आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

जसपा विभाजनसँगै त्रसित नेपाल र लामिछाने

दैनिक नेपाल २०८१ वैशाख २५ गते ७:५७

काठमाडौं, २५ वैशाख  । जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपाल विभाजन भएसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) समेत विभाजन हुने बताइएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र रास्वपा अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीलाई फुटबाट जोगाउन आन्तरिक छलफलाई तीव्रता दिएका छन् । सोमबार एकीकृत समाजवादीको काठमाडौंमा संसदीय दलको बैठक बस्यो । मंगलबार रास्वपाको संसदीय दलको बैठक बस्दै छ । दुवै दलले आफ्ना सांसदलाई पार्टीको नियन्त्रणमा राख्ने प्रयास जारी राखेका छन्, आजको राजधानी दैनिकमा खबर छ ।

नेपाली कांग्रेसले वर्तमान गठबन्धन फुटाएर नयाँ गठबन्धन बनाउने र सरकार गठन गर्ने गृहकार्य थालेपछि सत्तारूढ दलहरू विभाजनको संघारमा पुगेका हुन् । जसपा नेपाल विभाजन भएपछि चिन्तित बनेका नेपाल र लामिछानेले आफ्नो पार्टीलाई फुटबाट जोगाउन सांसदहरूलाई नियन्त्रणमा राख्दै ‘दायाँबायाँ’ नगर्न कडा निर्देशनसमेत दिएका छन् ।

दुवै दलमा रहेका केही सांसद जसरी पनि मन्त्री हुनुपर्ने लबिङमा रहेको र जुनबेला पनि विभाजनतर्फ लाग्ने चर्चा राजनीतिक वृतमा भइरहेको छ ।

कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरिसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाललाई र अर्का नेता शेखर कोइराला समूहले ओलीलाई प्रधानमन्त्री बनाउन खोजेको बताइएको छ ।

प्रतिपक्षमा रहेको कांग्रेसले गठबन्धन फुटाउन खोजेको छ तर छुटाछुटै समूहबाट अगाडि बढ्न खोजेपछि असफल भएको छ । कांग्रेसको यो चाल बुझेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीले वर्तमान गठबन्धन छोड्ने भएपछि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गराएको कतिपयको विश्लेषण रहेको छ ।

नयाँ बानेश्वरस्थित एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा बसेको बैठकमा अध्यक्ष नेपालले जसपा नेपाल विभाजनपछि विकसित घटनाक्रम सांसदहरूलाई जानकारी गराए । सत्ता गठबन्धनमा असन्तुष्टि देखिरहँदा आइतबार एकाएक जसपा फुटेपछि एकीकृत समाजवादी त्रासमा छ ।

संसदीय दलको बैठकको बीचैमा बाहिरिएका उपाध्यक्ष डा. बेदुराम भुसालले भने पार्टीमा कुनै पनि विवाद नभएको जिकिर गरेका छन् । ‘हामीभित्र कुनै विवाद छैन । अनावश्यक हल्ला हो,’ उनले भने, ‘बाहिर अनावश्यक हल्ला चलाएका छन् । कसले चलाएको हो थाहा छैन ?’

भुसालले आइतबार विभाजन भएको जसपा विभाजनले कुन रूप लिन्छ भन्नेमा सामान्य छलफल भएको बताए । ‘भर्खर निवेदन दर्ता मात्र भएको छ । कुन ऐनअन्तर्गत जाने हो कुनै टुंगो छैन । नियमावली हुन्छ कि हुँदैन, निर्वाचन आयोगले बोलेको छैन । अदालतमा प्रवेश गर्ला’ भुसालले भने । अरूको पार्टी जे भए पनि एकीकृत समाजवादी भने कुनै पनि हालतमा नफुट्ने उनको जिकिर छ ।

यता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई अर्थमन्त्री वर्षमान पुनले भेटेका छन् । खनाल र पुनको भेटघाटलाई धेरैले चासोका साथ हेरेका छन् । जसपा विभाजनसँगै भएको यो भेटले फुटलाई बढावा दिने हो कि भन्ने आशंका पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित