शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

बौद्ध दर्शन, विश्वकल्याण र मुक्तिको सही मार्ग

डा. बालकृष्ण चापागाईं २०८० वैशाख २२ गते २०:३१

डा. बालकृष्ण चापागाईं

नेपालको लुम्बिनीमा जन्मेका गौतमबुद्धले विश्वकल्याणका लागि दिएका विचारले समस्त मानवजाती नै प्रभावित भएको छ ।

उनका शान्ति, मैत्री, करुणा र समानतामा आधारित विचारले गर्दा यसको सान्दर्भिकता र औचित्य झनै बढ्दै गएको महसुस हुन्छ ।

विश्वमा राजनीतिक स्वार्थका कारण सिर्जित हिंसात्मक घटनाले गर्दा मानवजाती अत्यन्तै दु:खित हुनुपरेको यथार्थ सर्वविदितै छ । अत्याधुनिक हातहतियारको प्रयोगबाट शान्ति खोज्ने शक्ति राष्ट्रहरूको दाउपेच क्रमश: औचित्यहीन सिद्ध भइरहेको अवस्था छ ।

शान्ति भनेको मानिसको मनभित्रबाट आउने कुरा हो । मनशान्ति भएपछि विचार तदनुसार भौतिकक्रियाहरू हुने हो । अहिलेको विश्वमा संवाद, सहमति, सहकार्य र सहअस्तित्वमा आधारित भएर शान्ति खोज्नु आवश्यक छ । विश्वमा शान्तिका लागि गौतमबुद्धले अघि सारेका विचारलाई जनजनमा पुर्‍याउन सकेमा शान्ति स्थापना हुने बलियो आधार भेटिन्छ ।

बुद्धले प्रतिपादन गरेका चार आर्यसत्य र अष्टाङ्ग मार्ग, त्रिरत्न, दश पारमिता, पञ्चशीलसजस्ता दार्शनिक तथा सम्यक विचार विश्वकल्याणका लागि सांच्चिकै वैज्ञानिक दृष्टिकोणमा आधारित छन् । ‘अत्ता हि अत्तनो नाथो’ अर्थात् आप्mनो मालिक आफै हो । ‘जीवन र जगत् हरेक क्षण परिवर्तनशील छ, अनित्य बोध यसको आधार हो’ भन्ने वास्तविकतालाई भौतिक विज्ञानले पनि स्वीकार्नु र बौद्ध दर्शनको सान्दर्भिकता विश्वमा झनै बढ्दै जानु महत्वपूर्ण पक्ष देखिन आउँछ ।

सम्राट अशोक बौद्ध धर्म–दर्शनबाट प्रभावित हुनुअघि नृशंस शासक थिए । कलिङ्गको लडाइमा भएको नरसंहारको घटना र त्यहाँ बगेको रगत देखेपछि शस्त्रास्त्रप्रतिको उनको मोहभङ्ग भई बौद्ध–दर्शनको प्रचार–प्रसारमा सम्पूर्ण जीवनलाई समर्पित गरेका थिए । बौद्ध–दर्शनको विश्वव्यापी सञ्चार र प्रभाव विस्तारमा सम्राट अशोक र यिनलाई ज्ञान दिने भिक्षुको विशिष्ट योगदान रहेको देखिन्छ ।

बौद्ध धर्म–दर्शन ‘उपासना, आवरण र पोशाक’ मात्र नभई अन्तस्करणको आवाज, भित्री गुण, चरित्र वा विशेषताले युक्त भएको पाइन्छ । गौतम बुद्धले सङ्घको महत्व र सामूहिकताको अनुपम नमूना प्रस्तुत गरेका छन् । अशोकले गौतम बुद्धको जन्मस्थल पत्ता लगाई स्तम्भ खडा गरेको करिब दुईहजार वर्षपछि मात्र पाल्पाका तत्कालीन बडाहाकिम खड्ग शमशेरले लुम्बिनी बनमा शिकार खेल्ने क्रममा फेला पारेको अशोक स्तम्भ र उनी लगायत अनेक व्यक्तिको प्रयासबाट लुम्बिनीको उत्खनन् भएकाले त्यसको पहिचान भई विश्वव्यापी प्रचार हुन सकेको देखिन्छ ।

बौद्ध धर्म–दर्शनमा दान अर्थात् त्याग, शील अर्थात् नैतिक गुण, नैष्क्रम्य अर्थात् अनाशक्ति, प्रज्ञा अर्थात् यथार्थ ज्ञान, वीर्य अर्थात् उत्साह, क्षान्ति अर्थात् सहनशीलता, सत्य अर्थात् यथार्थ वचन, अधिष्ठान अर्थात् प्रतिज्ञा, मैत्री अर्थात् समताभाव, र उपेक्षा अर्थात् मध्यस्थताजस्ता पारमिताहरूको कार्यन्वयनले समाजमा शान्ति स्थापना हुने देखिन्छ । आफ्नो श्रमले प्राणीप्रति अनुकम्पापूर्ण हृदयले र प्रज्ञापूर्ण दृष्टिकोणले गरिने परोपकार चर्या अर्थात् व्यवहार नै बौद्ध धर्म—दर्शनमा बोधिसत्वको क्रियाको रूपमा देखिन आउनुले समस्त मानव जातिको कल्याणका लागि बुद्धका विचारको औचित्य अझ स्पष्ट हुन्छ ।

निर्वाणमुखी बोधिसत्वले अरूको दु:ख देखेर आफूलाई नै भएझैँ सम्झन्छन्, अनुभूति गर्छन् र जुनसुकै उपाय वा प्रयासले परदु:ख हटाउन कोशिस गर्दछन् भन्ने बुद्धका विचार अत्यन्तै व्यवहारिक देखिन्छन् । पारमिता बमोजिमका आचरण गर्न सक्ने व्यक्तिले सबैसँग हितैषी भाव देखाउँछन् र आफू, अर्को, उच्च, नीचको भेदभाव नराखी विश्वको हित र सुखको कामना गर्दछन् भन्ने कुराले बौद्ध धर्म–दर्शन प्रतिको आस्था र विश्वास बढ्दै गएको पाइन्छ । सबैलाई सुख र शान्तिपूर्ण जीवन बाँच्न मन पर्छ । सारा जीवित प्राणी दण्डसित डराएका हुन्छन् । त्यसैले आफूबाट प्राणीहरूलाई भय र त्रास नदिनु नै अभयदान हो । प्राणीहरूलाई उत्तम उपदेश दिएर परोपकार गर्नु नै धर्मदान हुन्छ । अधर्म र असत्मार्गबाट धर्म र सत्मार्गमा ल्याउन सहयोग पुर्‍याउनु नै धर्मदान गर्नु हो भन्ने जस्ता उपदेशबाट मानिसलाई सत्मार्गमा हिड्न बुद्धले प्रेरित गरेकाले बुद्धप्रतिको आस्था र विश्वास बढेको पाइन्छ ।

गौतम बुद्धले भनेका:– ‘न हि वेरेन बेरानि सम्मन्तीध कुदाचनं । अवेरेन च सम्मन्ति एस धम्मो सनन्तनो ।’ अर्थात् यस संसारमा वैरभावबाट कहिल्यै वैर शान्त हुन सक्तैन । मैत्रीबाट नै शान्त हुन्छ । त्यतिबेलाका समाजका पीडाहरूप्रति उनी सम्वेदनशील थिए । उनले सबै मानिसहरूलाई आफ्नो नया“ मत र धर्ममा स्थान दिएका थिए । गौतम बुद्घले तर्कको आधारमा आफ्नो नयाँ मत दृढताकासाथ स्थापित गरेका थिए ।

उनका साहसिक कदमहरू समाज सुधारका आन्दोलन नै बनेका थिए । यो प्रेम, करुणा र सहानुभूतिबाट अनुप्राणित थियो । बुुद्घका विचारले त्यस बखतका नारीहरूमा सामाजिक सुधारको थालनी गरेको थियो । बुद्घ सङ्घमा तिनीहरूलाई समानताको व्यवहार गरिन्थ्यो । यसले गर्दा गौतम बुद्धले समानतावादी दृष्टिकोण राखेको स्पष्ट हुन्छ । बौद्ध दर्शनको लोकप्रियतामा यिनै र यस्तै विषयले प्रभाव दिएको पाइन्छ ।

गौतम बुद्घ र अहिंसा एक अर्काका परिपूरक छन् । अहिंसा नै उनको उपदेशको सार र अन्तिम लक्ष्य हो । शिक्षा मानिसहरूको लागि त्यति नै आवश्यक छ, जति जीवनका लागि भोजन हुन्छ । तर सदाचाररहित शिक्षा साँचो अर्थमा शिक्षा हुन सक्दैन । शिक्षाले त सत्मार्गमा डोर्‍याउनु पर्दछ भन्ने बुद्धका विचार मानव समाजका लागि सधैँ उपयोगी देखिन्छन् । गौतम बुद्घ हिंसाविरुद्ध र न्यायको पक्षमा थिए । उनी समतामूलक समाज चाहन्थे । प्रज्ञा र करुणाको माध्यमद्वारा संसारका सबै प्राणीहरूको हित गर्ने खालको व्यवहार गर्ने सन्देश दिएका थिए ।

बुद्धद्वारा प्रतिपादित चार आर्यसत्य र आर्य–अष्टाङ्गिक मार्गले मानव–जीवनको अर्थबोध गराई मानिसको सफल जीवन, शान्ति र मुक्तिका लागि अत्यन्तै महत्वपूर्ण सन्देश दिएको पाइन्छ । बुद्धले बोधगयाको पिपलको रुखमुनि समाधि बसेर बोधिसत्वको ज्ञान प्राप्त गरे । समाधिमा बस्नु भनेको आफूले विगतमा गरेका गतिविधिहरू वा आफ्ना अनुभवहरूको सार खिच्नु हो । सम्यक् समाधिको अर्थ आफू एकाग्रतामा रहेर चिन्तन गर्नु हो भन्ने जस्ता वैज्ञानिक दृष्टिकोण दिए । बुद्धका विचार समयक्रममा झनै समसामयिक र लोककल्याणकारी बन्दै गएका छन् । बुद्धका विचारलाई व्यवहारमा लागू गर्न सकेको खण्डमा यो समाजमा सुख, शान्ति र मैत्रीको अवस्था सिर्जना हुन सक्ने देखिन्छ ।

गौतम बुद्धले कुनै जटिल र तत्वशास्त्रीय कुरामा अल्झिएर समय बर्बाद गर्नुभन्दा पीडामा पिल्सिएकाहरूको सानो दु:ख निवारण गर्न सकियो भने त्यो बढी कल्याणकारी हुने सामाजिक न्यायको पक्षमा जोड दिएकाले उनका विचारको सान्दर्भिकता झनै बढेको पाइन्छ । गौतम बुद्धले महिलाहरूलाई दीक्षाको अधिकार र भिक्षुणी बन्ने मौका दिएका, स्वतन्त्र भिक्षुणी सङ्घको स्थापना गरेका, स्त्रीलाई आध्यात्मिक मार्गमा हिंड्न र आध्यात्मिक शक्ति प्राप्त गर्नमा दीक्षित गरेका हुँदा उनका विचार लैङ्गिक अधिकारका दृष्टिले पनि उपयोगी देखिन्छन् । गौतम बुद्धले प्रेम र स्वतन्त्रता दुवै सँगैसँगै हिँड्छन् भने । स्वतन्त्रताविनाको प्रेम जेलको बन्दी जस्तो हुन पुग्छ । बुद्धले व्यवहारिक र मानवीय संवेदनशीलतालाई बुझेर उपदेश दिएकाले उनी प्रतिको विश्वास झनै बढेको पाइन्छ । पति र पत्नीका बीचको प्रेमलाई उनले पवित्र प्रेमको संज्ञा दिएकाले गृहस्थ जीवनमा रहेकाहरू बीच पनि गौैतम बुद्ध लोकप्रिय भएको पाइन्छ ।

गौतम बुद्धले मानव जीवनमा श्रमको निकै महत्व छ भन्ने कुरामा जोड दिएका हुनाले श्रमण संस्कृतिको निर्माणमा योगदान पुगेको देखिन्छ । गौतम बुद्धले माता–पिताको सेवा गर्न सिकाए । कुनै काल्पनिक ईश्वरलाई होइन माता–पितालाई नै ब्रह्मा भने ‘ब्रह्मा ती मातापितंरो’ बुद्धिमान मानिसले माता–पिताको उचित आदर–सत्कार गर्नुपर्छ, पूजा गर्नुपर्छ, ब्रम्हको अर्थ हो अनन्त मैत्री, अनन्त मुदिता, अनन्त करुणा र अनन्त समभाव–युक्त व्यक्ति । गौतम बुद्धले माता–पितालाई नै ब्रह्मको दर्जा दिएका हुनाले पाका पुस्ताका बीचमा पनि उनी लोकप्रिय भएको पाइन्छ ।

शिष्यले आफ्नो गुरुको आदर–सम्मान गर्नुपर्छ, आज्ञाको पालन गर्नुपर्छ र मिहिनेत तथा लगनका साथ पढाई गर्नुपर्छ । शिक्षकले पनि आफ्नो शिष्यलाई सही र समुचित शिक्षा–ज्ञान दिनुपर्छ, उचित रूपले पढाउनु पर्छ, असल सङ्गतको लागि प्रेरित गर्नुपर्छ, शिक्षा प्राप्त गरेपछि रोजगार प्राप्त गर्नमा भूमिका खेल्नुपर्छ । पति र पत्नी एक–अर्काको विश्वासपात्र बनून्, एक–अर्काको सम्मान गरून्, एक–अर्काप्रति पूर्णत: समर्पित रहुन्, एक अर्काप्रति आफ्ना उत्तरदायित्वको पालना गरुन् ।

पति–पत्नी एक–अर्काको पूरक हुन्छन्, पतिको कर्तव्य हो उसले आफ्नी पत्नीको मान–सम्मानको रक्षा गरोस्, कहिल्यै अपमान नगरोस्, अपमान हुन नदेओस्, अनैतिक मिथ्याचारबाट टाढा रहोस्, आफ्नो आम्दानीको हिसाबले धन–सम्पतिबाट पत्नीलाई सन्तुष्ट राखोस् र समय–समयमा पत्नीलाई वस्त्र–आभूषण उपहार दिईरहोस् भन्ने शिक्षा दिएकाले गृहस्थ महिलाहरू पनि बुद्धका विचारको पक्षमा देखिन्छन् ।

गौतम बुद्धले कस्तो व्यक्तिसँग मित्रता गर्नुपर्छ भन्ने सन्दर्भमा पनि उपदेश दिएका छन् । मित्रतामा स्थिरता हुन्छ, सम्पन्नता–विपन्नता, सुख–दु:ख, सफलता–असफलता सबै परिस्थितिहरूमा समान व्यवहार गर्छ । सद्गुणी मानिसहरूसँग सम्बन्ध बढाऊ र घटिया मानिसहरूको सङ्गत र घटिया मार्ग त्यागी देऊ भन्ने अर्ती उपदेश गरेकाले मानिसलाई सत्मार्गमा हिड्न प्रेरित गरेको पाइन्छ ।

बुद्धले हरेक राष्ट्रको विदेश नीति पञ्चशील र परस्पर शान्तिपूर्ण सह–अस्तत्वमा आधारित हुनुपर्छ भन्दै श्रावस्तीमा कोशल नरेश प्रसेनजितलाई धम्मको उपदेश दिँदा ‘एउटा देशको समृद्धि र सुरक्षा अरू देशहरूको गरिबी र असुरक्षाको मूल्यमा हुनु हुँदैन’ भनेकाले गौतम बुद्धका विचार विश्वशान्तिका लागि महत्वपूर्ण रहेको स्पष्ट हुन्छ ।

जनतालाई सार्वभौम मानी प्रजातन्त्रमा विश्वास राख्दै र प्रजातान्त्रिक एवम् लोकतान्त्रिक ढङ्गले शासन चलाइयो भने र प्रजाको हितसम्बद्र्धन गरियो भने कुनै गणराज्यलाई खतरा हुँदैन भन्ने बुद्धका उपदेशलाई अहिलेको विश्वका शासकहरूले बुझ्ने हो र त्यसकोे आत्मसात् गरी कार्यान्वयन गर्ने हो भने विश्व समाजमा शान्ति स्थापना हुने देखिन्छ ।

बुद्धले बारम्बार भनेका छन्– ‘जन्मले न कोही ब्राह्मण हुन्छ र न कोही शूद्र । मानिसको मूल्य उसको जातिबाट होइन, उसका कामहरूबाट देखिन्छ । कर्मले नै मानिस ब्राह्मण बन्छ र कर्मले नै चण्डाल ।’ भनेका हुँदा कुनै पनि राज्यले वर्ण र जातिका आधारमा भेदभाव गर्न नहुने कुराको सबैलाई बोध गराएको छ । यी विचारले मानव अधिकारको प्राप्ति र संरक्षणमा बुद्धका विचारको महत्व झनै दर्शाएको पाइन्छ ।

प्रत्येक मानिसले मन, वचन र कर्मले मिहिनेत गर्‍यो भने निर्वाणसम्म यसै जीवनमा पुग्न सकिन्छ । यसका लागि कसैको कृपा होइन स्वयम् आफ्नै कर्मबाट त्यो निर्वाणमा पुग्न सकिन्छ भन्ने ज्ञान प्राप्त गर्न सक्ने भएकाले पनि यो विचार अजर र अमर बन्न पुगेको पाइन्छ । गौतम बृुद्ध सामाजिक न्याय र समानताका अभियन्ता थिए । उनी सर्वधर्म–समभावको पक्षधर थिए । उनले कहिल्यै पनि आफ्ना शिक्षाहरूको प्रशंसालाई न त आवश्यकताभन्दा बढी महत्व दिए, न त्यसको आलोचना गर्नेहरूको नै निन्दा गरे । यसले गर्दा उनी धर्मनिरपेक्षताका पक्षपाति थिए भन्ने कुरा स्पष्ट हुन्छ । बुद्धका यी उपदेशबाट विश्व मानव–समाजले नै पाठ सिक्दै अगाडि बढेको देखिन्छ ।

संसारमा अगणित दर्शन, सिद्धान्त र मतहरू छन्, मानिसहरू यी सबैमाथि अनन्त समयसम्म आलोचना–प्रत्यालोचना गर्न सक्छन् । विभिन्न सिद्धान्त, धर्म र मत–मतान्तर छन् तापनि बौद्ध दर्शन निकै व्यापक भएको स्पष्ट हुन्छ । यसको अध्ययन–अनुसन्धान अझै गहन, व्यापक र वैज्ञानिक रूपमा हुनु पर्ने देखिन्छ । उनले सङ्घमा एकता बनाई राख्न र बिघटनलाई बचाई राख्नका लागि आपसमा मिलिरहू, धम्म चर्चा गर्दै रहू, भेटिने र छुट्टिने बेलामा सहयोग–एकताको भावना राख, निर्धारित शीलहरूको पालना गर, सङ्घका गुणी र अनुभवी वरिष्ठ भिक्षुहरूको आदर गर र उनीहरूका मार्गनिर्देशहरूको पालन गर्‍यौ भने धम्म फल्ने–फुल्नेछ र कहिल्यै यसको पतन हुने छैन भनेका छन् । यसबाट विश्व मानव समाजले शिक्षा लिएर अगाडि बढ्न सकेमा शान्ति र मानव कल्याण हुन सक्ने प्रेरणादायी सन्देश दिएको पाइन्छ ।

बौद्ध धर्म–दर्शनको विकासमा सञ्चारको अटुट सम्बन्ध रहिआएको विषय यस शोध प्रबन्धमा पुष्टी गरिएको छ । जीवन, मानव–समाज र सञ्चार बीचको सम्बन्ध अपरिहार्य तत्वको रूपमा रहेको कुरालाई विभिन्न तथ्यहरूको वैज्ञानिक अध्ययन–अनुसन्धानबाट प्रमाणित गरिएको छ । आधुनिक समाजमा मानिस–मानिस बीच, राष्ट्र–राष्ट्र बीच, ठूला राष्ट्र र साना राष्ट्र बीच, शक्ति राष्ट्रहरू बीच आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक, धार्मिक, भौगोलिक, प्राकृतिक साधन स्रोतको उपयोगका सन्दर्भमा द्वन्द्व बढ्दै गई विश्व मानव समाजमा हिंसा र अशान्तिको स्थिति झनै विकराल भइरहेको अवस्था देखिन्छ ।

शान्तिका लागि भनी स्थापना भएका संयुक्त राष्ट्रसंघ लगायतका संघसंस्था, विभिन्न तह निकायहरूको भूमिका पनि विश्वशान्ति स्थापनामा सफल हुन सकेको अवस्था देखिंदैन । हिंसा र हातहतियारको प्रयोगले मानवसमाजमा शान्ति स्थापना हुन सक्दैन भन्ने कुरा पुष्टी भइसकेको छ । त्यसका लागि मानिसले आफैभित्र शान्तिको खोजी गर्नुपर्छ । त्यो वैज्ञानिक शान्ति मार्ग बौद्ध–दर्शनमा छ । यस आधारमा आधुनिक सञ्चारका माध्यमहरूले आम मानिसलाई सरल र प्रभावकारी ढंगले वैज्ञानिक विधि र शैलीद्वारा बौद्ध दर्शन बारे जानकारी गराई सकारात्मक प्रभाव दिन सक्दा विश्वमा शान्ति स्थापना हुने विश्वास गरिएको छ ।

भवतु सब्ब मंगलम् ।
सन्दर्भ: २५६७औं बुद्धजयन्ती

(‘बौद्धदर्श र सञ्चार’ ग्रन्थका लेखक डा. चापागाईंले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन् । साथै, उनी प्रेसको पाँचौं सिद्धान्त ‘सञ्चारमा शान्ति सिद्धान्त’का प्रवर्तक समेत हुन् ।)

प्रतिक्रिया
सम्बन्धित