको छ । यसअघि रुसी सेनामा भर्ना भएका सात जना नेपालीको मृत्यु भइसकेको छ । साथै, रुसका तर्फबाट युद्धमा गएका चार नेपालीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएर युद्धबन्दी बनाएर राखेको छ ।

यसअघि मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा नगरपालिका–१ का रूपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का प्रितम कार्की, मेलुङ गाउँपालिका–६ दोलखाका राजकुमार रोका र इलाम नगरपालिका–५ इलामका गंगाराज मोक्तान रहेको परराष्ट्र मन्त्रालयले गत १६ मंसिरमा विज्ञप्ति निकालेर आफ्नो धारणा सार्वजनिक गरेको थियो । द्वन्द्वग्रस्त मुलुक रुस र युक्रेनमा नजान सरकारले पटकपटक आग्रह गर्दै आइरहेको भए पनि नेपालीहरू पर्यटक भिसामा दुबई र छिमेकी मुलुक भारत भएर रुसी सेनामा भर्ना हुन जानेक्रम रोकिएको छैन ।

रुसलाई परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सेनामा भर्ना नलिन आग्रह गरेको थियो । परराष्ट्रले रुसलाई आग्रह गरे पनि नेपालीहरू सो ठाउँमा जानेक्रम रोकिएको छैन । साथै, यसअघि मृत्यु भएका नेपालीहरूको शवसमेत रुसले नेपाल पठाउन अस्वीकार गर्दै आएको छ ।

यसअघि ४ पुसको विज्ञप्तिमा पनि रुसी सेनामा भर्ना भई मृत्यु भएका नेपाली नागरिकको शव यथाशीघ्र नेपाल पठाउन, घाइतेलगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन पुनः अनुरोध गरिएको थियो ।

गत ४ पुसमा जारी विज्ञप्तिमा नै परराष्ट्रले पहिलोपटक युक्रेनले चार नेपालीलाई युद्धबन्दी बनाएको जनाएको थियो । युक्रेनले युद्धबन्दी बनाएका चार नेपालीमा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन छन् ।

हालसम्म नेपालीहरू कतिको संख्यामा रुस र युक्रेनको सैनिकमा भर्ना भएका छन् भन्ने यकिन तथ्यांक छैन । तर, हाल नेपालीहरू रोजगारीको शिलशिलामा दुवै मुलुकमा पुगेर सैनिकमा भर्ना हुनेक्रम बढिरहेको छ । सरकारले श्रम गन्तव्य नतोकेको र द्वन्द्वग्रस्त मुलुकमा नजान आग्रह गरे पनि माओवादीका पूर्वलडाकु, पूर्वसुरक्षाकर्मीहरू रोजगारीका लागि सो क्षेत्रमा गइरहेको जानकारी आइरहेका छन् ।

रोजगार विभागको तथ्यांक हेर्दा भने १ वैशाख २०८० देखि मंसिर मसान्तसम्मको आठ महिनामा श्रम स्वीकृति लिएर ५ सय ७३ नेपाली रुस गएका छन् । भिजिट भिसा र भारत हुँदै रुस जानेको संख्या अझ बढी हुनसक्ने अनुमान छ । वैदेशिक रोजगार विभागको तथ्यांकनुसार वैशाखमा १७, जेठमा १ सय ७९, असारमा ३३, साउनमा ५३, भदौमा १ सय ६१, असोजमा ४७, कात्तिकमा ४३ र मंसिरमा ४३ नेपाली श्रम स्वीकृति लिई रुस गएका छन् ।

रुसी सेनामा भर्ना हुन यसकारण आकर्षित भए नेपाली

रुसी सेनामा भाडाका सैनिक बढ्नुमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशीका लागि ल्याएको आकर्षक योजनाले हो । सन् २०२२ सेप्टेम्बर अन्तिम साता रुसी सदन ‘स्टेट डुमा’ले एक विधेयक पारित ग¥यो । त्यस विधेयकले एक वर्ष रुसी सेना, रुसी फौज वा अन्य सैन्य सेवामा आबद्धलाई सैनिक क्षेत्रमा सहभागी भएको एक वर्षमै रुसी नागरिकता दिने सहज प्रावधान ल्यायो । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले १६ मे २०२३ मा त्यो विधेयक प्रमाणीकरण गरेका थिए ।

त्यससँगै विधेयक ऐन बनेको छ । विधेयकको प्रमाणीकरणसँगै रुसी फौजमा एक वर्ष काम गरेका जुनसुकै मुलुकका युवासँगै उनीहरूका श्रीमान्श्रीमती वा परिवारका सदस्यले सहज रूपमा रुसी नागरिकता लिन पाउनेछन् । रुसी फौजमा सहज प्रवेश र नागरिकता पाउने ‘आकर्षक’ प्रावधानले गर्दा धेरै नेपाली रुसी सेनामा आकर्षित भएका हुन् । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित