शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेपालको कम्युनिष्ट आन्दोलनमा ‘घाँडो’ पात्र घनश्याम

‘उनको काम कन्भिन्स गर्नु होइन, कन्फ्युज्ड गर्नु हो’

निर्मल भट्टराई २०७९ पुष २९ गते २०:४७

– निर्मल भट्टराई

पछिल्लो निर्वाचनमा नेपाली जनताबाट राष्ट्रिय पार्टी पनि बन्न नसक्ने गरी अभिमत पाएको नेकपा (एकीकृत समाजवादी)मा एमालेको टिकट नपाएर उछिट्टिएका र गठबन्धनले हदैसम्मको बल लगाउँदा समेत चुनाव जित्न नसकेका घनश्याम भुसाल प्रवेश गरेका छन् ।

प्रवेश कार्यक्रममा उनले नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेपाल कम्युनिष्ट पार्टी (एमाले) र त्यसका अध्यक्ष केपी शर्मा ओलीविरूद्ध विषवमन गरेका छन् । साथै उनले ‘समाजवादी कार्यक्रम आफूले बनाउने’ घोषणा समेत गरेका छन् ।

निर्मल भट्टराई

सबैले अनुभूत गरेकै छन्– घनश्यामहरू नेपालको कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी क्याम्पबाट निरन्तर आक्रमणमा छन् । केपी शर्मा ओलीको प्रयासबाट एकीकृत बनेको कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्न विगतमा कम्मर कसेर लागेका यी पात्र आफू घरको न घाटको अवस्थामा पुगेपछि फेस सेभिङ गर्ने र हिजो विभिन्न भ्रमवस यताउता लागेका तर अहिले एकतामा आउन चाहने वाम कार्यकर्तालाई थप भड्काउन आवश्यक भ्रम बोकेर ‘स्वतन्त्र’ घनश्याम पुनः पार्टी नेता बन्न तयार भएको कहींकतै छिपेको छैन । उनको काम कन्भिन्स गर्ने होइन, कन्फ्युज्ड गर्ने हो ।

ओली नेतृत्वको वर्तमान वाम प्लस गठबन्धनतिर लाग्ने कि आम निर्वाचन अघिसम्मको आफ्नो छाता नेपाली कांग्रेसकै कित्तामा बसेर ओली–प्रचण्डलाई भत्काउने षडयन्त्रमा सामेल हुने भन्ने अलमलमा परेको माधव समूहलाई सकेसम्म ‘देउवा दाजु’को पोल्टामै पुर्याउने उनको पहिलो ‘समाजवादी कार्यक्रम’ हुनेछ । उनले पढेको मार्क्सवादको सिर्जनात्मक प्रयोग नेपालका कम्युनिष्टहरूलाई मिल्न नदिने र दक्षिणपन्थी प्रतिक्रियावादको सेवा गर्ने कार्यमा हुनेछ ।

स्वघोषित विद्वान घनश्याम भुसाल आफ्नो ‘मार्क्सवादी अध्ययन’कै शिकार जीवनभर बनेका छन् । उनलाई भ्रम छ– नेपालमा आफूले जति मार्क्सवाद कसैले पढेको छैन । विडम्वना नै मान्नुपर्छ, उनले गरेको मार्क्सवादको अध्ययन बकरेले गरेको खसीको अध्ययनजस्तो मात्र भएको छ । खसीको राम्रो अध्ययन गरेको बकरेले खसीलाई कुसलतापूर्वक काट्ने हो । त्यसको अरू कुनै प्रयोजन हुदैन ।

कम्युनिष्ट आन्दोलनमा भुसालका सहपाठी र सिनियरहरूलाई राम्ररी थाहा छ, भुसाल प्रतिक्रियात्मक चेत र आलोचनात्मक ग्रन्थीका ‘थोक विक्रेता’ हुन् । उनीमा सहमति र सहकार्यको संस्कृति खोज्नु मरूभूमिमा पानी खोज्नुसरह हुनेछन् । एमाले र ओलीलाई हैरान पार्ने घनश्यामले माधव–झलनाथलाई चैनसँग बस्न दिने कुनै सम्भावना छैन ।

एमाले र यसको नेतृत्वलाई सिध्याउन विगतदेखि नै विभिन्न प्रवृत्ति र पात्रहरू पटक–पटक खडा भएका छन्, खडा गरिएका छन् । तर एमालेको हात्ती हिंडाइलाई त्यसले असर गरेको छैन । बरू त्यस्ता प्रवृत्ति र पात्रको हुर्मत हुँदै आएको छ । यो कुरा घनश्यामजस्ता मायावी मार्क्सवादीलाई पनि हेक्का नभएको होइन ।

चिनियाँ दार्शनिक कन्फ्युसियस भन्दथे– ‘विचारविनाको अध्ययन परिश्रमको बर्वादी हो, अध्ययनविनाको विचार खतरनाक हुन्छ ।’ घनश्याम भुसालको अध्ययन विचारविनाको फोस्रो अध्ययन हो । यो अध्ययनले नेपालको कम्युनिष्ट आन्दोलन र समाजवादी आन्दोलनलाई घाटासिवाय केही गर्दैन । उनी कहिले मार्क्सवादको गलत व्याख्या गर्छन् कहिले जनताको बहुदलीय जनवादलाई बङ्ग्याउने प्रयत्न गर्छन् । कम्युनिष्ट आन्दोलनको राजमार्गमा हिडिरहेका हजारौं–लाखौं कार्यकर्तालाई दिग्भ्रमित गर्ने प्रयत्न गर्छन् ।

जसरी गाइभैंसीको नियमित वा तीव्र गतिलाई नियन्त्रण गर्न घाँडो लगाइन्छ, त्यसरी नै समाजवादतर्फको यात्रामा घनश्याम भुसाल घाँडो पात्रको रूपमा खडा भएका छन् ।

नेकपा (एमाले)को नेतृत्वमा ओली आएपछि एमालेले प्राप्त गरेका भीमकाय उपलब्धि देखेर अत्ताल्लिएका एमालेका यी पूर्व कमरेडहरू एमालेविरुद्ध जुन रूपमा संगठित भए पनि त्यो केवल पानीको फोकासरह हुनेछ । एमाले त्यसको सामना गर्न सक्षम छ ।

प्रतिक्रिया
सम्बन्धित