शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

एमालेको गण्डकीका जनप्रतिनिधिलाई ३ दिने प्रशिक्षण सुरु

दैनिक नेपाल २०८१ वैशाख २२ गते १८:३८

पोखरा, २२ वैशाख । नेकपा (एमाले)ले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आयोजना गरेको तीनदिने प्रशिक्षण शनिबार पोखरामा सुरु भएको छ ।

प्रशिक्षणको पार्टी स्थायि कमिटी सदस्य थममाया थापाले उद्घाटन गर्नु भएको थियो ।

थापाले एमालेका नेतृत्वमा रहेका पालिकाहरू सुशासन र विकासका नमुना बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो । आफ्नो पार्टीले पारदर्शिता जवाफदेहितासहितको विधिको सुशासनमा जोड दिँदै आएको र आफ्ना जनप्रतिनिधि त्यसमा अब्बल हुनुपर्ने मान्यता अनुरुप काम गर्न आग्रह गर्नुभयो ।

एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले पार्टी र जनप्रतिनिधिबीचको समन्वय र सहकार्यले मात्रै निर्धारित लक्ष्य पूरा हुने भन्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना पूरा गर्न प्रशिक्षण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश कमिटी सचिव धनन्जय दवाडीले जनताका काम थप मजबुत तवरले छिटो छरितो परिणाममुखी बनाउन सहजीकरण होस् भन्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताउनुभयो ।

एमाले पोलिटब्यूरो सदस्य तथा केन्द्रीय स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल, सचिव हर्कराज राई, पार्टीको केन्द्रीय स्कुल विभाग सदस्य रामशरण प्याकुरेलसहितका नेताहरूले प्रशिक्षणमा सहजिकरण गर्ने सचिव दवाडीले बताउनुभयो ।

प्रशिक्षणमा एमालेबाट गण्डकी प्रदेशका स्थानीय तहमा निर्वाचित प्रमुख/उपप्रमुख , जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख र प्रत्येक जिल्लाबाट एक जना वडा अध्यक्षसहित पार्टीका जिल्ला कमिटी अध्यक्ष र इन्चार्जहरू गरी करिब एक सय जनाको सहभागिता रहेको एमाले गण्डकी प्रदेशका उपसचिव तथा प्रचार एवम् प्रकाशन विभाग प्रमुख मन्जु अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित